३१ चैत्र २०८१ आइतबार
image/svg+xml १३:२७ अपराह्न
विचार

शिवरात्रि : एक पवित्र पर्वोत्सव

नेपाल अधिराज्यका विभिन्न चाड पर्वोत्सव मध्ये शिवजी उत्पत्ति हुनु भएको रातको नामले नामकरण भएको तथा मोहरात्रि, कालरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरूमा नाम कहलाएको ‘शिवरत्रि’ पनि एक ठूलो महत्थ्व भएको पर्वोत्सव हो। शिव, रुद्र, महेश अर्थात् महादेव आदि विभिन्न नामले विभूषित ईश्वर यी पशुपतिनाथ ज्योतिर्मय लिङ्ग विराजमान हुनु भएको देश नेपाल हो। यो पर्वोत्सव प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको दिन मनाइन्छ।

फाल्गुन महिना शिशिरऋतुको दुई महिना मध्ये पहिल्लो महिनामा पर्दछ। यस महिनामा माघ महिनाको बखत महादेवको रुद्रतव्व अर्थात जगतलाई रुवाउनेमा संहार गर्ने तत्वले गर्दा पत्र विहीन भई जीर्ण–शीर्ण भईरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवतत्व अर्थात् जगतको कल्याण गर्ने तत्वले गर्दा चलाउन थाल्दछन्। त्यसरी जीर्ण–शीर्णलाई समाप्त गरी नवीनताको रुप प्रदान गर्ने शिवतत्व स्पष्ट रुपले प्रकट हुने महिना भएकोले फाल्गुन महीनामा यो शिवरात्रि पर्वोत्सव मनाउने गरिएको हो भन्ने कथन छ। यो पर्वोत्सव मनाइने प्रकार बारे विहान सबैरैदेखि मानिसहरूले अरु चाड–पर्व मनाउँदा झै यस दिन पनि स्नानादि अनेक शुद्ध गर्ने कार्यहरू गरिसकेपछि देशभरका प्रायः सबै शिव मन्दिरहरूमा आ–आफ्ना श्रद्धा–भक्ति विभष अनुसार दर्शन, पठन–पाठन, प्रहर–प्रहरका पूजन, जप, ध्यान, दान, नाच गान, भजन आदि गर्दछन्।

ब्रत उपवास बस्नेहरूले घर घरमा पनि त्यस्तै कार्य गर्दछन्। यस दिन खास गरिकन पशुपति नाथको मन्दिरमा ठूलो मेला लाग्दछ र त्यहाँ नेपाल अधिराज्यभरका अर्थात् पहाड, तराई र उपत्यकाका लाखौं नरनारीहरू र हजारौं संख्यामा विदेशीहरू समेत जम्मा हुन्छन्। तिनीहरूले त्यहाँ शिवरात्रिको रातमा चार प्रहरको चार किसिमको पूजा गर्नको साथै महादीप, अखण्ड दीप, लखबत्ती आदि दीपोत्सवका साथ लख विल्वपत्र अर्पणादि गर्दछन्। यसको अतिरित्त शिवरात्रिको व्रत लिने मानिसहरूले त्रयोदशीको दिनमा एक छाक मात्र खाई चतुर्दशीको दिन बिहान कालो तिल आदिले नुहाएर प्रत्येक प्रहरमा षोडयोपचारले शिवजीको पूजा गर्दछन्। पूजा गर्दा धतुरो, बेलपत्रादि पनि चढाउँछन्। यो पर्वोत्सवको दिन दिउँसो टुंडिखेलमा बढाइँ गर्ने भनी तोप र बन्दुकको ब्ल्याङ्क फायर गरिन्छ र राति शिव–मन्दिरहरू र अरु अरु पनि देव देवीहरूका मन्दिर अगाडि आगो बालेर भजन, कीर्तन गरी जाग्राम बस्ने गरिन्छ। त्यसरी राति बालिएका आगोमा हलुवा पकाउने तथा मकै, मटमास, बदाम आदि भूट्ने पनि गरिन्छ। यी वस्तुहरू जाग्राम बस्ने मानिसहरूले आपस आपसमा बाँडेर खान्छन्। यो भन्दा अघि शिवरात्रिको दिन बेलुकीपख टोल टोलका केटाकेटीहरू एकएक हुल बाँधी “महादेवलाई जाडो भयो दाउरा दुइ दुइ कप्टेरा पाउँ” भनी दाउरा माग्दै हिँडेको दृश्य खुब रमाइलो देखिन्छ। तर आजकल यस प्रकारले यो पर्वोत्सव मनाइएको कमै मात्रामा देख्न पाइन्छ।  

यो पर्वोत्सवमा पशुपतिनाथको दर्शन गर्न काठमाडौँ उपत्यकामा आउने यात्रीहरूको सुखसुविधाको लागि सरकार तर्फबाट केही दिन अगाडिदेखि नै ठाउँठाउँका पाटी, पौवा, सतल, धर्मशालाहरू खुला र सफा सुग्घर गराई ठाउँ ठाउँमा छप्पड समेत बनाउन लगाई चाहिने ठाउँमा अस्थायी अस्पतालहरू, पाइखाना र इत्यादि चाहिने कुराको सबै बन्दोबस्त गराइन्छ। यात्रीहरू र भरियाहरूको लागि बढी भाग, महसूल र ज्याला लिन नपाइने प्रबन्ध पनि सरकारबाट मिलाइन्छ। साथै शिवरात्रिको केही दिन अघिदेखि दुई–तीन दिन पछिसम्म शिवरात्रि मेलामा पशुपतिनाथको दर्शन गर्न आएका सिद्ध, यति, साधु, सन्त तथा महात्माहरूलाई सरकार तर्फबाट सौदा, हण्डी र खाने कुरो तथा लत्ता–कपडाहरू पनि बाडिन्छ। यस बाहेक सामाजिक संस्थाहरू, स्वयंसेवकहरू र स्कूल–स्कूलका बालचरहरूले पनि अनेक प्रकारले यो शिवरात्रि चाड पर्वोत्सवको बेला यात्रीहरूको सेवानार्थ गर्नमा तल्लीन हुन्छन्।  

फाल्गुन कृष्ण त्रयोदशीको दिन स्नानादि कार्य गरी ब्रतोपवास बसेर त्यस दिन राति जाग्राम बस्ने र त्रयोदशी सिद्धिई चतुर्दशी लाग्ना साथ महादेव र शिवलिङ्ग परिक्रमा गरी अर्ध दिने र शिवरात्रिको दिन पनि जाग्राम बसी होम गर्ने कार्यहरू गर्नाले सर्व शिद्धि लाभ हुन्छ भनी यो शिवरात्रि पर्वोत्सवको महत्व बारे लिङ्गपुराणे ‘महादेव वचन’ भनी लेखिएको छ। साथै ‘भारतीय ब्रतोत्सव’ नामक पुस्तकमा पनि अमान्तमासको दृष्टिकोटबाट भनी यस शिवरात्रि पर्वोत्सवको महत्व बारे शिवजीले पार्वतीलाई बताउनु भएको कुरा लेखिएको छ। पार्वतीले शिवजीसँग व्रतोत्सव मध्ये सर्वोत्तम व्रतोत्सव कुन हो भनी सोध्दा शिवले व्रतोत्सवहरू मध्ये सर्वोत्तम व्रतोत्सव शिवरात्रिको व्रतोत्सव हो र यस दिन जो व्यक्तीले शुद्ध भई शुद्ध चित्त राखेर ब्रतोपवास बस्दछ त्यो व्यक्तियमलोक जानु पर्ने कार्यबाट मुक्त हुन्छ भन्नु भयो। यस प्रकार यस पर्वोत्सवको महत्व बारेका कुराहरू लेखिएको देखिन्छ।

उपर्युक्त कथनहरूको आधारमा मात्र मनन गर्दा यो पर्वोत्सवको उत्पत्ति तथा महत्वका कारणहरू धार्मिक तथा आध्यात्मिक कुराहरू मात्र हुन् कि भने जस्तो लाग्छ। तर अलि बढी विचार गरेर हेर्दा यो शिवरात्रि पर्वोत्सवको उत्पत्ति तथा महत्वका कारणहरू उपर्युक्त कारणहरूको अतिरिक्त वैज्ञानिक, आर्थिक, तथा स्वास्थ्य–रक्षा आदिका कारणहरू पनि हुन् भन्ने कुरा स्पष्ट तवरले देखिन आउँदछ। यो पर्वोत्सवको बखतमा स्नान तथा शुद्धीका कार्य गरिने हुनाले स्वास्थ्य रक्षा हुने कुरा पनि देखिन्छ। साथै यो बखतमा देश–विदेशबाट धेरै मानिसहरू आउने हुँदा यहाँ बनाइएका विभिन्न प्रकारका वस्तुहरू बिक्री भई देशको लागि आर्थिक लाभ पनि हुन्छ। यो पर्वोत्सव मनाउनाले आफ्नो संस्कृतिको रक्षा भइरहन्छ। कारण यो शिवरात्रि नेपाल अधिराज्यको राष्ट्रिय सांस्कृतिक पर्वोत्सव हो भन्नुमा दुई मत छैन। तसर्थ हामी सबैले यो पर्वोत्सवको महत्व बुझ्न जरुरी देखिन्छ।

प्रकाशित: १४ फाल्गुन २०८१ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App