पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा भारतको हवाई आक्रमणपछि यी दुई देशबिचको सम्बन्ध निकै तनावपूर्ण रहेको छ। यस घटनाक्रममा विश्वका धेरै देशले प्रतिक्रिया दिएका छन्। ती देशममा चीन पनि समावेश छ। चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलालाई ‘दुःखद’ भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थालाई लिएर ‘चिन्तित’ भएको बताएका छन्।
चिनियाँ विदेश मन्त्रालयका अनुसार ‘भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् र सधैँ रहने छन्। ती दुवै चीनका पनि छिमेकी हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ।’ मन्त्रालयका प्रवक्ताले दुवै देशलाई ‘शान्त रहन, संयम अपनाउन र यस्ता कार्यहरूबाट बच्न आग्रह गरेका छन् जसले स्थिति थप जटिल बनाउन सक्छ’ भनेका छन्।
विशेषज्ञहरूका अनुसार चीन कहिल्यै पनि पाकिस्तान अस्थिर होस् भन्ने चाहँदैन, त्यसो हुदा उसले पाकिस्तानमा गरेको करोडौंँको लगानी जोखिममा पर्छ। हुन पनि, चीनले पाकिस्तानमा २००५ देखि २०२४ बिचमा लगभग ६८ अर्ब अमेरिकी डलर लगानी गरेको छ। यसबाहेक, चीनले पाकिस्तानमा चीन–पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) र बेल्ट एन्ड रोडअन्तर्गत ठूलो लगानी गरिरहेको छ। प्रष्ट छ, यस्तो अवस्थामा चीन मध्य एसियालाई सडकबाट जोड्ने आफ्नो सपना अधुरो रहोस् भन्ने चाहँदैन।
चिनियाँ मामिलाका जानकार र बेनेट विश्वविद्यालयमा एसोसिएट प्रोफेसर डा. तिलक झा पनि यस कुरामा पूर्णरूपमा सहमत देखिन्छन्। उनी भन्छन्– ‘यस क्षेत्रमा तनाव बढ्छ भने त्यसको प्रत्यक्ष असर चिनियाँ लगानी र सपनाहरूमा पर्छ। चीन कहिल्यै आफ्ना हितमा असर परोस् भन्ने चाहँदैन।’
चीन र पाकिस्तानबिच २१ मे १९५१ मा कूटनीतिक सम्बन्धसुरु भएको थियो। विशेषगरी सन् १९६३ मा पाकिस्तानले चीनसँगको सीमा विवाद समाप्त गरी सम्बन्ध झन् बलियो बनायो।
यी दुई देशबिच दशकौंदेखि रक्षा सहयोग र कूटनीतिक सम्बन्ध रहेको छ। यस अवधिमा आर्थिक दृष्टिकोणबाट पनि पाकिस्तानको चीन निर्भरता बढेको छ। यसअघि, चीनले पाकिस्तानलाई हतियार आपूर्ति गर्ने गरे पनि भारतविरुद्ध कुनै युद्धमा प्रत्यक्ष साथ दिएको छैन।
विशेषगरी पश्चिमा देशहरूसँग भारतको नजिकिँदो सम्बन्ध विस्तारपछि पाकिस्तान चीनतिर ढल्किएको हो। ऋणदेखि एफएटिएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) को कडा कारबाहीबाट बच्ने अवसरहरूमा चीन पाकिस्तानको मद्दतका लागि अगाडि आएको छ तर यस अवधिमा चीनले भारतसँगको सम्बन्धमा पनि सन्तुलन कायम राखेको छ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा चाइना स्टडिजका प्रोफेसर आरवरा प्रसाद भन्छन्– चीनले भारत र पाकिस्तानबिच कहिल्यै युद्ध वा युद्ध स्थिति चाहँदैन। युद्ध भयो भने चीनको हित प्रभावित हुनेछ र मध्य एसियामा उसका लागि संकट खडा हुनेछ। उनी भन्छन्– ‘हाल व्यापारिक शुल्कलाई लिएर अमेरिकासँग एक अलग स्तरको तनाव चलिरहेको छ। यस्तो अवस्थामा चीनले भारतसँग उसको सम्बन्ध अवश्य राम्रो रहोस् भन्ने चाहन्छ।’
प्रसादका अनुसार चीन आफ्नै हिततिर बढी झुकाव राख्छ र कुनै विवादमा फस्न चाहँदैन। यही कारण चीनले पाकिस्तानको तर्फबाट कहिल्यै भारतविरुद्ध कुनै पनि युद्धमा प्रत्यक्ष साथ दिएको छैन।
चिनियाँ मामिलाका जानकार डा. तिलक झा भन्छन्– ‘यस समय चीन पाकिस्तान र भारतसँग जोडिएको सिन्च्याङ प्रान्तमा विकास चाहन्छ। यो त्यतिबेला मात्र सम्भव छ जब पाकिस्तानमा उसको ‘चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर’ र बेल्ट एन्ड रोड परियोजना सफल हुनेछ। भारतले पहिलेदेखि नै यसको विरोध गर्दै आएको छ। यस्तो अवस्थामा ऊ कदापि चाहँदैन कि यसको विरोधको स्तर थप बढोस्।’
हाल, चीन पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र आयातको सबैभन्दा ठूलो स्रोत हो। चिनियाँ कस्टम्स डिपार्टमेन्टका अनुसार चीन र पाकिस्तानबिच २०२४ मा द्विपक्षीय व्यापार २३.१ बिलियन अमेरिकी डलर पुगेको छ। गत वर्षको तुलनामा यो वृद्धि हो।
त्यस्तै पाकिस्तानमा चीनको निर्यात १७ प्रतिशतले बढेर २०.२ अर्ब अमेरिकी डलर पुगेको छ र आयात १८.२ प्रतिशतले घटेर २.८ अर्ब अमेरिकी डलरमा सीमित भएको छ। चीनले पाकिस्तानलाई २०२४ मा सबैभन्दा धेरै इलेक्ट्रोनिक मेसिनरी र उपकरण निर्यात गरेको थियो। यसको बजार मूल्य लगभग ५.६ अर्ब अमेरिकी डलर थियो। यसमध्ये ३५ प्रतिशत सेमिकन्डक्टर डिभाइस र २७ प्रतिशत स्मार्टफोनसहित टेलिफोन सेट थिए।
चीनले पाकिस्तानलाई २.४ अर्ब अमेरिकी डलरको परमाणु रियाक्टर, बायलर, मेसिनरी र यान्त्रिक उपकरण निर्यात गरेको थियो। यसका साथै १.३ बिलियन अमेरिकी डलरको फलाम र इस्पात उत्पादनको निर्यात पनि गरेको थियो। तिलकका अनुसार यति ठूलो स्तरमा व्यापार भएका देशको अवस्था राम्रो रहोस् र आर्थिक हितलाई सुरक्षित गर्न सकियोस् भन्ने चाहना चीनको छ। पछिल्ला वर्षमा, अमेरिकासँग बढ्दो दूरीपछि पाकिस्तान चीनतिर ढल्कँदै गएको छ। चीन र पाकिस्तानले संयुक्त सैन्य अभ्यास मात्र गर्दैनन्।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को रिपोर्टअनुसार, पछिल्लो पाँच वर्षमा पाकिस्तानमा हतियार आयातको ८१ प्रतिशत हिस्सा चीनबाट भएको थियो। पछिल्लो पाँच वर्षमा पाकिस्तानले पाएका पाँचमध्ये चार हतियार चिनियाँ हुन्।
पिएल–१५ र एसडी–१० जस्ता मिसाइल चीनको आधुनिक बिभिआर प्रविधिबाट बनेका छन्। यी मिसाइलले जहाजलाई लामो दूरीबाट नष्ट गर्ने क्षमता राख्छन्। (बिबिसीबाट)
प्रकाशित: २६ वैशाख २०८२ ०९:४५ शुक्रबार