२० पुस २०८२ आइतबार
image/svg+xml
विचार

विभेदविरूद्ध वसन्त विद्रोह

नेपाली चलचित्रले समाजको कथा बोक्छ। भुइँमान्छेको आवाजलाई उठान गर्छ। चलचित्रमा हामी बाँचेको समाज हामीले भोगेका अप्ठ्यारालाई देखाउने प्रयत्न गरिन्छ। चलचित्रमा कि समाजमा भएका घटनालाई जीवित बनाएर पात्रमार्फत पस्कने गरिन्छ कि त समाजमा आउन सक्ने घटनाहरूलाई परिकल्पना गरी दृष्यमा उतार्ने गरेको पाइन्छ। चलचित्रले कुनै न कुनै सन्देश प्रवाह गर्न सक्यो भने त्यो जीवित मान्ने गरिन्छ। साहित्यको परिदृष्यबाट समाजका कुरितिमाथि समाजका गलत अभ्यासमाथि चोटिलो प्रहार गर्नु चलचित्रको धर्म हो।

चलचित्र वसन्त हेर्ने मौका मिल्यो। एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बोले भनेर सामाजिक सञ्जाललगायतका माध्यमबाट प्रकाश सपुतलाई गाली गर्नेहरूको भिड थियो किनकि उनी पनि दलित हुन्। दलित भएकै कारण प्रकाश सपुतहरू आफैँ विभेदमा पर्छन्, पारिन्छन्। आजको हामीले भोगेको समाजको कथा यही हो। जुन कथा अन्त्य हुनका लागि कति पुस्ता पर्खिनुपर्ने हो? त्यसको हिसाव कतै छैन।

चलचित्र हेरेपछि यसबाट चुकेका केही सन्दर्भ चलचित्रले नभेटेका हामी बाँचिरहेको समाजका जब्बर पक्षहरूलाई नियाल्ने प्रयास गरिएको छ। गायक सर्जक सपुतद्वारा लिखित तथा निर्देशित चलचित्र वसन्त ले समाजमा रुमल्लिइरहेको जात व्यवस्थाभित्र दलित समुदायमाथिको जातीय दलनको अत्याचारलाई चिरफार गर्ने प्रयास गरेका छन्।

विशेषगरी प्रकाशका सिर्जनाहरूमा केही न केही नयाँपन देखिन्छ। उनले आफ्ना सिर्जनामा दलित समुदायमाथिको दलनलाई चिर्नुपर्ने जातीय विभेदजन्य अभ्यासको निराकरण हुनुपर्छ भन्ने सन्देश दिने गरेका छन्। हुन त प्रकाश सपुतका सिर्जनामाथि विरोध पनि त्यत्तिकै हुने गरेका छन्। तर उनका सिर्जनाले जातीय विभेदविरुद्ध प्रहार गर्ने गरेका तथ्य निकै छन्।

चलचित्र वसन्त यस्तै सन्देश बोकेको एक विभेद विद्रोह चलचित्र हो। समाजले पचाउन नसकेको सपना र प्रेमको अन्तरजातीय सम्बन्धमा कुन तहको भ्रमले न्याय ओझेलमा पार्दैछ? अन्तरजातीय प्रेमको क्रान्तिले जातीय विभेदलाई कसरी अन्त्य गर्छ? सामाजिक प्रतिष्ठालाई अन्तरजातीय प्रेमसँग जोड्दा दलित समुदायमाथिको जातीय ज्यादती कुन हदसम्म निर्दयी हुन्छ भन्ने सवाललाई बिर्सन हुन्न। के समाजले सधँै हार्न बाध्य पार्ने कि विभेदको धमिलो चिर्ने हिम्मत दिने ? प्रश्नहरू चलचित्र हेर्दा मनमा आइरहन्छन्। हामी बाँचेको समाजले पचाउन नसकेका थुप्रै कुरीति, कुसंस्कारका विरुद्ध वसन्त चलचित्रले चोटिलो प्रहार गर्न खोजेको महसुस हुन्छ।

विशेषगरी शान्ति शर्माको भूमिकाले अलिक झस्काएको छ। शान्तिका अनुसार धर्ममा विभेद नै छैन तर मान्छेले विभेद गर्छन्। यसले शास्त्रको आडमा मौलाइरहेको जातीय विभेदलाई अनदेखा गरेको छ। सामाजिक अभ्यासमा जब्बर जात व्यवस्थालाई उखेल्ने साहित्यिक क्रान्तिको झिल्को वसन्त ले सल्काउने प्रयत्नमा छ। हामी बाँचेको समाजमा भइरहेको जातीय दलनको अन्त्यमा बन्दूकबाट निस्केको क्रान्तिभन्दा पनि साहित्यमार्फत कलमको माध्यमले निस्केको क्रान्ति दिगो हुन्छ।

जात व्यवस्थालाई उखेल्न उच्च जातिले दिएको साथ निकै सकरात्मक पक्ष हो। सबै गैरदलितले दलितलाई दमन गर्छन् भन्ने होइन। केही यस्ता सहयोगी पनि हुन्छन्, गैरदलितहरू पनि जात व्यवस्थाभित्रको विभेदजन्य व्यवहारका विरुद्धमा समाजमा खेलिरहेका हुन्छन्।

हिजोको पुस्ताले बाँचेको समाज र आजको पुस्ताले बाँचिरहेको समाजमा निकै अन्तर छ। भोलिको पुस्ताले बाँच्ने समाजमा झन भिन्नता हुन सक्छ तर वर्तमानमा बाँचेको समाजका कुरीतिजन्य अभ्यासलाई जरैदेखि उखेल्ने सपना देख्नुचाहिँ दूरगामी भिजन हो। जुन विषयलाई उठान गर्न प्रकासले आँट गरेका छैनन्। वर्तमान सत्तासीन दलहरूको जन्म हुनुभन्दा पहिला नै नेपालमा जात व्यवस्था हुर्किसकेको थियो। समाजले अभ्यास गरिरहेको जातीय विभेदजन्य कुरीतिहरूलाई विकल्पसहितको उपायबाट अन्त्य गरिनुपर्छ भन्ने सवालमा प्रकाश अलमलिन खोजेका छन्।

समाजमा जीवित रहेका अन्य कुरीतिहरू महिनावारी बार्नुपर्ने पुरातन सोच र चिन्तनलाई पनि प्रहार गर्नु राम्रो हो तर छाउपडी जस्तो धार्मिक विश्वासको अन्धकारले कैयौँ किशोरीको ज्यान गइरहेको यही समाजको तीतो यथार्थ हो। त्यसैले सामाजिक कुरीति हटाउने प्रयास सिंगो सामूहिक प्रयासका रूपमा जहिले पनि आवश्यक हुन्छ।

समाजिक क्षेत्रमा गैरसरकारी संस्थाले सामाजिक चेतनाका लागि निकै ठूलो भूमिका खेलेको छ। राज्यको उपस्थिति अभावमा आफ्नो अधिकार कसरी पहिचान गर्ने? दलितमाथिको दलनबाट कसरी बाहिर निस्कने? दलितमाथि भइरहेको जातीय विभेद कसरी अन्त्य गर्ने? यी र यस्ता सवालमा बहस आवश्यक छ। तर प्रकाशले गैरसरकारी संस्थाको भूमिकामाथि प्रश्न गरेका छन्। सामाजिक चेतना खँदिलो बनाउन गैरसरकारी संस्थाको भूमिका सकरात्मक छ भन्नसपुत डराएका छन्।

आज खुलेर विभेदका विरुद्ध आवाज निकाल्न सक्नुमायिनै सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण भएको कुरालाई अनदेखा गर्न सकिन्न। हाम्रा जिजुबाजेहरूले विभेदको विरोधमा आवाज उठाउनु अपराध ठाने। आफूमाथि भएको चरम जातीय विभेद सहनु नै मुखियालाई खुसी पार्ने मुख्य धर्म ठाने। तर कम्तीमा अहिलेको पुस्ताले विभेदको विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने चेतना पाएको छ। दलित समुदायको चेतानस्तर पनि फराकिलो भएको छ। जुन कुरा सामाजिक संस्थाहरूका कारण सम्भव भएको हो।

चलचित्रले घरमा, गोठमा, स्कुलमा, बाटामा, वनमा, मेलामा यत्रतत्र सर्वत्र दलित समुदायले भोगिरहेका जातीय विभेदको जरालाई उखेल्न एक पक्ष, एक विचार, एक कलम, एक क्रान्ति, एक बहसले मात्र सम्भव नभइ सामूहिक प्रयासको आवश्यकता छ भन्ने सन्देश दिनु निकै राम्रो पक्ष हो। दलित–दलितको आपसी विभेदको अभ्यास आफैँभित्रबाट पखाल्ने हिम्मत गर्न सक्नुपर्ने वसन्तको अर्को सुन्दर सन्देश हो। समग्रमाभन्दा जातीय विभेद अन्त्यको सपना देख्नका लागि यो चलचित्रले म र म जस्ता थुप्रैलाई घच्घच्याएको छ। 

प्रकाशित: २४ वैशाख २०८२ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App