अकल्पनीय कुरा, आफ्नो पहिचान हिन्दु बताउनु नैै अपराध भयो। आतंककारीले धर्म के हो भनेर सोध्दा काश्मीर घुम्न गएका निर्दोष नेपालीले हिन्दु भन्ने बित्तिकै आतंककारीले निर्ममतापूर्वक गोली चलायो। तातो गोलीको वर्षाले हिन्दु नेपालीको रगत बग्यो, छिनभरमा नै अरू २५ जना हिन्दु पनि मारिए। फेरि सावित भयो– आतंकवादको दिल हँुदैन, विवेक हँुदैन। उसका लागि मानवताको कुनै मूल्य हँुदैन। शान्ति उसको शिकार हुन्छ।
पछिल्लो महिना काश्मीरमा २६ जना निरपराध हिन्दुहरू आतंकवादको शिकार भएपछि पछिल्लो हप्ता भारत र पाकिस्तानबीच सशस्त्र संघर्ष भयो। दक्षिण एसियामा पहिलोपटक तीन दिनसम्म आधुनिक र अत्याधुनिक हतियारहरूको भिडन्त भयो। दक्षिण एसियामा अशान्ति कति नजिक रहेछ र शान्ति कति मूल्यवान रहेछ भन्ने पाठ पढाएर भारत र पाकिस्तानबीच संघर्ष विराम भएको छ।
निहुँ जे बनाए पनि आतंकवाद मानवता विरोधी हो, यसलाई साथ दिने मानवता विरोधी हुन् र सभ्य समाजले आतंकवादलाई दण्डनीय ठान्नै पर्दछ। विवेकको यो आवाजलाई ग्रहण गरेर मात्र दक्षिण एसिया आतंकवाद मुक्त हुन सक्छ अनि मात्रै निश्चिन्त भएर २१औँ शताब्दीको इतिहास लेख्ने अभिभारा पाएको एसियाको क्रियाशील सहयोगी बन्न सक्नेछ।
दक्षिण एसियाका सबै देशले कुनै न कुनै बेला भोगिसकेका आतंकवादको घाउको पीडा काश्मीरमा भएको आतंकवाद घटनाले ताजा गरेको छ। आतंकवाद प्रवृत्ति, यसको कारण र आडहरूलाई अन्त गरेर मात्रै आतंकवाद अन्त गर्न सकिन्छ।
आतंकका किल्लाहरूलाई नै निशाना बनाइएकाले यसपालिको भारतको कारबाही जबर्जस्त मात्र होइन, उसलाई पाकिस्तानभित्रकै केही अहम् ठाउँहरूबारे पहिले नै थाहा थियो भन्ने प्रष्ट छ। अब पाकिस्तानभित्र नै गएर आतंकका स्थानहरूलाई निर्मूल पार्छु भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइले दक्षिण एशियाको परिदृश्य नै परिवर्तन गरिदिएको छ। यसले भारत–पाकिस्तानको सम्बन्धमा नयाँ आयाम थपेको छ जसका कारण हामी साना मुलुकका लागि जोखिम धेरै नै हुनेछ। अप्रिल २५ मा बसेको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि पहलगाम हत्यामा संलग्न आततायीहरू र तिनका प्रायोजकहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ भनेर विज्ञप्ती जारी गरेको छ।
यसपालिको युद्धमा देखिएको अर्को गहन पक्ष भनेको भारतले प्रयोग गरेको फ्रान्सेली राफयाल युद्धपोत विमान र पाकिस्तानले प्रयोग गरेको चिनियाँ जे १० बीचको आकाशमा भएको भिडन्त जसलाई केही विदेशी समाचार संस्थाहरूले विगत ३० वर्षकै सबैभन्दा महŒवपूर्ण हवाई युद्धसमेत भनेका छन्। चीनले सन् १९६२ पछि कुनै युद्ध लडेको छैन। उसका विमान र क्षेप्यास्त्रहरू वास्तविक युद्धमा कसरी उपयोगी सिद्ध हुन्छन् भन्ने उसलाई नै ज्ञात छैन। यसैले यो हावामा भएको युद्धलाई चीनले विशेष अभिरुचिका साथ हेरिरहेको थियो। यदि चिनियाँ लडाकु विमान वास्तविक युद्धमा अमेरिकी र फ्रेन्च विमानसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने प्रमाणित भएको हो भने यसले हातहतियारको अबौँको विश्व बजारमा दूरगामी प्रभाव पर्नेछ।
भारत र पाकिस्तानले सशस्त्र संघर्षलाई थप चर्कन दिएनन् तर यो संघर्ष बिराम स्थायी बनाउन, आतंकवादलाई फेरि टाउको उठाउन नदिन सार्कले परराष्ट्र अथवा गृहमन्त्रीहरूको क्षेत्रीय बैठक बोलाएर एकसूत्रीय साझा प्रतिबध्दता सार्वजनिक गर्नु उपयुुक्त हुनेछ। विषयान्तर नहोस् भन्नाका लागि साझा चिन्ताको यो विषयलाई मात्रै बैठकको एक मात्र अजेन्डा बनाउनुपर्छ। तेस्रो देशहरूका शरणार्थीहरूको बढ्दो संख्याले नेपालको सीमा सुरक्षा बलियो छैन भन्ने सम्झाइरहेको छ। भारतसँगको खुला सिमाना आतंककारीहरूले प्रयोग गर्न सक्ने खतरा छँदैछ। यसैले आतंकवादलाई निमिट्यान्न बनाउन सार्कको अध्यक्ष नेपाल अग्रसर हुनैपर्छ।
सार्क भन्ने संस्थासँग भारत अहिले पारपाचुकेको अवस्थामा छ। पाकिस्तानले पहिले आतंक छाडोस् अनि सार्कको सम्मेलन आयोजना हुन्छ भन्ने मनशाय उसमा देखिन्छ तर यदि सार्कको सम्मेलन नै आतंक सम्बन्धमा कसरी मिलेर एकजुट हुने भन्ने मूल विषयमा केन्द्रित हुने हो भने भारत मान्न पनि तयार हुन्छ कि ? यसै पनि सार्क सहसचिव स्तरको ५९औँ बैठक काठमाडौँमा गत वर्ष मात्र सफलताका साथ सम्पन्न भएको थियो।
आफ्नै छिमेकमा यत्रो भीषण युद्ध हुँदा नेपाल चनाखो हुनुपर्छ। यसका बाछिटा नेपालमा नपरोस् भन्नेमा सचेत रहनुपर्छ। परराष्ट्र मामिलामा विभिन्न दलका नेताको परस्परविरोधी स्वर सुनिनु हुन्न।
-पाण्डे दक्षिण एशियाली अध्ययन केन्द्रका निर्देशक हुन।
प्रकाशित: २ जेष्ठ २०८२ १०:१२ शुक्रबार

