मुलुकमा प्रजातन्त्रको जग राख्न र जनतालाई रैतीबाट अधिकार प्राप्त नागरिक बनाउन विगतको भूमिकालाई स्मरण गर्नु गुणग्राही समाजको लक्षण हो। तत्कालीन राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मको शासनकालमा लड्ने राजनीतिक नेतालाई सम्झनु उचित हुन्छ।
कृष्णप्रसाद कोइरालाले एकतन्त्रीय राणा शासनमा मुक्तिका लागि जनताले लगाउने गरेका फाटेका लुगा पोको पारी प्रधानमन्त्री चन्द्रशमशेरको दरबारमा पठाएको प्रसंग निकै चर्चित छ। कृष्णप्रसाद कोइराला र उनकी पत्नी दिव्या कोइरालाबाट जन्मिएका विपी, केशव, तारणीप्रसाद र गिरिजाप्रसाद कोइरालाको जीवनी संघर्ष, त्याग र बलिदानीका गाथा आजका पुस्ताले अध्ययन गर्नु जरुरी छ। त्यसो त वामपन्थी विचारधाराका पुष्पलाल, मोहनविक्रम, मनमोहन अधिकारीको योगदानलाई पनि कम मूल्यांकन गर्न मिल्दैन। हाम्रो मुलुकमा राजनीतिक परिवर्तनका लागि प्रजातान्त्रिक र वामपन्थी शक्तिको योगदान बिर्सन नसकिने किसिमको छ।
पछिल्ला दुई जनआन्दोलन २०४६ साल, २०६२/६३ साल उल्लेख्य छन्। २०६२/६३ सालको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली पश्चात् उदय भएका राप्रपा, रास्वपा, जनमुक्ति पार्टी लगायतले विशेष गरी कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण शमशेर र गिरिजाप्रसाद कोइरालाबारे मूल्यांकन गर्नु जरुरी छ।
कृष्णप्रसाद कोइरालाकी प्रथम पत्नी विष्णुदेवी कोइरालाबाट मातृकाप्रसाद कोइराला जन्मिए। उनी विपी कोइराला भन्दा दुई वर्ष जेठा थिए। यी दुवै दाजुभाइको नेतृत्वमा २००६ चैतमा नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको समुच्च रूप नेपाली कांग्रेसको जन्म भयो। जसको साझा लक्ष्य १०४ वर्षीय राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र बहाल गर्नु थियो।
कांग्रेस समाजवादी दल हो। विपी र गिरिजाप्रसाद कोइराला लोकतान्त्रिक समाजवादी नेता हुन् भने मातृकाप्रसाद केही फरक धारका नेता थिए। त्यसैले विपी र मातृकाकाबिच संविधानसभाको चुनावबारे त्यसबेला फरक मत देखिएको थियो। परिणाम २०१५ सालमा संसदीय चुनाव सम्पन्न भयो। संविधानसभाको चुनाव भयो।
अब गिरिजाप्रसाद कोइराला निडर र निर्भिक व्यक्ति थिए। विराटनगर जुट मिलको मजदुर आन्दोलन (२००३ साल) उनको राजनीतिक जीवन सुरु भयो। उनको उद्देश्य राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नु थियो। गिरिजाप्रसादको जन्म १९८१ असार २० गते बिहारको पुर्णिया जिल्लाको तेडीगाउँमा भएको थियो। उनको शिक्षादीक्षा परिवारका अन्य सदस्यको तुलनामा सामान्य रहेको थियो।
संघर्ष नै संघर्षको कालखण्डमा त्यसबेलाका नेता विपी, गणेशमान, सुवर्ण शमशेर, कृष्णप्रसाद, गिरिजाप्रसाद, पुष्पलाल आदिको जिन्दगी बित्यो। उहाँहरू सबैको जिन्दगी र त्यसपछिका उहाँहरूका अनुयायी जगन्नाथ आचार्य, बासु रिसाल, रामबाबु प्रसाई ‘‘खनुपरुदे” ढुण्डिराज शास्त्री, शेख इन्द्रिस, भीमबहादुर तामाङ आदिको राजनीतिक जिन्दगी पनि सरल तर बडो कस्टकर थियो।
२०३५÷२०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनको परिणाम २०३६ जेठ १० गते तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे। बहुदलवादीहरूको चुनाव चिह्न नीलो रङको थियो। २०३६ वैशाख २० गते जनमत संग्रह भयो। बीस लाख बहुदलवादी र चौबीस लाख निर्दलीय पञ्चायतवादीको मत खसेको भए पनि गिरिजाप्रसाद लगायतका नेताहरूले सो परिणाम स्वीकारेनन्। विपी कोइरालाले भने जनताको अभिमतको कदर गर्नु प्रजातान्त्रिक संस्कार हो भने।
प्रधानमन्त्री सूर्यबहादुर थापा थिए। २०४२ जेठ १० गतेबाट कांग्रेसले बहुदलीय व्यवस्थाको पुनःस्थापनाका लागि सत्याग्रह घोषणा गर्यो। त्यसबेला किसुनजी कार्यबाहक सभापति र गिरिजाप्रसाद पार्टी महामन्त्री थिए। सत्याग्रहको ठीक २ महिना पहिले नागरिकको प्रजातन्त्रप्रतिको चाहना राजाले बुझून् भन्ने ब्यहोराको पत्र राजदरबारको पश्चिम ढोकामा गिरिजाप्रसादको अगुवाइमा पुगेको थियो। देशभरिका एकलाख भन्दा बढी नागरिकको त्यसमा हस्ताक्षर थियो।
दरबारका कर्मचारीले झन्डै एक घण्टासम्म उहाँलाई ढोकामै अल्मल्याए पछि उनी क्रुद्ध हुँदै दरबारका सचिवलाई भनेका थिए– यसको अमिलो परिणाम राजाले पाउनेछन्, तिमीहरूले सुनाइदिनू। त्यसबेला प्रतिबन्धित कांग्रेसमा विचारको बहस निकै हुनेगर्थ्याे।
पार्टी कार्यालय काठमाडौंको जमलस्थित एउटा सानो घरमा भाडाको घरमा थियो। त्यसबेलाको राष्ट्रिय पञ्चायतमा प्रवेश गरेर आन्तरिक रूपमा विद्रोह गरी प्रजातन्त्रको पुनःस्थापना गर्ने कि जनआन्दोलन गर्ने भन्ने थियो। आन्तरिक संघर्ष गर्दा पञ्चायतका वर्गीय संगठनको सदस्यता लिनुपथ्र्यो। जुनकुरा प्रजातन्त्रवादीका लागि स्वीकार्य थिएन। गिरिजाप्रसाद पञ्चायतका पक्षमा छन् भन्ने हावादारी चर्चा पञ्चहरूले गरेका थिए।
२०४६ सालको ऐतिहासिक जनआन्दोलन कांग्रेसकै नेतृत्वमा सम्पन्न हुनुपर्छ, वामपन्थीलाई साथ लिनुहुन्न भन्ने धारणा राख्ने गिरिजाप्रसाद वामपन्थी विचारधाराका कटु आलोचक मानिन्थे। पार्टीको निर्णय अनुसार सर्वोच्च कमान्डर गणेशमान सिंहको नेतृत्वमा आन्दोलन भयो। जसमा वामपन्थी नेताहरू मनमोहन अधिकारी, सहाना प्रधान, सिपी मैनाली, नारायणमान बिजुक्छे, विष्णुबहादुर मानन्धर लगायतले कांग्रेस पार्टीको आन्दोलनको नेतृत्व स्वीकारे। आन्दोलन सफल भयो।
२०१६ सालमा विपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। तीसवर्षे पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४८ सालमा उनका भाइ गिरिजाप्रसाद बहुलीय शासन व्यवस्थाको दोस्रो प्रधानमन्त्री बन्न पुगे। एउटै परिवारका व्यक्ति मातृकाप्रसाद हुँदै सुशिल कोइरालासम्म प्रधानमन्त्री पदमा पुगे।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी हुँदा २०७२ सालमा सुशील कोइराला देशको प्रधानमन्त्री थिए। २०६२/६३ सालको जनआन्दोलनपछि पनि तीन महिना सातदिन देशको राष्ट्राध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रही देशको बागडोर सम्हाल्ने भाग्यमानी नेतामा गिरिजाप्रसाद पर्छन्।
२०४८ सालको एकमना सरकार विगठन गरी मध्यावधिमा जानु त्यसबेला उनको राजनीतिक भुल थियो। आफ्नै पार्टीका कतिपय नेता, कार्यकर्ताबाट उनी आलोचित थिए। लाउडा र धमिजा काण्डमा उनलाई दोषी ठह¥याइए पनि अन्तमा मन्त्रिमण्डलका सदस्य तानिए र उनी निर्दोष ठहरिए।
बामपन्थीहरूले महाकाली सन्धी र सम्झौताबारे ४९ दिनसम्म संसद् अवरुद्ध गरे, सडक तताए, रेलिङ भाँचे तर गिरिजाप्रसादले बामपन्थी स्कुलिङबाट आएकाहरूलाई संसद्मा प्रजातान्त्रिक आचरण अँगाल्न समय लाग्छ यसलाई हामीले सामान्य राजनीतिक व्यवहार सम्झनुपर्छ भन्ने मान्यता राखे।
उनले दलभित्र र बाहिरका आफ्ना विरोधीलाई ठेगान लगाए। जसको शिकार सन्तनेता कृष्णप्रसाद भट्टराई र केही हदसम्म सर्वमान्य नेता गणेशमान सिंह पनि भए। २०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि सैनिक अस्पताल छाउनीमा सरकार प्रमुखका तर्फबाट वीरेन्द्रलाई श्रदान्जली अर्पण गर्न जाँदा गिरिजाप्रसाद माथि दरबार र अन्य व्यक्तिले गरेको अमानवीय व्यवहार गरेका थिए।
२०६० सालमा जावलाखेलमा सम्पन्न पार्टीको १२ औं महाधिवेशनका क्रममा उनले तत्कालीन राजालाई सच्चिन पटकपटक आग्रह गरेका थिए। तत्कालीन सात राजनीतिक दलको नेतृत्व गर्दै उनी सडकमा ओर्लिए। आफ्नो जिन्दगीको अन्तिम राजनीतिक लडाइँ राजासँग हुने भयो। मौका दिएका छौं राजालाई भन्दै विशाल सभालाई रत्नपार्कमा सबोधन गरेको क्षण सम्झन लायक थियो। उनको एक सूत्रीय माग थियो– राजाले भंग गरेको संसद् पुनःस्थापना। कुनै समय सेनाको भरमा राजाले दरबारको दम्भ देखाए, गिरिजाबाबुले जनताको शक्ति देखाए। आखिर राजाले जनताका अगाडि घुँडा टेके। दुई सय ३९ वर्षको विरासत बोकेको राजतन्त्र सदाका लागि बिदा भयो। गणतन्त्रको उदय भयो। संसद् पुनःस्थापना भयो।
२०५२ सालबाट सुरु भएको माओवादी ‘जनयुद्ध’ वार्ताबाट मात्र सम्भव छ भनेर बारम्बार गिरिजाप्रसादले भनिरहन्थे। राज्यपक्ष र विद्रोही पक्षबाट गरी सत्र हजारको हत्या हुँदा उनी निकै चिन्तित थिए। देश गृहयुद्धको चपेटामा जानै लाग्दा उनले संयुक्त राष्ट्रसंघका प्रतिनिधिको मध्यस्थतामा शान्तिवार्ताको प्रस्ताव राखे।
जंगलमा रहेका माओवादीलाई राजधानीमा बोलाएर उनकै नेतृत्वमा सात राजनीतिक दल र माओवादीका अध्यक्ष प्रचण्डबिच २०६३ मंसिरमा हालको प्रतिनिधिसभाको हलमा १२ बुँदे शान्ति सम्झौतामा सहमति गरियो। ८३ सदस्यीय माओवादी सांसदलाई उनले संसद्मा प्रवेश गराए। सो कदम नेकपा एमालेले दिलैदेखि स्वीकारेको थिएन तर बाध्यता थियो। निकै सुझबुझका साथ राष्ट्रिय हितका लागि गिरिजाप्रसादले सो कदम चालेका थिए। त्यसैले पटकपटक नेकपा माओवादी अध्यक्ष प्रचण्ड भन्ने गर्छन् गिरिजाप्रसाद कोइराला राष्ट्रका लागि भरपर्दो राजनीतिक अभिभावक हुन् ।
प्रकाशित: २० असार २०८२ ०६:५९ शुक्रबार