नेपाली जनताले भर्खरै १८औँ गणतन्त्र दिवस मनाए। यो दिवस मनाउँदा कतै अपार हर्ष रह्यो भने कतै पीडा। हामी त्यसबेलाका आन्दोलनकारीलाई सबै नेपाली दाजुभाइ दिदीबहिनीले गणतन्त्र एउटा ऐतिहासिक पर्वका रूपमा हर्षका साथ मनाउन पाए हुन्थ्यो, घरघरमा दीपावली गर्न पाए हुन्थ्यो, २०६२/६३ सालका अमर आत्मा मात्र होइन, त्यसभन्दा अघिका सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरूलाई जनजनले सम्मान गरिदिए हुन्थ्यो, सरकारी या अन्य माध्यमबाट भ्रष्टचारीहरूको नाम सुन्न नपाए हुन्थ्यो। बरु भ्रष्टाचारीलाई अदालतले लामो अवधिसम्म कारागार चलानको आदेश दिए अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ। तर नेपाली उखान ‘आफू ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो’ भनेझैँ अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संस्थालेपनि ठूला माछालाईभन्दा साना माछालाई पक्रन बल गरेको जस्तो सर्वसाधारण नागरिकलाई परिरहेछ।
गणतन्त्र दिवसकै दिन पारेर पूर्व राजावादीहरूले देशभर राजतन्त्र ब्युँताउने सपना देख्दै सडक आन्दोलन गरे। जसलाई हामी स्वतन्त्र नागरिक जसले २०६२/६३ सालको जनआन्दोलन सफल पार्न नागरिक आन्दोलनको नामबाट प्रतिगमनकारी कदमका विरुद्ध लामो संघर्ष गर्दै तत्कालीन राजाका कदमविरुद्ध सडक आन्दोलन गरेर लोकतन्त्रको बहाली गरेका थियौँ।
नागरिक समाजलगायत कलाकारहरूले देशमा शान्ति र सुशासनको कामना गर्दै सडक–सडकमा, जिल्ला–जिल्लामा र बस्ती–बस्तीमा गीत–संगीतको माध्यमले परिवर्तन गरेका थियौँ। हामी गणतन्त्र स्थापना गर्दाका ती दुःखद घडी सम्झिरहेछौँ साथै तत्कालीन राजाले आन्दोलन दबाउन गरेका हरेक हर्कतलाई पनि बिर्सेका छैनौँ।
हामी स्वतन्त्र नागरिक सबल र सक्षम गणतन्त्र देशमा चीरकालसम्म बाँचेको हेर्न चाहन्छौँ। मधेस आन्दोलनका अमर सहिद र तिनका परिवारजनले गणतन्त्र प्राप्तिपछिका वर्षहरूमा के÷कति न्याय र सम्मान पाए? सप्तरी, सिरहाका दलित जनजातिको झुपडीमा गणतन्त्रको शीतलताले प्रभाव पारेको छ कि छैन? बझाङ, बाजुरा, हुम्ला, जुम्ला, सोलुखुम्बु, ताप्लेजुङलगायतका पहाडी जिल्लाका निमुखा र विपन्न परिवार भोकमरी, कुपोषणबाट बच्न सकेका छन् कि छैनन्? गणतन्त्रको न्यानो ओत पाएका छन कि छैनन्? स्वतन्त्र नागरिकको नाताले सूक्ष्म अध्ययन पनि गरिरहेछौँ।
हो, गणतन्त्रात्मक शासन स्थापना भएपछि देशमा वालिग मताधिकारका आधारमा दुईवटा स्थानीय चुनाव सम्पन्न भए। संघ र प्रदेशमा पनि दुईदुई पटक चुनाव सम्पन्न भए। २०५४ सालदेखि तत्कालीन माओवादी विद्रोहका कारण रोकिएको स्थानीय चुनाव एकैपटक २०७४ सालमा सम्पन्न भयो। प्रकोप र कोरोनाका कारण धेरै क्षति बेहोर्नु पर्यो। भारतीय नाकाबन्दीको पीडा खप्नुपर्यो, बाढी/पहिरोका कारण सयौँ मानिसले ज्यान गुमाए, अबौँको क्षति राष्ट्रले बेहोर्नुपर्यो।
यति दर्दनाक अवस्थामा पनि नेपाली जनता आफूले पीडा भोगेर पाएको गणतन्त्रात्मक शासन शैली बचाएर राखेका छन्, भविश्यमा पनि बचाउन चाहन्छन्। तर राजावादीहरू राष्ट्रिय पर्वको दिन पारेर यो शासनको धज्जी उडाउँदै सडक आन्दोलनमा उत्रन चाहन्छन् भने नागरिक आन्दोलन त्यसको प्रतिकार गर्न तयार छ, आमनेसामने भएर गणतन्त्र बचाउन तयार छ।
आन्दोलन कसरी सञ्चालन गर्नुपर्छ पूर्वपञ्चहरूले हामीलाई सिकाउनु पर्दैन। लोकतान्त्रिक शासन व्यवस्थामा वाक्स्वतन्त्रता सबैलाई छ। मौलिक हकको प्रयोग हरेक नेपालीले गर्न पाउँछन्। कानुन सबैका लागि समान छ। पञ्चायतकालमा राजा कानुनभन्दा माथि रहन्थे, जनता रैती थियौँ, समानताका लागि कारागारमा थियौँ। हजारौँले ज्यानको बाजी लगाए अनि पो वर्तमानमा गणतन्त्रको शासनमा कानुनको दृष्टिमा सबै नागरिक समान छौँ।
नेपाल विभिन्न जातजाति भाषाभाषीको प्रकृतिले सजिएको सुन्दर मुलुक हो। सुर्खेत, दैलेखको जंगलमा बस्ने राउटे र मकवानपुरको दुर्गम बस्तीमा बस्ने लोपोन्मुख कुसुण्डा जातिले पनि आफ्नो मर्यादित जीवन बिताउन सिंहदरबारमा बस्ने सांसद र सचिवझैँ अधिकार पाउनुपर्छ भन्ने कुरा गणतन्त्रात्मक शासनशैलीमा मात्र संभव छ। त्यसैले नेपालमा कुनैपनि नामधारी, छद्मभेषी राजा हुनु हुँदैन, अबको शासन प्रणालीमा। हिंसा गर्नु लोकतन्त्रभित्र पर्ने विषय होइन। तर दुःखद कुरा नेपालीले यही नियति भोग्नु पर्यो।
गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न सबैभन्दा ठूलो हात नेपाली जनताको छ। दिनभर गिट्टी कुटेर जीविकोपार्जन गर्ने, भारी बोकेर छाक टार्ने, सडकपेटीमा मकै बदाम बेचेर छोराछोरीलाई पढाउने वर्गले गणतन्त्र स्थापना गर्नमा निकै ठूलो योगदान दिए। पत्रकारहरूले लोकतन्त्रका पक्षमा निरन्तर लेखेका लेखहरूको पनि यसमा भूमिका भएको बिर्सन सकिन्न। तत्कालीन सात राजनीतिक दलको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरे।
२०६४ साल चैतमा सम्पन्न भएको संविधानसभाको चुनावपश्चात २०६५ जेठ १५ गते बसेको प्रथम संविधानसभा बैठकले मुलुकलाई लोकतान्त्रिक गणतन्त्रात्मक घोषणा गरेपश्चात केही दिनसम्म उनले कार्यकारी राष्ट्राध्यक्ष भएर पनि शासन चलाए। नेपाली राजनीतिक इतिहासको गर्भमा यस्ता धेरै कथा लुकेकाछन्।
गणतन्त्र हाम्रो राष्ट्रिय पर्व हो। छिमेकी मित्रराष्ट्र भारतमा गणतन्त्र दिवस जसरी हरेक प्रान्तमा रहने नरनारीले भव्यताका साथ मनाउने गर्छन्, हामी पनि आफ्नै नेपाली शैलीले जेठ १५ गतेको दिनलाई भव्यताका साथ मनाउँदै आएका छौँ।
दीपावलीले मनको कालो हटाइ गणतन्त्रको उज्यालो छर्न सक्नुपर्छ। दुई करोड ९० लाख मात्र जनसंख्या भएको मुलुकमा इमानदार भएर काम गरौँ, स्वदेशी उत्पादन बढाऔँ, पर्यटन, कृषि क्षेत्रलाई अगाडि बढाऔँ। बहुदलीय व्यवस्था लागु भएपछि र गणतन्त्र शासनकाल सुरु भएपछि देशमा भौतिक प्रगति प्रशस्त भएको देखिन्छ।
अझै गर्न धेरै नै बाँकी छ। विकाससम्बन्धी अधुरा काम लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मात्र पूरा हुन्छन्। सकारात्मक सोचले अगाडि बढौँ। त्यसो भए मात्र गणतन्त्र दिवस मनाउनुको सार्थकता रहन्छ ।
प्रकाशित: १६ जेष्ठ २०८२ १०:१२ शुक्रबार

