युरोप: आधुनिकतावाद र दर्शननिर्माणको जननी अमेरिका पनि पश्चिमी समूहमा छ, ग्लोबल नर्थको संरचना पनि छ तर खासमा पश्चिम भन्नाले युरोप नै बुझिन्थ्यो, जसले अठारौं शताब्दीमा औद्योगिक क्रान्तिलाई जन्म दियो। यसले मध्ययुगीन बर्बर सामन्तवादको दुश्चक्रबाट मानवतालाई बाहिर ल्यायो अनि आम सर्वसाधारणलाई पनि आधुनिकतावादतर्फ डो¥यायो। पन्धौं शताब्दीतिर कृषिमा उत्पादकत्व निरन्तर घट्दो थियो, जनसंख्या बढ्दो थियो जब कि शासकहरू राज्यविस्तार र लडाइँलाई मात्रै ध्यान दिन्थे। ऊबेला खाद्यान्नको अभाव र गरिबीले प्रताडित थियो संसार। जब युरोपमा विज्ञान र प्रविधिको विकास आयो, मेसिन र स्वचालित कलकारखानाहरू आविष्कार भए, तब व्यावसायिक कृषि मौलायो, खाद्य उत्पादनसँगै कपडा र वस्तु उत्पादन बढ्यो। औषधी र खोप बने, जसले अकाल मृत्युबाट जोगायो। यातायात सञ्जालको विकाससँगै आधुनिकता संसारभर फैलियो। मानिसको उपभोगपहुँच बढ्यो र यसले केही सुखसुविधा पनि ल्यायो। यससँगै शिक्षा र चेतना पनि मौलायो। यस अर्थमा युरोपले वैश्विक रूपमा मानवतावाद र प्रगतिवाद फैलाएको भन्न सकियो।
राज्य र शासकहरू सर्वसत्तावादी र भ्रष्टाचारी नहोऊन् भन्ने हेतुले ग्रिक (युनानी) दार्शनिकहरूले दर्शन र ज्ञानमिमांशा प्रणालीको आविष्कार गरेका थिए। युरोपले यसलाई निरन्तरता दियो। प्लेटो, सुकरात र अरिस्टोटलका तत्त्वज्ञान र मिमांशा शास्त्रहरू थप परिमार्जित भए।
आधुनिक कालखण्डमा जेजेरुसो, इम्यनुल कान्ट, हेगेल, नित्से, सात्र्र, माक्र्स, रसेल, जोन रावल्सका मार्गदर्शक विचारसँगै अल्बर्ट आइन्सटाइनजस्ता महान् वैज्ञानिकको संसार बदल्ने योगदान पनि उत्तिकै रह्यो। यस कालान्तरमा संस्कृति, कला र साहित्यमा पनि उत्तिकै उपलब्धि भए। राज्यस्तरबाटै युरोपले ज्ञान निर्माणस्थल, अनुसन्धान केन्द्र, एकेडेमी र विश्वविद्यालयहरूसँग हातेमालो गर्यो। ज्ञान र विज्ञानलाई उच्च महत्त्व दियो। मानवजातिको चेतना अभिवृद्धि गर्न ज्ञान र विज्ञानसँगै भाषा–प्रविधिमार्फत यसको प्रसारणमा पनि युरोपको देन इतिहासमा सर्वोपरि रहेको पाइन्छ।
क्रान्ति र परिवर्तन: पश्चिमा विचारको देन
बेलायतको औद्योगिक र उत्पादन वृद्धिको क्रान्ति, जर्मनीको दर्शन, ज्ञान र विचारधाराको क्रान्ति अनि फ्रान्सको राज्यको कल्याणकारी संरचना निर्माण (समाजवादी)को क्रान्ति आधुनिककालका महŒवपूर्ण उपलब्धि मानिन्छन्, जुन यही उच्चस्तरको ज्ञान र प्रगतिशील चेतना विकासबाटै सम्भव भएको हो।
धार्मिक÷वंशवादी एवं राजतन्त्रात्मक स्वेच्छाचारी निरकुंश राज्यलाई प्रजातान्त्रिक र उदारवादी बनाएका पनि यिनै क्रान्तिले हो। युटोपिया, साम्यवाद र समाजवादका विचारहरू जन्माएका पनि यिनै परिवर्तनले हो। यस्ता भयानक क्रान्ति र ऐतिहासिक परिवर्तनहरू (प्याराडाइम सिफ्ट) कसरी सम्भव भए होलान्? भन्ने जिज्ञासातिर जाँदा के भेटिन्छ भने पश्चिमा ज्ञाननिर्माणको जग सामाजिक द्वन्द्ववाद (सोसल डायलेटिक्स) ले विकसित गराएको कारणले हो।
भारतीय एवं मध्य–एसिया क्षेत्र र पूर्वतिर ज्ञान प्रसारण मोनोलेक्टिक फ्रेमभित्रै कैद भएको थियो। अर्थात् यताका शासकहरू आफू मात्रै संवाद र छलफल गर्थे। सम्राटहरू मात्रै गुरुकुल शिक्षा लिन्थे। बृहत्तर सामाजिक संवाद, छलफल एवं जनविमर्श वर्जित थियो।
पूर्वमा आम सर्वसाधारणलाई सामाजिक अन्तरक्रिया र बहसमा बन्देज गर्दा युरोपले भने यही सामाजिक बहसको धार तीव्र बनाएकै कारण विज्ञानप्रविधिले जन्म लिन सक्यो। यसलाई नैतिकताको ढाँचा (नर्माटिभ फ्रेम) मा राख्ने सामाजिक नियन्त्रण प्रणाली पनि जन्मन सक्यो र यो फक्रियो पनि।
सबै मानिस ‘प्राकृतिक हुन् र सबै बराबर हुन्’ भन्ने उदारवादी संकथन (लिबरल न्यारेटिभ) ले त्यहाँ समानता र लोकतन्त्र÷प्रजातन्त्रलाई उच्च तहमा फस्टाउन मद्दत गरेको थियो। यसै उदारवादले सामाजिक करार, संविधानवाद, जनप्रतिनिधित्व (चुनाव र संसद्) सहित मानव अधिकारको सिद्धान्त पनि जन्मायो, जहाँ राज्यलाई नागरिकप्रति जिम्मेवार हुन अनिवार्य गराइयो।
अहिले विचार परिष्करणको संकट देखापर्दै
विचारको निर्माण, विनिर्माण, पुनर्निर्माण गर्दै मानवतामुखी राजमार्गमा बढिरहेको पश्चिमेली विचार यतिखेर चारैतिरबाट संकटले घेरिएको छ र यो विघटनको जोखिममा परेको छ। यस विचारले निम्नबाट उच्चतर्फ सङ्क्रमण गरी सिर्जनात्मक परिष्करण गर्न सकेको छैन, न त यसले थेसिस, एन्टिथेसिस, सिन्थेसिस प्रक्रियाबाट नयाँ दर्शन उत्पादन गर्न सकेको छ। युरोप र अमेरिका यतिबेला विचार शून्यताभित्र बरालिएका छन्।
कार्ल माक्र्स, जेएम किन्स र सोभियत समाजवादलाई गिज्याउँदै पे्रmरडिक ह्याक, मिल्टन फ्रिडम्यान एवं फ्रान्सिस फुकुयामाले पुँजीवादको नयाँ संस्करणका रूपमा जन्माएको–हुर्काएको नवउदारवाद (निओलिबर्लिजम) सन् २००८ को वैश्विक वित्तीय संकटको भुमरीमा परेपछि सुस्ताएको थियो भने यो कोभिड–१९ पछि उठ्नै सकेन।
व्यक्तिगत स्वतन्त्रता र शोषणमुखी नाफा नै मानवताभन्दा माथि छ र यत्रतत्र सर्वोपरि छ भन्दै यसले अफ्रिका, लेटिना र एसियालाई भूमण्डलीकरणको खाल्डोमा पार्यो अनि विश्वका दुईतिहाइ बढी मानिसलाई पोभर्टी ट्रयापमा फसाइदियो।
नवउदारवादले केवल ओलीगार्क र कर्पोरेटहरूको जीवन सुखमय बनायो तर आम मानिसहरू गरिबी र विपन्नतामा फसिरहे। यतिबेला युरोपभित्रै भयानक त्रासदी बोकेर आएको छ– युद्धउन्मादी निओकोन विचार जुन तेस्रो विश्वयुद्धको पक्षपाती छ। रुस–युक्रेन समस्याको शान्तिपूर्ण समाधान चटक्कै बिर्सेर युरोप अशान्तिको फासीवादी बाटो लाग्दै छ।
यसो हेर्दा के देखिन्छ भने संविधानवाद र मानवाधिकारको राग अलाप्ने अमेरिका आफ्नै वर्चस्वको धम्की दिन्छ। प्रजातन्त्रको जननी मानिने बेलायत आँखा चिम्लेर नरसंहारको पक्ष लिन्छ। राज्यक्रान्ति र उत्पीडित देशको प्रणेता फ्रान्स औपनिवेशिकताको पुच्छर बन्छ। मानव मुक्तिदर्शन विचारधाराको अग्रज जर्मनी फेरि नाजी युद्धको तयारी गर्दै सैन्य हतियारहरू उजाउन लाग्छ।
रोमन सभ्यता बिर्संदै इटाली फेरि मुसोलिनोको फासीवादलाई अँगालो हाल्दै हिँड्छ। के युरोपको समस्या आणविक बम र सैनिकीकरणले समाधान होला ? निश्चित हुँदैन। अनि किन युरोपलगायत समग्र पश्चिमा गलत बाटोमा छन् त ? यस्ता प्रश्नहरू धेरै छन्। जब प्रगतिशील, मानवतामुखी र नैतिक विचारहरू पतन हुन्छन्, तब फासीवाद जन्मन्छ। समस्या यही विचारको हो किनकि पश्चिममा नयाँ राजनीतिक र नैतिक विचारहरू परिष्कृत भइरहेका छैनन् र पुरानाले काम गर्न पनि सकेका छैनन्।
यतिबेला युरोपेली र अमेरिकी लोकतन्त्र भेडाको खोल ओढेको पुँजीवादी ब्वाँसो (भूमण्डलीकृत ओलिगार्क) जस्तो भएका छन्। र त गाजामा मानवता अन्त्य भएको छ, युक्रेन युद्धले युरोपेली विचारको धज्जी उडाइदिएको छ भने मध्यएसिया, सिरिया, अफ्रिका एवं भारत–पाकिस्तानमा भएका द्वन्द्व र झगडासमेत युद्धपिपासु सुनिन आएका छन्।
यसले पश्चिमी विचारहरू केवल ग्लोबल साउथको शोषण गर्न र प्राकृतिक स्रोतको ब्रह्मलुटबाट अधिक नाफा कमाउने हेतुले निर्माण भएका हुन्, न कि मानवतामाथिको संकटको हल खोज्न भन्ने देखाउँछ। पश्चिमको स्वतन्त्रताको उपभोग गरिरहेका श्वेतचर्माकरहरू अमानवीय रहेछन् भन्ने समेत देखाउँछ।
खासमा अग्रगामी विचारले मानवतालाई निर्देश गर्छ तर पश्चिमा विचार अब मानवतामुखी नभई रक्तपिपासु, नाफाखोर, नवफासिस्ट र प्रतिगामी भएको देखाएको छ। यसैले युरोपले किन आफ्नै आँगन अगाडिको युक्रेन युद्ध रोक्न सकिरहेको छैन? अनि नाटो र डोनाल्ड ट्रम्पसँग ऊ किन भिख मागिरहेको छ भन्ने प्रश्नमा विचारको दरिद्रता देखाइरहेको छ।
असहाय र निर्दोष प्यालेस्टाइन बालबालिका र सर्वसाधारण जनताको रगतले इज्रेली–अमेरिकी मात्रै नभई समस्त युरोपेली श्वेतचर्माकरसहित फासीवादउन्मुख शासकलाई अवश्य पोल्नेछ। एक्काइसौं शताब्दीको इतिहासले युरोपलाई थप दण्डित गर्नेछ र भन्नेछ– युरोप तिमी मोनस्टर (रक्तपिपासु दैत्य) विचारक रहेछौ।
थिंक ट्यांकमाथि आक्रमण
बर्नी स्यान्डर्सको ‘फाइट ओलिगार्की टुर’ अमेरिकामा यतिबेला निकै लोकप्रिय बन्दै गएको छ। डोनाल्ड ट्रम्पले नवधनाढ्य इलन मस्कसँग मिलेर ब्रोलिगार्क चलाएका छन् र अमेरिकी लोकतन्त्र र संविधानवादको चीरहरण गर्दै गएका छन्। उनी फोसिल कर्पोरेटको पक्षमा ‘ड्रिल बेबी ड्रिल’ भन्दै धर्तीमाथि जे पनि गर्ने भएका छन्।
जलवायु परिवर्तनको समस्यालाई देखी नसक्नु गरेका छन्। समाजका प्रगतिशील र चेतनशील वर्ग विद्यार्थी, वैज्ञानिक, डाक्टर, प्राध्यापकलाई आतङ्कित बनाउँदै आप्रवासी र तेस्रोलिंगी समस्यालाई अतिरञ्जित गरेका छन् भने चीनसँग व्यापारयुद्ध गर्दैछन्। उनी अमेरिकी वर्चस्व, युद्धउन्मादी सैन्यत्रासदी र अन्तरिक्ष नियमन प्रणालीको आणविक धम्कीजस्ता शस्त्रअस्त्रका माध्यमबाट वैश्विक समाज नियन्त्रण गर्ने बाटोमा छन्।
भर्खरै उनले हार्बड युनिभर्सिटीको पढाइ रोक्न धम्की दिँदैछन्। उनी काला जाति, न्यायालय, थिंक ट्याक र सामाजिक न्याय चाहने प्रगतिशील विचारसमूहलाई आक्रमण गर्दैछन्।
यसबेला मागा (मेक अमेरिका अगेन) भन्ने देखावटी नारामा कन्जरभेटिभ, श्वेतसाम्राज्यवाद, अर्थाेडक्स क्रिस्टियानिटी जस्ता अफापसिद्ध भएका दर्शन–विचारहरूको पुनप्र्रयोगमा जोड गर्दैछन्, जो इतिहासको सडेगलेको भासमा गाडिइसकेका छन्।
विडम्बना केही युरोपेली पिछलग्गुहरू यस्ता प्रतिगामी विचारको समर्थक पनि देखिएका छन्, जुन समग्र युरोपका लागि लज्जाको विषय हो। बेलायतका कियर स्टारर्मर, फ्रान्सका मेक्रोन, जर्मनीका फ्रेरडिक मर्ज, इयुकी उर्सला भन्डरको नेतृत्व अलोकप्रिय बन्दै दक्षिणपन्थी दलदलमा फस्दै गएको देखिन्छ।
पूर्वीय विचार उत्थानशील हुँदै
प्रख्यात लेखक म्याट अर्सकका अनुसार सन् २०२५ अप्रिलमा अमेरिकाको हार्बर्ड केनेडी स्कुलका तिस वर्षमुनिका युवा विद्यार्थीमाझ गरिएको सर्वेक्षणमा भाग लिएका मध्ये १५ प्रतिशतले मात्रै अमेरिका सही बाटोमा छ भनेको पाइयो। अचम्म त यस बेला भएछ, जब यस सर्वेक्षणका ४४ प्रतिशत युवाले पुँजीवादभन्दा समाजवाद राम्रो हो भनेछन्।
खासगरी अमेरिकी परिवार प्रणाली जीवन बिमा, रोजगारी र आम्दानीका पक्षबाट हेर्दा अति कठोर र दुःखदायी देखिन्छ। यो कुराको अनुभूति कोभिड १९ ले बताएको थियो। सन् २००८ देखि अहिलेसम्म युरोप र अमेरिकाको अर्थतन्त्र वृद्धिदर कमजोर छ र सर्वसाधारणको आम्दानी घटेको छ। तर विडम्बना टेक जायन्ट र विलियनियरको आय ह्वात्तै बढेको छ।
यो चरम शोषण र असमानता हो। ठिक यतिबेला पश्चिमाहरू पूर्वीय जीवनशैलीमा रहेको सामूहिकतावाद, सामाजिक जिम्मेवारी बोध र लोकतान्त्रिक पक्षलाई राम्रो मानेका छन्। यो पूर्वीय दर्शन र ज्ञान जागरणको उत्थानशील अवधि हो। पश्चिमी लोकतन्त्रको विचार शोषणमा निर्भर छ। अर्थात् यहाँ मान्छेलाई प्रगति गर्न मान्छेमाथिको शोषण नै चाहिन्छ भन्ने गलत ज्ञान सिकाइन्छ।
यस्तो विचारले अधिक पर्यावरणीय विनाश, अधिक मेटेरियल खपत, अधिक ऊर्जा खपत र अधिक कार्बन उत्सर्जन गर्न सिकाउँछ तर पूर्वीय ज्ञानले थोरै वस्तु खपत (लिटिल इज ब्युटिफल) को व्यवहार आदर्शतम जीवन जोड्न सिकाउँछ र यो वैज्ञानिक पनि छ।
बुद्धदर्शन, वेदाङ्गवाद, ताओवाद, कबिरापथ, ल्याटिना–अफ्रिका–एसियामा रहेका सबै खाले आदिवासी÷रैथान दर्शनहरूले यस्ता विचार बोकेका छन्। यिनले हमेसा शान्तिको मार्ग पछ्याउँछन् र संसारभर अमानवीय शोषण, नरसंहार र सबै खाले युद्धको भत्र्सना गर्छन्। यसर्थ पूर्वीय विचारहरू उत्थानशील हुँदै छन् र फक्रँदै छन्।
यी विचार प्रगतिशील पनि छन् र यीभित्र रहेको ‘वसुदैव कुटम्बकम्’ लगायतका ज्ञानमिमांशाले संसारलाई हमेसा मल्टिल्याटरिज्म, सोसलिज्म र रिभोलुसनरी दर्शन निर्माण र विकासका लागि बलियो आधार प्रदान गर्छन्। आउनुहोस्, मानवतामुखी संसार निर्माण गर्न यस्ता पूर्वीय विचारलाई विज्ञान र सामाजिक संवादको फ्रेममा राख्दै जीवन्त बहस चलाउनतिर लागौं।
प्रकाशित: १७ जेष्ठ २०८२ ०९:१८ शनिबार

