अभिन्न छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदी गाली–ताली दुवै खाएर फर्किएका छन्। स्मरणका पृष्ठभूमिमा धेरै घटना र प्रतिघटना छन्। मधेसलाई मात्र विशेष नबनाएर नटेरेको सजायका रूपमा, भारतविरोधी राष्ट्रवादलाई नै नेपाली राष्ट्रवादमा परिभाषित गरिएका सन्दर्भमा, स्वयं मोदीका मैमत्ते अहंकारका रूपमा जे भए, जस्तो गरिए त्यही खिचडी डढेको गन्ध आएको मात्र हो। मधेसी दल र नेताले यसबाट जति फाइदा लिए पनि आम नागरिकले अपूरणीय नोक्सानी र पीडा बेहोरेको सत्यलाई भुल्न सकिन्न, भलै केहीले सत्तालाभ र केहीले आर्थिक लुटलाभ लिए। कसैले सोचेनन्, जनभावना दुधारी तरबार भएकाले हदभन्दा बढी खेल्नु खतरनाक हुनसक्छ।
दल विशेष र स्वयं प्रधानमन्त्री ओलीले पनि यसबाट पर्याप्त लाभ भेटेको अनुभूत भए पनि एमाले दल र स्वयं ओलीले त्यसको जरिवाना हालको यस मोदीमयताबीच तिर्न बाध्य भएका छन्, मोदीमाथि जति आक्रोश छ, त्यसभन्दा कम छैन ओलीविरुद्धका आलोचनाहरू । जब कि ओलीको भारत भ्रमण र यस मोदी भ्रमणले नै दुवै देशबीच उत्पन्न अविश्वास, सद्भावमा भएको ह्रास, नेपाली जनताको मनमा दुखेको पीडा र रिस घृणा आदि अनेकानेक दुर्भाव हटाउन मूल भूमिका खेलेर नयाँ सफा बाटो बनाएकै हो। र यो आवश्यक थियो दुवै देश र दुवै जनहितका लागि । खटिरालाई ट्युमर र ट्युमरलार्ई क्यान्सर बनाउने मौका दिन नहुने सोच ओली र मोदी दुवैको देखिएकैले क्यान्सरको शल्यक्रिया यी दुई भ्रमणले गरेको सत्य हो । तर यसो गर्ने दुवै प्रधानमन्त्रीले व्यक्तिगत अहंको त्याग र आउने छर्राहरूको मारको सहन गर्न आँट गरेकै हुन्। अझ विशेष गरी मोदीलाई भने यसबाट तात्कालिक लाभ भए पनि ओलीलाई भने यसबाट तात्कालिक तथा दीर्घकालीन नोक्सानी प्राप्त हुनेछ । तर देश र जनतालाई भने यसले अल्पकालीन तथा दीर्घकालीन लाभ हुने नै छ। यस्तो जटिल परिस्थितिमा ओलीले बिरालोको घाँटीमा घन्टी बाँध्न लिएको जोखिमले उनलाई इतिहासमा राजनेता बनायो बनायो, किनभने इतिहासले असार साउनको भेलको हिसाब राख्दैन, नदीको मूलधारको दिशा र निरन्तरतालाई मात्र मूल्यांकन गर्छ । भारत विरोधी मनस्थिति हामी अरू धेरै समय बोकेर राख्न सक्दैनौँ । त्यो सिस्नुको भारी फाल्नैपथ्र्यो र ओलीले फाल्दा आफैँलाई पोल्ने भए पनि फाले । हो, ओलीले भारतमुखी सुकुमेल र चीनमुखी दालचिनी हालेर पकाएको राष्ट्रवादको खिरका सुगन्ध अब सकिएको या पर्दाफास भएको अवस्था छ । अब स्वादिष्ट खिर होइन नमीठो जोगी खिचडीको डढेको गन्ध आउन थालेको छ । राजनीति भनेकै यही हो। तात्कालिक रूपमा बिपी, महेन्द्र, वीरेन्द्र, मदन, गिरिजा, प्रचण्ड, ज्ञानेन्द्रलगायत हरेकले राज्यसत्ताका लागि जनमनको स्वादअनुरूप कहिले खिर कहिले खिचडी पकाएकै हो, सोझा भावुक उत्तेजित जनताको हाडमासु रगत पनि मिसाएर। भोलि पनि पकाइनेछ। अमेरिकामा ट्रम्पले, भारतमा इन्दिरा र मोदीले, पाकिस्तानमा जियाउल हक र भुट्टोले पनि यस्तै खिचडी पकाएर जनतालाई भावुक मूर्ख बनाएकै हुन्। यही भावुकतामा ‘जनयुद्ध’ भन्दै सत्रौँ हजार मरे, क्रान्ति, जनआन्दोलन या मधेस आन्दोलन भन्दै सयौँ मरे।
ओलीले भारतमुखी सुकुमेल र चीनमुखी दालचिनी हालेर पकाएको राष्ट्रवादको खिरको सुगन्ध अब सकिएको छ।
प्रसंग हो, मोदीमयताको रापतापको। मोदी आउने हल्ला चलेदेखि नै फेसबुक, ट्विटर, अनलाइन र पत्रिका तथा विचार निर्माताहरूलाई भ्याईनभ्याई भइरहेको थियो, मोदी नाम र मोदी बदनाम जप्न । गाली या तालीले वैशाखे गर्मी मोदीमय भएको तथ्य प्रस्ट छ । अहिले मोदी गइसक्दा पनि मोदी लु जारी छ । गाली र ताली दुवै अति भए घातक हुन्छ । देश र यसको भौगोलिक अवस्थिति तथा वास्तविक धरातल नबुझी दुखाइकै तोडमा बरबराएर धेरै चल्दैन। भारतविरुद्धका हरविषय कसरी राष्ट्रवाद हुने हो ? नेपालको राष्ट्रवाद नेपालमा पो हुन्छ, भारतको विरोधमा हो र? मोदी नाकाबन्दी मिसाइलबाट सकल देश र जनता प्रताडित भएको सत्य पीडाजनक नै थियो। भुल्ने कुरा होइन । परन्तु नेपालले छिमेकी भारतलाई सदाका लागि बहिष्कार गरिरहन सक्छ त? छिमेकी परिवर्तन गर्न नसकिने भए पनि सम्बन्धका रूपहरूमा परिवर्तन गराउन सकिन्छ। व्यवहारमा परिवर्तन गराउन सकिन्छ । यही खराब छिमेकीलाई नै असल छिमेकी बनाउने हो। भारतको शत्रुताको विकल्प चीनको मित्रता होइन । चीन चीनकै ठाउँमा छ, भारतको ठाउँमा होइन।
वास्तवमै भारत नेपाली विरोधी छैन। सत्ताधारीहरूको अहं र कुसूचना तथा व्यक्तित्व टकराव भित्रैबाट जन्मेका हुन् विवाद र समस्या । धेरै घटनामा नेपाली आन्तरिक राजनीति र नेताहरूकै स्वार्थका कारण उठेको हो समस्या। भारतका हरेक नाकाबन्दीका पछाडि, हरेक दादागिरीका पछाडि, हरेक हैकम प्रदर्शनका पछाडि, हरेक बातमा ‘माइक्रोमेनेजमेन्ट’ पछाडि शतप्रतिशत हाम्रा आफ्नै दल र तिनका नेताहरू नै छन्। नेपाललाई अस्थिरतामा राखेर न पूरै मर्न दिने न पूरै बाँच्न दिने भारतीय कर्मचारी नीतिको आधार र स्रोत सत्ताबाट बाहिरिएका दल र नेता नै हुन् । भारतलाई मात्र एकोहोरो प्रताडित गर्ने र नेतालाई सत्तारोहण गराउने खेलका गोटी त नेपाली जनता नै हुन्, भारतीय नेता या जनता होइनन्।
भारत विरोधी मानसिकताको अगेनामा एकदुई छाक मात्र रोटी सेक्न सकिन्छ, सधैँका लागि सकिन्न। नेताहरूले पनि अब यस विषयलाई गम्भीरतापूर्वक लिएर भारत विरोधको आगोमा नेपालको राष्ट्रवाद पकाउने दुष्कर्म गर्नुहुन्न।
परन्तु, उता नेपालजस्तो हरेक प्रकारले अभिन्न मित्रसँग सम्बन्ध एकदमै भ्रातृत्वको हदमा पु-याउन मोदीलाई बाध्य बनाइएको अवस्था छ। विज्ञले उनको राजनीतिक इमेज नै बिग्रेको मुख्य कारण नेपालीमाथि उनीबाट भए–गरेका नाकाबन्दी लगायतका विविध क्रियाकलापलाई प्रस्ट खुट्याएका छन् भने विपक्षीहरूले उनी छिमेक नीतिमा पूर्ण असफल भएको भन्दै ठोकिरहेका छन्। तराईलाई आफ्नो ठान्ने र बाँकी नेपाललाई पराई ठान्ने हदसम्मका मोदी रणनीति गलत भएको र यसले परिवारजस्तो नजिकका नेपालीहरूलाई भारतविरोधी बनाएको छ भन्ने विषय भारतीय संसद् र बौद्धिक समाज तथा पत्रिकाहरूमा छ्याप्छ्याप्ती भएको छ । तसर्थ मोदीको प्राथमिकतामा त्यो घाउ पुर्ने, मलम लगाउने र हिजोलाई बिर्साएर नयाँ तरिकाले सम्बन्धमा आयाम थप्न जुन हदसम्म पनि जान तयार अवस्थामा प्रधानमन्त्री ओलीबाट भारतको भ्रमण नगरेर चीनको गरेको भए के नेपाललाई लाभ हुन्थ्यो त ? साथै भारतीय प्रधानमन्त्री मोदीको भ्रमण नगराएर वा भ्रमणमा अपमान गरेर नेपाललाई लाभ हुन्छ त? हामीले हाम्रो लाभ हेर्ने हो । भारतीयले भारतकै लाभ हेर्ने हो । अहिलेको परिस्थिति नेपालसँगको सबै तिक्तता हटाउनु नै भारतको लाभ हो। यी दुवै भ्रमणलाई मह बनाउने हो । यस अवस्थामा मोदी ब्याकअप, इन्डिया प्याकअप भनेर सामाजिक सञ्जालमा इन्डिया र मोदीप्रति घृणा पैmलाउने व्यक्तिहरूले नेपालको नोक्सानी गरिरहेको तथ्य प्रस्ट छ । चित्त दुखाई जायज छ। तर त्यही कारणको खोचे थापी घाउमा खाग्सी दली रगतपच्छे भइरहनु कति जायज?
अवसर राम्रो छ, मौका दुवैले पाएका छन्। दुवै आआफ्नो देशमा सर्वशक्तिमान अवस्थामा छन्। तसर्थ यही मौकामा नेपालले चौका हानेर भारतसँगको सबै तिक्तता मेट्न सक्छ । मोदी र ओली दुवै चतुर चाणक्य मात्र होइनन्, लचकदार, सम्झौतामुखी तथा कडा निर्णयकर्ता ‘डिक्टेटर’ पनि हुन् । तसर्थ दुवैको चतु-याइँ र सम्झौतामुखी चरित्रका साथै निर्णय गर्न सक्ने क्षमताको सदुपयोग हुन लागेको छ । मोदी स्वयंलाई लाज र अपराध बोध हुने गरी हामी सकल नेपालीले सकारात्मक सोच तथा सकारात्मक बोलीको उपयोग गरी फेरि भारतीय प्रधानमन्त्रीले यस्तो सोच्न पनि नसक्ने गरी लज्जाबोध गराउन यस भ्रमणमा जनताको गाली होइन, तालीको आवश्यकता थियो । तर यसबारे सरकारले अग्रिम सोच र मनोवैज्ञानिक उपाय अपनाउन नसक्दा वातावरण दूषित भयो । देशलाई फाइदा हुने कुरा गर्नु पनि राष्ट्रवाद हो।
भारतलाई हैकममा पु-याएको कसले ? नाकाबन्दीजस्ता कार्य गराएको कसले ? नेतागण, दल, बुद्धिजीवी तथा परराष्ट्र मन्त्रालयको फितलोपन नै हो।
अन्तमा, भारत विरोधी मानसिकताको अगेनामा एकदुई छाक मात्र रोटी सेक्न सकिन्छ, सधैंका लागि सकिन्न । नेताहरूले पनि अब यस विषयलाई गम्भीरतापूर्वक लिएर भारत विरोधको आगोमा नेपालको राष्ट्रवाद पकाउने दुष्कर्म गर्नुहुन्न । र आम जनता तथा कथित भडकाउवादी बुद्धिजीवीहरू पनि अब यसबारे सचेत हुनुपर्छ। तर यी मोदी, नाकाबन्दी, भारत विरोधी मानसिकता सबै तपसिलका कुरा हुन्। मुख्य कुरा के हो भने हामी नेपाली र भारतीय प्रकृति र समयले सशरीर जोडिदिएका जुम्ल्याहा हौँ।
प्रकाशित: ३० वैशाख २०७५ ०५:५६ आइतबार