विश्वभर एआई क्रान्ति तीव्र गतिमा अगाडि बढिरहेको छ। संयुक्त राज्य अमेरिका, चीन र युरोप जस्ता देशले अत्याधुनिक एआई मोडेलहरू विकास गर्न ठूलो लगानी गरिरहेका छन् जसका लागि विशाल कम्प्युटेसनल शक्ति र ऊर्जा स्रोत आवश्यक पर्छ। हालै अमेरिकाले पाँच सय अर्ब डलर र युरोपले २०० अर्ब युरोको लगानी घोषणा गरेका छन्। यी लगानीले एआईको आर्थिक र प्रविधिगत वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखाउँछ।
नेपालले पनि एआईलाई आत्मसात गर्दै उस्तै प्रविधिगत प्रगति गर्ने लक्ष्य राख्नुपर्छ। तर एआई विकासका लागि आवश्यक स्रोतहरूको अभाव झेलिरहेको छ। ऊर्जा स्रोत र कम्प्युटिङ पूर्वाधारको सीमितता नेपालका लागि प्रमुख चुनौती बनेको छ। नेपालले एआईको विकासलाई सम्भव बनाउन चाहन्छ भने त्यसका लागि रणनीतिक र स्रोत–सचेत दृष्टिकोण अपनाउनु आवश्यक छ।
नेपाल एआई नीति मस्यौदा २०८१ ले देशमा यो प्रविधिको विकासका लागि आवश्यक आधार तय गरिसकेको छ जुन एक महत्त्वपूर्ण उपलब्धि हो तर अझै पनि नेपालले आफ्नै आधारभूत एआई मोडेलहरू विकास गर्नु उपयुक्त हुन्छ वा अन्य देशद्वारा विकसित मोडेलहरूलाई एकीकृत गर्नु राम्रो हुन्छ भन्नेबारे ठोस बहस आवश्यक छ।
नेपालको सन्दर्भमा, कम्प्युटिङ शक्ति, डेटा उपलब्धता र स्थिर बिजुली आपूर्तिको अभाव मुख्य चुनौती हुन्। यस कारण नेपालले एआईको प्रशिक्षणका लागि पूर्वाधार निर्माण गर्न सक्दैन भन्ने सवालभन्दा पनि उपलब्ध स्रोतहरूलाई कसरी प्रभावकारीरूपमा उपयोग गर्न सकिन्छ भन्ने पक्षमा छलफल केन्द्रित हुनुपर्छ।
एआई मोडेलहरू प्रशिक्षण गर्दा डेटा सङ्कलन, मोडेल निर्माण, परीक्षण, परिमार्जन र अन्ततः प्रयोगमा ल्याउने प्रक्रिया समावेश हुन्छ। यसमध्ये सबैभन्दा बढी ऊर्जा खपत गर्ने चरण मोडेल प्रशिक्षण हो। आधुनिक एआई मोडेलहरूमा गहिरो शिक्षण प्रविधि प्रयोग गरिन्छ जसमा न्युरल नेटवर्क (मानव मस्तिष्कबाट प्रेरित जटिल कम्प्युटिङ प्रणाली) आधारित हुन्छ।
यी न्युरल नेटवर्कहरूको प्रशिक्षण अत्यधिक ऊर्जा खपत गर्ने चरण हो। जटिल मोडेलहरूमा अर्बौं संख्यामा न्युरल नेटवर्क परिमिति हुन्छन्। उदाहरणका लागि चाटजिपिटी–३ मोडेलमा एक सय ७५ अर्ब परिमिति छन्। यस मोडेललाई प्रशिक्षण गर्न एक हजार दुई सय ८७ मेगावाट बिजुली खपत भएको थियो जुन करिब नेपालको एक घण्टाको कुल बिजुली खपत बराबर हो।
एक अनुमानअनुसार प्रत्येक च्याटजिपिटी क्वेरीले ०.००२९ किलोवाट बिजुली खपत गर्छ। विश्वभर दैनिक एक अर्ब क्वेरीहरू प्रशोधन गरिन्छ। नेपालका करिब ३० लाख व्यक्ति (नेपालको १० प्रतिशत जनसंख्या) ले दैनिक ३.३३ पटक चाटजिपिटी प्रयोग गरे भने दैनिक बिजुली खपत करिब २९ मेगावाट हुनेछ जसको वार्षिक खपत १०,५८५ मेगावाट पुग्न सक्छ।
नेपालमा हालको कुल वार्षिक बिजुली उत्पादन १२ हजार ७१ जिडब्लुएच छ जसको अधिकांश भाग जलविद्युत्बाट प्राप्त हुन्छ। नेपालमा सानो स्तरमा मात्र एआई प्रविधिको प्रयोग भए पनि यसले बिजुली आपूर्तिमा ठूलो प्रभाव पार्न सक्छ।
नेपालको जलविद्युत् उत्पादन मौसमी हुन्छ– वर्षायाममा बिजुली अत्यधिक उत्पादन हुन्छ भने हिउँदमा ४० प्रतिशतभन्दा कम उत्पादन हुन्छ जसका कारण नेपाललाई भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ। एआई प्रविधिले स्थिर र उच्च क्षमताको बिजुली आपूर्तिको माग गर्छ तर नेपालको वर्तमान बिजुली आपूर्ति अस्थिर छ।
नेपाल विद्युत् प्राधिकरण र सरकारबीच उद्योगलाई विशेष बिजुली आपूर्ति दिने विषयमा विवाद चलिरहेको छ। उद्योगहरू बिजुली आपूर्तिको अभावका कारण घाटामा छन् भने डेटा सेन्टर र एआई कम्पनीहरूका लागि आवश्यक स्थिर बिजुली आपूर्ति अझै कठिन हुनेछ।
नेपालले एआईका लागि आवश्यक ठूलो मात्रामा बिजुली छुट्याउने निर्णय गर्दा यसको प्रभाव अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा पर्न सक्छ। कृषि, उद्योग, स्वास्थ्य र अन्य अत्यावश्यक सेवाहरूलाई पर्याप्त ऊर्जा आपूर्ति गर्न नसक्दा समग्र आर्थिक विकासमा असर पर्न सक्छ। एआई मोडेल प्रशिक्षणले कुल बिजुली खपतमा सानो मात्र योगदान दिन सक्छ तर अल्पकालीन रूपमा उच्च मागले स्थानीय क्षेत्रमा बिजुली अभाव सिर्जना गर्न सक्छ। त्यसैले नेपालले डिजिटल प्रविधि र ऊर्जा सुरक्षाबीच सन्तुलन कायम गर्न आवश्यक छ।
नेपालले एआईलाई आत्मसात गर्नुपर्छ तर संक्रमणकालीन रणनीति अपनाउनु जरुरी छ। नेपालले तत्कालै बृहत् मोडेल निर्माणमा ध्यान केन्द्रित गर्नुको सट्टा, स्थानीय आवश्यकताअनुसार मध्यम आकारका एआई मोडेलहरू विकास गर्नु उपयुक्त हुन्छ। एआई मोडेलहरूलाई ट्रान्सफर लर्निङ, नलेज डिस्टिलेसन र परिमिति–कुशल प्रशिक्षण प्रविधि प्रयोग गरी स्थानीय भाषामा परिमार्जन गर्न सकिन्छ। यसले ऊर्जा लागत कम बनाउँछ र स्थानीय एआई विकासलाई दिगो बनाउँछ।
नेपालले अल्पकालीनरूपमा अन्तर्राष्ट्रिय क्लाउड–आधारित एआई समाधानहरू प्रयोग गर्न सक्छ। अन्तर्राष्ट्रिय डेटा सेन्टरहरू प्रायः नवीकरणीय ऊर्जा स्रोतहरूमा आधारित हुन्छन् जसले नेपाललाई कम्प्युटिङ पूर्वाधारको वित्तीय बोझबाट बचाउन सक्छ। तर क्लाउड कम्प्युटिङमा डेटा गोपनीयता, नेटवर्क ढिलाइ र भूराजनीतिक असर जस्ता जोखिम छन्। यसकारण, नेपालले क्लाउड–आधारित रणनीतिलाई लामो समयसम्म निर्भर हुन नदिने गरी सोच्नुपर्छ।
नेपालले जलविद्युत्बाहेक सौर्य र पवन ऊर्जा जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूमा लगानी गर्नुपर्छ। विशेषगरी ब्याट्री भण्डारण प्रणालीको विकास गर्दा नेपालले जलविद्युत् उत्पादनमा आउने मौसमी प्रभावलाई सन्तुलित गर्न सक्छ। हाल नेपालका नवीकरणीय ऊर्जा परियोजनाहरू घरायसी प्रयोजनमा सीमित छन् तर डिजिटल पूर्वाधारलाई समर्थन गर्न ठूलो स्तरका परियोजना आवश्यक छन्।
नेपालले आफ्नै बृहत् एआई मोडेलहरू निर्माण गर्नु अहिलेको सन्दर्भमा व्यावहारिक देखिँदैन। हाल उपलब्ध स्रोतहरूलाई अधिकतम प्रयोग गर्दै नेपालले एआई मोडेलहरूलाई अनुकूलन गर्न ध्यान दिनुपर्छ। दीर्घकालीन रूपमा नेपालले आफ्नै साना–मझौला एआई मोडेलहरू विकास गर्न आधार तयार गर्नुपर्छ। नेपालले सानै स्तरमा एआई विकासको आधार तयार गर्यो भने भविष्यमा डिजिटल स्वतन्त्रता सुनिश्चित गर्न सक्छ। एआई केवल प्रविधि विकासको कुरा मात्र होइन, यो नेपाललाई डिजिटल युगमा प्रतिस्पर्धी बनाउन आवश्यक रणनीतिसमेत हो।
– लेखकहरू संख्य एआई र एसआइपिआरसँग सम्बद्ध छन्।
प्रकाशित: २७ फाल्गुन २०८१ ०९:५७ मंगलबार