केवल एक दशकभन्दा बढी समयमै डिजिटल प्रविधिले आधुनिक जीवनलाई पूर्णतः रूपान्तरण गरिदिएको छ। स्मार्ट फोन, कम्प्युटर र इन्टरनेट पहुँच अब हाम्रा काम, अध्ययन र सम्पर्कका लागि अपरिहार्य बनिसकेका छन्। तर यो असीमित पहुँचसँगै एक गम्भीर समस्या पनि देखापरेको छ - विशेषगरी बालबालिका र किशोरहरूमा बढ्दो स्क्रिन लत।
सामाजिक सञ्जाल - विशेषगरी टिकटक, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र फेसबुकजस्ता प्लेटफर्महरूले सञ्चार र मनोरञ्जनको स्वरूप परिवर्तन गरेका छन्। तर यिनले तत्काल सन्तुष्टिको संस्कृति पनि सिर्जना गरेका छन्, जसले ध्यान केन्द्रित गर्ने क्षमता घटाइरहेको छ र आत्मअन्वेषण र व्यक्तिगत विकासका अवसरलाई कम गरिरहेको छ। विशेषगरी टिकटक र इन्स्टाग्रामलाई सबैभन्दा लत लाग्ने प्लेटफर्मका रूपमा हेरिन्छ जसले किशोरहरूको सोच्ने र व्यवहार गर्ने तरिकालाई प्रभावित गरिरहेको छ।
सधैँ जडान रहनुको मूल्य
धेरै अध्ययनले अत्यधिक स्क्रिन प्रयोगलाई शैक्षिक गिरावट र मानसिक स्वास्थ्य समस्यासँग जोडिएको देखाएका छन्। यद्यपि कारण परिणामको सम्बन्ध पुष्टि भइसकेको छैन, सम्बन्धहरू भने गम्भीर चिन्ताको विषय बनेका छन्। समस्यायुक्त स्मार्टफोन प्रयोग भनिने व्यवहार, दैनिक जीवनमा बाधा पुर्याउने गरी मोबाइलको जबर्जस्ती र नियन्त्रणबिहीन प्रयोग हो जसले व्यवहारजन्य लतसँग समानता देखाउँछ।
जर्मनीमा गरिएको एक सर्वेक्षणअनुसार १२ देखि १८ वर्षका किशोरहरूमा स्मार्टफोन स्वामित्व २०१२ मा ६२ प्रतिशतबाट २०२१ मा ९४ प्रतिशत पुगेको थियो। कोभिड १९ ले त झनै यो निर्भरता बढायो। जब लकडाउनका कारण किशोरहरू घरभित्रै सीमित भए र डिजिटल उपकरण नै बाहिरी संसारसँग जडानको एक मात्र माध्यम बन्यो यस अवधिमा गरिएका अध्ययनहरूले किशोरहरूमा दिक्दारी, चिन्ता, डिप्रेसन र रिसको स्तरमा वृद्धि देखाएका छन्।
एक अध्ययनले देखायो कि १५ प्रतिशत बालबालिका र किशोरहरू दैनिक नौ घण्टा वा सोभन्दा बढी समय शैक्षिक प्रयोजनबाहेकका स्क्रिन गतिविधिमा खर्च गर्छ जसमा स्ट्रिमिङ, डुमस्क्रोलिङ, बिन्ज वाची र सामाजिक सञ्जाल समावेश छन्। यी व्यवहारहरू केही अनुसन्धानकर्ताले पदार्थ लतसँग तुलना गरेका छन्। अमेरिकी मेडिकल संघको जर्नलमा प्रकाशित यी निष्कर्षहरू गम्भीर चेतावनी हुन्।
लिङ्गविशेष असरहरू
अध्ययनहरूले डिजिटल लतले सबै किशोरहरूमा समानरूपमा असर गर्दैन भन्ने पनि देखाएका छन्। अनुसन्धानहरूले लिङ्गविशेष जोखिम देखाएका छ जसले लक्षित हस्तक्षेपको आवश्यकता देखाउँछ।
स्विडेनमा करिब पाँच हजार किशोरमा गरिएको अध्ययनले के देखायो भने केटाकेटी दुवैले सिफारिस गरिएको स्क्रिन समयभन्दा धेरै प्रयोग गरे तापनि, एउटै स्तरको प्रयोगमा किशोरीहरूमाझ डिप्रेसनको स्कोर केटाहरूको तुलनामा दोब्बर थियो। अर्कोतर्फ, अत्यधिक गेमिङले केटाहरूमा दृष्टिदोष (मायोपिया), चिन्ता समस्यालगायत गम्भीर मानसिक र शारीरिक असर पुर्याउँछ। यी निष्कर्षहरूले लिङ्गअनुसारको मानसिक स्वास्थ्य रणनीति र सचेतना अभियानको आवश्यकता औल्याउँछन्।
डुमस्क्रोलिङ र निष्क्रिय खपतको बढ्दो प्रवृत्ति
डुमस्क्रोलिङ निरन्तर स्क्रिनमा बिनाउद्देश्य सामाजिक सञ्जालको सामग्री हेर्ने बानी सबैभन्दा हानिकारक डिजिटल व्यवहारमध्ये एक हो। यसले किशोरहरूमा चिन्ता र आत्मगौरवको कमी बढाउँछ, किनभने उनीहरू अरूको सजावट गरिएको वा कृत्रिम जीवनसँग आफूलाई तुलना गर्छन्। यसले वास्तविकतालाई विकृत बनाइदिन्छ र किशोरहरूमा अपूर्णता वा अलगावको भावना उत्पन्न गराउँछ।
पुस्तागत विभाजन
मिलेनियल पुस्ताले एनालगदेखि डिजिटल युगसम्मको रूपान्तरण देखे तर जेनजी र जेनअल्फा भने डिजिटल युगमै जन्मिएका छन्। उनीहरू सानैदेखि स्क्रिनसँग परिचित हुन्छन्, प्रायः आफ्नै आमाबाबुको बानीअनुसार। मनोवैज्ञानिकहरू भन्छन्– यस्तो प्रारम्भिक सम्पर्कले स्क्रिन लत र पदार्थ लतबीच समानता देखाएको छ। स्क्रिन पाएपछि उत्साहित र नपाएपछि चिडचिडोपन।
अध्ययनहरूले देखाएका छन् कि २०१८ देखि २०२४ सम्मको अवधिमा किशोरीहरूमा समस्यायुक्त स्मार्ट फोन प्रयोगको स्तरमा उल्लेखनीय वृद्धि भएको छ। के कारण के परिणाम भन्ने पुष्टि नहुन सक्छ तर पिएसयु स्कोरको उच्च स्तर जीवनको गुणस्तरसँग नकारात्मकरूपमा सम्बन्धित देखिन्छ।
अभिभावकहरूको विरोधाभास
बालबालिकाले प्रायः अभिभावकको बानी नक्कल गर्छन्। जब आमाबाबा निरन्तर फोन हेर्दै बस्छन्, तब बालबालिकाले पनि त्यही व्यवहार दोहोर्याउँछन् र त्यसको असर भोग्छन्। अस्ट्रेलियामा १५ हजारभन्दा बढी बालबालिकालाई समेटिएको एक अध्ययनले देखायो कि आमाबाबाले सन्तानसँग हुँदा स्क्रिनमा अत्यधिक ध्यान दिनुले बालबालिकाको भावनात्मक विकासमा ढिलाइ, संज्ञानात्मक क्षमतामा कमी, र चिन्ता तथा डिप्रेसनको जोखिम बढाएको छ। यस्तो व्यवहारले बालबालिकाले सतही प्रतिक्रिया पाउने र त्यसले निराशा, स्वार्थीपन र भावनात्मक अस्थिरता निम्त्याउँछ।
यदि आमा÷बाबा स्वयं फोनमै व्यस्त छन् भने स्क्रिन कम गर्न भनिएको कुरा विश्वासिलो हुँदैन। मनोवैज्ञानिकहरू भन्छन्– बच्चाहरूले अभिभावकले के गर्छन् भन्नेबाट बढी सिक्छन् नकि के भन्छन् भन्नेबाट। उदाहरण प्रस्तुत गर्नु नै सबैभन्दा महत्त्वपूर्ण हो।
सन्तुलित समाधानको बाटो
मनोवैज्ञानिकहरूका अनुसार सम्पूर्ण प्रतिबन्ध समाधान होइन। त्यस्ता उपायले गोप्यता र विद्रोह उत्पन्न गर्न सक्छ। यसको समाधान अनुसन्धानकर्ताहरूले सन्तुलित र सूचित दृष्टिकोण सिफारिस गर्छन्। उमेरअनुकूल स्क्रिन समयसीमा तय गर्नु, पेरेन्टल कन्ट्रोल र उपकरणका सुविधा प्रयोग गरेर प्रयोगको निगरानी राख्नु, शैक्षिक र अर्थपूर्ण सामग्रीलाई प्राथमिकता दिनु, र स्क्रिन नियम र डिजिटल बानीबारे खुला संवाद प्रोत्साहित गर्नु।
सानो उमेरका बालबालिकाका लागि विशेषगरी पाँचवर्षमुनिका, विश्व स्वास्थ्य संगठनले कडाइका साथ सीमित स्क्रिन समय सिफारिस गर्छ। एक वर्षमुनिका शिशुहरूका लागि स्क्रिन समय शून्य हुनुपर्दछ। दुईदेखि चार वर्षसम्मका बालबालिकाका लागि एक घण्टा बढी नहुने गरी सीमित गर्न भनिएको छ। शिक्षा प्रणाली र नीति निर्माता पनि जिम्मेवार हुनुपर्छ। डिजिटल साक्षरता शिक्षा प्रणालीमा समावेश गर्न, लत उत्पन्न गर्ने एल्गोरिदमको जोखिमबारे चेतना दिन र अनलाइन दबाबबाट जोगिने क्षमता विकास गराउनुपर्ने हुन्छ।
उद्देश्य र दीर्घकालीन सोचको संरक्षण
नवीन अनुसन्धानहरूले देखाउँछन् कि जीवनको उद्देश्य बुझ्ने र दीर्घकालीन विकासको महत्त्व बुझ्ने किशोरहरू डिजिटल जालमा फस्ने सम्भावना कम हुन्छ। उद्देश्यबिहीन किशोरहरूमा सामाजिक सञ्जालको डोपामिन चक्रको शिकार हुने सम्भावना उच्च हुन्छ तर उद्देश्यप्रेरित किशोरहरू स्क्रिनलाई उपकरणका रूपमा प्रयोग गर्छन्, नकि भावनात्मक सहाराका रूपमा।
निष्कर्ष
हाम्रा बालबालिका यस्तो युगमा हुर्किरहेका छन् जहाँ स्क्रिनहरू सर्वत्र छन् र ती टार्न गाह्रो छ। तर उनीहरूले यो डिजिटल संसारसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने कुराले उनीहरूको मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई दीर्घकालसम्म असर गर्छ। अभिभावक, शिक्षक र समुदायका रूपमा हामीले उनीहरूलाई डिजिटल उपकरणको प्रयोगमा सन्तुलन, सिमाना र सशक्तता प्रदान गर्नुपर्छ।
अन्ततः बालबालिकालाई अर्को एप, भिडियो वा सूचना होइन, आफ्ना आमाबाबाको समय र ध्यान चाहिएको हुन्छ। वज्ञहरू बारम्बार भन्छन्– प्रविधिले सिकाइ र सम्बन्धलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइन।
प्रकाशित: १८ जेष्ठ २०८२ ०८:४१ आइतबार

