वर्गहरूको अस्तित्व समाजमा रहँदासम्म राज्यले वर्गीय अन्तरविरोध समाधान गर्न सक्दैन। त्यसकारण वर्गीय उत्पीडन अन्त्यका लागि वर्गयुक्त राज्य सकिनुपर्छ। वर्गीय शोषणको चरित्रबाट गुज्रेको राज्यको विलोपीकरण हुनुपर्छ। राज्य एक वर्गद्वारा अर्को वर्गमाथि शोषण गर्ने यन्त्र हो। राज्यले वर्गीय अन्तरविरोधको समन्वयकारी काम गर्दैन।
वर्गीय सत्तामा राज्यको उपरी संरचनामा शासक वर्गको वर्चश्व रहेको हुन्छ। सोहीअनुरूप शासक वर्गले आफ्नो वर्ग हितमा राज्य व्यवस्था टिकाइराखेको हुन्छ। तर क्रान्तिकारी वर्गले क्रान्तिको महान् संघर्ष, त्याग र विद्रोहद्वारा त्यस्तो निरंकुश राज्य सत्तालाई बदल्छ। सत्ता परिवर्तनपछि पुरानो सत्ताको अन्यायपूर्ण स्थिर उपरी संरचनामा परिवर्तन ल्याउनुपर्छ। त्यसका लागि समाजको युगिन दासत्व सहेर बसेको दलित उत्पीडितलाई सत्ताको उपरी संरचनामा स्थापित गर्नुपर्छ। तर क्रान्तिले पुरानो संरचनामा परिवर्तन ल्याएन भने त्यो क्रान्तिको लक्ष्य बोकेको नयाँ राज्यसत्ता लामो समयसम्म टिकिरहन सक्दैन। त्यसलाई पुरानो सत्ताको उपरी संरचनाको बलले प्रतिरोध गर्छ र नयाँ सत्तालाई भत्काउँछ।
जनताको बलिदानले प्रतिक्रियावादी सामन्ती निरंकुश राजतन्त्रको सत्ता ढल्यो। तर यो आन्दोलनले पनि सामन्तवादको उपज जातीय छुवाछूतको युगिन दासत्वका अन्यायपूर्ण सबैखाले सत्ता भत्काउन सकेको छैन। त्यसकारण क्रान्ति सकिएको छैन। क्रान्तिको उपलब्धिको रक्षा गर्दै बाँकी क्रान्ति नयाँ ढंगले लड्नुपर्छ जहाँ जातीय छुवाछूतलगायत सबैखाले अन्याय समाप्त गर्न सकियोस्। हामीले अब संघर्षको कार्यनीति बनाउँदा सामन्तवादका सबै अवशेष समाप्त गर्दै पुँजीवादी क्रान्तिको उच्च विकास गर्ने र समाजवादी क्रान्तिको आधार निर्माण गर्ने हो जसले छुवाछूतको दासत्व खत्तम गर्न सकोस्।
सत्य हो कि नेपाली नयाँ शासक वर्गले पनि दलित, उत्पीडित तथा सीमान्तकृत वर्गलाई राज्यको उपरी संरचनामा स्थापित गर्न चाहेन। अहिले पनि संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा दलितको प्रत्यक्ष र समानुपातिक सिटमा समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा न्यायोचित प्रतिनिधित्व छैन। सत्ता दलितलाई राज्यसत्तामा स्थान दिनै चाहँदैन बरु उसले आफ्नो वर्ग सापेक्षअनुसार सत्तामा आफ्नो वर्ग र जातको प्रतिनिधित्व गराइरहेको छ। तर अहिले पनि दलितप्रति जातीय उत्पीडन र अत्याचारको सीमा नाघेको छ। केही घटना हेर्दा नै यो थाहा हुन्छ।
२०८१ चैत ७ गते सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाउने नाउँमा दीपक मरिक डोम दलित परिवारको घर औरही गाउपालिकाका अध्यक्ष शिवजी यादवले पालिकाको डोजर लगाइ उठिवास लगाए। दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालेका थिए। सिरहा जिल्लाको नवराजपुर गाउपालिका १ भगवतीपुरकी १७ वर्षीया दलित किशोरी रिन्कुकुमारी सदालाई २०८१ माघ २७ गते अपहरण गरी तीन युवकले सामूहिक बलात्कार गरे। त्यो जघन्य अपराधलाई आर्थिक लेनदेनमा मिलाउन वडा सदस्य नथुनी साहको रोहबरमा पञ्चायती बसेको थियो।
आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोजेपछि किशोरीको मृत्य भएको थियो। त्यस्तै २०८१ माघ २४ गते सर्लाहीको बरहथवा ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा ५ का नेहा रौनियारले अन्तरजातीय विवाह गरेका थिए। यो प्रेमिल जोडीलाई भत्काउन स्वयं सरकार नै लागेर विवाह दर्तासमेत गरेका जोडीलाई सम्बन्ध तोड्न बाध्य पार्न लागेको थियो। यो एउटा उत्पीडनको नमुना मात्र हो। यस्ता घटना देशव्यापी भएका छन्। यसका विरुद्ध प्रतिरोधी संघर्ष गर्नु अनिवार्य छ।
शासक जाति र शासक वर्गले सेवामूलक, अपमानपूर्ण कठिन काम गर्ने शुद्र, दलित पाएको छ। यसबाट दलित श्रमजीवी वर्गले शासक वर्गको हितमा काम गर्ने भएकाले छुवाछूत अन्त्य गर्न चाहँदैन शासक वर्ग। बरु शासक वर्गले वर्ण र वर्ग उत्पीडनले दलितलाई थिच्दै लगेको छ। शासक वर्गले छुवाछूतको शोषणले एउटा ठूलो श्रमशक्तिलाई आफ्नो वर्गको हितमा प्रयोग गरिरहेको छ।
शासकहरू आफ्नो विनास नहुँदासम्म जनताको आवश्यकता र पहलकदमीविरुद्ध खडा भइरहन्छन्। त्यसकारण यो शासक वर्ग र शासक जातिले छुवाछूतको युगिन दासत्व मेट्न चाहँदैन। शासक वर्ग र शासक जातिले दलितलाई शासन सत्तामा स्थान दिनै चाहँदैन बरु उसले दलितलाई शासित बनाइरहने, दमन गर्ने व्यवहारबाट युगौँदेखि शासनसत्ता चलाइरहेको छ।
शासक वर्गले अहिले पनि दलितलाई अछूत, अशुद्ध र अक्षम हो भन्ने प्रतिक्रियावादी चेतनाले सामाजिक जीवनमा शोषण गरिरहेको छ। शासक वर्गले दलितप्रति गर्दै आएको यिनै अन्याय, उत्पीडनका आदतका सबैखाले सत्तालाई समुल अन्त्य गर्न दलितहरू स्थानीय तहदेखि प्रदेश र केन्द्रीय तहको संघ सत्ता तथा सरकारमा पुग्नुपर्छ। सबै कुराको फैसला शक्तिले गर्छ।
शक्ति भनेको सत्ता हो। त्यसकारण दलित राज्यसत्तामा पुग्नुपर्छ। सत्तामा दलितको पहुँचबाहेक अरू कुरा भ्रम हो, गौण हो। वास्तविक रूपमा भन्दा दलित राज्यसत्तामा प्रवेशबाहेक अरू सामाजिक, आर्थिक तथा शैक्षिक सुधारका कुराले दलितलाई छुवाछूतको दासत्वबाट मुक्त गर्ने सक्दैन। यी त केवल दलित उत्पीडनका विरुद्ध विष्फोटित भएर आउने विद्रोहलाई रोक्नका लागि विकास गरिएका सुधारका संरचना हुन। मुख्य कुरा त अन्याय फेर्ने, बदल्ने शक्ति क्रान्तिकारी विचारसहितको सत्ता हो। त्यसकारण दलित शासनसत्तामा पुग्नैपर्छ।
प्रकाशित: ३० वैशाख २०८२ ०८:५४ मंगलबार