१९ पुस २०८२ शनिबार
image/svg+xml
विचार

शक्तिमोहको आशक्ति

जसले ज्ञान र विनयबिना शक्तिको प्रयोग गर्छ, ऊ आत्मविनाशतिर अग्रसर हुन्छ

- भगवत् गीता  

साँच्चै नै शक्तिको प्रदर्शन, आत्मप्रशंसाको अस्वाभाविक लत र अरूको मौनता खरिद गर्ने अभ्यास आत्मिक पतनका मार्ग हुन्। यो एउटा आसुरी प्रवृत्ति पनि हो। जब यस्तो ज्ञान र विनयबिनाको शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न थाल्छ, त्यो सामान्य नभई एउटा डरलाग्दो र घातक हतियारमा परिणत हुने गर्छ। यसले स्वयम् शक्ति प्रदर्शन गर्ने व्यक्तिलाई मात्र होइन, सिंगो समाजलाई नै विषाक्त र घाइते बनाउँछ।

यो विषय इतिहास र वर्तमान सबै कालखण्डमा देखिएको कुरा हो। शक्तिमा मोह जन्मिएपछि मान्छेले विवेक गुमाउनु थाल्छ। शक्ति र विनम्रता कहिल्यै एकै ठाउँ रहन सक्दैनन्। यस्तो बेला शक्ति घमण्डमा परिणत हुन्छ। जब घमण्ड मोहमा बदलिन्छ त्यहीँबाट दुर्व्यवहार उत्पन्न हुने गर्छ। यस्तो दुर्व्यवहारको सुरुवात दबाबबाट हुन थाल्छ। व्यक्तिहरू आफ्नो सम्बन्ध प्रभाव र पहुँचका आधारमा कसरी अरूमाथि दबाब सिर्जना गरिरहेका हुन्छन् भन्ने कुरा उनीहरूको व्यवहार र मनोविज्ञानबाट झल्किरहेको हुन्छ।

एकपटक निकै शालीन, भद्र, सज्जन र प्रतिष्ठित जस्तो देखिने मानिस मेरो कार्यालयमा आउँछन्। समाजले सहर्ष स्वीकार्ने व्यक्तित्वका रूपमा आफूलाई चिनाउने उनले एउटा अनुरोध गर्छन्। उनको अनुरोध सामान्यजस्तै देखिएपनि यसभित्र गहिरो असहजता लुकेको हुन्छ। उनले कुनै सिफारिस चाहेका हुन्छन्। उनले चाहेको सिफारिस सामान्य कृपा वा दान होइन, विशेष प्रकारको सहयोग हो र यो सहयोग कुनै दक्षता र योग्यताको आधारमा मागिएको थिएन। यहाँ उनले जे कुरा गरे, त्यो सहयोगको निवेदन मात्र थिएन बरु योजनाबद्ध किसिमले शक्तिका आडमा ध्यानपूर्वक तयार पारिएको नाटक थियो।

सामाजिक सहकार्यको खोल ओढेका यस्ता केही मान्छे जब व्यक्तिगत स्वार्थका लागि आफ्नो प्रभाव, सम्बन्ध र पदको दुरूपयोग गर्न थाल्छन् अनि उनीहरू अरूलाई मद्दत होइन, आफूलाई मात्र माथि उठाउने कोसिस गरिरहेका हुन्छन्। गहिराइबाट हेर्दा उनीहरूमा न आत्मीयता देखिन्छ न त सद्भाव नै। मात्र उनीहरूले कुनै न कुनै रूपमा शक्ति प्रदर्शन गरिरहेका हुन्छन्। यो कुरा प्रत्यक्षरूपमा देखिएको छ, भोगिएको छ ! शक्तिको आत्मप्रशंसा गरिने यस्तै कथा हो यो। ती व्यक्ति पनि आफ्नो जीवन वृतान्तको, आफूले गरेका उपलब्धिहरूको र समाजप्रति आफूले गरेका योगदानहरूको सूची लिएर आएका थिए। तर त्यो उनको शक्ति र सम्बन्धको चर्को उद्घोष थियो। म कुन स्तरको मान्छे हुँ, कोकोसँग मेरो सम्बन्ध जोडिएको छ भन्ने उनले सुनाइरहेका हुन्छन्। चूपचाप सुनिरहेपछि लाग्छ, उनको अहङ्कारको हुङ्कार सकियो तर होइन रहेछ, यो त उनको सुरुवात रहेछ।

त्यसपछि शक्ति शृङ्खलाको दोस्रो अध्याय सुरु हुन्छ, अनुभव र प्रभावको गाथा बोकेर। उनी हाम्रा लागि कति उपयोगी हुन सक्छन् भन्ने मात्र होइन, हाम्रो पेसागत वा व्यक्तिगत जीवनयात्रामा छोड्नै नमिल्ने साथी हुँ भन्ने जसरी आफूलाई प्रस्तुत गर्छन्।

लाग्छ, उनले भनेअनुसार चल्न तयार भयौँ भने उनीसँगै सहकार्य र हातेमालो गर्दै हिँड्न तत्पर भयौँ भने जीवनका हरेक गौँडा गोरेटोमा उनीबाट भरपूर साथ र सहयोग मिल्नेछ। वास्तवमा यो सबै उदारताको आवरणमा हामीमाथि गरिएको कूटनीतिक सौदाबाजी थियो अझ भनौँ गोप्य किसिमको किनबेच थियो।

अब सबैभन्दा असहज र त्रासदीपूर्ण तेस्रो भाग सुरु हुन्छ। उनी गौरव साथ भन्न थाल्छन्। उनले कसरी आफ्नो प्रभाव प्रयोग गर्छन् र कसरी आफ्नो विरोधमा उभिनेहरूलाई लाछिएको रुखको हाँगाजस्तै झुकाएका छन्। आफ्ना विरुद्ध लाग्दा झुक्नुपरेका मानिसका फेहरिस्त सुनाउँदै गएपछि महसुस भयो– उनका कुरामा रतिभर उदारता थिएन, अहङ्कार, त्रास र नियन्त्रणको कठोर कथा मात्र थियो। तर उनको यो प्रदर्शन त्यतिमै सीमित हुँदैन। मध्याह्नको घामजस्तै चर्कोरूपमा शक्ति र अहंकारको बिस्कुन सुकाएर उनी बाहिरिन्छन्।

फेरि अर्का एकजना चिटिक्क सजिएको भेषमा भित्र पस्छन् र आफ्ना सम्पर्क तथा सन्दर्भहरूको लामो सूचीबाट कुराको थालनी गर्छन्। उनी पनि आफ्नो आत्मपरिचय भन्दा पर रहेर शक्ति स्रोतको रूपमा आफूलाई स्थापित गर्न खोज्छन्।

अरूलाई सजिलैसँग प्रभाव पार्न खोज्ने सजग, संयमी र गम्भीर मानिसका रूपमा चिनाउन चाहने उनी पनि अघिल्ला व्यक्तिभन्दा खासै फरक देखिँदैनन्। यिनमा पनि खास विषयवस्तु र मुद्दामाथिको चिन्ता कम र आफ्नो उपस्थितिको आवश्यकता र महत्व देखाउने चाहना बढी देखिन्छ। यी दुई भेटपश्चात् म एउटै लहरमा बगिरहेको महसुस गर्छु।

शक्ति प्रदर्शनको लामो शृङ्खला चलिरहँदा अन्त्यतिर मलाई लाग्न थाल्छ, म कुनै शक्तिशाली देशको अधीनमा छु र त्यस देशले मेरो आत्मस्वाभिमान कब्जा गर्न खोजिरहेको छ। शक्तिशाली देशले जस्तै यस्ता व्यक्तिहरूले पनि आफ्नो प्रभावको हतियार देखाएर सहानुभूतिको नाटक मञ्चन गर्दै शक्ति प्रदर्शन गरिरहेजस्तै लाग्छ।

आफूलाई विशाल जर्मन सेफर्ड सम्झन्छन् र अरूलाई जर्मन सेफर्ड देख्दा डराउने र भाग्ने सामान्य गाउँले कुकुरजस्तै मान्छन्। यिनीहरू सधैँ आफ्ना नाम, प्रभाव र डर देखाइरहेका हुन्छन्।

यतिबेला यस्ता यी मान्छेहरू मान्छेजस्ता लाग्दैनन्। मानवीय देखिँदैनन्। शिष्टता, नैतिकता उनीहरूभन्दा निकै पर हुन्छ। असन्तुलित, अहङ्कार र बेतुकको धम्कीबाट सञ्चालित हुने उनीहरूको व्यक्तित्व कम र धेरै त चेतावनीका रूपमा मूल्याङ्कन गर्न सकिन्छ।

यस्ता व्यक्तिहरू साधारण मानिसजस्ता देखिँदैनन्। अहङ्कारले रन्थनिनु, अस्पष्ट भाषा प्रयोग गर्नु र गोमन सर्पले जस्तो फँडा फिँजाएर अरूलाई त्रासको भूमरीमा पार्न खोज्नु उनीहरूको विशेषता हो। अब यो एउटा व्यक्ति मात्र रहँदैन, यो त एउटा शक्तिलाई दुर्व्यवहारमा रूपान्तरण गर्ने प्रवृत्ति र जुलुस बनिसकेको हुन्छ।

विगतमा आफूले गरेका कामका नक्कली उपाधि चर्चा गर्दै आफ्नो प्रभावको साम्राज्य बढाउन खोज्ने र आफ्ना कथामा सधैँ अरूलाई बगाउन खोज्ने व्यक्तिहरूका नजरबाट हेर्दा यस्तो लाग्छ, हामी सँगको भेटको उद्देश्य र पुरस्कार उनीहरूको शक्ति र अहङ्कार हो।

आजभोलि सौखिन अनुसन्धानकर्ताका रूपमा यी कथाहरूका गहिराइमा छिर्न थालेको छु। ती पात्रहरूका आत्मकथामा पटकपटक डुब्न मन लाग्छ। साँच्चै उनीहरू जे जस्तो कुरा गर्दैछन् त्यो उनीहरूको अनुभव बोलेको हो वा सुनाउन मात्र बोलिएका कथा हुन्? गहिरो सन्देश दिन र प्रेरणादायक देखाउन भनिएका कुरा हुन् वा केवल सतही अभिनय मात्र हुन्? म अहिले यी प्रश्नहरूको घेराभित्र फसेको छु। मौन सोचमा परेको छु। शक्ति र पहिचानको अहंकार कति गहिरो गरी उनीहरूको कथामा मिसिएको छ– ‘त्यहाँ आत्मप्रस्तुति, शक्तिको छायाँ र प्रभावको संसार मात्रै देखिन्छ। आत्माभन्दा आवरणलाई महत्वपूर्ण ठानिएको हुन्छ र व्यक्तित्वभन्दा प्रभुत्वका प्रतीक सल्बलाइरहेका हुन्छन्।

सोचमग्न हुँदाहुँदै मिनेट सुइले ४५ धर्सा पार गरिसकेको हुन्छ। सतहबाट सामान्यरूपले हेर्दा यी दुई भेटघाट कसैलाई व्यर्थजस्तो लाग्न सक्छ तर वास्तवमा यसले एउटा गहिरो अर्थ बोकेको छ। त्यो के भने जब शक्तिले झुटो प्रतिष्ठाको खोल ओढ्छ तब उसले मान्छेलाई आफ्नो मोहअनुकूल बदल्न थाल्छ। जब आत्मपरिचय लुकाएर ढाँट अनुहार देखाइन्छ तब त्यो अनुहार, अनुहार नभई मुकुन्डो बन्छ अनि त्यो मुकुन्डो वर्षौसम्म लगाइन्छ भने परिचय र वास्तविकता गुम्दै अनि हराउँदै जान्छ।

यतिबेला लर्ड एक्सनले बोलेको कुरा झनै सत्य लाग्न थाल्छ। उनको भनाइअनुसार शक्तिले मान्छेलाई भ्रष्ट बनाउँछ। पूर्ण शक्तिले त झन् पूर्णरूपले भ्रष्ट बनाउँछ। यो भनाइको गहिराइ अझै खतरनाक छ। वास्तवमा पूर्ण शक्तिमा पुग्नेहरू आफैँ शक्ति प्रेमका कैदी बनेका हुन्छन्। त्यो शक्ति, त्यो सम्मान र त्यो अहंकारले उनीहरूले आफूलाई दुर्व्यवसनीका रूपमा प्रमाणित गर्न पुगेका हुन्छन्। उनीहरू संसारलाई पूर्णरूपले देख्न छाड्छन्।

यो प्रवृत्ति शक्तिको विष वृक्ष हो। हामीले समयमै सावधानी अपनाएनौँ र सतर्क भएनौँ भने यो शक्ति विष मौनताका साथ घातकरूपमा हाम्रो परिवार, समाज, समुदाय र हाम्रो कार्यक्षेत्रमा फैलन्छ। त्यसपछि त यसले सामाजिक प्रणालीमै गम्भीर क्षति पुर्‍याउनेछ। यो सामाजिक नियम र विधानको गम्भीर अस्वीकृतिको सङ्केत पनि हो।

शक्तिको प्रदूषित अभ्यास गर्ने यी प्रवृत्ति र अभ्यासहरू बाहिरबाट झट्ट हेर्दा सामान्य देखिन सक्छन् तर यो बोल्नेले बोलिरहने, अरूको अधिकार हनन् गरी एकलौटीरूपमा आफ्नो अधिकार खोजिरहने र अरूका आवाज निषेध गरेर चूप लागेर कुर्न बाध्य बनाउने एउटा जबर्जस्त गलत संस्कृति हामीबीचमा हुर्कदैछ। यसबाट जोगिनु र समाजलाई पनि जोगाउन आजको आवश्यकता हो।

समाजमा देखिने यस्ता घटना छिटफुट र पृथक होइनन्। हाम्रै वरपर दैनिकरूपमा भइरहने गलत अभ्यास हुन्। यसले पुरानो पुस्तामा मात्र होइन, नयाँ पुस्तामा समेत शक्ति विषको यो ढाँचा निरन्तर हस्तान्तरण भइरहेछ। यो अझै घातक र डरलाग्दो कुरा हो। यस्तो मानसिकताले सिर्जनशीलतालाई ध्वस्त बनाउने, इमानदारितामाथि निर्मम प्रहार गर्ने र खिया लगाउने तथा दम्भ र अहङ्कारको खेती गर्ने भएकाले यसले व्यक्तिलाई मात्र होइन, हाम्रा वरपरको सम्पूर्ण वातावरणलाई नै धुलीसात बनाउन बेर लाउँदैनन्। यस्ता व्यक्ति र प्रवृत्तिले टेकेको माटोलाई पनि अपवित्र बनाउँछन्।

परम्पराको नकाब भिरेर मपाइँत्वको भजन गाउँदै शक्तिको अस्वाभाविक दम्भ र अहंकारको विकृत अभ्यास समाजमा मौलाउँदो छ। यही विकृत अभ्यास नियाल्दै आजका बालबालिका हुर्कदैछन्, कर्मचारीले यसैबाट पाठ सिक्दैछन्। समाजले यस्तै विकृत मनोदशालाई सामान्यीकरण गर्दैछ। अवश्य पनि यसले समाजलाई सुखद परिणाम दिने छैन। सबैतिर नकारात्मकता र शक्ति विष फैँलदो छ तर हामी भने कति सजिलै र हल्का किसिमले लिदैछौँ यस शक्ति विषलाई।

यो केवल छलकपट, बनावटी र कसैलाई मक्ख पार्न सुनाइएको कथा होइन, यो त एउटा गम्भीर, प्रतीकात्मक र रूपक कथा हो। यो कथा कोही मर्‍यो भन्ने मात्र कुरा होइन, काल पल्कियो भन्ने कुरा हो। काल पल्केपछि त्यसले बूढाबूढी मात्र हेर्दैन, बालबालिका र तन्नेरीहरूलाई पनि टपक्क टिपेर लैजान थाल्छ, त्यसैगरी शक्ति विषले पनि हाम्रो दैनन्दिन व्यवहारमा ठूलो असर पुर्‍याउँदैछ।

जब पहिचान सेवा र कर्मबाट होइन,शक्ति र लालसाबाट निर्माण हुन्छ, जब उद्देश्य उद्देश्य नरही आत्मसम्मानको खोल ओढिएको रहर बन्छ। त्यतिबेला सामाजिक सम्बन्ध, हार्दिकता, इमान, नैतिकता, योग्यता र क्षमता एकादेशको कथाजस्तै बन्छन्। त्यसैलेशक्तिको अस्वस्थ खेलमा रुमलिएको समाजलाई स्वस्थ बनाउने जिम्मेवारी हामी सबैको हो। 

प्रकाशित: ३० जेष्ठ २०८२ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App