केही दिन पहिलेसम्म पूर्वपञ्चहरूले पैँतीस, छत्तीस सालताकाका मण्डलेले जस्तै राजधानीमा राजनीतिका नाममा उधम मचाए। आफूलाई राप्रपाभन्दा पनि माथिल्लो कोटीको नेता सम्झने पूर्वराजा ज्ञानेन्द्र शाहको दाहिने हात ठान्ने दुर्गा प्रसाईको अगुवाईमा तीनकुनेमा देखाएको अराजक हर्कतले राजनीतिको शान्त तलाउमा ढुङ्गा हान्ने काम गर्यो। अराजक बाछिटा समाजमा देखापर्यो। एकजना पत्रकारको दु:खद निधन भयो। केही मानिस घाइते भए, शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीसमेत घाइते भए। सोको छानविन नेपाल सरकारले सूक्ष्म ढंगले गर्यो, गर्दैछ।
गत चैत १५ गतेको त्यो अमर्यादित राजनीतिक घटना लोकतन्त्रवादीका लागि कालो दिन थियो। दोषीहरू कानुनी दायरामा छन्। त्यसैको आडमा रही हौसिएर पूर्वपञ्चहरूको झुण्ड सडकपेटीदेखि सदनसम्मको नारा र कार्यक्रम भन्दै पुन: राजधानीमा एक समारोहमा जम्मा भएको देखियो। पुन: विरोध कार्यक्रम गर्ने जानकारी आएको छ। लोकतन्त्रमा वाक् स्वतन्त्रता हुन्छ नै। २०६२/६३ सालको जनआन्दोलन दबाउन न्वारानदेखिको बल प्रयोग गर्नेदेखि गाउँका मुखियाबाट राजनीतिको राप ताप्न आएका लार्भा र प्युपाहरू देखिए। देखा पर्दैछन्।
पञ्चायतकालको हालीमुहालीको सपना देख्नेहरू वर्तमानसम्म आइपुग्दा दिवा सपना देखिरहेका छन् तत्कालीन राजा ज्ञानेन्द्रका मन्दिरतिरका हाउभाउ देखेर अब त नारायणहिटीमा राजा आउँछन् भनेर कोरा कल्पनामा मख्ख छन्। आर्यघाटमा पुगिसकेको राजसंस्था राजेन्द्र लिङ्देन, कमल थापा, प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी जस्तै चार दिशामा फर्केका अनुहारबाट फर्कन्छ भनी आशा गर्नु समय खेर फाल्नुबाहेक केही होइन। तर हरक्षण, हरघडी लोकतान्त्रिक गणतन्त्रलाई बचाइराख्न लाखौँ नेपालीले आआफ्नो ठाउँबाट सतर्क भने हुनै पर्छ। मसानको भूतले कहिलेकाहीँ तर्साउन पनि सक्छ।
विगतमा गराइएका यिनै कुराहरूको सेरोफेरोमा रहेर हाल सत्ता साझेदारी गरिएका देशका ठूला राजनीतिक दलका शीर्षस्थ नेता र सबैथरी गणतन्त्रवादीले राजधानीमा लोकतन्त्र, संघीय शासन प्रणाली र सरकारका पक्षमा करिव एकै किसिमको धारणा राख्दै आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको भगिनी संस्था जनसांस्कृतिक महासंघमा विचार राख्दै २३९ वर्षसम्म देशमा कुनै न कुनै रूपबाट राजाहरूले शासन चलाए, अशिक्षित समाजमा राजाहरूले शासन चलाउन झुट बोलेर, आश्वासन दिलाएर राज गर्न सजिलो थियो, मर्दापर्दा जनताले राजालाई साथ र सहयोग गर्दै आएका थिए। आफ्ना र आफ्नाहरूको वर्णन गर्नेहरूको सालिक निर्माण गर्ने काम गरे, कालु पाण्डे, लखन थापा, वंशीधर पाण्डेलगायतका वीर योद्धाहरूबारे भुले भने।
राजसंस्थालाई स्थापित गर्न, मर्यादा कायम गर्न नेपालीले पनि शदियौँदेखि आफूलाई सुख सुविधाबाट वञ्चित गरेर भए पनि सेवा गरे, चाकडी गरे, जय/जयकार गरे। तर राजाले यसलाई हार्दिकता नमानी शोषण र दमनका रूपमा प्रयोग गरेकाले उनी नारायणहिटीबाट नागार्जुन पुगे। अझै पनि धेरै नै निहुँ खोजे भने परिणाम भविष्यले बताउला। भूत, पिशाचले गाउँघरमा तर्साउँछ भन्ने मनोविज्ञान रहेको छ।
गत चैत १५ गतेको उदण्डता पनि राजनीतिकरूपमा देखा पर्न आएको भूत पिशाचबाहेक दोस्रो रूप होइन– उनको राजनीतिक व्यङ्ग्यात्मक कथन थियो। यसैगरी राजधानीमा हालैमात्र नेपालको जेठो पत्रिका गोरखापत्रको १२५औँ वर्षगाठको सन्दर्भमा भाषा साहित्यको चर्चा गर्दै त्यसबेला राजपरिवारका सम्पूर्ण सदस्यलाई भूजा ज्यूनार होस् भन्नुपर्ने, गरिब जनतालाई भात र तिहुन खा भन्नुपर्ने, कस्तो विभेदकारी समाज हाम्रो? यही विभेद अन्यका लागि र पूर्ण लोकतान्त्रिक प्रणाली स्थापनाका लागि आफू १४ वर्ष कारागार बस्दा चार वर्ष त गोलघरमा बिताएको स्मरण पनि गरे उनले।
एक हप्ताको अवधिमा आआफ्नो पार्टीका भिन्दाभिन्दै राजनीतिक कार्यक्रममा नेका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विचार उस्तै सुनिए। पञ्चायती बर्बर आतंकका विरुद्ध लड्दा १० वर्ष कारागार परेका देउवा लोकतन्त्र पूर्णरूपमा जनताले उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यता राख्ने बिपी कोइरालाका भरपर्दा चेला हुन्। उनले पञ्चायती सरकारका अगाडि घुँडा टेकेनन्, आत्मसमर्पण गरेनन्। प्रजातन्त्रका बलिया खम्बा देउवा र वाम विचारधाराका बलिया खम्बा ओलीको राजनीतिक संघर्ष बडो सुन्न लायक छ। समयले यी दुई नेता मिलिजुली सरकारमा पालैपालो प्रधानमन्त्री बनेका छन्। बन्दैछन्।
उमेरमा देउवा ८० वर्ष पुग्नै लाग्दा ओली ७५ हाराहारीमा छन्। देउवा कम बोल्छन्, आफ्नो राजनीतिक अडानमा चट्टान भएर उभिन्छन्। कार्यकर्ताले भनेको छिट्टै पत्याउँछन्। ओली अलि बढी बोल्छन् तर सुनौँ सुनौँ लाग्ने तार्किक कुरा बोल्छन्, उखान तुक्का जोडेर बोल्छन्। दुवैजना नेता निडर छन्। बाहिरी दुनियाँको भनाइमा देउवा अरूहरूले गरेको आलोचना धैर्य भएर सुनिरहन्छन्, बोल्दैनन् यो देउवाको राजनीतिक गुण हो, जुन गुण सर्वमान्य नेता गणेशमानमा थियो।
यता प्रधानमन्त्री ओलीको शैली अलि फरक छ। उनी आफूमाथि लागेका आरोप र विपक्षी दलले आफूविरुद्ध बोलेका बोलीलाई गम्भीर ढंगले लिँदै बढो शिष्ट र मर्यादित भाषामा तर भित्तामा पुग्नेगरि जवाफ दिन्छन्। दुवै नेता लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष र देशका निमुखा जनतासम्म विकास पुग्नुपर्छ भन्ने अडानमा अडिग छन्। मानिसले लगाएका भ्रष्टचारसम्बन्धी आरोपमा प्रमाण देखाउ दोषी ठहरिए सजाय भोग्न तयार छौँ भन्छन्।
कांग्रेसको विदेश विभागले आयोजना गरेको हालैको कार्यक्रममा देउवाले सरकार ढल्छ भनी हल्ला मच्चाएर केही हुनेवाला छैन, २०८४ सालसम्म मिलेर गठबन्धन सरकार सञ्चालन हुन्छ, संविधान संशोधन गरिनुपर्छ, अहिलेको राजनीतिक अवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत आउने दृश्य नदेखिएकाले मिलिजुली सरकार सञ्चालन गर्नु टड्कारो आवश्यकता रहेको देखिन्छ, त्यसैले पार्टीका कुनै पनि जिम्मेवार व्यक्तिले सरकारविरुद्ध बोल्नु उचित हुँदैन भनी सतर्क गराए।
केही दिनपहिले कांग्रेस महामन्त्री गगन थापा र वरिष्ठ नेता शेखर कोइरालाले सरकारविरुद्ध बोलेकोप्रति संकेत हो भनी धेरैले अथ्र्याए सभापति देउवाको उक्त भनाइ। यिनै कुरा पार्टीका तर्फबाट नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि गत वैशाख ११ गते लोकतन्त्र दिवसको उपलक्ष्यमा तथा कांग्रेस नेता जगन्नाथ आचार्यको १०२औँ जन्मजयन्तीका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोलेका थिए। राजनीतिमा चर्चा, छलफल चलिरहन्छन्।
केही दिनपहिले दुई दलका शीर्ष नेताबीच बालुवाटार र सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भयो। त्यसको सेरोफेरोमा रहेर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यो सरकार आफ्नै कारणले ढल्छ, मिति पुगिसक्यो भनी सार्वजनिक समारोहमा बोलेका थिए। ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने नेपाली उखानझैँ कुनबेला सरकार ढल्छ र राजावादी शक्तिहरू त्यहीबेला पुन: अराजक गतिविधिमा सलबलाउँछन्, ढुकेर बसेकाहरूलाई मलजल पुग्छ। यी विषयवस्तुमाथि गणतन्त्र शासन शैलीका हिमायती प्रचण्डले नबुझ्ने कुरै भएन तर बोलिदिए।
अरूको अधिकारको हनन नगरी आफ्नो अधिकारको प्रयोग गर्नु नै लोकतन्त्रको गुण हो। पटक–पटकको तानाशाही व्यवस्थाको विरोध गर्दै कठोर यातना पाएका देशका सम्पूर्ण लोकतन्त्रप्रति आस्था राख्ने राजनीतिक पार्टी र तिनका नेता/कार्यकर्तालाई पूर्णरूपमा अवगत छ। भाषामा शिष्टता, व्यवहारमा हार्दिकता र सिद्धान्तमा निष्ठाका कारण खारिएर पार्टीका सामान्य कार्यकर्ता पनि नेता बनिरहेछन्।
जसले पीडा पाएको छैन, प्रहरीको दण्डा र कारागार बसाइको अनुभव पाएको छैन, ती व्यक्तिलाई समाजमा धाक धक्कु देखाउनु, चुरीफुरी गर्नुबाहेक शालीनताको शैली आउँदैन जस्तो देखिन्छ। अहिले चलिरहेको प्रतिनिधि सभाको बैठकमा एकजना महिला सांसदले एमालेबाट प्रतिनिधित्व गर्ने सांसदलाई होच्याएर बोलेको देख्दा लाग्यो– वर्तमान कालसम्म आइपुग्दा राजनीतिमा लाग्ने ती सांसदलाई निर्दलीय पञ्चायती व्यवस्थाको भूतले छाडेको रहेनछ। कुनै संस्था र व्यक्तिको भजन गाएर राजनीतिक मैदानमा उत्रनु आफैँमा लज्जाजनक विषय हो जुन व्यवहार लोकतन्त्रमा सुहाउँदैन।
लोकतान्त्रिक शासन प्रणालीमा भ्रष्टाचार दिनहुँ बढिरहेका देखिन्छन्। ओम्नी, गिरिबन्धु, ललिता निवास, भुटानी शरणार्थीलगायतका काण्डमा दोषी ठहर व्यक्ति र समूहलाई अख्तियारलगायतका संवैधानिक निकायले कारबाहीको सिफारिस गरून्। सम्मानित सर्वोच्च अदालतले निसाफ गरोस्। हामी जस्ता सर्वसाधारण नागरिक खुसी हुनेछौँ। हामी पनि स्वतन्त्र देशका नागरिक हौँ, लोकतन्त्र स्थापनाका लागि २०३४ सालदेखि अहिलेसम्म संघर्ष गर्दै लोकतन्त्रको रक्षाका लागि मेची–महाकालीका गाउँबस्तीबाट रखवारी गरिरहेछौँ। सम्भावना नै सम्भावना बोकेको प्यारो जन्मभूमिमा विकासका सम्भावना प्रशस्तै देखिन्छन्।
भ्रष्टचारीहरू र निरंकुशताको कालो बादल मातृभूमिमा भावी सन्ततिले कहिल्यै देख्न नपरोस्। सर्वोच्च शिखर सगरमाथामा झुल्केको पहेँलो घामको झुल्का गरिब नागरिकको झुपडीमा पनि पुगोस्। पूर्वराजा ज्ञानेन्द्रले पनि राजा शुद्धोदनका पुत्र सिद्धार्थ गौतमले कलिलो उमेरमा राजगद्दी त्यागेर पीपलको बोटमुनि बसी ज्ञान आर्जन गर्दै भगवानको अवतारमा कसरी पुगे भन्नेबारे विचार गरुन्।
प्रकाशित: ६ जेष्ठ २०८२ ०९:४० मंगलबार

