देश बन्ने दिलले हो। एक असल राजनेताको राजनीतिक श्रेष्ठताको कसी उसको नबांगिएको नियत नै हो। महाकवि देवकोटाले ‘मानिस ठूलो दिलले हुन्छ’ भनेर त्यसै भनेका होइनन्। एसएस राजामौलीद्वारा निर्देशित साउथ इन्डियन चलचित्र वाहुवलीले गृह निर्माणका लागि चाहिने मूल तत्व महान् हृदय नै हो भन्ने सन्देश दिएको छ। जनतालाई खेलौना ठानेर सत्ताको बलमा सत्य, शील र सत्कर्मलाई तपसिलमा पार्ने र न्यायलाई कुल्चन खोज्ने राजा जेठाजु भल्लालदेव र सासू राजमाता शिवगामी देवीलाई कटाक्ष गर्दै नायिका देवसेना ओझपूर्ण ढंगले भन्छिन्– एक महान् साम्राज्य बडा बडा प्रतिमा र उचा उचा सिंहासनले बन्दैन, एक विशाल हृदयले बन्छ।
हाम्रा भगवान भनेका ढुंगाकानबोल्ने देउता होइनन्, जीवित जनता हुन् भन्ने जननेता मदन भण्डारीको जोडबल नेपालका कम्युनिस्टलाई जनदेवताको उपासक बनाउने थियो। वास्तवमा जनताको दिलमा बस्न सक्ने राजनीतिक शक्तिमात्र भिरको डिलमा पुग्नबाट जोगिन सक्छ। आज इतिहासको कठघरामा एक प्रश्न खडा छ– देश, देशवासी, लोकतन्त्र, स्थायी शान्ति, राजनीतिक स्थायित्व, समृद्धि र स्वाभिमानका लागि चाहिएको दिल र शीलको आपूर्ति नेपाल कम्युनिस्ट पार्टीले गर्न सक्छ वा सक्तैन?
नेकपाको गुटफुटको विषखेतीको फडानी गर्ने इमान्दार प्रयास गरेको श्रेय मनमोहन अधिकारी र मदन भण्डारीलाई जान्छ। यसको जरो उखेल्ने सपना र योजना भए पनि भण्डारी र अधिकारीमाथि समयचक्र भने निर्मम भयो।
पूर्वमाओवादीमा प्रचण्ड लगातार तीन दशकसम्म मियोका रूपमा रहेकै बेला एमाले अध्यक्ष र संसदीय दलको नेतामा केपी ओली निर्वाचित भएपछि एमालेमा नेतृत्व एकातिर नीति अर्कोतिर रहेको विसंगतिको अन्त्य हुनु नै यो राजनीतिक परिदृश्यको जननी थियो । सर्वप्रथम त ओली र प्रचण्डको संवादको ढोका खुल्नु जरुरी थियो । किनकि हामीलाई यो थाहा छ कि रोटी पाक्न बिँड तातेर हुँदैन, ताबा नै तात्नुपर्छ । पूर्वएमाले ओलीमय भएपछि बाक्लै चिन्ता र अनुमान गरिएको थियो कि कडा स्वभावका ओलीका कारण कतै कोइराला बन्धुहरू, माधवकुमार नेपाल र झलनाथ खनालले जुक्तिले बचाएको शान्ति प्रक्रियाको विरासत फेरि दाउमा पर्ने त होइन ? भीडबाट प्रभावित नभएर ओलीमाथि विश्वास गर्ने एमालेको पंक्तिमा भने आशावादिता र आँट भरपूर थियो।
रोटी चिल्ला मीठा, कुरा खस्रा मीठाको सत्यलाई आत्मसात गर्ने व्यवहारवादी राजनीतिका पक्षधर जतिमा भने कुनै डगमग र चिन्ता थिएन । चिल्ला र कोमल पातका टपरी त हेर्नका लागि शोभामात्र हुन्, भार थेग्ने सामथ्र्य त खस्रा र दह्रा पातले बनेका टपरीमा हुन्छ । कसैले पत्याउन त के अनुमान लगाउन नसके पनि पूर्वएमालेको एक पंक्तिमा यसप्रकारको आत्मविश्वास थियो । यो पंक्ति सबैसँग संम्वाद र संघर्षको महत्वलाई राम्ररी जान्दथ्यो । ‘तरबारका अगाडि गर्दन थाप, गोलीलाई छातीले प्रतिवाद गर तर सत्यको आवाज दबाएर नराख, जनताको शक्तिमा विश्वास गर, जनताको कोपदेखि मात्र डराऊ’ को आदर्शबाट प्रेरित त्यही पंक्तिले थामेको संघर्ष र संवाद धर्मको आज जीत भएको छ।
कहिलेकाहीँ शक्ति केन्द्र, राष्ट्र र समाजले आफ्नै नाभीबाट आइरहेको बास्नाको स्रोत खोज्दै भौतारिने कस्तूरी मृगको जस्तो गल्ती गरेर दुःख पाउने गर्छन् । ओली र प्रचण्डको दूरी घटाउनुभन्दा बढाएर भौतारिने गल्ती पनि एक यस्तै दृष्टान्त थियो । वास्तवमा ओली र प्रचण्डलाई एक ठाउँमा नराखेरै हावामा महल लगाउनु जस्ता पहल पहिला पनि प्रशस्तै भए होलान् तर ओली र प्रचण्डलाई वार्ताको टेबलमा बस्ने पहिलो पहल गर्ने र दबाब दिने मै हुँ भन्ने सत्यको साक्षी नेताद्वय नै हुनुहुन्छ।
२०६५ सालमा खेलकुदमा पिएलएको संलग्नताले गर्दा विवाद बढेको थियो । प्रा. खगेन्द्र खड्काले प्रधानमन्त्री दाहाललाई सुझाव लेख्दा मसँग सहयोग माग्नुभयो । मैले भनेँ– तपाईँ मनमोहन अधिकारीको ज्वाइँ पनि हो । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा तपाईँले नजिकबाट सहयोग गर्नुभयो । आज पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पनि तपाईँ नजिक नै हुनुहुन्छ । यसरी यस मुलुकका दुईजना वामपन्थी प्रधानमन्त्रीको नजिक रहेको एकमात्र व्यक्ति तपार्इँमात्र हुनुहुन्छ । सक्नुहुन्छ भने प्रचण्डलाई सुझाव लेखेर दिनुहोस्– ‘जुन जुन शक्ति केन्द्र र दलाल राजनीतिज्ञहरू ओली र प्रचण्डबीच दूरी बढाउन खोज्दैछन्, तिनीहरूकै कारण प्रचण्ड नेतृत्वको यो सरकार पनि मनमोहन सरकारझैँ नौ महिनाभित्रै ढल्नेछ । किनकि एक त एमालेकै सहयोगमा प्रचण्डको सरकार टिकेको छ । दोस्रो अध्यक्ष पदमा पराजित भए पनि लेनिनवादी संगठनात्मक सिद्धान्तबाट चल्ने कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा ओलीको पक्षमा बहुमत छ । केन्द्रीय कमिटीको बहुमत कम्युनिस्ट पार्टीमा महत्वपूर्णमात्र नभई सबैथोक पनि हो । ओली सधैँ रक्षात्मक रहने अवस्था छैन । यसरी नै ओलीप्रति अपमान र तिरस्कार जारी रह्यो भने कुनै पनि निहुँमा एमाले सरकारबाट अलग हुन सक्छ।’
प्रा.खड्काले सुझावमा मेरा कुरा समावेश गरे÷नगरेको थाहा भएन । जब प्रचण्डको सरकार ढल्यो तब खड्का सरले मलाई ‘राजनीतिक भविष्य वक्ता’ भनेर सह्राहना गर्नुभयो । पछि सोधेपछि खड्का सरले भन्नुभयो– ‘के गर्नुहुन्छ ? तपाईँको कुरा मैले जस्ताको तस्तै राखेकै हो ।’ प्रा. खड्काले २०६७ सालमा प्रचण्डसँग मेरो भेटका लागि चाँजोपाँजो मिलाउनुभयो । बाहिर चर्का अभिव्यक्तिका कारण छवि भिन्नै बने पनि प्रचण्ड सोचेभन्दा बढी सरल हुनुहुँदोरहेछ । उहाँले भन्नुभएको थियो–दयालजी, ओलीजीसँग हेलो हाइ हुन्छ तर हर्टली कुरा हुँदैन । सहकार्यका लागि अल्पकालीन र दीर्घकालीन खाका ल्याउनुहोस् म तयार छु ।
प्रचण्डलाई यति कुरा मनाउन मैले आफ्ना धारणा यसरी राखेको थिएँ– २००७ सालमा राजा र बिपीबीचको सम्झौताले यो आधा शताब्दीमा हाबी काँग्रेस र राजा नै भए । २०४६ सालमा एमालेले कांग्रेस र दरबारसँग त्रिपक्षीय संम्झौताका लागि हात अघि बढाएको परिणामस्वरूप यी दुई दशकमा एमाले पनि स्थापित भयो।
२०६२/६३ बाट सुरु भएको काँग्रेस, एमाले र एमाओवादीबीचको सहकार्यलाई सार्थक पार्न यी तीनै पार्टीका ‘जग’ मिल्नुपर्छ । काँग्रेसको जग यतिखेर सुशील कोइराला हुनुहुन्छ । एमालेको जग पदमा नरहे पनि केपी ओली नै हुनुहुन्छ । एमाओवादीको मियो तपाईँ नै हो । तपाईँको निवासको गेटभित्र पस्नासाथ माओवादीको भाषा बोल्ने र एमाले भएको बिर्सिहाल्ने भएकाले तपाईँकोमा धाउने एमालेको भर नपर्नुहोस् । सक्कली एमालेसँग तपार्इँको भेट भएकै छैन । मुखमा मिल्ने कुरा गरेर नियत निल्ने र निलाउने छ भने सहकार्य र एकता धोका हुन जान्छ । लेनदेनमा असमान भइहाल्छ तर अपमान मिसिएको एकताको अर्थ छैन । तपाईँ र ओली मिल्नुहोस् र नेपाली काँग्रेसलाई पनि पर नराख्नुहोस् । यसो गर्दामात्र सहमति जुट्छ र संविधान बन्छ । कृष्णप्रसाद भट्टराईले २०४७ सालमा ७ महिनामा संविधान दिनुभयो र १ वर्षमा आमनिर्वाचन सम्पन्न गर्नुभयो । २०६५ यताका तीनजना वामपन्थी प्रधानमन्त्रीले देशलाई संविधान दिन सक्नुभएन । हामी कार्यकर्ता अहिले चूप लागौँला तर २०९० सालतिर इतिहासकारहरू यसै भन्न बाध्य हुने छैनन्।
त्यसपछि मैले ओली कमरेडलाई यसबारे रिपोर्टिङ गरेँ । राज्य संयन्त्रको दुरुपयोग गरेर विगतमा कांग्रेसले एमालेलाई हैरान पारेको थियो । वाइसिएलको तागत र गृह प्रशासनको दुरुपयोग फ्युजन गरी माओवादीले चुनावी परिणाम कुम्ल्याउन सक्ने चिन्ता एकथरि एमालेमा थियो । अर्काेथरी एमालेको ध्यान मन्त्रीका अवसर सिर्जना र स्वाभिमानहीन घरज्वाइँ प्रकृतिको एकताको रागमा केन्द्रित थियो । दासभन्दा मालिकसँगै वार्ता गर्नु उपयुक्त हुने मेरो सुझावको प्रतिउत्तरमा ओलीले भन्नुभयो– वार्तामा बस्नुको अर्थ ठग्नु वा ठगिनु होइन । प्रचण्डभन्दा म उमेरले पनि जेठो हुँ । राजनीतिमा पनि पहिला नै आएको हुँ । उहाँले सबैलाई ठगिसक्नुभयो । ठगिन बाँकी मैमात्रै छु । तैपनि वार्तामा बस्न म तयार छु । दाससँग होइन वार्ता मालिकसँगै गर्ने हो।
पछिल्ला आउजाउबाट थाहा भयो, उहाँहरूबीच कतै वार्ताहरू भए । यो खबर सुनेपछि खड्का सर अति खुसी हुनुभो । मनमोहन कमरेडका ज्वाइँ खड्का सरले पुरानो प्रसंग कोट्याउँदै भन्नुभो–‘हिजो मनमोहन र मदनजीलाई मिल्न नदिने धेरै थिए माक्र्सवादीमा । मदनले यो भने, त्यो भने भनेर मनमोहनलाई उच्काउने गरिन्थ्यो । मिल्नुपर्छ भनेर मनमोहनलाई सम्झाउने लोककृष्ण भट्टराई र ममात्र थियौँ । तपाईँले भनेको मनमोहन कमरेड मान्नुहुन्छ, सम्झाउनुप-यो भनेर मदनजी मलाई भन्नुहुन्थ्यो । म मनमोहनसँग अलि कडै भएर भन्थेँ– ‘बाबा, मालेसँग नमिल्ने हो भने तपाईँले मलामी नपाउने दिन आउनेछन् । परिस्थिति बिग्रियो भने अहिले नमिलौँ भनेर तपाईँलाई गलत सल्लाह दिने जतिले तपाईँको साथ छाड्नेछन् । भाइ र छोरा पनि रहने छैनन् । अरु कोही पनि मलामी नआएपछि म एक्लो ज्वाइँ काठको खुट्टापट्टिको भाग बोकुला कि टाउकोपट्टिको?’
खड्का सरको प्रयास ओली र प्रचण्ड मिलाएर मनमोहन र मदनको मेलमिलापको नयाँ संस्करण निकाल्ने थियो । त्यो पहलमा परिणाममुखी नभए ओली र दाहाल ‘वान टु वान वार्ता’ को श्रीगणेशका हिसाबले उपलब्धिपूर्ण थियो । नेकपाको गुटफुटको विषखेतीको फडानी गर्ने इमान्दार प्रयास गरेको श्रेय मनमोहन अधिकारी र मदन भण्डारीलाई जान्छ । यसको जरो उखेल्ने सपना र योजना भए पनि भण्डारी र अधिकारीमाथि समयचव्रm भने निर्मम भयो । अब ती अधूरा सपनालाई वास्तविकतामा बदल्दै लोकतन्त्रलाई नाना, छाना र दानाको भाषामा अनुवाद गर्नुपर्ने दायित्य नेकपाको काँधमा छ।
प्रकाशित: २८ जेष्ठ २०७५ ०४:०० सोमबार