१ वैशाख २०८२ सोमबार
image/svg+xml १३:३८ अपराह्न
विचार

जनताले मात्र रोक्न सक्छन् वन डढेलो

आगो असल नोकर तर खराब मालिक हो भन्ने भनाइ छ। यदि आगोलाई हामीले आफ्नो नियन्त्रणमा राखेर उपयोग गर्न सकियो भने यसबाट जीवनोपयोगी काम लिन सकिन्छ भने यो नियन्त्रणबाहिर गयो र यसले नै हामीलाई नियन्त्रण जमाउन थाल्यो भने सर्वनाश गर्न पछि पर्दैन। आगोलाई नियन्त्रणमा राख्न नसकेर नै वनमा डढेलो लाग्ने गरेको छ।

 वन डढेलोको समस्या हरेक वर्ष बढ्दै गइरहेको छ। वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालसँगको सहकार्यमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले बनाएको वन डढेलो पत्ता लगाउने अनुगमन प्रणालीले वन डढेलोे बढ्दो क्रममा रहेको देखाएको छ।

नेपालमा वन डढेलो जानीजानीकन र लापरबाहीले लाग्ने गर्दछ। यी दुवैको प्रमुख कारण भनेको जनचेतनाको स्तर न्यून हुनु नै हो। झाडी सफा हुन्छ, वन्यजन्तुको प्रकोप कम हुन्छ, वन्यजन्तुको शिकार गर्न सजिलो हुन्छ र घरपालुवा जनावरहरूका लागि राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो लगाउने गरिन्छ।

आगो लगाएर केही समय झाडी सफा गरे पनि यो दीर्घकालीन उपाय हैन। आधिकारीक निकायबाट अनुमति नलिइकन वन्यजन्तुको शिकार गर्न कानुनीरूपमा वर्जित गरिएको छ। आगो नलगाए पनि उपयुक्त वातावरणमा घाँस पलाउँछ। यसका साथै मानवीय लापर्बाहीले गर्दा पनि जंगलमा आगो लाग्ने गरेको छ। वनभोज जाँदा राम्रोसँग आगो ननिभाइकन छोड्दा, चुरोट खाइ ननिभाइकन फाल्दा, आफ्नो खेतबारीका पतकर जलाउँदा पनि जंगलमा आगलागी हुने गरेको छ।

सरकार गृह मन्त्रालयले वन डढेलोलाई  विपद्का रूपमा हेरेको छ। नेपालको संविधानमा विपद् व्यवस्थापनलाई अुनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीमा र अनुसूची ९ मा संघ,  प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा राखेको छ। यसको अर्थ वन डढेलोलगायतका विपद् व्यवस्थापनमा स्थानीय तहहरूलाई बढी जिम्मेवार बनाउन खोजेको देखिन्छ।

वनमा डढेलो लगाउने कार्य कानुनी रूपमा वर्जित छ। वन ऐन २०७६ अनुसार वनमा आगो लगाउनेलाई क्षतिको विगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। साथै वन मन्त्रालयले वन डढेलो तथा व्यवस्थापन रणनीति २०६७ स्वीकृत गरी कार्यान्वयन गर्दै आइरहेको छ।

केन्द्रीय स्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेको छ। वन डढेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा डिभिजन वन कार्यालयहरू र सुरक्षा निकायहरू प्रत्यक्षरूपमा खटिने गरेका छन्। तर यस्ता कार्यमा स्थानीय तहहरूले मुख्य भूमिका निर्वाह गर्ने गरेका छैनन्। संविधानले बढी जिम्मेवार बनाएको भए पनि स्थानीय तहको यथेष्ट बजेट वन डढेलो नियन्त्रणका लागि विनियोजन हुन सकेको छैन।

वन डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउने कार्य कठिन बन्दै गइरहेको छ। कुनै पनि वनमा डढेलो लागेमा सम्बन्धित वन कार्यालयका कर्मचारी, प्रहरी र सामुदायिक वनका उपभोक्ताहरूले निभाउने प्रयासको थालनी गर्दछन्।

डढेलो जटिल हुँदै आएमा सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको सहयोग लिने गरिन्छ। सम्पूर्ण कार्यको समन्वय जिल्ला प्रशासन कार्यालयले गर्दै आइरहेको छ। तर वन डढेलो नियन्त्रण कार्यका लागि स्थानीय जनताको सहभागीता अपेक्षाकृतरूपमा जुटाउन सकिएको छैन।

नेपालको अधिकांश भूभाग भिरालो छ। आगो तलबाट लाग्यो भने माथितिर जाने सम्भावना बढी हुन्छ र भिरालो जमिनमा डढेलोको फैलने दर बढी हुन्छ। भिरालो जमिन भएको वनमा डढेलो लागेमा त्यस्तो डढेलो नियन्त्रण गर्न असाध्यै गाह्रो हुन्छ। वन डढेलो नियन्त्रणका लागि वनमा डढेलो लाग्नै नदिने तथा सहभागितामूलक वन डढेलो नियन्त्रणको उपाय अपनाउनु जरुरी छ।

वन डढेलो लाग्नै नदिनका लागि स्कुल शिक्षा कार्यक्रम एकदमै प्रभावकारी देखिएको छ। स्कुल पढ्ने बालबालिका अलि बढी चञ्चल हुन्छन् र जंगलीमा जान सक्छन्। उनीहरूलाई वन डढेलोबाट हुने हानिबारे राम्रोसँग बुझाउन सकियो भने उनीहरूले जंगलमा आगो लगाउँदैनन्। विद्यार्थी तथा शिक्षकहरू ज्ञानका संवाहक हुन्। उनीहरू आफूले जानेको ज्ञान आमा बाबु, साथी, गाउँटोलका व्यक्ति र दाजुभाइ तथा दिदीबहिनीसम्म पु¥याउने गर्दछन्। त्यसैले उनीहरूमार्फत् डढेलो नियन्त्रणका लागि सचेतना अभिवृद्धि गर्नु उपयुक्त हुन्छ।

सामुदायिक वनका उपभोक्ताहरू वनका तलब नखाने रक्षक हुन्। वन डढेलो नियन्त्रणका लागि सुरुमा प्रतिक्रिया जनाउने उनीहरू नै हुन्। सामुदायिक वनका उपभोक्ताले वन व्यवस्थापन गरी ज्वलनशील पदार्थ हटाएर उपयोग गर्न गराउन सक्छन्। साथै झाडी सफाइ गर्ने, पत्कर संकलन गर्ने जस्ता कार्य गर्दछन्।

सामुदायिक वनका उपभोक्ताले वन डढेलो नलगाउने, लगाउन नदिने र लागिहालेमा निभाउने तथा निभाउन सबैलाई परिचालन गर्ने कार्य गरिरहेका छन्। उनीहरूलाई सशक्तीकरण गर्ने तथा वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराएर वन डढेलो नियन्त्रणमा थप सहयोग लिनुपर्छ।

सामुदायिक वनका उपभोक्ताहरू वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि सचेतना फैलाउने उपयुक्त पात्रसमेत हुन्। उनीहरू वन वरिपरिका जनता हुन्। उनीहरूले नै वनको पहरेदारी गरी वन डढेलोका बेफाइदा सर्वसाधारण जनतासमक्ष पु¥याउन सक्छन्। उनीहरूलाई बेलाबेलामा वन डढेलोसम्बन्धी तालिम तथा गोष्ठीहरूमा सहभागी गराउने तथा वन डढेलो नियन्त्रणसम्बन्धी पम्प्लेट तथा पर्चाहरू उपलब्ध गराएर डढेलो नियन्त्रणमा थप क्रियाशील बनाउनुपर्छ।

समुदायमा आधारित संघ संस्थाहरूमा आबद्ध व्यक्तिहरूले समाज परिवर्तनका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। आपत्विपद्का बेला राज्य तथा समाजले त्यस्ता व्यक्ति तथा समूहसँग सहयोगको अपेक्षा राखेका हुन्छन्।

वन डढेलो नियन्त्रणका लागि सचेतना जगाउन र लागिहालेमा आगो निभाउन उनीहरूको सहयोग महत्त्वपूर्ण हुन्छ। उनीहरूलाई वन डढेलो नियन्त्रणसम्बन्धी तालिम तथा गोष्ठीहरूमा सहभागी गराउने तथा वन डढेलो नियन्त्रणसम्बन्धी प्रचारप्रसारका सामग्रीहरू उपलब्ध गराएर डढेलो नियन्त्रणमा थप क्रियाशील बनाउनुपर्छ।

वन डढेलो नियन्त्रणका मुख्य पात्र भनेका स्थानीय जनता नै हुन्। राज्यका निकाय तथा समुदायमा आधारित संघ संस्थाबाट सर्वसाधारणलाई वन डढेलो लाग्नै नदिने र लागेमा निभाउने कार्यमा सहभागी गराउनु अत्यावश्यक छ। आमसर्वसाधारण जनतालाई वन डढेलो नियन्त्रणका लागि सचेतना जगाउन सञ्चार माध्यमहरूबाट प्रचार प्रसारका कार्यलाई तीव्रता दिनुपर्छ।

– पन्थी बागलुङका डिभिजनल वन अधिकृत हुन्।

प्रकाशित: २४ चैत्र २०८१ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App