‘राजतन्त्र राम्रो कि गणतन्त्र’ भन्ने बहसमा वस्तुपरक विश्लेषणभन्दा पनि दुई विचारधाराका समर्थकबीच आवेग, अभिमान र एकाक्षी कुतर्क प्रचुर देखिन्छ। जतिसुकै मतभिन्नता र वैचारिक मतान्तर भए पनि गणतन्त्र समर्थक ऐन मौकामा ऐक्यबद्ध देखिए तर लाखौँ राजतन्त्र समर्थकका नाइकेहरूले फोटो खिचेर एकता देखाए पनि उनीहरूले कुनै एक व्यक्ति चयन गरेर नेता मान्न सकेका छैनन्।
पञ्चायती व्यवस्था छँदादेखि व्यक्तिवादी बनेका पूर्वपञ्च र उनीहरूलाई नायक मान्नेले पनि ‘म’ मात्रै भन्न जानेका छन्, ‘हामी’ भन्न जानेकै छैनन्। राजतन्त्रको आवाज जताततै सुनिन्छ र यो बल अहिलेसम्मकै प्रमुख प्रतिपक्ष हो। सन् १९१७ मा रसियन बोल्सेभिक (बहुमत) शासन सुरु भएपछि जसरी अल्पमत (मेन्सेभिक) एकजुट भए, त्यस्तो इतिहासबाट पाठ सिकेनन्, यहाँका मिन्सेभिकले।
फ्रान्समा राज्यक्रान्ति भएपछि पनि राजतन्त्र समर्थक हजारौँ लेखक, पत्रकार र बुद्धिजीवीले राजाका निकट मानिसको सुझाव लिए। कुनै स्वार्थ नभएको तर गणतन्त्रको तुलनामा राजतन्त्र हुँदा राष्ट्रिय एकता बलियो हुन्छ भन्ने विचारमा अडिग बुद्धिजीवी प्रशस्तै थिए।
यस्तो विचारमा आबद्ध लाखौँ स्पेनिस जनताको आवाजको सम्मान गर्दै गणतन्त्र समर्थक जनरल फ्रान्कोको अगुवाइमा त्यहाँ राजतन्त्र पुनः बहाली भएको थियो। हुआँ कार्लोस् पुनः राजगद्दीमा बसे। कम्बोडियामा पोलपोटको सर्वसत्तावादी शासन गणतन्त्रको आडमा केही वर्ष चल्यो। लाखौँ मानिस मारिए। कालान्तरमा संयुक्त राष्ट्रसंघको पहलमा राजतन्त्र पुनः बहाली भयो।
नेपालमा राजतन्त्र समर्थकका क्षुद्र स्वार्थका कारण लाखौँ राजतन्त्रवादी निरास बन्दै जान सक्ने देखिन्छ। बन्द कोठामा आफू कसरी शक्तिशाली हुने भनेर थोरै अन्धभक्तलाई खुसी पार्न खोजे पनि राजतन्त्रको उभार, त्यसप्रति बढेको आस्था र ऊर्जालाई ‘संगठन’ बनाउन राजतन्त्र समर्थक अगुवाहरू असफल देखिए।
विदेशमा बसेका केही धनाढ्य राजतन्त्रवादीको तर्क छ– ‘हामी लाखौँ डलर दिन तयार छौँँ तर एउटा मात्र अगुवा हुनुपर्छ। सहरका मोमो पसल जस्ता गल्ली–गल्लीमा राजतन्त्रको पसल खोलेर उद्देश्य पूर्ति हुँदैन। उदरपूर्ति मात्रै हुन्छ।
यो पक्तिकार राजतन्त्रवादी भएको हुँदा स्वदेश र विदेशमा बसेका कतिपय महत्त्वपूर्ण राजतन्त्रवादीसँग संवाद भइरहन्छ। उनीहरूमध्ये धेरैजसोको गुनासो छ– राजतन्त्रवादीले भन्न खोजेको कुरा पुग्नुपर्ने ठाउँमा पुग्दैन। निर्मल निवासका उपराजाहरूले धेरैको फोन उठाउनु हुन्न, कलब्याक त परै जाओस्। पुराना राजनीतिकर्मी नवराज सुवेदीले भन्नुभयो– ‘सबै राजतन्त्रवादी मिलेर शक्ति बनोस् भन्ने सदाशयले मैले ८६ वर्षको उमेरमा पनि सक्रियता देखाएको हुँ तर दुःखद कुरा कोही कसैलाई अगाडि लाउन चाहँदैनन्। सबैलाई नायक हुँ भन्ने अभिमान छ।’
गणतन्त्रका समर्थकको संख्या धेरै छ तर प्रमुख दल हाँक्ने मुखिया र सरदारको तुजुकले समर्थकहरू दिक्क भएका छन्। सबैलाई समेटेर लैजाने अभिभावक हुन सकेन सरकार। प्रधानमन्त्री नै आफ्ना कार्यकर्तालाई गलत काम गर्न उकास्नुहुन्छ। अरिङ्गाल भएर जाइलाग्नु, ठोक्नु, प्रतिकार गर्नू भनेर फरक विचार दमन गर्न प्रेरित गर्दा गृहकलह बढ्दै जान्छ। विदेशी शक्तिले षड्यन्त्र गर्ने बाटो खुल्छ।
होलेरीमा घेराउमा परेका ऊबेलाका विद्रोहीको विनाश गर्न सेना तयार भएको बुझेपछि परमाधिपति राजा वीरेन्द्रले नेपालीलाई मारेर होइन, सही बाटो देखाएर समेट्नुपर्छ भनेका थिए। सेनाले विद्रोही समूहका नाइके सबैलाई एकै चिहान बनाउन सक्थ्यो। राजा वीरेन्द्रको धारणा थियो– विद्रोह रोक्न राजनीतिक उपाय नै खोज्नुपर्छ। उनको चिन्तनधाराबाट जन्मेको हो, शान्ति प्रक्रिया।
राजतन्त्रवादीले गणतन्त्रलाई सरापेर मात्रै केही पाउने सम्भावना देखिँदैन। उनीहरू जुन विचारपथमा छन्, त्यसमा बहुसंख्यक नेपालीको सहभागिता बढाउन राजतन्त्रवादी अगुवाहरू मन, वचन र कर्मले इमानदार हुनुपर्छ। अहिलेसम्म देखिएका नारा, जुलुस, हल्ला र प्रचारप्रसारले तरङ्ग मात्रै ल्याएको छ, गन्तव्य धेरै टाढा छ। किनभने चीन र भारत जस्ता सँधियारले समेत स्पष्ट बोलेको पाइँदैन।
सनातन धर्मका कारणले भारतीय जनता पार्टीका केहीले नेपाल ‘हिन्दु राष्ट्र’ हुनुपर्छ भने पनि भाजपाको आधिकारिक प्रतिक्रिया आएको छैन। हिन्दु राष्ट्र चाहिन्छ भन्ला, भाजपाले। तर राजतन्त्रलाई त्यसले बल पुग्दैन। नेपाल हिन्दु अधिराज्य हुनुपर्छ भन्यो भने त्यसले तरङ्ग ल्याउन सक्छ। तर ‘चुच्चे ढुंगो उहीँ टुङ्गो’ भने जस्तो राजतन्त्र समर्थक नेता र कार्यकर्ता ऐक्यबद्ध नभएसम्म गणतन्त्रको विरोध मात्रैले उद्देश्य प्राप्ति हुँदैन।
राजनीतिक खेलमा फाइनल र ग्यारेन्टी हुँदैन। समयले शक्तिशालीलाई पनि हुत्याउन सक्छ। राजतन्त्र वा गणतन्त्र जहाँ पनि जनता असन्तुष्ट भएमा परिवर्तन अवश्यम्भावी हुन्छ। इतिहासले यही देखाएको छ। फ्रान्समा राजतन्त्र गएपछि नेपोलियन राष्ट्रनायक भए। उनको कथन प्रसिद्ध छ– ‘जनताले सडकमा राजमुकुट फ्याँके, मैले धुलो पुछेर लगाएँ।’ द एज अफ लुइ फोर्टिन्थ ग्रन्थमा भोल्तेयरले भनेका छन्– ‘त्यो कालखण्डमा हजारौँ उपलब्धि भएको पाइन्छ।’ दुर्भाग्य, लुइ सिक्सटिन्थ गिलोटिनमा काटिए।
कतिपय लेखकले भीडतन्त्र इतिहासलाई ठूलो रोग हुन्छ भनेका छन्। बहुमत सधैँ सत्य हुँदैन र एउटा मानिस अलग्गै उभिएर सत्य बोल्न सक्छ। नेपाली राजनीति भीडतन्त्रको मनोविज्ञानले थिचिएको छ। यसले ‘डिजास्टर’ ल्याउन सक्छ। अफगानिस्तानमा क्रेमलिनको दबाब बढ्दै जाँदा राजा जाहिर शाहले गद्दी त्यागे। गृहयुद्धमा तीस लाख जनता शरणार्थी भए भने त्योभन्दा धेरै संख्यामा हताहत भए।
गणतन्त्र भएका कतिपय मुलुकमा सही र सुयोग्य नेतृत्व नहुँदा जातीय, साम्प्रदायिक र भाषाका नाममा गृहयुद्ध भएको पाइन्छ। राष्ट्रिय चरित्र बिर्सेर जब जनता नै विभाजित हुन्छन्, त्यो राष्ट्र भविष्यहीन बन्छ।
राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ता बचाउन सबै नेपाली सहमतिको क्षेत्र (एरिया अफ एग्रिमेन्ट) निर्धारण गरेर साझा बाटोमा हिँड्नैपर्छ। होइन भने अनेकताको फाइदा उठाउन अरू नै आउन सक्छन्। झण्डै ७० वर्ष अघिदेखि वैरभावले टाढिएका चीन र भारत आर्थिक स्वार्थमा जोडिएको पाइन्छ।
समुद्रपारिका राष्ट्रले दक्षिण एसियामा घुस्रेर आफूलाई बिगार्लान् भन्ने चिन्ता छ, उनीहरूलाई। लिपुलेकको बाटो खोलेर व्यापार गर्ने भन्दै चीन र भारतले सहमति गरेको कुरा नेपाली नेता र उच्चपदस्थ अधिकारीले मिडियाबाट मात्रै चाल पाए। वास्तवमा भन्नुपर्दा युरोप/अमेरिकी गतिविधि निगरानी गर्न त्यो क्षेत्रमा सुरक्षा गतिविधि बढाउन छिमेकी सहमत भए।
भूराजनीतिक कारणले पनि नेपाल ती राष्ट्रका लागि महत्त्वपूर्ण छ। तसर्थ, दिल्ली र बेइजिङका मठाधीशहरू नेपालमा भरपर्दो, स्थायी र विश्वासिलो मित्र खोजिरहेका छन्। प्रयोग गर्नु र विश्वास गर्नु फरक कुरा हो। सुन्दा धेरैलाई कटु लाग्ला तर दलहरूले विश्वसनीयता गुमाइरहेको अवस्था छ।
यस्तो अवस्थामा चीन र भारतले गणतन्त्रको विकल्प खोजे भने काठमाडौँमा दिनहुँ जुलुस निकालेर केही हुँदैन। यस्तो तरल अवस्थामा पनि राजतन्त्र समर्थकहरू ‘मेरो गोरुको बाह्र टक्का’ भन्छन् भने त्यस्तो प्रवृत्ति भएका नेतालाई पन्छाएर उदार र विवेकशील नेता छान्न राजतन्त्रवादीले पनि साहस गर्नुपर्छ।
जापानले नानजिङ शहरतिरबाट चीनलाई घेराउ गर्दा कम्युनिस्ट र राष्ट्रवादी एकजुट भए। राष्ट्रहितका प्रश्नमा पनि विवाद गरिरहन्छन् भने ती पदलोलुपलाई इतिहासले क्षमा गर्दैन।
प्रकाशित: २३ वैशाख २०८२ १०:३९ मंगलबार

