२७ श्रावण २०७७ मंगलबार
विचार

सम्झना आमाको

सहनशीलताकी खानी आमा

मायाकी गहिराइ आमा

त्याग तपस्याकी स्वरूप आमा

जीवनको मिठासकी रूप आमा

श्रद्धा भक्तिकी रूप हो आमा

भगवानको रूप हो आमा

आमा तिम्रो वर्णन गरेर सकिन्न

आमा तिम्रो माया तिरेर सकिन्न

आमा तिम्रो आशीष सधैँ

सन्तानमा बसिरहोस्

बसिरहोस्

जब गर्भमा सन्तान बस्छ, त्यतिबेलैदेखि आमामा सन्तानप्रति अगाध माया उत्पन्न हुन्छ। अर्थात आफ्नो सन्तानलाई माया दिनुपर्ने शिक्षा उनलाई कसैले दिनैपर्दैन। यही स्वतस्फूर्त उत्पन्न मायाको स्रोत जिन्दगीभर सुक्दैन। आफ्ना सन्तानप्रति मायाले अविरल सिँचित गर्न लालायित हुन्छिन् उनी। आफूलाई जतिसुकै पीडा किन नहोस्, आफैँले जन्माएको सन्तानले चित्त दुखाएको किन नहोस् तर आमाले प्रदान गर्ने मायाको स्रोत कहिल्यै सुक्खा हुँदैन। अर्थात उनको काख सन्तानका लागि अहोरात्र प्रतीक्षारत रहन्छ । त्यसैले त सन्तानले जहिले पनि आमाको अभिभावकत्व खोजिरहेको हुन्छ।

संसारमा सन्तानका लागि आमाभन्दा ठूलो गुरु अरु कोही हुनै सक्दैन। आफ्नो सन्तानलाई पहिलो ज्ञानको ज्योति कसैले दिन्छ भने आमाले नै दिन्छिन्। आफैँ जन्म दिएर उचित शिक्षादीक्षासमेत दिनु त आमाले आफ्नो कर्तव्य ठान्छिन् नै। तर उनको मन त्यतिले मात्र कहाँ मान्छ र? आफ्नो सन्तानलाई यस दुनियाँकै अमूल्य हिरा ठान्छिन् अनि सधैँभरि असल हिरो बनाउने प्रयत्नमा तल्लीन रहन्छिन्। भनिन्छ– ‘यो मानव समाजमा भगवान सबैतिर देखिन सक्दैनन् त्यसैले हरेक घरमा आमाका रूपमा उदाएका हुन्छन् भगवान।’ हो पनि, एकैछिन आँखा बन्द गरेर सोचौँ त– यदि आमा नहुने हो भने यो सृष्टि सम्भव छ? हाम्रो पदार्पण सम्भव छ?

पश्चिमकी महाकाली जस्ती, पूर्वकी मेची जस्ती, जुम्लाकी तिला जस्ती अनि इलामकी माई जस्ती, कहिल्यै सकिन्न आमाको माया पनि, जसरी यी नदी लाखौँ बिघा जमिनमा सिँचाइ गर्दा पनि कहिल्यै रित्तिँदैनन्। लाखौँ मानिसलाई शीतलता र छहारी प्रदान गर्ने पीपलभन्दा पनि दयालु छिन् आमा। त्यसैले त आमाको माया, त्याग, तपस्याको वर्णन हजारौँ जिब्रा हुने भनिएका शेष नागले पनि पूर्ण गर्न सक्दैनन्। शायद, आमामा व्याप्त यस्तै यस्तै सयौँ गुणकै कारण भनिएको होला– जननी, महतारी, माता, मातृ, मातृका आदि।

दुर्भाग्य, ६ वर्षदेखि म यो मातृवात्सल्यबाट वञ्चित छु। त्यसयता आजकै दिन आउन लाग्दा केही दिनदेखि नै आमाको यादले निकै सताउँछ। नसताओस् पनि किन? आज म जुन मार्गमा छु, आखिर त्यो गोरेटोमा ‘ताते ताते...’ गर्न लगाउने त उनै हुन् नि। आज मैले अंगालेकी संस्कारको मुहान अरु कोही नभएर उनै हो। उनैबाटै पाएको ‘असल बन्नू’ शिक्षा नै अहिले पनि मैले पछ्याइरहेको मार्ग हो। सोझै भन्दा आमाले देखाएको पथ नै यस धर्तीमा उत्रेदेखि आजसम्म नै मेरालागि ‘मुख्य पथ’ सावित हुँदै आएको छ । जसलाई पछ्याउन हरदम लागिपरेकी छु। र, प्रतिबद्ध पनि छु कि उनले देखाएको बाटो परित्याग गर्ने छैन।

जीवन सङ्घर्ष हो। यो सधैँ आफूले सोचेजस्तो सोझो रेखामा मात्र अघि बढ्दैन। मैले पनि जीवनमा धेरै यस्ता अप्ठेरा झेल्दै आएकी छु। र, धेरैमा सफलता पनि हात पार्दै आएकी छु। त्यसरी जीवनमा आइपर्ने अप्ठेरासँग धेरैले हार खाएका छन्। धेरैचाहिँ यस्ता अप्ठेरा सामना गर्न नसकेर चुनौतीसामु आत्मसमर्पण गर्छन्। तर म आफूलाई जतिसुकै दुःख परे पनि त्यसबाट मुक्ति पाउनका लागि संघर्ष गर्न छाड्दिन। र, धेरैजसोमा चुनौतीलाई हार चखाउन सफल पनि भएकी छु। लाग्छ– यस्तो सफलताको एउटै सूत्र आमाद्वारा कोरिएको पथ पछ्याउनु नै हो। जीवनका पाइलामा जतिखेर अप्ठेरो आइपर्छन्, त्यतिबेला प्रत्येकपटक आमाले दिने गरेका उपदेश÷वाणी सम्झन्छु। सम्झनेमात्र हैन, त्यसलाई व्यवहारमा लागु गरेर अघि बढ्छु। जसले निरन्तर सफलता चुम्न सघाइरहेको छ। यसो भन्न पाउँदा आमाप्रति गर्व लागेर आउँछ । उनीप्रति श्रद्धाको शीर अझै निहुरिन्छ। धन्य आमा।

‘यो संसारमा जन्मेपछि आफ्नो पृथक पहिचान बनाउनुपर्छ। बाँच्न त कीरा फट्यांग्रा, जनावर जो पनि बाँच्छन्। तर हाम्रो बचाइ फरक हुनुपर्छ। बोलीको मूल्य हुनेगरी बोल्नुपर्छ। सहने बानीले मानिसलाई सानो हैन, झन् महान् बनाउँछ । अरुको कुभलो कहिल्यै चिताउनु हुन्न। स्वर्ग/नर्क यहीँ छ। अगाडि बढ्दै जाऊ भविष्य सुन्दर छ’– कति सुन्दर थियो आमाले कोरिदिएको मार्ग। कति स्वच्छ थियो सोचाइ। कति फराकिलो थियो सोचाइको दायरा। शायद यही कारण होला, जति पछि भयो उति उति बुझ्दैछु आमाले त्यतिबेलै मेला लागि सुझाएको बाटो। अनि जति पछि भयो उति उति मेरो मानसपटलमा छाइरहन सफल आमाको महत्व।

यो शाश्वत सत्य हो कि आज आमा भौतिकरूपमा यो संसारमा छैनन् तर आमा र म हरपल सँगै छौँ। आमाका विचारमार्फत, आमाका मार्गमार्फत, आमाका उपदेशमार्फत अनि आमाको अतुलनीय मायाको चिनोमार्फत। त्यसैले त आमाबाट मैले जे पाएँ आज त्यही ज्ञान, त्यही मार्ग, आफ्ना सन्तानलाई दिने प्रयास गरिरहेकी छु। सुन्दर कोशेलीका रूपमा। लाग्छ– आमाको तिथिमा प्रत्येक छोराछोरीले दिने सच्चा श्रद्धाञ्जलि पनि यही हो शायद। आखिर यसैगरी न हो प्रत्येक सन्तान एउटा ‘पूर्ण नागरिक’ बन्ने जसले मुलुकका लागि योगदान गर्न सकोस्। लाखौँ लाख नमन छ आमालाई।

प्रकाशित: २० श्रावण २०७५ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App