आजको समाज नैतिकताबिहीनको समाज बन्ने त्रासले सताउन थालेको छ। नैतिकताको मुहान शिक्षालय हुन्। त्यहीँ नैतिकताको खडेरी पर्न थालेपछि कहाँ खोज्न जाने नैतिकता? अहिले देख्दैछौँ, प्रायः बालबालिकाको व्यवहारमा सदाचार देखिँदैन। तिनमा रुखोपन र अटेरीका साथै आफ्ना मान्यजनप्रतिको आदरभाव देखिँदैन। बालबालिकाले खाने, लगाउने, बोल्ने, हिँड्ने कुरामा समेत अमिल्दो देखिँदै आएको छ। हुन त एकथरीले भन्ने गरेका छन्– जेनेरेसन ग्यापमा यस्तै देखिन्छ। हामी पनि हिजोका अगाडि यस्तै देखिन्थ्यौँ होला। यसमा चिन्ता गरेर साध्य हुँदैन। आजको वास्तविकता पनि यही हो।
यस कुरामा विद्यालय र शिक्षकलाई दोष लगाउने गरिन्छ। विद्यालय शिक्षकहरूले के पढाउँछन्? कसरी पढाउँछन्? केटाकेटीले के सिके? के बुझे? अभिभावकको ठूलो गुनासो छ। केटाकेटीहरू घरमा अभिभावकले अराएको काम गर्न मान्दैनन्। घरमा पढ्न पनि रुचि देखाउँदैनन्। तिनले गर्ने गरेका व्यवहार बोलीचाली केही पनि राम्रो छैन। मान्यजनप्रति आदरभाव, अनुशासन मर्यादा पनि ह्रासोन्मुख हुँदै जान थालेको छ।
शिक्षकले राम्रोसँग पढाउनु पर्यो, असल कुरा सिकाएका भए यस्तो हुँदैनथ्यो भन्ने दोषारोपण प्रशस्त गर्दै आएका छन्। उता शिक्षक यस्ता विद्यार्थीप्रति रुस्ट छन्। यस्ताखाले केटाकेटी न विद्यालय दैनिक आउँछन् न कक्षा कोठामा ध्यान दिएर पढ्छन् न दिएको गृहकार्य गरेर ल्याउँछन्। विद्यालय आउँदा अनेक तडकभडकका भड्किला पहिरन लगाएर आउँछन्। यिनका अभिभावक कस्ता होलान् ? कस्तो घरमा हुर्केका भनी अभिभावकप्रति दोष फर्काउँछन्।
वास्तवमा बालबालिका हिलो माटो हुन् जसरी कुमालेले त्यो माटोलाई अनेक प्रकारका भाँडा बनाउन प्रयोग गर्दछ। त्यस्तै हरेक बालबालिकालाई राम्रो ज्ञान र शिक्षा दियो भने त्यस्तै बन्नेछन्। बालबालिकाका लागि घर, परिवार, विद्यालयबाट राम्रो बनाउने प्रयास भयो भने बालबालिका भोलिका असल नागरिक बन्न सक्छन्। तिनले देखेको समाजमा जस्तो संस्कार छ, जस्तो संस्कृति छ, जस्तो रीतिरिवाज छ, जसरी तिनलाई शिक्षादीक्षा दिइन्छ, त्यहीबमोजिम तिनको व्यवहार निर्माण हुन्छ। देखिएको समाजभन्दा बेग्लै र अब्बल पाउन सहज हुँदैन।
आजको समाज हिजोकोभन्दा जटिल र चुनौतीपूर्ण छ। विज्ञान र प्रविधिले झनै जटिल बनाउँदैछ। विश्वमा प्रतिसेकेन्ड ज्ञानको दायरा फराकिलो हुँदै गएको छ। शिक्षकले सिकाउने सिप र ज्ञान पनि हिजोको जस्तो छैन। हरेक बालबालिकाको विषयवस्तुप्रतिका सोचाइ हेराइ, बुझाइ, गराइमै ठूलो अन्तर छ। हिजो केटाकेटीले विद्यालयमा गएर शिक्षकबाट हरेक कुरा सिक्थे। त्यही नै पर्याप्त ठानिन्थ्यो। शिक्षक नै सर्वेसर्वा मानिन्थे।
अभिभावक विद्यार्थी दुवैको ज्ञानको स्रोतका रूपमा शिक्षकलाई स्वीकार्थे। आज ज्ञान आर्जन गर्ने धेरै उपाय छन्। केटाकेटीले शिक्षा वा पाठ्यपुस्तकभन्दा विश्वसनीय ज्ञान अन्य माध्यमबाट आर्जन गर्न थालेका छन्। अनेक प्रकारका मिडियाबाट र गुगल सर्चबाट केटाकेटीले थुप्रै सूचना संकलन गर्दछन्।
हुन त केटाकेटीको सिकाइको क्रमलाई राम्रोसँग नियालेर हेर्ने हो भने पहिलो गुरु आमा, बाबु र विद्यालय शिक्षक नै हुन। यस अर्थमा पहिलो शिक्षक आमा हो, घरमा परिवारका सदस्यले गर्ने व्यवहार, तिनले बोल्ने भाषा, तिनका व्यवहार आदिले ठूलो प्रभाव पारेको हुन्छ।
यस्तै शिक्षक, साथी, अग्रज आदिबाट पनि केटाकेटीले धेरै कुरा सिक्छन्। केटाकेटी देखिने व्यवहार र अरूको कार्यको अनुकरण गर्न पनि मन पराउँछन्। यस्तै समाजकाअगुवा, छरछिमेक, सिनेमा, पत्रपत्रिका, भिडियो, पठन सामग्री आदिका माध्यमबाट पनि धेरै कुरा सिक्ने हुन्छन् भने कतिपय मन परेका कुरा व्यवहारमा पनि उतार्दै जाने गर्दछन्।
अब केटाकेटीले आफूले सिकेका कुरा के ठीक के बेठीक छुट्याउन सक्ने हुन्छन्। समयमा उचित सल्लाह र परामर्श भने चाहिन्छ। सामाजिक सञ्जालमा पोस्ट गरेका चित्र, अश्लील भिडियो सञ्जालमा भाइरल भेटिने हँुदा त्यस्ताबाट बच्न सल्लाह दिनु जरुरी छ।
बालबालिकालाई समाजमा देखिने गरेका विभिन्न अपाच्य कुराबाट बच्नुपर्ने कुरामा पनि जोड दिइनुपर्दछ। केटाकेटीलाई मन नपर्ने कुरा गर्न बाध्य पारिनु हुँदैन। त्यो विषय मन नपरेमा अर्को विषय छनोट गर्न दिइनुपर्दछ। शिक्षकले विद्यार्थीलाई तोकिएको विषय लिन बाध्य पारिनु कदापि हुँदैन। ऐच्छिक विषयमा विद्यार्थीलाई रुचिअनुसार छनोट गर्ने अवसर दिइनुपर्दछ। कतिपय शिक्षण संस्थाले आफ्नो अनकूलको विषय छनोट गर्न बाध्य तुल्याउँछन्। त्यो पूर्ण रूपमै गलत हो।
केटाकेटीको क्षमता विकासका लागि कक्षा कोठाको सिकाइका अतिरिक्त सिप र सिर्जनात्मक विकासका लागि तिनका रुचि र क्षमताअनुसारको स्थानीय सिप सिकाउने गरी कुनै समय दिन तोकी कार्यक्रम तय गर्नु उचित हुन्छ। यस कार्यक्रमअन्तर्गत केटाकेटीलाई डोको टपरी, कुचो, नाम्लो, दाम्लो, मान्द्रो, सुकुल, माटोका भाँडा आदि बनाउने सिप सिकाउने कार्य पनि ठाउँअनुसार गराइनु उचित हुन्छ। यस्ता सिप स्थानीय सिपालु अभिभावकहरूसँग हुन्छ। तिनबाट केटाकेटीलाई सिकाउने कार्यक्रम तय गरिनु राम्रो हुन्छ।
प्रकाशित: २१ चैत्र २०८१ १०:२५ बिहीबार