७ पुस २०८१ आइतबार
image/svg+xml
विचार

अनुसन्धानको अलमल

सामान्यतः कुनै घटनाको अनुसन्धान सत्यतथ्य फेला पार्ने उद्देश्यले गरिन्छ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अनुसन्धानले भने कुनै नयाँ तथ्य उद्घाटन गर्न सकेको देखिएन। अहिलेसम्म अखबारहरूले लेख्दै आएका तथ्यहरू नै यसमा दोहोरिएका छन्। प्रहरीले यो घटनामा गम्भीर गल्ती गरेका तथ्य यसअघि सार्वजनिक भइसकेकै हुन्। यो प्रतिवेदनले पनि त्यो तथ्यमा जोड दिएको छ। यस अर्थमा प्रहरीले शंकाको कुनै सुविधा पनि पाउन सक्ने अवस्था देखिएन। वास्तवमा नेपाल प्रहरीभित्र अपराध कर्ममा कसरी मिलेमतो हुने गरेको रहेछ भन्ने तथ्य पनि यो घटनाले उजागर गरेको छ। प्रहरीले यो घटनामा सुरुदेखि नै अनुसन्धान र छानबिनमा किन अलमल ग-यो भन्ने यथार्थ गठित छानबिन समितिले पत्ता लगाउनुपर्ने हो। यो घटनामा आशंका गरी निलम्बन गरिएका प्रहरी अधिकृतहरूबाट किन पेसागत मर्यादाअनुरूप कार्य भएन? यो तथ्यमा समेत खोज गरिएको भए अपराधी पत्ता लगाउन सहज हुने थियो। गृहमन्त्री रामबहादुर थापालाई छानबिन समितिले बुझाएको प्रतिवेदनमा प्रस्टरूपले घटनासँग सम्बन्धित प्रमाण संकलनमा खटिएको प्रहरीले लापरबाही र हेलचेक्र्याइँ गरेको स्पष्ट देखिएको छ। प्रहरीबाट किन यस किसिमको हर्कत भयो भन्ने पक्ष अहिलेको प्रमुख प्रश्न हो। पीडित परिवार सदस्यले निरन्तर प्रहरीसँग खोजी कार्यका निम्ति आग्रह गर्दा देखाइएको उदासीनताले सबैलाई अवाक् तुल्याएको छ।

निर्मला बलात्कार र हत्या प्रकरणले त प्रहरीको छवि धुलिसात पारेको छ। प्रहरीले आफ्नो गुमेको छवि फिर्ता गर्न यो घटनामा संलग्न अपराधीलाई न्यायको कठघरामा उभ्याउनै पर्छ। यो घटनाको चित्रण गरेर र कमजोरी केलाएर मात्र राज्यले उन्मुक्ति पाउन सक्दैन।

सम्भावित शंकास्पद व्यक्तिमाथि बेलैमा छानबिन नगरेका कारण यो घटनासम्बन्धी तथ्यमा पर्दा लागेको छ। गत साउन १० गते बेपत्ता भएकी निर्मलाको लास त्यसको भोलिपल्ट फेला परेयता महाकालीमा धेरै पानी बगिसकेको छ । अढाइ महिनाबीच खटाइएका प्रहरी टोली, छानबिन समिति र अनेकानेक गतिविधिबाट पनि यसको यथार्थ सामुन्नेमा आएन । यही प्रतिवेदन सार्वजनिक गर्न समेत यतिका दिन किन कुर्नुपरेको हो? आइतबार बल्ल सार्वजनिक भएको प्रतिवेदनका तथ्यले यसअघि स्थानीय व्यक्ति र प्रेसले सार्वजनिक गरेका विवरणलाई पुष्टि गर्ने काम गरेको छ। गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा तालिमप्राप्त कुकुरको समेत प्रयोग नभएको उल्लेख गरेको छ। किन र कसका लागि यो घटनालाई रहस्यमय बनाइएको छ? भन्ने प्रश्न नै अहिले सबैका सामुन्नेमा उपस्थित छ । यो तहको लापरबाही कुनै अपराधको घटना भएपछि पनि गरिन्छ भने हाम्रा संस्थाहरूको क्षमता यसबीच कति कमजोर भएछ भन्ने महसुस भएको छ। पञ्चायतकालमा भएको नमीता–सुनीता काण्डलाई यतिबेला मानिसहरूले सम्झना गरिरहेका छन्। यतिका वर्षपछि पनि त्यही प्रकृतिको घटना हुने र अपराधीले उम्किने मौका पाउने अवस्था आफैँमा चिन्ताजनक छ। वास्तवमा कुन घटनालाई कति महत्व दिनुपर्छ भन्ने हेक्का समेत प्रहरीलाई हुन छाडेको यी घटनाबाट बुझ्न सकिन्छ।

यही घटनालाई लिएर कारबाहीको माग गर्ने सर्वसाधारणमाथि गरिएको आक्रमण र त्यसमा परी एक युवा सन्नी खुनाको मृत्यु र अन्य किशोरहरू अझै घाइते अवस्थामा रहेका छन् । यो घटनामा किस्ता–किस्तामा अनुसन्धान तथा छानबिन भएका छन्। सुरुकै दिनदेखि यो घटनामा किन जिम्मेवारीपूर्ण ढंगले काम भएन ? यो घटनाबाट त धेरै यस्ता गतिविधिमा प्रहरीको भूमिकामाथि नै शंका गर्नुपर्ने अवस्था आउँछ । केही अगाडि भक्तपुरमा अपहरणमा संलग्न दुई व्यक्तिलाई गोली हानी ‘इन्काउन्टर’ भन्दै थप अनुसन्धान गर्नुपर्ने आवश्यकताकै अन्त्य गरेको छ। शनिबार राति मूलपानीमा जुवा खेलाएको ठाउँमा छापा मार्ने नाममा प्रहरीले फेरि एउटा कमजोरी गरेको छ। त्यहाँ दुई व्यक्तिको फेरि मृत्यु भएको छ । यस घटनामा पनि प्रहरीबीच आपसी समन्वय नभएको देखिएको छ। स्थानीय प्रहरीकै संरक्षणमा जुवा खेलाइएको भन्ने तथ्य यो घटनासँग जोडिएका छन् । बालुवा–ढुंगा स्थानीय नदीनालाबाट अवैधरूपमा निकाल्नेदेखि अनेकन् यस्ता काममा प्रहरीकै संलग्नताकोे जानकारी बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । वास्तवमा प्रहरी राज्यको अनुहार हो । यसलाई हेरेर धेरै व्यक्तिले सरकारबारेको धारणा बनाउँछन् । तर, प्रहरीको प्रयोग र परिचालनमा एकपछि अर्को समस्या देखिँदै गएको छ । निर्मला बलात्कार र हत्या प्रकरणले त प्रहरीको छवि धुलिसात पारेको छ । प्रहरीले आफ्नो गुमेको छवि फिर्ता गर्न यो घटनामा संलग्न अपराधीलाई न्यायको कठघरामा उभ्याउनै पर्छ । यो घटनाको चित्रण गरेर र कमजोरी केलाएर मात्र राज्यले उन्मुक्ति पाउन सक्दैन।

प्रकाशित: २३ आश्विन २०७५ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App