विक्रम संवत् २०८१ ले बिदा लिएर नयाँ वर्ष २०८२ ले हाम्रो जीवनलाई स्वागत गरेको छ। नयाँ वर्षको उमंग र रौनक भनेकै नयाँ वर्षको सुरुवातीसँगै आफ्नो जीवन, उपलब्धि र भविष्यका योजनाहरूबारे सोच्न थाल्दछौँ। तर यसैबेला केही क्षण हाम्रो अघिल्लो वर्षका सुखद र दु:खद अनुभूतिहरू पनि याद आउँछन्। यसको अर्थ हो नयाँ वर्षले हामीलाई एउटा गहिरो सन्देश दिन्छ– जीवन परिवर्तनशील छ, कुनै पनि चिज वा व्यक्ति स्थायी हुँदैन। त्यसैले अघि बढ्ने साहस गर्नुपर्छ। परिवर्तन नै जीवनको नियम हो प्रत्येक वर्ष पात्रोका पाना फेरिन्छन्।
अनुहारको रंग फेरिन्छ, सम्बन्ध फेरिएको हुन सक्छ र परिस्थिति पनि। प्रकृतिमा हिउँ पग्लिन्छ, वसन्त आउँछ, पात झर्छ र फेरि नयाँ कोपिला फक्रन्छन्। यही क्रम जीवनको पनि हो। हाम्रो जीवनका सम्बन्ध, सुख, दु:ख, अवसर सबै काल्पनिक नदी जस्तै बगिरहन्छन्। यसबाट सिक्ने भनेको हामीले परिवर्तनलाई स्वीकार्न सिक्नुपर्छ। विगतमा अल्झेर वा भविष्यको चिन्ताले सोचमग्न भएर बस्नु मूर्खता हो। परिस्थिति र समय फेरिन्छ किनकि तिनीहरूले हामीलाई जीवनमा सिकाउन चाहन्छन्।
परिस्थिति प्रतिकूल हुनु जीवन नै खराब हुनु होइन न त परिस्थिति अनुकूल हुनु जीवन स्थायी हुनु नै हो। जीवनले यही सिकाउँदै आएको छ मानिसको जीवन स्थायी छैन र हामी पनि। हामी आज जसको साथ छौँ, भोलि त्यो नहुन सक्छ। आफन्त, साथी, प्रेमी प्रेमिका सबैको जीवनको यात्रा फरक हुन्छ। यही त जीवनले सिकाउँछ–प्रेम गर्नु एकआपसमा तर आश्रित नहुनु। आफ्नो जीवन अघि बढाउन नयाँ परिस्थिति र अनुभूतिहरू खोज्नुपर्ने हुन्छ।
असफलता र सफलता दुवै क्षणिक
विगतका असफलताले अझै दु:खी बनाएको छ? विगतका सफलताले घमण्डी बनाएको छ? छ भने दुवै बितेरै जानेछन्। जीवनको गतिलाई याद गर्दै जिउने हो। जे आउनेछ, समयले जता पुर्याउनेछ त्यो आफ्नो कर्मको र सोचको परिणाम हुनेछ। परिवर्तनले सफलता र असफलता दुवैको अनुभूति दिन चाहन्छ। सफलता असफलता हामीले लगाउने अर्थ हो, निरन्तर अघि बढिरहन जीवनले सिकाउँछ। धेरैले भनेको सुनिन्छ– जीवन व्यर्थै बित्यो। व्यर्थ अर्थात अनावश्यकरूपमा जीवन बितिरहेको छ। काम, सम्बन्ध, तर्क, व्यापार, राजनीतिलगायत जुन पनि क्षेत्रमा आवश्यकरूपमा, सम्यक समय दिन र कर्म गर्न नसक्नुले व्यर्थताको अर्थ राख्छ।
जीवनमा चाहेको काम, इच्छा पूरा हुनु र सकारात्मकरूपमा सफलता मिल्नुलाई सार्थकताको अर्थ दिइन्छ। व्यक्ति आफूले चाहेर सफल र सकारात्मक हुने हो वा जीवनले व्यक्तिलाई व्यर्थताका काममा प्रेरित गर्ने हो? यसलाई गहनतमरूपमा सोच्नुपर्ने हुन्छ। मानिसलाई अस्तित्वले मस्तिष्क र हृदय दुवै दिएको छ र पनि उसले मस्तिष्कलाई नै बढी प्रयोग गरिरहेको हुन्छ। मस्तिष्कको काम सोचविचार, हिसाबकिताब, नाफाघाटा, के, किन यस्तैमा केन्द्रित हुनु हो। हृदयले यसको विपरित प्रेमपूर्णरूपले किन र के, नाफा र घाटा नभनी गर्नुपर्छ, त्यसैले गर्ने, फैलिन थाल्छ अकारण प्रेम र सहयोगमा। मसँग हृदय पनि छ, हृदयको झन्कार र यसले मलाई गरेको निर्देशन मैले पालना गर्न सक्छु भन्ने साहससम्म मानिसमा हुँदैन। बेहोसीको एउटा पराकाष्ठा बनेर जीवन बाँचेको हुन्छ।
नयाँ वर्षको संकल्प : अघि बढ्ने साहस गर्ने
नयाँ वर्षमा संकल्प लिनु छ भने व्यक्तिगत विकासलाई पनि प्राथमिकता दिँदै नवकुशलताका साथ आत्मनिर्भर बन्न सिक्नुहोस्। भावनात्मक स्वतन्त्रताका साथ जीवनलाई स्वतन्त्र बनाउनुहोस्। विगत वर्षका दु:ख, सुखरूपी कथालाई मुक्ति दिएर नयाँ पात्रोका साथ नयाँ सोच र सम्भावनालाई खोज्नुहोस्। सकारात्मक सोचलाई अरू उचाइमा पुर्याउनुहोस्। ‘म सक्दिनँ’ भन्ने विचारलाई ‘म प्रयास गर्छु’ मा बदल्नुहोस्। मनमा धैर्य र संयमता कायम रहे मात्र चाहेको चिज सबै प्राप्त हुन्छ। एकजना मालीले बिरुवामा दिनमा दस पटक पानी राखे पनि फल लाग्ने त उसको समय आएपछि नै हो। अस्तित्वले मानिसलाई मस्तिष्कसँगै हृदय पनि दिएको छ तर मानिस हृदयको तलमा बाँच्नै भ्याउँदैन।
हरपल मस्तिष्क सक्रिय छ, हिसाबकिताबमा उल्झेको छ आफूलाई स्वतन्त्र हुन र परम स्वतन्त्रताको अनुभूतिमा रहने त अवसर नै मिल्दैन। जब प्रेम, करुणा, सद्भाव, सहयोग र साथको समय आवश्यक हुन्छ तब मानिस भन्ने गर्छ– समय नै छैन! आवश्यक महत्वपूर्ण कामलाई छुट्टयाउन नसक्नुको परिणाम हो समय नहुनु। विचार गरौँ त– वृद्ध आमाबुबालाई दिने समय छैन, परिवारसँग छुट्टी मनाउने समय छैन, प्रेमी प्रेमिकासँग खुसी साट्ने समय छैन, वर्षौ छुटेका साथीभाइसँग बसेर कफी पिउने समय छैन। आफन्तजनले भेट्न चाहन्छन्, आफू जाने र घरमा बोलाउने समय छैन। ध्यान, योग र स्वास्थ्यलाई समय दिनुपर्ने त हो तर समय नै छैन। बिहान बेलुका साना छोराछोरीसँग खेल्ने, सप्ताहमा एकपटक घुमफिर त जानुपर्ने तर समय छैन। सोचौँ, केका लागि यिनले समय पाएका छैनन्? के गर्दा हामीलाई समय मिल्छ? मिल्छ?
प्रकाशित: २ वैशाख २०८२ ०८:४५ मंगलबार