सिनेमामा मृत्युशय्यामा परेका मानिसलाई कुनै देवीदेवताको हातबाट ‘किरण’ गएर व्यक्ति ‘उठेको’ चमत्कार देखिन्छ। वास्तविक जीवनमा देवीदेवताको हातबाट त्यसरी ‘किरण’ निस्केको देखिन्न। तैपनि मानिसहरू ‘फिल्म’ हेरेर एकछिन भए पनि आनन्द लिन्छन्। यस्तो फिल्ममा कसैले विश्वास गर्छन्, कसैले गर्दैनन्।
धामी, झाँक्रीको जस्तै पहिले पहिलेको घटनाबाट प्रेरित भएर हो कि, अहिले त्यसैगरी केही हिन्दु/बौद्ध धर्मबाट क्रिस्चियन धर्मगुरु भएका नेपालीहरूले युट्युब, रेडियो, टिभीमा भनेको सुनिन्छ– ‘अस्पतालमा पनि उपचार हुन नसकेका रोग हामीकहाँ आएपछि ठिक हुन्छन्। परमेश्वरलाई प्राथना गरेपछि जस्तो रोग पनि ठिक हुन्छ।’
त्यसरी अरू धर्मबाट ‘क्रिस्चियन’ भएका नेपाली धर्मगुरुले सोझासिधा, नपढेका र सहजै अरूलाई विश्वास गर्ने गाउँ वा काठमाडौंको कुनामा वा जनजातिहरूलाई ‘धर्म परिवर्तन गरेर परमेश्वरको शरणमा आएर प्रार्थना गरे सबै रोग ठिक हुन्छन्’ भनेर भ्रम छर्छन्। म हिन्दु मातापिताबाट जन्में, हिन्दु रीतिरिवाजलाई मान्छु। तर हिन्दु धर्ममा गरिने अनेक थरीका कर्मकाण्ड, जाति प्रथा, लैंगिक असमानताको विरोध पनि गर्न सक्छु, गरिरहेकी छु।
मैले अफगानिस्तान, इरान, सुडान, लाओस, श्रीलंकाजस्ता ठाउँमा काम गर्दा मुस्लिम, क्रिस्चियन, बौद्ध आदि धर्ममा विश्वास गर्ने समुदायसँग काम गरेँ। उनीहरूको विश्वास र धार्मिक आस्थालाई आदर गरेर मस्जिद, चर्चभित्र गएर प्रार्थना गरेँ। मलाई आनन्द पनि भयो। मेरा अहिले पनि धेरै क्रिस्चियन, मुस्लिम साथी छन्। उनीहरू पनि आफ्नै धर्ममा भएको धार्मिक असहिष्णु, अन्धविश्वास आदिको विरोध गर्छन्। कति जना खुलेर बोल्छन्, कति बोल्दैनन्, बोल्न सक्दैनन्। म चाहिँ कुनै पनि ‘धर्म तथा कथित धार्मिक गुरुहरूले’ गरिब सोझा जनताको मस्तिष्कमा ‘मेरो धर्म राम्रो, आफ्नो संस्कार र धर्म छोडेर म कहाँ आऊ, मेरो भगवान्को शरणमा पुगेपछि र प्रार्थना गरेपछि तिम्रा सबै रोग हट्छन्’ जस्ता भ्रमपूर्ण प्रचार गरे भने त्यसको विरोध नै गर्छु।
मकवानपुरको चेपाङ बस्तीमा जाँदा अनेक ठाउँमा क्रिस्चियन धर्म मान्ने व्यक्तिहरू भेटें। उनीहरू आफैंले ‘जिसस क्राइस्ट’लाई विश्वास गरेर बाइबल पढेर क्रिस्चियन भएको भए केही आपत्ति छैन। हरेक विचारशील व्यक्तिलाई आफ्नो धर्म छान्ने अधिकार छ। म ‘कुनै धर्म मान्दिनँ, नास्तिक हुँ’ भन्ने अधिकार पनि छ। तर, जब धर्मगुरुले ‘मेरो परमेश्वरलाई प्रार्थना गरे छारे रोग, क्षयरोग ठिक हुन्छ’ भनेर झुक्याउँछन्, त्यसको विरोध गर्न परेन र?
क्रिस्चियन धर्मगुरुहरूले भनेजस्तो ‘अस्पतालमा ठीक नभएका बिरामी उनीहरूकहाँ आएर प्रार्थना गरे रोग ठिक हुने भए फिलिपिन्स, अमेरिका, युरोप वा भारतमा क्रिस्चियन धर्म मान्ने व्यक्ति धेरै भएका ठाउँमा त आधुनिक डाक्टर र अस्पतालको जरुरत पर्दैनथ्यो होला। अमेरिकामा क्रिस्चियन धर्मगुरुले यसरी टिभीमा ‘तिमीहरू अस्पताल गएर औषधी नगर। त्यहाँबाट ठिक नभएपछि म कहाँ नै आउनुपर्छ। बरु पहिले नै आऊ’ भनेर बोले भने के त्यहाँको जनमानसले केही बोल्दैन होला?
नेपालका विभिन्न ठाउँ दैलेख, डोटी, मकवानपुर, डडेलधुरामा जाँदा चर्चहरूमा बाइबल पढ्नेको संख्या पनि देखें। कमसेकम अक्षर नचिन्नेहरूलाई साक्षर गराएर बाइबल पढ्न सक्नेसम्म इसाई धर्म मान्ने साथीहरूले बनाएछन् भनेर ठिकै मान्न सकिएला तर बाइबल पढेर सबै समस्या समाधान हुन्छ, रोग निको हुन्छ, त्यसैले ‘परमेश्वरको शरणमा आऊ, रोग भगाउ’ भनेर झुटा बोल्न कति उचित होला?
विभिन्न ठाँउमा धामी, झाँक्रीहरूले मानिसलाई पिट्दै भुत झारेका घटना नेपालमा पहिले धेरै सुनिन्थे। अहिले कम भए पनि यदाकदा सुनिन्छन्। जनमानसमा अहिले धेरै चेतना आइसकेकाले यो समस्या कम भएको छ। यद्यपि धामी, झाँक्रीकहाँ गएर मानिसहरूले केही फुकफाक त गराउँछन्। तर क्षय रोग लाग्दा धामीले फुकेर निको हुने कुरामा सत्यता छैन भनेर धेरैले बुझिसकेका छन्।
हामीले छारे रोग लागेका व्यक्तिलाई कुटेर रोग भगाउने धामीहरूको विरोध गर्यौं। धामीहरूले ‘झाडापखाला लाग्दा बच्चालाई पानी नदिनू, भगवान्लाई अन्डा र कुखुरा चढाउनू’ भन्ने वाहियत कुराको विरोध गर्यौं। त्यसैगरी क्रिस्चियन धर्म गुरुहरूले ‘परमेश्वरको शरणमा आएपछि र प्रार्थना गरेपछि सबै रोग निको हुन्छ’ भनेर भ्रमपूर्ण प्रचार गर्नेहरूको पनि विरोध गर्नैपर्छ। नत्र सिधासादा त्यसमाथि पनि ‘जात प्रथा’बाट पीडित भएर, आक्रोशित भएका दलितलाई ‘ठग्न’ सजिलो हुन्छ।
यसरी मानिसको भावनासँग खेलवाड गरिएको हो भने त यो झनै खराब काम भयो किनभने दलितहरू बिरामी भएर स्वास्थ्य चौकी वा अस्पतालको साटो ‘सानी नानीलाई निमोनिया हुँदा परमेश्वरले ठिक पार्छन्’ भन्दै चर्चमा गएर हात जोड्दै बाइबल पाठसाथ प्रार्थना मात्र गरे भने निमोनिया त निको हुँदैन होला। त्यो बेला बच्चाको मृत्यु भयो भने ‘परमेश्वरले लगे’ भनेर बस्न सकिन्छ होला त?
आफ्नो आस्था–विश्वासअनुसार जीवन चलाउन सबैलाई अधिकार भए पनि नेपालका दलका नेता जस्तै क्रिस्चियन धर्मगुरुले सोझाहरूको विश्वासमा घात गर्न ठिक होला त? परमेश्वरलाई प्रार्थना गरेर रोग निको हुने हो भने भ्याटिकन सिटीका पोपलाई पार्किन्सन्सको समस्या हुँदैनथ्यो होला। उनलाई चिकित्सा गर्ने डाक्टरका अनुसार भ्याटिकनले झन्डै १२ वर्षसम्म पोपलाई पार्किन्सन्स रोग लागेको कुरा लुकाएर राख्यो। संसारभरिका क्रिस्चियनहरूका धर्मगुरुले के परमेश्वरलाई प्रार्थना गरेर ‘पार्किन्सन्स रोग’ (हात काम्ने, हिँड्न गाह्रो हुने समस्या) निको पार्न प्रार्थना गरेनन् होला त? खोइ, उनलाई निको भएन त?
के नेपालका क्रिस्चियनहरूले ‘पार्किन्सन्स रोग’ प्रार्थना गरेर ठिक पार्न सक्छन् होला त? अहिलेका भ्याटिकनका धर्मगुरु पोप फ्रान्सिस २०२१ को जुलाई महिनामा ६ घन्टा लामो शल्यक्रिया गरेर १३ इन्चजति उनको आन्द्रा निकालिएको थियो। अहिले उनलाइ ढाड, घुँडा, पुट्ठा दुख्ने समस्या छ। पोप त बिरामी पर्छन् र उनलाई आधुनिक डाक्टरको सहायता चाहिन्छ भने कसरी नेपालका क्रिस्चियन धर्मगुरुहरूले ‘हामीकहाँ आएर प्रार्थना गर्नुस्। सबै ठिक हुन्छ’ भन्न सकेका होलान्?
हो, विश्वासमा पनि शक्ति हुन्छ। प्रार्थना गर्दा हामीलाई आत्मविश्वास बढ्छ। तर जस्तो रोग पनि निको पार्छु भनेर कुनै धर्मगुरुले भने पनि विश्वास नगर्नुहोस्। ठगहरूको फन्दाबाट बच्नुहोला है।
प्रकाशित: ९ फाल्गुन २०८१ ०५:२८ शुक्रबार

