२६ असार २०८२ बिहीबार
image/svg+xml
विचार

अधिकमास र अधिपति शुक्रको अशुभ उदय

संवत्सरमा पर्ने बाह्रौं सङ्क्रान्ति र चन्द्रमासमा समन्वय बनाइराख्नका लागि वैदिक कालमा नै तेह्रौं अधिक महिनाको परिकल्पना गरिएको थियो। प्राचीनकालदेखि नै अधिक र क्षय मासको ज्ञान भूमण्डलीय भविष्य भन्नका लागि धेरै राम्रो आधार मानिँदै आएको छ। बृहत् संहिताबाहेकका विभिन्न ज्योतिषीय संहिता ग्रन्थहरूमा अधिक वा क्षयमास हुँदा पृथ्वीमा के कस्तो प्रभाव पर्न सक्छ भनेर पूर्वीय शास्त्रमा सङ्केत गरेको पाइन्छ।

अहिले विश्वमा १९ वर्षको अन्तरालमा २०८० साउनदेखि २०८३ वैशाख अन्तिमसम्म शुक्र स्वामी मानिने साउन अधिकमासको प्रभाव चलिरहेको छ। ज्योतिषमा वर्षलाई सौरमानद्वारा ग्रहण गरिन्छ, जबकि महिना सौरचन्द्रमानबाट लिइन्छ। वास्तवमा पृथ्वीले सूर्यलाई गर्ने एक सम्पूर्ण परिक्रमाको समय नै सौर्य वर्ष हो। एक वर्षमा सूर्य राशि चक्रको एक परिक्रमा पूरा गर्छ, जबकि चन्द्रमा राशिचक्रको बाह्रभन्दा केही बढी परिक्रमा गर्छ। यसैकारण प्रतितेस्रो वर्षमा एक चन्द्रमास अधिक मानिन्छ। जसले सूर्य र चन्द्रमाको गोचरमा सन्तुलन बनिरहन्छ। यसमा वर्षभित्र हुने चाडपर्व र ऋतुहरूको सम्बन्ध जोडिएको हुन्छ।

अधिक र क्षयमासको प्रभाव मेदिनीय प्रसङ्गमा महत्त्वपूर्ण स्थान राख्छ। क्षयमास घटित हुनुभन्दा पूर्व नै यसले आफ्नो कुप्रभाव देखाउन सुरु गर्छ, जब कि अधिकमासहरूको फल सामान्यतया सम्बन्धित वर्षहरूमा नै घटेका देखिन्छन्। कहिलेकाहीं यी विकृतिहरूको फल वर्षमा बिउका रूपमा रहेर भावी घटनाक्रमको आधारभूमि तयार गर्न सक्छ, जुन आउने वर्षमा यथासम्भव प्रकट हुन्छ। यदि यस्ता वर्षमा अन्य अशुभ ग्रहयोग पनि जुध्यो भने त्यसको प्रभाव धेरै व्यापक हुने मानिन्छ।

श्रावण अधिकमास फल यसप्रकार उल्लेख गरिएको छ ः सर्वकामसमृद्धिः स्यात् सहसा शूद्रवृद्धयः, विरोधः क्षत्रियाणां तु युद्धं भाद्रपदे तथा। अर्थात् साउन वा भदौ महिना अधिक भएमा समाजका तल्ला तथा निम्नवर्गका मानिसलाई खास महत्त्व प्राप्त हुन सक्ने। स्वार्थ र कामवासनामा वृद्धि, शासक र नेतामा स्वार्थवश आपसी मतभेद, युद्ध वा कुनै ठुलो उत्पात हुन सक्छ। साउन, भदौपद र कात्तिक अधिक भयो भने क्रमशः अधिकाधिक उत्पातजनक हुने मानिन्छ, तब प्रायः विध्वंशकारी घटनाहरूको सम्भावित हुन्छ। यी महिनाले कुनै प्राकृतिक दुर्घटना, युद्ध, ठुलो झगडा आदिको सूचना दिन्छ। ‘दुर्भिक्षं श्रावणे युग्मे पृथ्वीनाशः प्रजाक्षयः’ पनि भनिएको छ ।

योभन्दा अगाडि २०६१, २०४२, २०३४, २०२३, २०१५ र २००४ सालमा पनि साउन महिना अधिक भएको थियो। २०६१ सालको साउन अधिकमासपछि अर्को अधिकमास सुरु हुनुअघि नै २०६२/६३ को जनआन्दोलनद्वारा नेपालमा राजतन्त्रको समाप्त भई ठुलै परिवर्तन भएको थियो। त्यो बेला छिमेकी देश भारतमा पनि शासक दलको अनपेक्षित पराजय, शासनमा परिवर्तन र त्यो अवधिमा शुक्र अधिपति मानिने दिशा विश्वको लगभग दक्षिणपूर्व आग्नेय दिशामा पर्ने इन्डोनेसियामा ठुलो प्राकृतिक उत्पात ९.१ रेक्टरको भूकम्प र सुनामीको भयङ्कर घटना भएको थियो, जसमा सबैतिर गरेर लाखौंले ज्यान गुमाउनुपरेको थियो।

अधिक वा क्षयमासको प्रभाव जुन देशको नाम राशिको अधिपति एवं त्यसको शत्रु मानिने ग्रहको महिना नै अधिक वा क्षय भएको हुन्छ। ती देश र प्रदेशमा अधिक व्यापक हुने पनि मानिन्छ। विशेषगरी संहिता ज्योतिषमा साउनको अधिपति ग्रह शुक्रलाई मानिन्छ। ‘आषाढो भास्करो ज्ञेयो ज्येष्ठमासः कुजः पुनः, श्रावणाधिपतिः शुक्रश्चन्द्रो भाद्रपदः स्मृतः’ अर्थात् ज्येष्ठको मंगल, असारको सूर्य, साउनको शुक्र र भदौको अधिपति चन्द्रमा  भनेर बुझ्नु।

आकाशलाई ठिक १२ भागमा विभाजन गरेर कल्पना गरिने राशिचक्रमा वृष र तुला राशिको अधिपति ग्रह पनि शुक्र हो। त्यसैगरी वृष राशिमा पर्ने नक्षत्र चरणअनुसारका अक्षर ई, उ, ऊ, ए, ओ, वा, वी, वू, वे, वो हुन् भने तुला राशिमा पर्ने अक्षर रा, री, रू, रे, रो, ता, ती, तू, ते मानिन्छन्। ऐ तथा ब र व उच्चारण गरिने अक्षर एउटै राशि वृषमा पर्छ। तथा सबै प्रकारको र उच्चारण र, तदेखि तेसम्मका सबै अक्षरको राशि तुला नै मानिन्छ।

बृहत् संहितानुसार शुक्रलाई तक्षशिला नगरी, मार्तिकावत प्रदेश, बहुगिरि (दुर्गम पर्वत प्रदेश) गान्धार (कन्धार) पुष्कलावत, प्रस्थल, मालवा, कैकय, दशार्ण, उशीनर, शिबिदेश मानिन्छ। वितस्ता नदी (झेलम) को किनारका प्रदेश, इरावती (रावी) को तटप्रदेश, चन्द्रभागा नदी (चिनाब) को तटप्रदेश, सबै प्रकारका सवारी रथ, पानीजहाज, हवाईजहाज आदि वाहन, चाँदी, खजाना, कोष, बैंक, मुद्रा प्रसार स्थान, हात्ती, घोडा, ठुला वाहनपति, धनाढ्य व्यक्ति आदि देश तथा पदार्थ शुक्र ग्रहको अधिनमा मानिन्छन्।

(बृहत् संहिता १६/२५–२६) बाँकीका तीन संस्कृत श्लोकमा वराहले युवायुवति, सुन्दरता, विलासिता, हीरा, गहना, मन्त्री वर्ग, वाग बगैंचा, मनोरञ्जक भ्रमण स्थान आदिको पनि कारक ग्रह मानेका छन्। संहितामा जब कुनै ग्रह अशुभ फलदायक वा दोषी भएर अशुभ ग्रहका प्रभावले ग्रसित हुन्छ, त्यस ग्रहको अधिनमा रहेका देशहरू, प्रसिद्ध व्यक्ति र पदार्थ क्षेत्रहरूमा कष्ट आदि हुनसक्ने प्रबल सम्भावना मानिन्छ।

संयोगको कुरा के भने २०८० साउनको अधिकमासदेखि आजसम्म विश्वमा घटेका अधिकांश ठुला अप्रिय घटना घटेका स्थान, सहर, नदीहरूको नामराशि स्वामी पनि शुक्र नै रहेको बुझिन्छ। त्यसैगरी नेपालमा विवाद तथा चर्चाको शिखरमा रहेको मानिएका गृहमन्त्रीलगायत प्रतिष्ठित तथा राष्ट्रपति तथा पूर्वराष्ट्रपतिजस्ता अति प्रतिष्ठित व्यक्ति तथा राजनीतिक पार्टीहरूको नामराशि पनि शुक्र स्वामी मानिने वृष र तुला नै रहेको प्रस्ट बुझिन्छ।

विशेष प्रभावको विचार गर्दा साउन अधिकमास सकिएको ६८ औं दिन कात्र्तिक ६ गते हमास र प्यालेस्टाइनबिच भयानक युद्ध सुरु भएको थियो। जुन युद्धमा अहिलेसम्म ५० हजारभन्दा बढीको मृत्यु भइसकेका समाचार आएका छन्।

अशुभ मानिने दक्षिण मार्गको नक्षत्रमा २०८१ चैत ११ गते शुक्र उदय भएको थियो। उदयको २९ औं दिनमा शुक्रको कारक क्षेत्र बितस्ता (झेलम) नदीको स्थान जम्मुकाश्मीरमा भएको आतंकवादी हमलामा २७ जना पर्यटकको मृत्यु भएको थियो।

८१ औं दिन शुक्रबार इरानविरुद्ध इजरायलले आक्रमण गरेयता दुई देशबिच एक अर्काविरुद्ध १२ दिनसम्म मिसाइल आक्रमणको शृङ्खला चलेको थियो। शुक्र उदयको ९० औं दिनमा अमेरिकाले इजरायलको समर्थन गर्दै इरानका परमाणु केन्द्रहरूमा आक्रमण गर्दा सयौंको ज्यान जानुका साथै हजारौं घाइते पनि भएका थिए।

त्यसैगरी यसअघि सन् २०२२ जनवरी १२ मा पनि २०८१ चैतका जस्तै बक्री अवस्थाको शुक्र दक्षिण मार्गमा उदय भएको थियो। उदयको ४३ औं दिन फेबु्रअरी २४ गते बिहीबार रुसले युक्रेनमा आक्रमण गरेपछि दुवै देशमा परस्पर युद्ध चर्किंदै गएको थियो, जुन युद्ध अहिलेसम्म पनि जारी छ। अर्को संयोग, रुस र युक्रेन युद्ध सुरु हुँदा वायु तत्त्वीय राशि कुम्भमा वृहस्पति सूर्यको नजिक भएर अस्त तथा यो असारमा इरान युद्धमा पनि सोही तत्त्वको मिथुनमा गुरु अस्त थियो तथा दुवै युद्धहरूमा वायु यान तथा ड्रोनहरू अत्यधिक प्रयोग भएको पनि देखियो।

२०८१ जेठदेखि असार २३ सम्म वृहस्पतिको गोचरअनुसार कात्तिक महावर्षको ड्राइभर र पाइलटहरूले अति सजगता अपनाउनुपर्ने प्रभाव जुधिरहेको अवधिमा यो एक वर्षभित्र नेपाललगायत विश्वभरि नै अत्यधिक मात्रामा धेरै जनधनको क्षति हुनेगरी अति दुःखद मानिने ठुला बस, कारलगायत सवारी एवं हवाई दुर्घटनाहरू पनि धेरै घटेको देखियो। शुक्रको अर्को पदार्थ क्षेत्र खजाना, कोष, बैंक, मुद्रा प्रसार सम्बन्धित नेपालमा २०८० साउन यतैको समयमा अत्यधिक चर्चामा रहेको सहकारी काण्ड, घरजग्गा कारोबारमा मन्दी, गभर्नर नियुक्तिमा लामो विवादलगायतका घटनाहरू पनि सम्झन सकिन्छ।

यही जेठयता युद्ध र वर्षा कारक मानिने मंगलको दृष्टिमा रहेको कुम्भ राशिको राहु, बुधको उदय, यो वर्ष राजा र मन्त्री दुवै सूर्य हुनु, गुरु र शनि परस्पर केन्द्रमा हुनुलगायत अरू प्रकारका अशुभ मानिने प्रभावहरू पनि जुधिरहेको अवस्था छ। साउनबाट मंगल र मीन राशिको बक्री शनिसँग परस्पर दृष्टि सम्बन्धमा रहनु आदि पनि विश्वका लागि शुभ मानिँदैन।

७८ पुस २८ गते शुक्र उदय भएकै दिन नागरिक दैनिकमा प्रकाशित भएको लेख ‘यस्तो छ ज्योतिषशास्त्रको संकेत’मा विश्वमा अशुभता अझै बढ्दै जान सक्छ भनेर विभिन्न देशमा विवाद, युद्ध, प्राकृतिक प्रकोपलगायत दृष्टिकोणले सबै देशका राष्ट्र प्रमुखहरू सजग रहनु राम्रो भनेर विस्तृतमा प्रस्ट संकेत गरिएको पनि थियो।

यसअघि नजिकैका अधिकमासहरूको कुरा गर्नुपर्दा २०७७ मा असोजमा अधिकमास परेको थियो, जसको फल असोज अधिकमास हुँदा कुनै देशमा विदेशी देशद्वारा आक्रमण, चोर, तस्कर र गुण्डागर्दीबाट मान्छेलाई कष्ट, दक्षिणी भूभागमा विशेष कष्ट हुन्छ भनिएको थियो। त्यो बेला विश्वको दक्षिणतर्फका देशप्रदेशहरूमा कोरोना महामारीबाट बढी क्षति हुनुका साथै असोज महिना र पाकिस्तान देश दुवैको अधिपति ग्रह बुध भएकाले त्यो बेला आर्थिक रूपमा पाकिस्तान टाट पल्टियो भन्ने समाचारहरू आएका थिए। त्यो अवधिमा भएको युक्रेन–रसिया युद्धको प्रभाव पनि युरोपेली मुलुकको दक्षिणतर्फकै दिशामा बढी परेको बुझिन्थ्यो।

२०७५ सालमा मंगल स्वामी मानिने महिना जेठमा अधिकमास परेको थियो। जसको प्रभाव ‘रोगपीडा भवेज्ज्येष्ठे यज्ञदानादिकं बहु, राजानस्तत्र नश्यन्ति प्रधानपुरुषक्षयः’ अर्थात् जेठ अधिक भयो भने रोगले कष्ट, मानिसमा धर्मभावको विशेष प्रचार, गर्मीको अधिकता, प्रधान पुरुषको क्षय हुन्छ। रोगको कारण कष्टको कुरा गर्नुपर्दा त्यो अवधिमा २०७६ सालको पुसबाट पूरै विश्वमा हाहाकार मच्चाउने कोरोना महामारीको सुरुवाती दिनमा प्रधान पुरुषजस्तै घरका जेठा मान्छेहरू नै कोरोनाबाट बढी पीडित भएका समाचार सुन्नमा आएका थिए।

२०३५ सालदेखि २०७० सालभित्र परेको हाम्रो देशको राशि अधिपति ग्रह मंगलको महिना जेठ अधिकमासपछि अर्को अधिकमास सुरु हुनुअगाडिका करिब चार महिनाभित्रको अवधिमा राजा वीरेन्द्रको परिवारलगायत प्रधान मानिएका राजनीति पुरुषहरूलाई हामीले गुमाउनुपरेको थियो। अर्को वर्ष २०८३ मा फेरि जेठ महिना अधिक हुनेछ। त्यसैगरी अबको तीन वर्षपछि २०८५ मा गुरु स्वामी मानिने महिना मंसिरमा क्षयमास पर्छ।

जुन वर्षमा क्षयमास हुन्छ, त्यो वर्ष दुई ठुलो प्रभावशाली देशको प्रभुत्व सीमित हुन थाल्छ। क्षयमास हुँदा पृथ्वीमा कुनै न कुनै रूपमा क्षय हुनसक्ने मानिन्छ। भनिएको छ, ‘मासक्षयश्चेत् क्षयति वसुन्धरा’।  

प्रकाशित: २१ असार २०८२ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App