लगभग एक दशकको अवधिसम्म लोकप्रिय राजनीतिले प्रभुत्व जमाएपछि बेलायत र युरोपेली संघले अहिले आएर आफ्नो बाटो परिवर्तन गर्न सक्ने सम्भावना देखिएको छ। यद्यपि अत्यधिक सावधानीपूर्वक चालिएको कदम भए पनि बेलायती प्रधानमन्त्री केर स्टार्मरले युरोपेली सहयोगीहरूप्रति सद्भाव देखाएका छन्। यो ब्रेक्जिटको छायाँबाट बाहिर निस्कने लामो यात्राको स्वागतयोग्य पहिलो कदम हो।
आफ्नो सबैभन्दा ठूलो बजार र निकटतम राजनीतिक सहयोगी युरोपेली संघलाई पाँच वर्षअघि छाडेपछि विश्वमा आफ्नो ‘वास्तविक स्थान’ बारे बेलायत झन् बढी सचेत भएको देखिन्छ। शायद, बेलायतका लागि यो वर्षौँयताको सबैभन्दा उत्साहजनक राजनीतिक विकास हो। अमेरिकाले बहुपक्षीयता त्यागेपछि स्टार्मरको लेबर सरकारले जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्स जस्ता सहयोगीहरूसँग सम्बन्ध पुनस्र्थापना गर्ने काम गरिरहेको छ।
स्वाभाविक हिसाबले सतर्क राजनीतिज्ञ मानिने स्टार्मरलाई छिटो गतिमा अघि बढेको वा आफ्नै लागि शक्ति खोजेको आरोप लगाउन सकिँदैन। तर युरोपेली संघसँग बेलायतको व्यापार सम्बन्ध सुदृढ पार्ने, प्रमुख युरोपेली शक्तिहरूसँग (विशेषगरी युक्रेनको समर्थनमा) सुरक्षा सहयोग गहिरो बनाउने र विश्वभरका लोकतान्त्रिक सहयोगीहरूसँग पुनः हातेमालो गर्ने उनको प्रयासले एक महत्वाकांक्षी उद्देश्यलाई संकेत गर्दछ। यसले अन्ततः पश्चिमी गठबन्धनको केन्द्रमा बेलायतको स्थान पुनस्र्थापित गर्न सहयोग गर्नेछ।
बेलायत, फ्रान्स र क्यानडाले गाजा र वेस्ट बैंकमा इजरायलको ‘पूर्णरूपमा असमान’ कार्यहरूको निन्दा गर्दै जारी गरेको संयुक्त विज्ञप्ति यो परिवर्तनको सबैभन्दा स्पष्ट उदाहरण हो। विज्ञप्तिमा इजरायलको कारबाहीले ‘अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गर्ने जोखिम’ बोकेको चेतावनी दिइएको छ। यसका साथै उनीहरूले अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणप्रति आफ्नो स्पष्ट निन्दा दोहो¥याएका छन् र बाँकी रहेका सबै इजरायली बन्धकहरूको तत्काल रिहाइका लागि आह्वान पनि गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट बढ्दोरूपमा किनारा लगाइएको तथा अनावश्यक दबाब पाएको यी तीनै देश महसुस गरिरहेका छन्। तर ट्रम्पको अधिनायकवादी र अनियमित व्यवहारलाई उनीहरूले व्यापकरूपमा अस्वीकार गरेका छन्। त्यसो त विश्वव्यापीरूपमा ट्रम्पको विरोध एक प्रभावकारी चुनावी रणनीति बनेको छ जसले क्यानडा र अस्ट्रेलिया जस्ता देशमा राजनीतिक परिदृश्य (स्पेक्ट्रम) का जिम्मेवार दलहरूलाई प्रतिकूल प्रारम्भिक सर्वेक्षणका बाबजुद चुनाव जित्न सक्षम बनाएको छ। यद्यपि ट्रम्पले समर्थन गरेका एक लोकप्रियतावादी नेताले पोल्यान्डको हालैको राष्ट्रपति चुनावमा झिनो अन्तरले जितेका थिए।
ट्रम्पको राष्ट्रपति कालमा अन्तर्राष्ट्रिय संस्थाहरूभित्र अराजकता भित्रिएको छ। तीन महिनामा उनको प्रशासनले बहुपक्षीय व्यवस्थालाई भत्काउने र दोस्रो विश्वयुद्धको अन्त्यदेखि प्रत्येक अमेरिकी राष्ट्रपतिले कायम राखेका प्रमुख मूल्यमान्यतालाई कमजोर पार्ने प्रयास गरेका छन्। ड्वाइट ऐजनआवर, ह्यारी ट्रुम्यान, जोनएफ केनेडी र रोनाल्ड रेगन जस्ता राष्ट्रपतिले जुन हिसाबले अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने र विश्वभरका लोकतान्त्रिक देशहरूका लागि ‘अपरिहार्य’ साझेदार बनाउने रणनीति अख्तियार गरेका थिए, ट्रम्पले त्यसको ठीक उल्टो हिसाबले ‘सहयोगीहरूलाई शत्रु र शत्रुहरूलाई सहयोगी’ का हिसाबले व्यवहार गर्ने गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दमनकारी शासनप्रति ट्रम्पको सम्मान एउटा ज्वलन्त उदाहरण हो। युक्रेनमाथि आक्रमण, अन्तर्राष्ट्रिय कानुन उल्लंघन, राजनीतिक विरोधीहरूको विदेशमा हत्या जस्ता पुटिनका कारबाहीलाई माफी गर्ने वा कम आँक्ने दिशामा ट्रम्प छन्। यो अमेरिकाका लागि स्वाभाविक बाटोभन्दा विपरित हो। वास्तवमा परम्परागत अमेरिकी सहयोगीहरूलाई भन्दा ट्रम्प र उनको विदेश नीतिलाई आकार दिने धनाढ्यले पुटिनप्रति बढी सहानुभूति राखेका देखिन्छ। पुटिनले युक्रेनको स्वतन्त्र राष्ट्रको हैसियत समाप्त पार्ने लक्ष्य राखेका छन्।
यो ‘शक्ति नै सही’ मान्ने ट्रम्पको विश्वदृष्टि उनको आर्थिक अजेन्डामा पनि स्पष्ट देखिन्छ। उनी ठूलो खर्च कटौतीमा केन्द्रित छन् र यसले अमेरिकी अर्थतन्त्रलाई मन्दीको संघारमा पु¥याएको छ। सौभाग्यवश, अर्बपति इलन मस्क सरकारी दक्षता विभागमा रहेको आफ्नो भूमिकाबाट पछि हटेका छन् तर उनी उक्त भूमिकामा रहँदा उनले विश्वभरका कम आय भएका घरपरिवार र कमजोर जनसंख्यालाई सहयोग गर्न डिजाइन गरिएका कैयन् कार्यक्रम अनाहक बन्द गरिदिएका छन्।
ट्रम्पका यस्ता कार्यको परिणाम अमेरिकी सीमाभन्दा बाहिर विश्वभर फैलिएका छन्। ट्रम्पको धम्की र असंगत शुल्क घोषणाको निरन्तर आक्रमणले विश्वव्यापी अर्थतन्त्रलाई अस्थिर बनाएको छ र अमेरिकाको दीर्घकालीन समृद्धिलाई खतरामा पारेको छ। यी कार्यले विश्वमञ्चमा चीनलाई झन् सुदृढ पारेको छ र अमेरिकी विश्वसनीयतालाई कमजोर बनाएको छ।
यसैबीच, ट्रम्पको आप्रवासन विरोधी अजेन्डाले अमेरिकाको आविष्कार क्षमता कमजोर पारेको छ भने कृत्रिम बौद्धिकता अर्थात एआइको प्रतिस्पर्धामा चीनको स्थान सुदृढ पारेको छ। अमेरिकी अर्थतन्त्रको विश्वव्यापी प्रतिस्पर्धात्मकता बढाउन खोज्नुको सट्टा, ट्रम्पको क्रोधले स्वयं अमेरिकालाई नोक्सानी भएको छ। उनले अभिजात वर्गका विश्वविद्यालयमाथि अभूतपूर्व आक्रमण सुरु गरेका छन् र विश्वका केही प्रमुख वैज्ञानिकलाई निशाना बनाएका छन्। आफ्ना अजेन्डाका प्रमुख आलोचक रहेको भनेर उनले यस्तो कारबाही अगाडि बढाएका हुन्।
तर हालैका विकासक्रमले अमेरिकामा पनि सतर्क आशावादका लागि केही आधारका संकेत देखिएको छ। यद्यपि ट्रम्पले कानुनको शासनप्रति कम सम्मान देखाएका छन्। अमेरिकी अदालतहरूले अझै पनि उनको गैरकानुनी कार्य रोक्न एक प्रभावकारी भूमिका निभाउन सक्छन्। यसैगरी व्यापक शुल्क लागु गर्न अमेरिकी कांग्रेसको अनुमोदन चाहिन्छ र राष्ट्रपतिले एकपक्षीयरूपमा लगाउन सक्दैनन्।
शायद, अमेरिकाका लचिला संस्थाहरू र जागरुक नागरिकले अमेरिकी इतिहासको यो अशान्त अध्याय समाप्त गर्न सक्छन्। यसो हुन नसकेमा भविष्यका पुस्ताले यसलाई सन् १९५० को दशकको म्याकार्थी युग र १९२० को दशकको पाल्मर रेड्सको अवधिलाई जस्तै अविश्वास र सरमका साथ हेर्नेछन्। म्याकार्थीवादमा भएझैँ धेरै अमेरिकीले अहिले पनि सोधिरहेका ‘हामीले कसरी यस्तो हुन दियौँ?’ उता चिन्तित भएर हेरिरहेको बाँकी विश्वले पनि त्यही प्रश्न सोधिरहेको छ।
त्यसो भए हामी अमेरिका बाहिर भएकाहरूले के गर्न सक्छौँ ? अहिलेका लागि जवाफ स्पष्ट छ–उदार लोकतान्त्रिक देशहरूले नेतृत्व लिनुपर्छ, स्टार्मर, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोन र क्यानेडाली प्रधानमन्त्री मार्क कार्नीबीचको उदीयमान साझेदारीलाई सुदृढ पार्नुपर्छ। यो प्रसंगमा उत्साहजनक पक्ष के पनि हो भने अस्ट्रेलिया र जापानदेखि मध्य युरोपसम्मको बढ्दो गठबन्धन विश्व व्यापार संगठनका नियमहरू कायम राख्न प्रतिबद्ध देखिन्छ।
यो गठबन्धनले स्थिरता, शान्ति र साझा समृद्धिलाई बढावा दिने आर्थिक सहयोगका लागि आधारका रूपमा काम गर्नुपर्छ। यसमा सामेल हुन चाहने अन्य देशलाई स्वागत गर्नुपर्छ। गठबन्धनमा सामेल हुन नचाहनेहरूले अन्ततः महसुस गर्नेछन् कि शक्ति नै सही हो भन्ने अवधारणा दिगो भू–राजनीतिक वा आर्थिक हिसाबले सही होइन। ट्रम्प, चिनियाँ राष्ट्रपति सि र पुटिनले लापरवाह नीतिमार्फत आफ्नो देशको भविष्य खतरामा पार्ने कार्य जारी राख्न सक्छन् तर हामी बाँकी विश्वले गम्भीर भएर सही कार्य गर्नुपर्नेछ।
- प्यार्टन हङकङका अन्तिम बेलायती गभर्नर तथा अक्सफोर्ड विश्वविद्यालयका पूर्वकुलपति हुन्।
(प्रोजेक्ट सिन्डिकेटबाट।)
प्रकाशित: २५ जेष्ठ २०८२ ०८:५९ आइतबार

