१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:४२ पूर्वाह्न
विचार

राजा फर्काउने दुःस्वप्न

यतिखेर विश्वप्रसिद्ध नाटककार  शेक्सपियरको ‘ह्यामलेट’ नाटकको अंश याद आइरहेको छ। जसअनुसार नराम्रो मान्छेलाई सधैँ राम्रो भएको दाउ लगाइन्छ, कुरूप मान्छेले सुन्दर पहिरन लगाएर आफ्नो कुरूपता लुकाउन खोज्छ। राजावादीहरूको अहिलेको सडक आन्दोलन र तत्कालीन राजा ज्ञानेन्द्र शाहको पुनः राजा बन्ने दिवा सपना उक्त भनाइसँग मिल्दोजुल्दो छ। अब प्रसंग आउँछ, के २०६५ जेठ १५ गते संविधानसभाबाट सम्मानपूर्वक बिदाइ गरिएका ज्ञानेन्द्रलाई आन्दोलनमा लागिपरेका व्यक्तिहरूले पुनः राजा बनाउँछन् ?

कुनै पनि मानिस वंशका आधारमा होइन, कर्मका आधारमा राम्रो या नराम्रो हुन्छ।  

श्रीमद्भागवत गीताले पनि यही भन्छ– तिमी कर्मका अधिकारी छौ, जस्तो कर्म ग¥यौ, फल पनि सोहीअनुसार पाउछौँ। त्यसैले सदैव असल कर्म गर। राजवंशको धर्म कायम गर्दै १६१६ सालमा द्रव्य शाह गोरखाका राजा भए।

पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे।  उनका सन्तति राजेन्द्र शाहका पालामा रानीका प्रियपात्र गगनसिंहको हत्या जंगबहादुर राणाले गरे। जंगबहादुरले नै कोतपर्व निम्त्याए। माथवरसिंह थापा, अभिमानसिंह बस्न्यातलगायतका भाइ भारदारहरूको सामूहिक हत्या गरियो। काटाकाटको शृंखलाबाट सुरु भएको त्यो राणाकालीन इतिहास १०४ वर्षसम्म कायम रह्यो। कोतपर्व, भण्डारखाल पर्व नभएको खण्डमा शायद नेपालको यो दुर्गति हुने थिएन। सत्ता र पदका लागि नेपालका राजा कतिसम्म गिरेर राजनीतिमा रमाउँछन् भन्ने यी घटनाले पुष्टि गर्छन्।

राणा शासनका अन्तिम प्रधानमन्त्री मोहनशमशेरको पालामा भागेर भारतको शरणमा पुगेका तत्कालीन राजा त्रिभुवनलाई नेपाली जनताले राजगद्दीमा आसीन गराए। जसको नेतृत्व र अगुवाइ बिपी कोइरालाले गरे। राजासँग मेरो घाँटी जोडिएको छ भन्ने सिद्धान्त लिएका समाजवादका शिखरपुरुष बिपीलाई प्रधानमन्त्री पदबाट अपदस्थ गरी आठ वर्ष जेल चलान गरे, निर्वासित जीवन बिताउन बाध्य पारे तत्कालीन राजा महेन्द्रले। तैपनि प्रजातन्त्र आगमनको संघर्षमा उनी लडी नै रहे।

२०१७ देखि २०४६ सालको जनक्रान्तिमा आइपुग्दासम्म हजारौँ नेपालीको जीवनलीला समाप्त भयो। कति बेपत्ता भए। उच्च शिक्षा अध्ययनका लागि देशभरका त्यसबेलाका हामी विद्यार्थी काठमाडौँ उपत्यकाका विभिन्न कलेजमा भर्ना भएका थियौँ। पञ्चायती व्यवस्थाको चरम रूप हामीले देख्न र भोग्न पाएका थियौँ।

२०३४ सालदेखि २०४५ सालसम्म।

राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल नामक पञ्चायतको भगिनी विद्यार्थी संस्था थियो। बहुदलीय व्यवस्थाको समर्थनमा त्यसबेलाका हजारौँ विद्यार्थी सडकमा उभिने गर्थ्याैं। मण्डलेहरूले खोजी खोजी हामी विद्यार्थीमाथि खुकुरी, भाला, रड प्रहार गर्थे। ती चोट र दर्दनाक घटनाहरू बिर्सन नसकिने खालका छन।

बहुदलीय व्यवस्था स्थापनाका लागि सडक संघर्ष नगरेका र कारागार जीवन व्यतीत नगरेका शायद कोही थिए। नख्खु, भद्रगोल, केन्द्रीय कारागार मात्र नभएर देशका हरेक जिल्लाका कारागारको चिसो तातो छिँडीमा नबसेका शायद कोही होलान्। ज्यादै बलिदानी संघर्षबाट २०४६ सालको जनक्रान्ति सफल भएको थियो। सो संघर्षलाई सामान्यरूपमा हेर्न मिल्दैन।

इतिहासमा पटक पटक गल्ती गर्ने बानी भएका राजालाई सोझा नेपाली जनताले संविधानको दायराभित्र राखी सम्मान गर्दै आएका थिए। २०५८ सालमा दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई सम्मानपूर्वक राजगद्दीमा आरोहण गराइ जनताका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रमुख प्रतिपक्ष दलका नेता माधवकुमार नेपाललगायतले शाहवंश जोगाएकै हुन।

यति सम्मान दिँदा पनि राजाले इतिहास बुझेनन्, राजनीतिक पार्टीहरूलाई पाखा लगाउन खोजे। २१औँ शताब्दीका जनतालाई उक्त कुरा स्वीकार्य नभएर नै २०६२/६३ सालको जनआन्दोलनको जगमा बसी २०६५ जेठ १५ गतेको संविधानसभाले संवैधानिक राजतन्त्रका ठाउँमा लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गरी राष्ट्रपति पद्धति लागु गरेका हुन।

इतिहास भावी पिँढीका लागि खुला दस्ताबेज हो। वर्तमानको इतिहास भविष्यका लागि सत्यपरक र तथ्यपरक भएर लेखिनुपर्छ। नेपालको राजनीतिक इतिहास हत्या, हिंसा र काटमारबाट सुरु भएको देखिन्छ। माओवादीको १० वर्षे सशस्त्र हिंसाको अवधिबाहेक मुलुकका बाँकी काटमार दरवारकै संलग्नतामा भएका देखिन्छ।

यस्ता वास्तविकता देशभरका कुनाकाप्चाका सर्वसाधारणसम्म पु¥याउन आवश्यक छ। किनकि गल्ती जति तत्कालीन राजसंस्थाले बेलाबेलामा गर्दै जाने दोष जति साधारण नेपाली जनतामाथि थोपर्ने संस्कारको अन्त्य आवश्यक छ।

हो, लोकतान्त्रिक गणतन्त्रको शासनपश्चात सरकार प्रमुख र राजनीतिक पार्टीका शीर्षस्थ नेताहरूले गल्ती नगरेका होइनन्। राजनीतिक पार्टीका नेताहरूले चुनावताका आआफ्ना नजिकका मानिसलाई टिकट वितरण गरेका, नगदी रकमले ढुकुटी भरेका, लोकतन्त्र प्राप्तिका लागि जीवनभर सडक आन्दोलन गरेकालाई पन्छाएर आफ्ना श्रीमती, साला साली, ज्वाइँ, भाइ भतिजाहरूलाई टिकट दिलाएर अत्याचार गरेका धेरै घटना हामीले बिर्सेका छैनौँ। ठूला पार्टीहरू नेपाली काङ्ग्रेस, एमाले, माओवादीमा उक्त कुसंस्कार अलि बढी नै छ। नेता र मन्त्रीका भ्रष्टचार जगजाहेर नै छ।

राजनीतिक नियुक्तिका कुरा गर्दा बदनामी कमाएका र पटक पटक लाभको पद पाइसकेका चिल्ला अनुहारलाई नै नियुक्ति गर्दै आएका कुरा पनि सबैलाई थाहा छ। यस्ता कर्ममा लागेकालाई अख्तियार दुरूपयोग अनुसन्धानले छानबिन गर्नैपर्छ। तर माथिका जस्ता विकृति बढेका आधारमा राजतन्त्र आवश्यक छ भन्नुचाहिँ कुतर्क मात्र हो। किनकि राजाका बेलामा भएको यीभन्दा बढी दुर्गति जनताले देखेकै छन्।

केही दिनयता सामाजिक सञ्जाल र सडकहरूमा पनि राजावादी केही व्यक्तिहरूले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतविरुद्ध सुन्नै/पढ्नै नसकिने अपाच्य शब्द प्रयोग गर्दै आएका देखिन्छ।

जुन २०३५/३६ सालताका मण्डलेहरूले प्रयोग गर्ने भाषा र व्यवहारमा आधारित छ। उनीहरूले भ्रष्टचार गरेकै हो र राज्य आतंक फैलाएकै हो भने त्यसका कानुनी उपचारका विधि छन्। तर जथाभावी गाली गर्ने अधिकार कसैलाई हुँदैन। न त यो राजनीतिक दलसँग आबद्ध भन्नेहरूले गर्ने व्यवहार नै हुन सक्छ। यस्तो पाराले हालको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ढाल्ने सोच दिवा सपना मात्र हुनेछ।

कुनै बेला सुदूरपश्चिम र हालको कर्णाली प्रदेशका धेरै गाउँबस्तीमा राजाहरूको पनि बसोबास थियो। राजाहरू बस्ने अग्लो ठाउँलाई कोट भनिन्थ्यो। कोटका राजाहरू आफूलाई जनप्रिय बनाउनका लागि बेलाबेला गाउँबस्ती पस्ने गर्थे। गाउँमा पस्दा उनीहरूले सोझा जनतालाई पाँच थरी दण्ड लगाउँथे।

दण्ड तिर्न नसके या ससाना भूल गरे राजाहरू ती गाउलेलाई गोठमा थुन्ने गर्थे। नराम्ररी पिट्ने गर्थे। त्यो आतंकले ग्रामीणबासी  सतर्क हुन्थे। कोटका राजाहरूलाई सालैपिच्छे ‘मानु’ तिर्नुपर्थ्याे।

उल्लिखित पाँच वटा दण्डमा – गुया दण्ड(शौचालय नहुँदा बाटामा दिशा गर्ने चलन थियो), पर्व दण्ड (स्थानीय पर्व हुँदा राजालाई विशेष खानेकुरा नखुवाएमा), भात्या दण्ड (नयाँ अन्न बाली नचढाइ खाएमा), सलामी दण्ड (राजालाई देखेर स्वस्ती भन्न भुलेमा), पोतो दण्ड (वर्षभरको जमिन र घरको कर नदिएमा) दण्ड तिर्नुपथ्र्यो। यसबाहेक अरू पनि दण्ड तिर्दै आएका ग्रामीणबासी राजाको नाम लिँदा पनि तर्सिन्थे।

यस्तो युगमा जन्मेका हामीले पञ्चायतकाल, बहुदलीयकाल र गणतन्त्रात्मक शासनकाल पनि देखेका छौँ, भोग्दै छौँ। कुनैबेला खोपीका देउता भनेर राजालाई दियो बालेर पूजा पनि गरेका थियौँ। तर जनतालाई शोषण गर्ने, आफ्नो अधिकार प्रयोग गर्दा जनताको अधिकार हनन् गर्ने बानी भएका कारण १५ वर्षपहिले सम्मानजनक बिदाइ गरेको राजसंस्था ब्युँताउने काम कोही कसैबाट नगरे नै राष्ट्रको भलो हुनेछ।  

प्रकाशित: ८ चैत्र २०८१ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App