भिजिट भिसामा हजुर भिजिट भिसामा
भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा...
हरिवंश आचार्यलगायतका कलाचार अभिनित चलचित्र दाल भात तरकारी को ‘भिजिट भिसामा’ बोलको गीत जिब्रोमा झुण्डिएको छ। झन् मुलुमा घटित पछिल्लो ‘भिजिट भिसा प्रकरण’ ले यसलाई अरू चर्चित बनाएको छ। गृहमन्त्री रमेश लेखकलाई ट्रोल गर्दै बनाइएका अनेकन सामग्री यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
भिजिट भिसा भन्नाले पर्यटक बनेर वा कुनै किसिमको यात्रु बनेर सम्बन्धित मुलुकमा अस्थायी हिसाबले बस्ने, घुमघाम गर्ने, फुर्सद मनाउने वा परिवार र साथी भेट्न जाने प्रवेशाज्ञा हो। यसरी अस्थायी भ्रमणमा जाने गरी लिइएको भिसालाई प्रयोग गरेर विदेशमा काम खोज्ने र उतै बस्ने प्रक्रियाका रूपमा यसलाई लिने गरिएको छ। कतिपयले श्रम अनुमति नभए पनि विदेश जान यसलाई प्रयोग गर्छन्। यसरी जान चाहनेलाई ‘असुल’ गरी ‘सहजीकरण’ गर्ने काम राज्य संयन्त्रले नै गरिरहेको छ।
केहीअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाँदै थिएँ। सुरक्षा जाँच सकिएपछि विमानमा ‘अनबोर्ड’ गर्नुअघि प्रतीक्षामा रहेका बेला एक युवा नजिकै आएर सोधे– ‘दाइ, अब यहाँ भन्दा उता पनि जाँच हुन्छ?’
मैले भनेँ– ‘सुरक्षा जाँच सकियो। अब तपाईंले विमान चढ्ने बेलामा मात्रै बोर्डिङ पास देखाउनुपर्छ।’
उनी अझै अलमलमा थिए। ‘म भिजिट भिसामा जान लागेको’, उनले बेलिबिस्तार लगाए– ‘दुइटा बोर्डिङ पास छ, कुन देखाउने ?’
उनको अलमल बुझेर जानकारी दिएँ– ‘चिन्ता गर्नुपर्दैन। अघि जुन पास देखाएर आउनुभएको हो, त्यही देखाए पुग्छ।’
मैले उनको समस्या बुझिसकेको थिएँ। उनी विदेश जान पाउने नेपाली नै हुन्। खाली यत्ति हो, उनी कामका लागि जान पाउँदैनन्। तर सेटिङ मिलाएर उनलाई उड्न सक्ने अवस्थामा दलाल समूह, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले भूमिका खेलेको बुझ्न सकिन्छ।
मसँग कुरा गरिसकेपछि उनी आश्वस्त भए। उनी खुसी भएर ‘दाइ, कफी खाऔँ भनिरहेका थिए। मैले राति अबेर भएकाले कफी नखाऔँ भनेर टारिदिएँ। बरु उनलाई सम्झाएँ– ‘अब अरूलाई सोध्नुपर्दैन है। अहिले जहाजमा बोलाएपछि सिधै गए हुन्छ। तिनको निर्दोषपन अहिले पनि मेरो सम्झनाबाट बाहिरिएको छैन।
मलाई एक सर्वसाधारण नेपालीले आफ्ना सपनाको खोजीमा जाँदै गरेको त्यो क्षणलाई सहज बनाइदिनुपर्छ भन्ने लाग्यो। आखिर यसरी जान नपाइने रहेनछ। गृह मन्त्रालयका कर्मचारी आफैँ लागेर यसमा सहजीकरण गर्ने रहेछन्। विदेशी मुलुकले भिसा दिइसकेको छ भने तिनलाई यहाँ रोक्नुपर्ने कारण पनि छैन। यस्तो प्रक्रियालाई निरुत्साहित गर्ने हो भने नियमसंगत ढंगले जान सक्ने वातावरण बनाइदिए पुग्छ।
कामका निम्ति निस्कने नेपालीलाई घुमघामका लागि भनेर विदेश पठाउने समूह यहाँ सक्रिय छ। त्यसका निम्ति दैनिक कारोबार हुन्छ। त्यो कारोबारका मुख्य लक्षित मानिस भनेकै यिनै सर्वसाधारण हुन्। अरू सबै टाठाबाठा सजिलै विदेश जान्छन् र फर्कन्छन्। पछिल्लो विवरणअनुसार प्रतिदिन यसबाट राजनीतिक नेतृत्वले ५० लाख रूपैयाँ कमाइरहेको छ।
अहिले देशमा यही ‘भिजिट भिसा’ काण्ड मच्चिएको हो। सधैँ मिलेर भित्रभित्रै गरिरहेको यो काण्ड सार्वजनिक भएको मात्र हो। कुनै कुनै गृह मन्त्री आएका बेलामा बाहेक अरूबेला सजिलै विमानस्थलबाट मानिस ‘भिजिट भिसामा’ पठाइन्छ। यसरी जाने मानिसलाई जति अप्ठ्यारो कानुन र कार्यविधि बनाइदियो, त्यति नै यस्तो गिरोह चलाउने व्यक्तिहरूलाई कमाउ धन्दा गर्न सजिलो हुन्छ।
प्रायः गृह मन्त्रीहरू यस्तो प्रक्रियालाई कठिन बनाउन लागिपरेका हुन्छन्। कर्मचारी नेतृत्वले पनि राजनीतिक व्यक्तिहरूलाई यस्ता कठोर प्रावधान भएका निर्देशिका बनाएर लागु गराउन तत्पर गराउँछन्। र, यस्ता प्रावधान जटिल बनाएपछि सर्वसाधारणलाई दुहुनो सजिलो हुन्छ। आखिर तिनलाई जसरी पनि विदेशमा कामका लागि जानै पर्छ। विमानस्थलको ‘सेटिङ’ लाई तिरेपछि सजिलै कमाइ हुने ठाउँमा जान सकिन्छ भन्ने विश्वासले उनीहरू जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन्।
‘बिकिनी किलर’ का नाममा चिनिएका अपराधी चाल्र्स शोभराजले कुनैबेला काठमाडौँ विमानस्थलबाट हात्ती छिराइदिने बताएका थिए। यसको मतलब उनलाई यहाँ पैसा दिएपछि जे पनि गर्न सकिन्छ भन्ने ढुक्क थियो। त्यही भएर पछिल्लोपटक नेपालमा आएर घुमिरहेका बेला बल्ल उनी समातिएका थिए। यहाँ उनलाई नियमित आवतजावत गर्न कुनै कठिनाइ नभएको यसबाट बुझिन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी र अन्य गैरकानुनी कारोबार रोक्न विशेष व्यवस्था गरिएको छ। त्यसका लागि त्यहाँ तीन दर्जन भन्दा बढी सरकारी निकाय सक्रिय छन्। संसारका कुनै पनि विमानस्थलमा यहाँ जति सुरक्षा व्यवस्था हुँदैन। विदेश जाँदा मानिस अध्यागमन पार गरिसकेपछि पनि यहाँ सुरक्षा पार गर्नुपर्ने हुन्छ। अझ विदेशबाट फर्केका व्यक्तिलाई विमानस्थलमा गर्ने व्यवहार झनै आश्चर्यलाग्दो छ। मानिसले आफ्ना जुत्ता, घडी र पेटीसमेत फुकालेर आफूलाई सुरक्षा जाँचमा प्रवेश गराउनुपर्छ।
अझ रोचक त सर्वसाधारणले देशबाटै लगाएर गएका गहनाको बिल नदेखाएको वा जानुअघि जानकारी नगराएको भन्ने नाममा समेत दुःख पाउँछन्। कैयन्ले आफूले लगाएर गएको गहनाका निम्ति फर्केर आउँदासमेत कर बुझाउनुपरेको छ। यसो किन गरिन्छ भने त्यहाँ बसेर असुली गर्न सकिन्छ। सर्वसाधारणलाई यति कडाइ गरेको देखाएपछि त्यही निहुँमा आफूलाई मन लागेका व्यक्तिलाई पार गराउन वा तिनका सामग्री देशभित्र ल्याउन तिनले ‘सहजीकरण’ गर्छन्।
भिजिट भिसा प्रकरण चम्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भिडियो सार्वजनिक भएको छ। उनले त्यसमा भनेअनुसार उनकै चिनजानका एकजना मानिस अमेरिकाबाट यहाँ आउँदा ल्याएको क्यामेरा विमानस्थलमै ‘दमपच’ बनाइयो। प्रधानमन्त्री आफैँ लागेर पनि उनलाई त्यो क्यामेरा फिर्ता गराउन सकेनन्। अझ उनका ती चिनारुले अमेरिका जाने बेलामा पनि क्यामेरा लैजान पाएनन्।
प्रधानमन्त्रीको यो ‘स्पष्ट’ अभिव्यक्ति स्वागतयोग्य छ। तर, प्रधानमन्त्रीले भन्दा त यहाँ कर्मचारीले नटेरी कसैको सामान खाइदिन सक्छन् भने बाँकी दुनियाँ यहाँ कसरी बाँचेको होला ? सुशासनका मामिलामा सम्पूर्ण संयन्त्र पूर्णरूपमा असफल भइसकेको प्रमाण यो भन्दा अर्को के हुन सक्छ ? प्रत्येक पटक त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको सार्वजनिक हुन्छ। त्यसपछि छानबिनको नाटक सम्पन्न हुन्छ। त्यति गरेर पनि फेरि अवस्थामा कुनै सुधार आउँदैन। पुनः गति यथावत् रहन्छ।
यतिबेला संसद गृहमन्त्री रमेश लेखकको राजीनामा मागले अवरुद्ध भइरहेको छ। उनलाई राजीनामा नगराई चल्न दिने संकेत छैन। यसपटक गृहकै कर्मचारीको संलग्नताले उनीमाथि यो प्रश्न उठेको छ। कुनै घटना विशेषमा तात्ने र फेरि सेलाउने यहाँको चलन हो। विषयवस्तुको यो गम्भीरता यथावत् रहन्छ। फेरि पनि विमानस्थलको यो प्रवृत्ति रोकिँदैन। व्यवस्थालाई यसरी दोहनको माध्यम बनाइरहेका कारण यस्तो भएको हो।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष भएको छ। यही जेठ १५ गते धुमधामसँग दिवस पनि मनाइयो। त्यही दिनयता लोकतान्त्रिक गणतन्त्रविरुद्ध ‘राजतन्त्र’ पक्षधरहरूले
विरोध प्रदर्शन गरिरहेका छन्। यतिबेला लोकतन्त्रको पक्ष र विपक्षका जुलुस देखाएर सामाजिक सञ्जालमा विचार/विमर्शसमेत भइरहेका छन्। तर लोकतन्त्रको अहिलेको जस्तो अवस्था आउनुमा सुशासनको अभाव सबैभन्दा पहिलो कारण हो। त्रिभुवन विमानस्थलको सेटिङले यही भन्दैछ। जुन जुन ठाउँमा लोकतन्त्रलाई सुशासनको ऐन देखाउनुपर्ने थियो, त्यही त्यही ठाउँमा आज समस्या देखिएका छन्। जहाँबाट न्याय निसृत हुनुपर्ने थियो, त्यहीँ अन्याय देखिन थालेको छ। जहाँबाट जनताका आवाज प्रस्फुटित हुनुपर्ने थियो, त्यहीँ आज वाक्य बसेको छ। राज्यका सम्पूर्ण क्षेत्रमा सन्तुलन र नियन्त्रण व्यवस्था कमजोर हुँदा अहिलेको अवस्था आएको हो।
प्रधानमन्त्रीले समेत फेर्न नसकेको विमानस्थलको प्रणाली फेर्न को आउने? आफूले समेत साथीलाई रेस्क्यु गर्न नसकेको उनले प्रष्टै पारेपछि गीतको भाका परिवर्तन गर्नुपर्ने बेला आएको छ–
भिजिट भिसामा हजुर भिजिट भिसामा
सुशासनसहित बसौँ हजुर आफ्नै देशमा...!
प्रकाशित: १८ जेष्ठ २०८२ ०८:०९ आइतबार

