२९ माघ २०८२ बिहीबार
image/svg+xml
विचार

‘एनोमी’ नेपाली समाज

एनोमी भन्नाले समाजमा व्यवहार र मूल्यको स्पष्टता हराउनु, सामाजिक नियमको विघटन हुनु र व्यक्तिहरूको जीवनमा दिशाहीनता उत्पन्न हुनु हो। समाजशास्त्री इमाइल दुर्खिमले यो सिद्धान्त प्रस्तुत गर्दै भनेका थिए– जब समाजमा साझा मान्यताहरू कमजोर हुन्छन् र सामाजिक स्थायित्व भंग हुन्छ, त्यतिबेला मानिसहरू आत्मकेन्द्रित, निराश र असुरक्षित महसुस गर्न थाल्छन्। आजको नेपाली सहरी समाजमा यस्तै अवस्था देखिन थालेको छ। जब समाजमा साझा मूल्य, नैतिकता, परम्परा र सामाजिक नियमहरू कमजोर हुन थाल्छन्, तब मानिसहरू दिशाहीन, एक्लो र असुरक्षित महसुस गर्न पुग्छन्। यही अवस्था ‘एनोमी’ हो, जसले सामाजिक विघटन, मानसिक असन्तुलन र आत्महत्या जस्ता गम्भीर समस्या निम्त्याइरहेको छ।

आजकल सहरहरूमा बसोबास गर्ने मानिसबिच आपसी सम्बन्ध कमजोर हुँदै गएको छ। छिमेकीलाई चिन्नु त परै जाओस्, आफन्तसँग पनि भेटघाट र सम्पर्क कम हुँदै गएको छ। धेरैजसोको गुनासो छ– उनीहरूले फोन गरेनन्, घर आएनन्, ध्यान दिएनन्, समय दिएनन्, गुणस्तरीय समय छैन वा बोक्रे सम्बन्ध मात्र राखेका छन्। यसले के देखाउँछ भने हामी आपसी सम्बन्धको अनुभूति त चाहन्छौं तर त्यसको निर्माणमा सक्रिय छैनौं। नेपाली सहरी समाजमा अहिले व्यक्तिवाद हावी भइरहेको छ।

 सहरीकरण र प्रविधिको तीव्र विकासले मानिसहरू व्यक्तिगत जीवनमा यति व्यस्त छन् कि छिमेकी, आफन्त वा समुदायप्रति चासो हराउँदै गएको छ। काठमाडौं, पोखरा, ललितपुर, भरतपुर, विराटनगरलगायतका सहरमा बस्ने धेरै मानिसले आफ्नै घरछेउका छिमेकीको त परै जाओस्, आफ्नै घरको अन्य फ्ल्याटमा बस्ने मानिसलाई समेत नचिन्ने वा नाम थाहा नपाउने सामान्य कुरा हुन थालेको छ।

पहिले गाउँघरमा विवाह, व्रतबन्ध, अन्त्येष्टिजस्ता कार्यक्रममा सबै गाउँले सहभागी हुने गर्थे। अहिले त यस्ता कार्य सहरी क्षेत्रमा केवल औपचारिकतामा सीमित हुन थालेका छन्। अहिलेका चाडपर्वहरू ‘सेल्फी’ र ‘सोसल मिडिया स्टोरी’ मा सीमित हुँदै गएका छन्। सांस्कृतिक सामूहिकता व्यक्तिगत प्रदर्शनमा रूपान्तरित भइरहेको छ।

धार्मिक अनुष्ठानहरूमा सहभागिता घटेको, श्राद्ध वा अन्त्येष्टिमा सहभागिता नहुनु वा न्यून सहभागिता हुनु, कुलपूजा, गुठी र परम्परागत समुदायको भूमिकामा ह्रास आउनु, यिनै त हुन् एनोमीका लक्षणहरू। यस्ता सोचले सामाजिक उत्तरदायित्व र पारिवारिक मूल्यहरू कमजोर पारिरहेको छ।

सामाजिक मूल्य र विश्वासहरूको यस्तो विघटनले मानिसलाई दिशाहीन बनाउँछ, जसको परिणामस्वरूप मानसिक तनाव, डिप्रेसन, आत्महत्याजस्ता समस्याहरू बढेका छन्। ईश्वरलाई केन्द्रमा राखेर हामीलाई हुर्काइएको संस्कृति एकाएक दुविधाग्रस्त हुँदा मानिसले अदृश्य अभिभावक गुमाएको छ।

यसरी अदृश्य अभिभावक गुमेको स्थिति पनि एनोमीको लक्षण हो, जहाँ साझा सामाजिक नियमहरू कमजोर हुन्छन्, मानिसहरू आफ्नो जीवनमा उद्देश्यको कमी महसुस गर्छन्। सहरी जीवनको गतिशीलता, प्रतिस्पर्धा, एक्लोपन र सामाजिक अलगावले गर्दा धेरै मानिस मानसिक असन्तुलनतर्फ अग्रसर छन्।

यसको उदाहरणका रूपमा काठमाडौं, पोखरा, चितवन, विराटनगरजस्ता सहरहरू लिन सकिन्छ। यिनीहरूमा जनसंख्या बढ्दो छ तर सामाजिक सम्बन्धको गुणस्तर घट्दो छ। मानिस व्यस्त छन् तर नातागोता, परम्परा र सामूहिकता भने ओझेलमा परेका छन्।

भर्चुअल समाज यस्तो सामाजिक संरचना हो, जहाँ मानवीय सम्बन्ध, अन्तरक्रिया र सांस्कृतिक अभिव्यक्तिहरू मुख्य रूपमा डिजिटल प्रविधिहरू जस्तै इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालमार्फत सञ्चालित हुनपुग्छन्। यस समाजमा अब प्रत्यक्ष उपस्थितिको आवश्यकता अनिवार्य रहँदैन। मानिसले अनुहार अगाडि भेट्नुभन्दा पनि भिडियो कल, म्यासेज वा सामाजिक सञ्जालमार्फत नै सम्बन्ध कायम गर्छन्। जन्मदिन, समवेदना, चाडपर्वजस्ता परम्परागत विधिहरू पनि अनलाइन माध्यममै सीमित हुँदै गएका छन्, जसले प्रत्यक्ष मानवीय सम्पर्कलाई घटाउँछ।

भर्चुअल समाजका प्रमुख विशेषतामा सञ्जालमा आधारित व्यक्तिवाद, डिजिटल पहिचान, सामूहिक सम्बन्धको ह्रास र प्रविधिमा अत्यधिक निर्भरता पर्छन्। यद्यपि यसले सजिलो, द्रूत र विश्वव्यापी सम्पर्कको सुविधा दिन्छ तर यसले वास्तविक सामाजिक अनुभव, सामूहिक जमघट र परम्परागत सांस्कृतिक अभ्यासलाई कम गर्दै लगेको छ।

आमा गाउँमा छिन्, सहरमा भएका छोराछोरी मोबाइलमा भेटिन्छन्। मानव प्राणीका रूपमा बोल्छन् तर उनीहरू न आमाका नजिकै आएर बस्न सक्छन् न आमाले उनीहरूलाई सुमसुम्याउन सक्नुहुन्छ। अजीव विद्युतीय प्राणीका रूपमा अचम्मको संसार बनिरहेको छ। यसले जीवन्त भावको समाजलाई भत्काएर एक अप्राकृतिक भर्चुअल समाज र संसार बनाइरहेको छ। यो पनि एनोमीको अर्को कारण हो।

 सहरहरूमा परम्परागत संस्कारहरू अब औपचारिकता मात्रै बन्न थालेका छन्। विवाहमा धुमधाम भए पनि गुणस्तरीय सामाजिक सहभागिता, सम्बन्धको गहिराइ वा संवेदनात्मक निकटता हराउँदै गएको छ। फ्ल्याट जीवनशैली, गेटेड कम्युनिटी, वर्कफ्रम होम र डिजिटल संसारले गर्दा मानिस सामाजिक जीवनभन्दा ज्यादा भर्चुअल सम्बन्धमा केन्द्रित भइरहेका छन्।

फलतः एनोमीको गहिरो प्रभाव मानसिक स्वास्थ्यमा देखिन्छ। जब मानिस सामाजिक रूपमा एक्लिन्छ अर्थात् समाजबाट व्यक्तिमा रूपान्तरित हुन्छ, उसका लागि कुनै स्पष्ट सामाजिक मार्गदर्शन हुँदैन अनि ऊ मानसिक रूपमा भत्किन्छ। यही अवस्थाले आत्महत्या र डिप्रेसनमा वृद्धि ल्याउँछ। नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला केही वर्षमा आत्महत्याको दरमा उल्लेखनीय वृद्धि भएको छ र यो प्रायः सहरी क्षेत्रमा बढी देखिएको छ।

विशेष गरी १५–३० वर्ष उमेर समूहमा यो समस्या बढी छ। किनभने उनीहरू परम्परागत समाजबाट टाढा छन् तर आधुनिक समाजले पनि उनीहरूलाई स्पष्ट पहिचान र दिशा दिन सकेको छैन।

यसैगरी यथार्थ संसारसामु भर्चुअल नेपाली सहरी समाज अहिले सामाजिक सङ्क्रमणको एक निर्णायक मोडमा छ। एकातर्फ पारम्परिक मूल्यहरू क्षीण भइरहेका छन् भने अर्कातर्फ नयाँ मूल्यहरूको ठोस निर्माण हुन सकेको छैन। यहीबिचको शून्यता र अनिश्चितता हो एनोमी।

हामीले यस अवस्थालाई बुझ्न सकेनौं र सामाजिक पुनर्संरचनाको प्रयास गरेनौं भने सामाजिक अलगाव, मानसिक असन्तुलन र सामूहिकता विघटन झनै गहिरो बन्छ। त्यसैले अबको आवश्यकता हो सामाजिक संवाद, सहभागिता, समुदाय निर्माण र नयाँ पुस्तामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने। यसैले, वर्तमान नेपाली सहरी समाजको यो अवस्था एनोमीको अवस्थासँग मिल्दोजुल्दो छ।

समाजले फेरि आपसी सहकार्य, विश्वास, सामूहिकता र साझा मूल्यको पुनर्निर्माण गर्न सकेन भने सामाजिक विघटन अझ गहिरो हुँदै जान्छ। त्यसैले अहिलेको आवश्यकता हो सामाजिक पुनर्संरचना, जहाँ परम्परा र आधुनिकता दुवै सन्तुलित रूपमा अघि बढ्न सकून्।

- अधिकारी समाजशात्र, मानवशास्त्र विषयका उपप्राध्यापक हुन्।

प्रकाशित: २१ जेष्ठ २०८२ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %