१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

योग र योग दिवस

योग गरौँ, स्वस्थ रहौँ । आज अन्तर्राष्ट्रिय योग दिवस । कहिल्यै प्राणायाम नगरे नि आज चैँ सेतो लुगा लगाएर, यसो चिटिक्क परेर फोटो खिचाएर फेसबुकमा पोस्ट गर्ने दिन अनि अनेक ठाउँमा भइरहेका सभा समारोहमा योगका भएका नभएका फाइदाका भाषण सुन्ने दिन, लाइभ जाने दिन।

कतै प्रभातफेरीमा त कतै सभा र समारोहमा, योग समाचार बनेर पत्रपत्रिकादेखि टेलिभिजन लगायतका सञ्चार माध्यममा छाउँछ यस दिन । कसैका लागि रोग भगाउने योग, कसैकालागि स्वस्थ बनाउने योग अनि कसैका लागि आध्यात्मिक हुने त, कसैका लागि फेसनेबल हुने योग । आज भोलि त यो संस्थाको यो प्याकेज अनि त्यो संस्थाको त्यो प्याकेज, पोका पोकामा बिक्री भरहेको छ । योग, पसल पसलमा, दुकान दुकानमा हामी योगका पनि अपडेटेड भर्सन पाउँछौँ आजकाल । योग दिवस भन्नेबित्तिकै जो कसैका पनि मनमा ओइरिने तस्बिर हुन्, यी।

विश्वले पहिलो, दोस्रो गर्दै अन्तर्राष्ट्रि«य योग दिवस मनाइरहँदा नेपालले चार दशक लामो योग दिवस मनाइरहेको थियो । योग दिवस भनेर ब्यानर बोकेर प्रभातफेरीदेखि योग संवत् नै मनाएको थियो, जुन अद्यापि माघ १ गते हाम्रो घर आँगनमा टुप्लुक्क आइपुग्छ । घ्यु र चाकुका साथमा नयाँ साल बनेर, योगमय वर्ष बनेर ।

विडम्बना, हामीले आफ्नै गहनालाई चिनेनौँ । आफ्नै सम्पत्तिलाई बुझेनौँ अनि जतिखेर बुझ्यौँ अनेक सीमामा सीमित भइसकेको पायौँ । योग दिवस अवश्य पनि आजको जनमानसले योगको आवश्यकता बुझेको आधुनिक अभिव्यक्ति हो । योग दिवस वर्तमानको आवाज हो, आजको समयको सन्देश हो ।

नेपालमा यो चार दशकदेखि नै जगमगाइरहेको थियो, मगमगाइरहेको थियो, जसलाई हामीले आफ्नोपनको माया सुकेको प्रहरमा देख्न सकेनौँ, चिन्न सकेनौँ । यो अनेक आयामले महत्वपूर्ण छ, नेपालमा हामीले योगको इतिहासलाई केलाउने हो भने आधुनिक कालखण्डको आरम्भका रूपमा योग दिवसलाई पाउनेछौँ, योग संवत्लाई पाउनेछौँ । पहिले संस्कृतिमा समन्वित भएको योग यही नवीन युगको प्रारम्भसँगै शिक्षामा, स्वास्थ्यमा अनि अनेक प्याकेजमा अटाएर हामीसम्म आएको पाउँछौँ ।

योगमा के छ ?
सामान्य भाषामा योग स्वस्थ हुने प्रक्रिया, यसमा स्वस्थ तनका लागि आसन छ, स्वस्थ मनका लागि चिन्तन छ अनि स्वस्थ समाजका लागि यम र नियमको संयोजन छ ।

योग यसरी सानो शब्दबाट विस्तृत भएर फैलिन्छ, बिहान क्षितिजमा उदाएको सूर्यका किरण चारैतिर आकाशमा फैलिए जसरी । आज स्वास्थ्यका क्षेत्रमा योग महत्वपूर्ण आयाम बनिसकेको छ, योग रोगको निदान बनेर आएको छ, योग रोगको रोकथाम बनेर उदाएको छ, साथै योग आशा बनेर धेरै रोगीका मनमा छाएको छ ।

केवल विश्वासमा सीमित नभएर अभ्यासमा परीक्षित भएर योग आधुनिक चिकित्सा क्षेत्रमा समाएको छ । मानसिक स्वास्थ्यका विधामा प्राणायाम, ध्यानजस्ता आयामबाट, सुविचार अनि सदाचारका माध्यमबाट योग आजको मानसिक स्वास्थ्यका क्षेत्रमा पनि चिकित्सा बनेर, थेरापी बनेर उदाएको छ । प्रशंसाका, उपलब्धिका कुरा हामी यसै यसै गरेर धेरै सुन्नमा पाउँछौँ, बुझ्नमा पाउँछौँ । के यही हो त योग ? सायद यो प्रश्न योगीको मनमा चसक्क हुने गरी बेला बेलामा उदाउने गर्छ ।

योग दिवसका दिन नेता, अभिनेतासम्म योगी भएको फोटो हामी सामाजिक सञ्जालमा देख्न पाउँछौँ । नेपालमै पनि योग सिकाइने धेरै संस्था छन्, धेरै ठाउँ छन् । योग तथा प्राकृतिक चिकित्साका पनि यसरी नै धेरै संघ–संस्था हामी देख्न सक्छौँ । विडम्बना, आज योग पनि महँगिएको छ, योग पनि आधुनिक भएको छ । आजको योगले त नेपालमण्डलै चिन्दैन, आफ्नै ठाउँकै भाषा बुझ्दैन अनि आफ्नोपनलाई जान्दैन ।

विश्वले पहिलो–दोस्रो गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा नेपालले भने चार दशक लामो योग दिवस मनाइरहेको थियो । हामी योगी नै हौँ ।

डलरलाई चिन्ने योगले रोगीको रोग कता कता चसक्क बिझाएको छ, प्याकेज प्याकेजमा पोखिएको योगले कता कता स्वच्छन्द हुने मनलाई कुण्ठित पारेको छ । यम नियम नै बिर्सिएको योगले आज कता कता आफ्नो मौलिकता नै गुमाएको छ । योगमा के छ भन्दा पनि कुन प्याकेज महँगो छ, आधुनिक छ अनि सेवा र सुविधाले सम्पन्न छ भन्ने कुरा हाम्रो समक्ष आइपुगेको छ । आज त योगका नै नयाँ नयाँ औषधिले मकै र भटमास नै चिन्न बिर्सेका छन् ।

एकदिनको महँगो योगले जीवनको रोगलाई निको पार्दैन, एकछिनको चहकिलो योगले निराश मनलाई उज्यालो पार्दैन, फेसबुकमा आउने आसनका पोजले जीवनमा खोजको प्रकाश छर्दैन । सायद योगलाई हामीले योगमै खोज्नुपर्ने बेला आएको छ । योगलाई हामीले बाँचेकै भए चार दशकको आवाज मौन भएर रहने थिएन होला, योगलाई हामीले जानेकै भए त योग यति महँगिने थिएन होला ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै गर्दाका क्षणमा पनि हामी योगको जन्मभूमि नेपाल भनेर गर्व गर्छांै, बुद्ध जन्मेको देश भनेर गर्व गर्छौं । विडम्बना, नेपालमा योग कता छ हामीलाई नै थाह छैन, सायद प्याकेजमा भएको योगले बिस्केट जात्रा देख्दैन, पनौतीको भैरवकालीको कामकलाले सजिएको यात्रा चिन्दैन ।

योग हाम्रो पौभामा सजिएर विश्वका अनेकन् संग्रहालयमा सजिएको छ जसलाई हामीले आज नेपालको भनेर गर्व गर्नुबाहेक केही गर्न सक्दैनौँ । योग पैसामा सीमित हुँदै गर्दा, योग सार्वजनिक नभईकन विद्वत्जनमा वा कुनै समुदायमा मात्र सीमित हुँदै गर्दा हामी साँच्चिकै चिन्तित हुनुपर्छ । क्षमताले नभ्याउने उपचार भएर के गर्नु, क्षमताले नभ्याउने योग भएर के गर्नु, छिमेकीको घाउमा मलम लगाउन नसक्ने योग केवल विदेशीलाई सर्टिफिकेट बाँड्ने कार्य बनेर सीमित हुन सक्छ । हामीले यसैमा आँखा खोल्नुपर्छ ।

योगका लागि हाम्रा पुर्खाले के गरेका छन्, हामीले त्यसलाई केलाएकै छैनौँ । चाहे त्यो काष्ठकलामा होस्, चाहे धातुकलामा, चाहे वास्तुकलामा, चाहे अन्य जीवनका आयाममा, योगलाई संस्कृति बनाएर पस्किएको छ यो भूखण्डले । अनि यो इतिहास किताबका पानामा मात्र सीमित भएर बसेको छैन, बरू दिनदिन जीवनमा छाएको छ । पशुपतिका कुना कुनामा गुन्जिने ओमकारको नाददेखि हाम्रा बहाःबहिमा गाइने ज्ञानमाला भजनसम्म योगकै अनुपम संगीत लिएर आजसम्म पनि जाग्रत छन् जुन कुनै सर्टिफिकेटमा, कुनै प्याकेजमा पाइनु सम्भव छैन ।

आजको गर्नुपर्ने योग
वर्तमानमा व्यावसायिक हुनुपर्छ, संगठित हुनुपर्छ । यो एकता सेवाका लागि, साधनाका अनि सौन्दर्यका लागि । सत्य, शिव र सौन्दर्य भन्दै जीवनको आदर्श बोकेका हामीले योगलाई नयाँ आयाममा, समयको आवश्यकताअनुसार पस्किनुपर्छ, अभिव्यक्ति दिनुपर्छ । जसरी सानो बिउ वसन्तमा झाँगिन्छ, विशाल वृक्ष भएर छहारी दिन, हामी पनि त्यस्तै हुनुपर्छ । पैसामा सीमित भयौँ भने, हामी आफैँ बिलाउँदै गयौँ भने योग पनि कुनै ब्रान्डको नाम भएर सीमित हुनेछ, योग पनि कुनै नाम भएर रहनेछ । योग संवत् र योग दिवसमा हाम्रो यही मर्म लुकेको छ ।

योग गरौँ, स्वस्थ रहौँको अभियानमा यही सन्देश लुकेको छ । हामी केवल सेता लुगा लगाएका एकदिनका योगी कि यम नियमले सजिएका सदाका योगी, यसैलाई हृदयको आँखाले नियाल्ने दिवस अहिले आएको छ । राष्ट्रियदेखि अन्तर्राष्ट्रि«य, जीवनदेखि जगत्सम्म के हामीले गरिरहेको योगले मनलाई मनसँग जोडेको छ त ? यही कुरालाई खोतल्ने बेला भएको छ । आजको योग दिवसले हामी सबैलाई यही अभिप्रेरणा मिलोस्, योग दिवसको हार्दिक शुभकामना ।

 

 

 

प्रकाशित: ७ असार २०७५ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App