साउने झरीको बिहानी बिहीबार ६ गते पत्रिका पसलबाट नागरिक दैनिक लिएर प्रधानमन्त्रीका प्रत्याशी दुई अनुहारलाई चियाउन नपाउँदै एउटा बस सानेपामा जमेको हिलो जिउभरी छ्यापेर अगाडि बढ्यो। बसमा खचाखच ससाना बालबालिका थिए। बोर्डिङ स्कुलका छात्रछात्रा। पत्रिकामा बाढीको वितण्डा बोकेर आफ्नी सानी नानीलाई सुरक्षित ठाउँतिर डोर्याउँदै गरेको विराटनगरकी एक महिलाको चित्र र डोल्पाको पहिरोमा सबै परिवार गुमाएकी प्रतिभा रोकायाको मलिन मुहार तथा मुखपृष्ठको आधा भाग ढाकिने गरी राजनीतिक हिलोमा आहाल बसेका नेताको अनुहार देखेपछि बसले छ्यापेको हिलोका बारेमा बोल्ने कुरै भएन। बरु बालबालिकाको विषयमा बोल्न मन लाग्यो।
बसभित्र सुरक्षित ती बालबालिका बाढीबाट आमासँगै डुब्दै भाग्दै गरेकी सानी नानी र सबै परिवार गुमाएकी बालिका सबैसँग एउटै अमूल्य निधि निहित देखिन्थ्यो। त्यो हो तिनको लामो भविष्य। निश्चय नै बालबालिकाको भविष्य हाम्रोभन्दा लामो हुन्छ। त्यस अमूल्य भविष्यमा जति राम्रो लगानी हुन्छ राष्ट्रले सोहीअनुरूप प्रतिफल पाउँछ। यसै मर्मलाई आत्मसात् गरेर बालबालिकाका लागि बौद्धिक खुराक उपलब्ध गराउनु सबैको कर्तव्य र दायित्व हो।
बालबालिकाले देखुन्, हेरुन्, पढुन्, सुनुन्, अनुभूत गरुन् र त्यसबाट ज्ञानगुन जानुन् अनि सिकुन् भनेर बाल साहित्य सिर्जना गरिन्छ। यसमा संचार माध्यमको ठूलो भूमिका रहन्छ। छापा माध्यमका चर्चा गर्दा अचेल प्रायः सबै पत्रपत्रिका र अखबारले साना नानीहरूका लागि स्थान र स्तम्भ दिन थालेका छन्। नागरिक दैनिकको बालबालिका विशेष जूनकीरीमा गत वर्ष २०६६ साल मंसिर ६ गतेको अंकमा बाल साहित्यकार शान्त दास मानन्धरको बाल कविता "टिकटिके" पढेको थिएँ। त्यस कवितालाई बाल विज्ञान भन्न मन लाग्यो। दुई दुई शब्दको संयोजनमा टिके कीराको रंग, रूप र आकृति ज्यादै मिहिन तरिकाले वर्णन गरिएको छ त्यस कवितामा। जीवको यस्तो वस्तुपरक वर्णन विज्ञानका किताबमा पढ्न पाउँछौँ। विज्ञान संवाहनमा बाल साहित्यको भूमिकालाई यस कविताले उजागर गरेको छ। त्यस कविता पढ्नुभन्दा पहिले त्यस कीरालाई ...लेडीबर्ड बिटल' का नामले मात्र चिन्थेँ। टिके कीरा भन्ने नाम सायद कविले नै जुराएकेा हुनुपर्छ। त्यो पनि कति सुन्दर, कति सरल र कति वस्तुपरक। त्यसैले त्यस कवितालाई पुनः प्रस्तुत गरेर केही थप जानकारी दिने जमर्को गरेकोछु।
टीकै टीका! कति टीका?
धेरै टीका!
पुतली ह्वैन अर्कै कीरा!
ठूलो ह्वैन सानो कीरा!
उत्रा उत्रै टीकै टीका!
रातो जीउमा कालो टीका!
कस्तो राम्रो जीउभरी टीका!
कसरी लायौ जीउभरी टीका?
आफैँले लायौ?
कसरी लायौ?
एउटा टीका मलाई नि देऊ!
म पनि लाउ"छु एउटा टीका!
धेरै ह्वैन, एउटै टीका!
जीउभरी ह्वैन निधारमा टीका!
कालो ह्वैन रातो टीका!
टिके कीरा ज्यादै गुणी हुन्छ। उडुस, उपियाँ, भुसुना, लामखुट्टे र झिँगाजस्तो हानिकारक हुँदैन। यसलाई हातमा खेलाउँदा पनि केही नोक्सानी गर्दैन। हातबाट उडेर जाँदा आफ्नो दुईवटा खपटा माथि उठाउँछ र त्यसभित्र लुकेका एक जोडी पातला पँखेटाले चाल मारेर उड्छ। टिके पनि खपटे कीरा हो जस्लाई अंग्रेजीमा बिटल भनिन्छ। अचम्म लाग्दो कुरो त के छ भने आज संसारमा जति जीवित प्राणीका प्रजाति छन् ती सबैलाई जोडे पनि कीराको प्रजाति संख्यालाई भेट्दैन। वैज्ञानिकहरूको अड्कलमा कीरा प्रजातिको संख्या ७ लाख ५० हजारभन्दा धेरै छ। तिमध्ये कतिपय हाम्रा शत्रु हुन् भने कतिपय मित्र पनि छन्।
ती मित्रमध्ये सबैभन्दा गुणी कीरो टिके हो तर त्यसको गुण धेरैलाई थाहा नहुन सक्छ। यो कीरा किसानको ठूलो मित्र हो। बालीनाली, खेतबगैंचामा लाग्ने धेरै शत्रु कीरा जस्तै लाइ, कत्ले विभिन्न प्रकारका सुलसुले कीराहरूलाई टिके कीरा र तिनका लाभ्रेहरू समेत मिलेर भसक्क खाइदिन्छन् तर बालीनालीका फूल, कोपिला र मुनालाई तिनले केही हानी गर्दैनन्। देख्दा साना केराउको खपटा जत्रो यो टिके कीरा हिँड्दा कछुवा हिंडेजस्तो लाग्छ तर यस्ले सिकार गर्न थालेपछि अरू कीराबाट हुने ठूलाठूला प्रकोप पनि नियन्त्रण गर्न सकिन्छ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा एक प्रकारको कपासेलाई कीराको प्रकोपले सबै फलफूल नष्ट हुने अवस्थामा कृषि विशेषज्ञहरू टिके कीराको सहायताले बाली जोगाउन सफल भएका थिए। इस्वी सम्वतको १९ सौं शताव्दीको उत्तरार्धमा टिके कीराले रचेको त्यो इतिहास आज पनि उत्तिकै रोमाञ्चक छ।
रासायनिक विषादीले आजित आजको विश्वमा जैविक प्रविधिको प्रयोगबाटै बालीनाली जोगाउने जागरण पुनरावर्तन हुन थालेको छ। नेपालमा पनि एकीकृत बाली संरक्षणका उपायहरू अवलम्बन हुन थालेका छन्। यस कार्यमा किसानहरू आफ्ना शत्रु कीरा र मित्र कीराको पहिचान गर्छन् र सोहीअनुरूप बाली संरक्षणका उपाय अवलम्बन गर्छन्। त्यसैले टिकेजस्ता अरू खपटे कीरा तथा कुमालकोटी, माकुरा, आँखाफोर, साना बारुला, मौरी, भँवरा र जूनकीरीलाई विषादी औषधीबाट बचाउने प्रयासमा लाग्छन्। यसका लागि यी सबैको जीवनीको आधारभूत ज्ञान हुन आवश्यक छ।
अधिकांश कीटपतंगको जीवनमा ४ अवतार फेरिन्छ। टिके कीरा पनि लगभग ४ साताको अवधिमा पहिले अण्डाका रूपमा बस्छ, त्यसपछि लाभ्रे अवतारमा अरू कीरालाई खानसम्म खाएपछि कोया अवतारमा आराम गर्छ र पछिबाट वयस्करूपमा टिके भएर देखा पर्दछ। शरद ऋतु लागेपछि टिके कीरा बथानका बथान मिलेर सामूहिक निद्रामा सुतेर जाडो छल्छन्। त्यस बखतमा यिनका सुत्ने बासस्थान जस्तै रुखका बोक्रा वा टोडका, सुरक्षित ढुंगा वा माटोका प्वाल र खोपामा हजारौं टिके कीरा निद्रामा ढिक्कै परेर सुतेका हुन्छन्। त्यस बेलामा तिनलाई चलाउनु हुँदैन।
हिजोआज खेती गर्दा कीटनाशक विषादी जथाभावी प्रयोग गरिन्छ। यी विषादीले शत्रु र मित्र कीरामात्र हैन अरू जीवजन्तु माछा, पशुपंक्षी र माटोभित्रका गड्यौला तथा मित्रहरूलाई पनि सखाप पार्छन्। विषादीको अर्को गम्भीर कथा बजारमा आइपुग्ने फलफूल तरकारीबाट सुरू हुन्छ। उपभोक्ताहरू फलफूल र तरकारीका नाममा विषपान गरिरहेका हुन्छन्। डीडीटी, बिएचसीजस्ता विषादी बालीमा प्रयोग हुँदा १२-२० वर्षसम्म पनि नष्ट नभई बस्छ र त्यसबाट मानिसलगायत अरू प्राणीको स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ। सरकारले कतिपय विषादीलाई प्रतिबन्ध पनि लगाइएको छ तर तिनको रोकथाम हुनसकेको छैन। कृषि विषादीको व्यथा टिके कीरामा मात्र सीमित छैन। यसले किसान समुदाय र बालीका उपभोक्ताको भविष्यलाई पनि नकारात्मक प्रभाव पार्छ। त्यसैले टिके कीरा भएको बारीको बाली अरूभन्दा स्वस्थ र सुरक्षित हुन्छ भन्ने जान्नुपर्छ।
टिके कीरा देख्दा राम्रो, स्वभावले मायालु, मानिसका लागि निकै गुणी र वातावरण सन्तुलनका लागि ज्यादै उपयोगी प्राणी भएकोले यस्लाई जानौ, बुझौँ, माया गरौं र विषादीबाट जोगाऔँ। यिनको संरक्षणसँग हाम्रो सुरक्षा पनि गाँसिएको हुन्छ। आशा गरौैं, हाम्रा कवि एवं साहित्यकारले यस्ता ज्ञान पनि टिप्ने छन्।
प्रकाशित: १२ श्रावण २०६७ २३:३१ बुधबार

