केही दिनअघिको मित्रमिलनमा भर्खरै कारको साँचो हातैमा थियो कता परेछ, तत्कालकै घटना भुलेको, कलेजमा सँगै पढेको साथीको नाम बिर्सिएका जस्ता विषय चर्चामा आए। केहीले त आफूलाई बिर्सने रोग पो लाग्यो कि भनी चिन्तासमेत व्यक्त गर्न भ्याए। संगीबीचको भुल्ने बानीको संवादले सहभागीमा आफूलाई अल्जाइमर्सले सताउन लाग्यो कि भनी पिरलो हुनु अस्वाभाविक होइन। बिर्सने रोग बुढ्यौलीको संवाहक हो अथवा स्वाभाविक बायोलोजिकल प्रक्रिया हो। त्यसको चर्चा यो लेखको उद्देश्य रह्यो।
दिनभरमा देखेका र भोगेका अनगन्ती घटना मानवीय दिमागले तत्कालै भुल्छ। अन्यथा हिजोको परिदृश्यको हामीलाई घनिभूत जानकारी हुन्थ्यो। जीवनको विभिन्न खण्डमा दिमागले सम्झने परिवेशहरू फरक फरक हुन्छन्। केटाकेटी उमेरमा महत्वपूर्ण लाग्ने कुरा बच्चाको दिमागले छिटो टिप्छ भने पाको अवस्थामा आफूलाई काम लाग्ने कुराको स्मरण हुन्छ। पृथक स्थान, भौगोलिक इलाका तथा फरक खानपिन अनि रहनसहनमा जीवन व्यतीत गरेकाको आयु विचार गर्दा मानिसको उमेर एक शताब्दीभन्दा अधिक देखिन्न।
३० वर्ष टिक्ने कारका पार्टपुर्जा त त्योभन्दा अधिक नचल्ने गरी बनाएको हुन्छ भने भगवानले सिर्जना गरेका जीवका तन्तुहरू जीवनको उत्तरार्धमा शिथिल हुन्छन् नै। प्रकृतिले फजुल खर्च नगर्ने हुँदा बुढेसकालमा अंगहरू बिस्तारै धर्मराउन थाल्छन्। अनि मस्तिष्कका कोष, न्युरोन, पनि जीर्ण बन्छन्। पाका अवस्थामा न्युरोनहरू मर्छन्। तर अभिभावकले आम्दानी कम हुँदा प्राथमिकतामा हेरफेर गरी घर खर्च धानेझैँ जीवनको उत्तरार्धमा न्युरोनको संख्या घट्दा पनि दिमागले स्मरणका महत्वपूर्ण विषयलाई पुन: प्राथमिकता मार्फत आफूलाई दुरुस्त राख्छ।
मानिसको दिमाग पनि कम्प्युटरको फ्ल्यासड्राइभ र हार्डड्राइभको ढाँचामा चल्छ। सहजताका लागि चल्तीका फाइलहरू हामीले थमड्राइभमा राखेझैँ नियमित दैनिकीका अनुभव र संवाद दिमागको हिप्पोक्याम्पसमा बस्छन् भने महत्वपूर्ण घटनाहरू मस्तिष्कको कोर्टेक्समा भण्डारण हुन्छ। हिप्पोक्याम्पसको भण्डारण क्षमता कम भएका कारण महत्वपूर्ण स्मरणहरू दीर्घकालीन स्टोरेजका लागि कर्टेक्समा सर्छन् अनि कम महत्वका सम्झना अविलम्ब विलय हुन्छन्। लघु संग्रहका लागि र्निर्मित हिप्पोक्याम्पसको स्टोरेज भरी भएमा समस्या आउँछ। उक्त जटिलताबाट जोगिन हिप्पोक्याम्पसलाई आवधिकरूपले खाली गर्नुपर्छ। त्यसो हुन सकेन भने दिमागी रोग लाग्छ। मस्त निदाएको बखत हिप्पोक्याम्पसका डेटा कोर्टेक्समा ट्रान्सफर हुन्छ अनि महत्वहीन स्मरण मेटिन्छ।
अमेरिकाको साल्क इन्स्टिच्युटका अन्वेषणकर्ता टेरी सेनोस्कीको समूहले गरेको एउटा अन्वेषणले मानवीय दिमागको भण्डारण क्षमता अथाह रहेको उल्लेख गरेको छ। त्यस्तै हार्बार्डका न्युरो साइन्टिस्ट एलिजाबेथ किन्सिंगरको विचारमा हिप्पोक्याम्पसले केबल केही दिनको तथ्यांक मात्र राख्न सक्छ तर दिमागको कर्टेक्समा भने हजारौँ वर्षसम्म लगातार चल्न सक्ने सिनेमा पनि सहजै अटाउँछ। दिमागको भण्डारण क्षमता असीमित छ भने जन्मँदादेखिका अनुभवहरू किन मानिसलाई याद हुँदैन अनि भगवानले उक्त शक्ति मानवलाई किन दिएनन् त भन्ने प्रश्न उठ्छ नै।
हार्बर्ड विश्वविद्यालयका न्युरोलोजिस्ट अनि सन् २०२४ मा बायो मेडिसिन र न्युरोसाइन्सको प्रतिष्ठित पुरस्कारसमेत पाउन सफल पुस्तक ‘ह्वाइ वी फर्गेट एन्ड हाउ टु रिमेम्बर बेटर’का लेखक एन्ड्रियु बडसनको विचारमा दिमागमा असंख्य तथ्यांक रहँदा व्यक्तिले राम्रो र खराब विश्लेषण गरी सही निर्णय लिन सक्दैन। व्यक्तिले हुर्कने क्रममा धेरै मानिससँगका अनुभव सुखद अनि ठूलो जमातसँग धोका पाएको हुन्छ। व्यक्तिको दिमागमा धोका र सहयोगका सबै तथ्यांक दुरुस्त रहने हो भने नवीन कामका लागि उसले कसैलाई पनि विश्वास गर्न सक्दैन बरु व्यक्ति असझदारीको बिलखबन्दमा पर्छ। सफलता हासिल गर्न त परै जाओस् यदि मानव मात्रले सबै अनुभव संहाल्ने हो भने सभ्यता उधो गति लाग्ने भन्छन् विज्ञहरू। बिर्सने तागतको बलमा नै मानवले पृथ्वी कब्जा गर्न सक्यो भन्दा अन्यथा हुँदैन।
युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिसको साइकोलोजी तथा न्युरो साइन्सका प्राध्यापक चरण रंगनाथले गत वर्ष ‘ह्वाइ वी रिमेम्बर’ भन्ने पुस्तक प्रकाशित गरे। स्मरण शक्ति मापनको प्रभावकारी विधि फंग्सनल एमआरआईको सहारामार्फत दिमागको अध्ययन गरिरहेका डा. रंगनाथको पुस्तकले गत वर्ष द न्युयोर्क टाइम्स, फाइनान्सियल टाइम्स, अमेजन बुक्सलगायतका निकायबाट उत्कृष्ट किताबको दर्जा पायो। प्रत्यक्षरूपले ल्याबमा गरिएको प्रयोगात्मक विधिको सहारामा प्राध्यापकले बिर्सने आदत नयाँ कुरा सम्झनका लागि अत्यावश्यक तत्व रहेको देखाएका छन्। अझ महत्वपूर्ण कुरा त मानिसको दिमागले खराब र असल अनुभवमध्ये दुखद अनुभवलाई पहिले भुल्छ भन्ने कुरा मात्र देखाएको छैन, बरु त्यसको प्रयोगात्मक पक्षको पनि चिरफार गरेका छन् डा. रंगनाथले।
निकटकाले विगतमा धेरै पीडा अनि थोरै सुख पनि दिएको छ भने व्यक्तिको दिमागले दु:ख छिटो बिर्सिएर सुखद अनुभूतिलाई गाढा बनाउँदा व्यक्तिले प्रफुल्ल महसुस गर्छ। दु:खलाई तत्कालै बिर्सने तागत नभएको भए पति बाँचुन्जेल घरबाट बाहिर ननिस्केकी महिलाले उनको मृत्युको लगत्तै पछि आफूलाई समयको बहाबमा हेली संघर्षशील नारीका रूपमा आफूलाई स्थापित गर्न सक्दिन थिइन् होला। मानवीय अस्तित्वका लागि भुल्नुलाई अनिवार्य ठान्छन् कोलम्बिया विश्वविद्यालयको न्युरोलोजीका प्राध्यापक स्कट स्मल। सन् २०२१ मा प्रकाशित पुस्तक ‘फर्गेटिंग द बेनिफिट अफ नट रिमेम्बरिंग’मा डा. स्मलले मानिसको भुल्ने बानीको चिरफार मात्र गरेका छैनन्, उक्त आदतलाई प्रकृतिको अनुपम उपहार ठान्छन् उनी। बिर्सने बानीको सम्बन्धमा प्राध्यापक स्मलको विचारसँग पूर्ण सहमत छन् क्यानाडाको म्याकगिल युनिभर्सिटीका साइकोलोजीका प्राध्यापक ओलिभर हार्ट पनि। बिर्सने बानी नभएको भए संसारमा कुनै पनि काम संभव थिएन भन्छन् डा. हार्ट।
जनकपुरदेखि काठमाडौँको यात्रामा आफूसँगै घण्टौँ बसेको मानिस कस्तो थियो, उसले लगाएको लुगालगायतका धेरै दृश्य हाम्रो दिमागमा बस्दैन भने बर्दिबासमा एकैछिन बस रोक्दा कसैले बन्दुक बोकेर हिँडेको क्षणिक दृश्य मानिसको मानसपटलबाट हराउन लामो समय लाग्छ। विषयको गाम्भीर्यलाई मध्यनजर राख्दै दिमागले स्मरणको भण्डारणलाई प्राथमिकता दिन्छ।
कोही मानिसले आफूले देखेको कुरालाई भिडियो रेकर्डिङ जस्तै बेलिबिस्तार लाउन सक्छन्। विलक्षण अटोबायोग्राफिकल मेमोरी भएका मानिस जीवनमा धेरै सफल हुनुपर्ने हो। तर अध्ययनले त्यस्तो महत्वपूर्ण स्मरण शक्ति भएका मानिस जीवनको दौडमा औसतभन्दा पनि तल देखिए। सान्दर्भिक निर्णय क्षमताका लागि बिर्सनु अत्यावश्यक हुने भएकाले अटोबायोग्राफिकल मेमोरी भएका मानिसले सफलताको शिखर चढ्न नसक्नुलाई सामान्य मान्छन् टोरन्टोस्थित रोटम्यान रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ता ब्रायन लेभिन। अनावश्यक कुरा स्मरण गर्नु मानिसको सफलताका लागि हानिकारक देखियो। आवश्यक सन्देश स्टोर गर्ने अनि महत्वहीन कुरा अविलम्ब डिलिट गर्नु नै मस्तिष्कको उच्चतम् उपयोग भएको ठान्छन् डा. लेभिन।
जीवनको उत्तरार्धमा अल्जाइमर्स जस्ता स्मरण तागत शून्य हुने रोग लाग्नु अस्वाभाविक होइन। तथापि अधिकांश झिना मसिना भुल्ने स्वभाव कुनै रोगको परिसूचक होइन बरु दिमागले स्मरण क्षमतालाई सबलीकरण बनाउन खेल्ने भूमिकासँग सम्बन्धित देखियो। स्वस्थ जीवन व्यतीत गर्नका लागि बिर्सने बानी आवश्यक भएकाले नै मानिसलाई उक्त शक्ति दिएको भन्दा अन्यथा नहोला।
सबै मानिसले मृत्युअघि पनि दिमागी शक्ति दुरुस्त रहोस् भन्ने चाह राख्नु अन्यथा होइन। एक अध्ययनले दिनको सात घण्टाको हाराहारी सुत्ने मानिसमा अल्जाइमर्स रोगको कारक ठानिएको प्रोटिन मस्तिष्कमा नजम्ने देखिएको छ। निन्द्रा दिमागी स्वास्थ्यका लागि महत्वपूर्ण ओखती भएकाले सुत्नमा सम्झौता गर्नुहँदैन। त्यस्तै, बजारको पत्रु खान्कीको बदला भान्सामा बनेको शाकाहारी भोजनमा निर्भर हुँदा शारीरिक वजनसमेत सन्तुलित भइ दिमागी स्वास्थ्य सुध्रिएको देखियो। शारीरिक कसरत र सन्तुलित आहाराले पाचन प्रणाली अनि निन्द्रालाई समेत सुधार्छ भन्ने बिर्सनुहुँदैन। पारिवारिक तथा सामाजिक सक्रियता, भगवान्को भक्ति र आराधना अनि साथीभाइसँग समय बिताउँदा दिमागी स्वास्थ्यलाई अत्यधिक लाभ पुर्याउने निचोड धेरै अध्ययनले देखाएका छन् भन्ने स्मरण गरौँ।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: २७ जेष्ठ २०८२ ०८:५२ मंगलबार