१५ माघ २०७७ बिहीबार
विचार

तोल्स्तोयको चिठी गान्धीलाई र केसी–सत्याग्रह

हाम्रो समाजमा निहत्था नागरिकले विना कुनै निजी स्वार्थ सार्वजनिक हितका लागि सत्याग्रहमा होमिन्छ भने उसको अवस्था कस्तो हुन्छ ? डाक्टर गोविन्द केसीको बूढो र जीर्ण शरीरले त्यसको उत्तर बताइदिन्छ। सत्याग्रह अर्थात् अहिंसात्मक विधिले सत्यका लागि गरिने आग्रह । आन्दोलनका विभिन्न विधिमा सत्याग्रह पनि पर्छ। यस विधिको सौन्दर्य नै अहिंसात्मक तरिकाले प्रेमपूर्वक आफ्नो माग राख्न पाउनु हो। 

२० औँ शताब्दीको विश्व ठूला युद्धहरूको साक्षी हुनुप-यो। दुई ठूला विश्वयुद्ध मात्र नभएर अरू थुप्रै ससाना भयानक युद्धले मानिसको लासका पहाड खडा गरिदिए। युद्धको क्रुरताका बाबजुद अंहिसात्मक आन्दोलनहरू पनि उल्लेखनीय मात्रामा भएका थिए। त्यसबेला युरोपियनहरूको दबदबा रहेको समयमा महात्मा गान्धीले भारतमा सत्याग्रहको प्रयोग गरेका थिए। युरोपियनहरूले हतियारको बलमा प्रायः अफ्रिकी र एसियाली देशहरूमा कब्जा जमाएका थिए । युरोपियनहरूको विधि हिंसात्मक थियो। 

हिंसात्मक युद्धविरुद्ध प्रश्न जन्माउने लेखक, अभियानकर्ताहरू २० औँ शताब्दीकै सेरोफेरोमा जन्मिए। तीमध्ये प्रसिद्ध लेखक लियो तोल्स्तोय अग्रस्थानमा पर्छन्। उनको १८९४ मा प्रकाशित पुस्तक ‘द किङडम अफ गड विदिन यु’मा राज्य सञ्चालनमा प्रयोग गरिने हिंसाको बुहुआयामिक पाटोलाई समेटिएको छ। यो पुस्तकलाई रसियामा प्रतिबन्ध लगाइयो। 

तोल्स्तोयले नै सन् १९०८ मा महत्मा गान्धीलाई ‘अ लेटर टु हिन्दु’ नामको चिठी लेखे। उनले चिठीमा भारतले ब्रिटिस राजबाट स्वतन्त्र हुन अहिंसा र प्रेमको सहारा लिनुपर्छ भन्ने सन्देश दिएका थिए। गान्धीलाई तोल्स्तोयको सन्देशको गहिरो छाप प-यो । पछि सन् १९०९ मा उनले चिठीलाई दक्षिण अफ्रिकाको पत्रिका ‘इन्डियन ओपिनियन’मा प्रकाशित गरे। तोल्स्तोय र गान्धीबीच भएको संवाद अहिंसामा विश्वास गर्ने समूह र शक्तिहरू बीचको अनौपचारिक धुव्रीकरणको सुरुवात थियो। 

गान्धी जन्मे–हुर्केको क्षेत्र गुजरातमा जैन समुदायको बसोवास थियो, छ। उनी जैन धर्म गुरुको नजिक थिए । जैन धर्म गुरुको संगतले अहिंसाप्रतिको उनको विश्वासलाई हुर्किन मद्दत ग-यो। पछि उनले रुस्किन र हेनरी डेविड थोरोको अध्ययन गरे । यी दुवै लेखकको प्रभाव उनमा निकै प-यो। 

सन् १९२९ मा छापिएको गान्धीको आत्मकथा ‘स्टोरी अफ माइ एक्सपेरिमेन्ट विथ  ट्रुथ’मा उनले अहिंसात्मक आन्दोलनप्रतिको आफ्नो आस्थालाई बलियो गरी प्रस्तुत गरेका छन्। सत्याग्रहको जगमा नै ब्रिटिस शासकविरुद्ध लड्न सकिन्छ भन्ने उनको विश्वास थियो । गान्धीका लागि अहिंसा जीवन जिउने तरिका र भारतको स्वराज फर्काउने माध्यम बन्यो।  

उनको अहिंसा र सत्याग्रहप्रतिको विश्वास सन् १९३० को साल्ट मार्चमा बेजोडले देखियो। साल्ट कानुनले भारतीयलाई नुन जम्मा गर्न, उत्पादन गर्न र बेच्न बन्देज लगाएको थियो । नुनमा लगाइएको कर गरिब भारतीयले तिर्न नसक्ने खालको थियो । त्यसैले पनि यो कानुन ब्रिटिसले भारतीय नागरिकलाई गरेको अन्याय र ज्यादतीको पराकाष्ठा थियो । उनले यही कानुनविरुद्ध सत्याग्रहको घोषणा गरे । अनि, आफ्नो घर अहमदाबादबाट गुजरातको दक्षिणी भागमा पर्ने समुद्री किनारको गाउँसम्मको यात्राका लागि ७८ जनासहित उनी निस्किए । उनको चाहना समुद्री नुन भारतीयहरूको पहँुचमा होस् भन्ने थियो । २४० माइलको उक्त यात्रामा लाखौँ मानिसहरू जोडिए । विशाल जनसागर समुद्री किनारसम्म पुग्न ३ हप्ता लाग्यो । ३ हप्तामा सत्याग्रहबारे विश्वका अधिकांश मिडियाले प्रसार गरे। 

फलस्वरूप, ब्रिटिस राजलाई व्यापक दबाबको सामना गर्नुप-यो । दबाबका कारण ब्रिटिससँग दुइटा मात्र विकल्प बाँकी रह्यो । कि त उनलाई गिरप्mतार गर्नुप-यो,  कि त उनको यात्रालाई पूरा हुन दिनुप-यो । ब्रिटिसले द्रोस्रो विकल्प रोज्यो, यात्रालाई अवरोध गरेन । तर, समुद्री किनारमा पुगेर फर्कंदै गर्दा ब्रिटिसले गान्धीसहित उनीसँगै यात्रा गरेका ८० हजार आम भारतीयलाई गिरप्mतार ग-यो । थुनिएको केही समयपछि, छलफलका लागि उनलाई बेलायत नै आमन्त्रण गरियो । जस्तोसुकै तानाशाही भए पनि, ब्रिटिसको प्रजातान्त्रिक अभ्यासमा छलफललाई निषेध गरिँदैन थियो। 

गान्धीको सत्याग्रह असाधारण थियो । त्यसैले भारत स्वतन्त्र हुनुमा उनको सत्याग्रहको भूमिका महत्वपूर्ण थियो । गान्धीले सत्याग्रहको व्यापक प्रयोग गर्नुभन्दा अगाडि नै सन् १९१९ मा इजिप्टले ब्रिटिस शासनविरुद्ध शान्तिपूर्ण संघर्ष ग¥यो । इजिप्टले शान्तिपूर्ण तरिकाले ब्रिटिसद्वारा उत्पादन गरिएको सामानको उपभोग गर्न मानेन । यो अहिंसात्मक आन्दोलन महिनौँ चल्यो । अन्ततः, सन् १९२२ मा ब्रिटिसले हार मान्यो र इजिप्ट स्वतन्त्र राष्ट्र बन्यो । २० औँ शताब्दीमा अहिंसात्मक आन्दोलनको प्रयोग एसियाली र अफ्रिकी देशहरूमा पनि फैलियो । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । विसं २०४२ मा कांग्रेसले नेपालमा प्रयोग गरेको सत्याग्रहमा त्यसको झल्को पाइन्छ। 

आखिर सत्याग्रहमा त्यस्तो के शक्ति हुन्छ? बुझिने भाषामा भन्दा, सत्याग्रहमा हिंसाको प्रयोग हुँदैन र सत्याग्रहीमा सत्य, न्याय, धैर्य हुन्छ। उसमा मृत्युलाई जित्न सक्ने साहस हुन्छ । यही शक्तिका कारण सत्याग्रहीको आवाज दबाउन सकिन्न । अहिलेको सन्दर्भमा डाक्टर गोविन्द केसीमा सत्याग्रहीमा हुनुपर्ने गुण र उनको मागमा सत्यता देखिन्छ। उनले उठाएको सार्वजनिक स्वास्थ्य शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका मुद्दा आम मानिसको आवाज हो। उनको मुद्दाको स्वामित्व आम मानिसले लिएका छन्। अघिल्लो सरकारले उनको मागकै आधारमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्यायो। र, कार्यान्वयनमा लैजान स्वीका-यो पनि। स्वीकार्नुको तात्पर्य उनले उठाएको मुद्दामा सरकार र नागरिक दुवैको स्वामित्व छ भन्ने हो । अब समस्या कता रह्यो त? 

समस्या जनहितलाई बेवास्ता गर्दै चिकित्सा क्षेत्रलाई फाइदाको व्यापार मात्र ठान्ने व्यापारीका चङ्गुलमा फसेका शासकहरूमा छ । नेपालको संविधानले समाजवादलाई  गन्तव्य मानेको छ। सरकार कम्युनिस्टको छ । सरकार चलाउने अहिलेका कम्युनिस्ट शासकहरू विगतमा जनमुखी राज्य निमार्णका लागि भनेर युद्ध नै लडेका थिए । अहिले समाजवादमा पुग्ने सामान्य मुद्दाका लागि केसी लडिरहेका छन् । उनको मागलाई बेवास्ता गर्ने उहिलेका साम्यवादीले युद्ध केका लागि लडेका थिए? 

गोविन्द केसीले संविधानले तोकेको क्षेत्रधिकारभित्र रहेर स्वस्थ हितका लागि पटक पटक सत्याग्रह गर्दै आइरहेका छन्। सरकारको तर्क छ, लोकतान्त्रिक र संसदीय अभ्यास संसद्मा मात्र गरिन्छ । सार्वजनिक हितका लागि छलफल गर्ने थलो संसद्बाहेक अन्त कतै छैन । तर, उदेकलाग्दो कुरा के पनि हो भने, सरकार चलाउँदै गरेका कम्युनिस्ट पार्टी आफैं संसद्बाहिरबाट समावेशिता, समानता र समाजवादका मुद्दामा बारुद पड्काएर, आम मानिसलाई बन्दुक बोकाएर लडेको पार्टी हो। 

हामीले लामो संघर्षको बाटो हिँडेर आजको लोकतन्त्रिक व्यवस्था स्थापित गरेका हौँ। यो व्यवस्थाको मूल मर्म सार्वजनिक छलफल र बहसलाई प्रोत्साहन गर्नु पनि हो । यही व्यवस्थाभित्र रहेर शान्तिपूर्ण तरिकाले उठाएको माग सुनिँदैन भने आम मानिसको संघर्ष केका लागि थियो ? हामीले कसका लागि लडेको?

औपनिवेशिक चरित्रका बेलायती शासकले समेत उसबेला गान्धीलाई छलफलका लागि बोलाएका थिए । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा केसीको कुरा नै सुन्न नचाहने सरकारको चरित्र कस्तो हो?

जाँदाजाँदै,
सरकार र केसी पक्षबीच सहमति भएको छ । काम ढिलै गरे पनि सरकारलाई धन्यवाद।

प्रकाशित: ११ श्रावण २०७५ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App