२० पुस २०८२ आइतबार
image/svg+xml
विचार

ज्येष्ठको सम्मान सानाको संरक्षण

केही वर्षअघि म एक दुर्गम गाउँमा सेवा गरिरहेका जेसुइटहरूलाई भेट्न पुगेँ। मेरो बसाइँको क्रममा एक वृद्धा गम्भीर बिरामी भएको खबर आयो। हामी दुई तिनलाई भेट्न जाँदै गर्दा बाटोमा केही चिन्तित गाउँले पनि हाम्रो साथ लागे। पुगेर हेर्दा उहाँको स्वास्थ्य अवस्था निकै नाजुक देखियो। त्यसैले हामीले उहाँलाई तुरुन्तै स्वास्थ्य चौकी लग्यौँ।

स्वास्थ्यकर्मीका अनुसार उहाँलाई तीव्र दम र दीर्घकालीन फोक्सोको रोग लागेको रहेछ। मलाई झनै गहिरो धक्का केले दियो भने उहाँ पूर्ण रूपमा एक्लै बस्नुहुन्थ्यो। उहाँ एकल महिला तीन सन्तानकी आमा तर तीनैजना छोराछोरी विदेशमा थिए। आफ्नो जन्मथलोमा, आफ्नै घरमा, उहाँलाई स्याहार्ने कोही थिएन। जीवनका अन्तिम घडीहरू छिमेकीहरूको दया र सद्भावमा निर्भर थिए।

स्वास्थ्य चौकीबाट फर्किँदै गर्दा जेसुइट साथीले गाउँका पछिल्ला घटनाक्रम सुनाइरहेका थिए। तर मेरो मन भने त्यही वृद्धा महिलासँगै अड्किएको थियो। उहाँको थाकेको अनुहार, गहिरो पीडा र एक्लोपनले मेरो हृदय भतभती पोलिरहेको थियो। त्यो बेला मैले पोप फ्रान्सिसले सन् २०१३ सेप्टेम्बर १२–१५ मा इटालीको ट्युरिनमा आयोजित ४७औँ सामाजिक सप्ताहमा लेखेको सन्देश सम्झिन पुगेँ। उहाँले लेख्नुभएको थियो, “एक यस्तो समाज जसले आफ्ना वृद्धहरू, बालबालिका र युवाहरूको ख्याल गर्दैन, त्यो समाजको कुनै भविष्य हुँदैन। किनभने यस्तो समाजले आफ्नै स्मृति र आफ्नै प्रतिज्ञाको अपमान गर्छ।”

ती शब्द मेरो अन्तरमनमा बजिरहे र म आजको नेपालमा त्यसको यथार्थ देखिरहेको थिएँ।

हामी अहिले एउटा मौन तर गम्भीर सङ्कटको सामना गरिरहेका छौँ, हाम्रो समाजको मुटुमा पर्ने सङ्कट। हिजोका दिनमा हाम्रा ज्येष्ठ नागरिक र बालबालिकाहरू परिवार र समुदायका अमूल्य रत्न मानिन्थे। तर आज ती उपेक्षाको शिकार भइरहेका छन्। पुस्तापुस्ताबीचको सम्बन्ध बिथोलिँदै छ र हाम्रो मूल्यमान्यता स्वयं झर्ने क्रममा छ।

नेपालले सधैँ आफ्ना ज्येष्ठ नागरिकलाई श्रद्धा, सम्मान र सेवा गर्ने परम्परालाई गर्वका रूपमा अँगालेको छ। मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) र कुशे औँसी (बुबाको मुख हेर्ने दिन) हामी नेपालीका लागि भावनाले ओतप्रोत दिनहरू हुन्। विवाहित छोरीहरू मिठाइ, लुगा र उपहारहरू बोकेर हर्षसाथ बुबाआमासँग आत्मीयता बाँड्न माइत फर्कन्छन्। टाढा रहेका छोराहरू पनि सकेसम्म घर आइपुग्छन्। कसैले यो दिन मनाउन छुटाउँदैनन्।

हिजोका संयुक्त परिवारमा, बाजे–बज्यैहरू घरका दीप जस्तै हुन्थे। उनीहरू केवल वृद्ध मात्र थिएनन्, सन्तानका संरक्षक, संस्कारका बाहक र संस्कृतिका जिउँदा पाठशालाहरू थिए। कल्पना गर्नुहोस्, बिहानको सुनौलो घाम आँगनमा झर्दैछ, बाजे पिरामा बसेर भजन गाइरहनुभएको छ, नाति उनको काखमा निदाउँदै छ। बज्यै चुलोमा दाल तताउँदै, सिलौटोमा मसला पिस्दै, नातिनीलाई पुराना दन्त्य कथा सुनाउँदै छिन्। ती कथाहरू कुनै किताबमा लेखिएका छैनन् तर तिनमा मूल्य, नैतिकता र संस्कार गहिरो गरी बगेका हुन्छन्।

घरमा वृद्धहरू नै पहिला उठ्ने र अन्तिम सुत्ने हुन्थे। बिहान देवालयमा धूप बाल्ने, बेलुका परिवारलाई प्रार्थनामा जुटाउने पनि उनीहरूनै हुन्थे। दाजु भाइ, दिदी बहिनीको झगडामा मिलाप ल्याउने, शान्त, सन्तुलित र गहिरो आवाज उनीहरूकै हुन्थ्यो। दसैँतिहारका बेला उनीहरू अझ विशेष बन्थे। टीका लगाउने तिनै काँपिएको हातहरू, आशीर्वाद दिने तिनै श्रद्धाले भरिएको स्वरहरू र पूजाको विधिमा सल्लाह दिने तिनै अनुभवका स्रोतहरू हुन्थे। यी केवल परम्परा होइनन्, पुस्तालाई बाँध्ने भावनात्मक डोरी हुन्।

यस्तो घरमा हुर्केका बालबालिकाहरू केवल पढाइले मात्र होइन, हेरेर र अनुभव गरेर संस्कार पाउँथे। पाहुनाको आदर, दुःखमा धैर्य, पितृलाई पिण्ड अर्पण, अभावमा बाँडचुँड यी सबै मूल्य आत्मीयताका प्रतिविम्बहरू उनीहरूमा बिस्तारै सिञ्चित हुन्छन्। तर अहिले त्यो परिवार पुरानो कपडाको धागो जस्तै अलि अलि गरी उध्रिँदै गएको छ। धेरैजना वैदेशिक रोजगारीमा गएका छन्। आधुनिकता पछ्याउँदै धेरैजना शहर सरेका छन्। साझा छानोमुनिको त्यो आत्मीयता सुक्दै गएको छ।

अब ती तीन पुस्ताका घरहरू दुईजना आमाबुबा र बालबालिकामा मात्र सीमित छन्। वृद्ध आमाबुबा गाउँमा एक्लै पिँढी वा चौतारीमा बसेर छोराछोरीको बाटो हेरी बस्छन्। कति वृद्ध आमाबुबा त अतिरिक्त बोझ भई वृद्धाश्रममा पुग्छन्। उनीहरूको स्वर हराउँदै गएको छ। उनीहरूको ज्ञान पुरानो गीत जस्तै बिर्सँदै गइरहेको छ। उनीहरूको अनुभव र स्मृतिहरू रङ उडेर पहेँला भएका तस्बिर जस्तै भइरहेका छन्। उनीहरू कथा हुन् तर सुनिने होइन, भुलिने। उनीहरू फोटा हुन् तर सजाउने होइन, बिर्सिने।

त्यति मात्रै होइन, हाम्रा कलिला बालबालिकाले पनि अर्कै किसिमको पीडा भोगिरहेका छन्। यद्यपि शिक्षा र कानुनी सुधारमा नेपालले प्रगति गरिरहेको छ तर अझै हजारौँ अबोध बालबालिका दिनरात इँटाभट्टा, खेतबारी, चिया पसल, होटल र घरभित्र श्रम गरिरहेका छन्।

 सन् २०२१ मा केन्द्रीय तथ्यांक विभाग, आइएलओ र युनिसेफ द्वारा गरिएको अध्ययन अनुसार, नेपालका इँटाभट्टाहरूमा ५–१७ उमेरका करिब ३४,५९३ बालबालिका बस्छन्। तथ्यांकअनुसार झन्डै १७,७३८ जना श्रमिक छन् र तीमध्ये ९६% बालश्रममा संलग्न छन्। कसैलाई तस्करी गरेर सीमापार पुर्‍याइन्छ। कति इन्टरनेटको अँध्यारो कुनामा मौन यौन शोषणको पीडा भोगिरहेका छन्।

वृद्धहरूको उपेक्षा र बालबालिकाको शोषण अलग–अलग समस्या होइनन्। यी हाम्रा नैतिक सङ्कटका दुई छाया हुन्। जब हामी वृद्धको आदर गर्न छोड्छौँ तब हामी स्मृति भन्दा टाढा जान्छौँ। जब हामी बालबालिकाको सुरक्षामा चुक्छौँ तब हामी भविष्यको ढोका बन्द गर्छैँ। अनि जब यी दुई क्षेत्र उपेक्षित हुन्छन् तब हाम्रो राष्ट्रको आत्मा गल्न थाल्छ। नेपाल अहिले एक महत्त्वपूर्ण मोडमा छ। हामी चाहन्छौँ भने अझै ढिलो भएको छैन। हामी फेरि टुक्रिएको समाजलाई गाँस्न सक्छौँ, पुस्तालाई जोड्न सक्छौँ अनि आत्मीयतालाई अविच्छिन्न पार्न सक्छौँ।

यसमा धार्मिक संस्था र समुदायका अगुवाहरूको महत्त्वपूर्ण भूमिका हुन सक्छ। मन्दिर, फाल्चा र पाटी, वृद्ध बुबाले बालबालिकालाई लोक गीत र लोक धुन सिकाउने थलो बनोस्। गाउँका सामुदायिक भवनहरू युवाहरूले वृद्ध आमाबुबाहरूको निःस्वार्थ सेवा गर्ने ठाँउ बनोस्। परिवार “पहिलो विद्यालय” बनोस्। एउटी बज्यैले नातिनातिनीलाई न्यानो सिरकभित्र दन्त्य कथा सुनाउन्। बुबाले छोरासँग बिरुवा रोपून्। आमाले छोरीसँग खाना पकाउँदै जीवनका कुरा गरुन्। यी साना क्रियाकलापमा हाम्रा मूल्यमान्यता जीवन्त छन्।

विद्यालयहरू पनि समयको साक्षी बनून् जहाँ विज्ञानसँगै लोककथा पढाइन्छ। जहाँ शिक्षण परियोजनामा वृद्ध आमाबुबाहरू सामावेस हुन्छन् अनि विद्यार्थीले तिनीहरूको आफ्नै आँखाले देखेका र आफ्नै जीवनले भोगेका इतिहास पढ्छन्। जहाँ चाडपर्व केवल मनोरञ्जन मात्र होइन, भावना र विश्वासको बहाव होस्। हाम्रो देश नेपाल यस्तो मुलुक बन्न सक्छ, जहाँ प्रत्येक बालबालिका माया र सुरक्षामा हुर्कन्छन्। प्रत्येक ज्येष्ठ नागरिक सम्मानका साथ बाँच्छन् र प्रत्येक घर खुसी, व्यावहारिक सिकाइ र सेवा सँगै पाइने थलो बन्छ।

(राई नेपाल जेसुइटका अध्यक्ष हुन्।)

प्रकाशित: २ असार २०८२ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App