फेब्रुअरी १३ तारिखमा पर्ने विश्व रेडियो दिवस रेडियोकर्मीहरूले उत्साहका साथ मनाउँदै छन्। योसँगै एफएम रेडियो कहिलेसम्म बाँच्ला भन्ने चिन्ता पनि थपिएको छ। यस वर्ष रेडियो दिवसका अवसरमा रेडियोले विगत दशकमा गरेको योगदानको समीक्षा गर्दै आगामी दिनमा यसले कुन बाटो लिनुपर्छ भन्ने बहस भैरहेको छ।
विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि आमसञ्चारको एक सशक्त माध्ययमका रूपमा विकास भएसँगै रेडियोले धेरै राम्रो काम गर्यो। तर आज नयाँ मिडिया र सामाजिक सञ्जालको विकाससँगै रेडियोले स्रोता गुमाउँदै गएको छ।
सहरी क्षेत्रमा रेडियोमा आउने समाचार कुरेर बस्नुपर्ने अवस्था छैन तर नेपालको सुदूरपश्चिम, कर्णालीका साथै सबै उच्च पहाडी हिमाली जिल्लामा अझै पनि स्थानीय रेडियो नै सूचना र सचेतनाको पहिलो माध्यमका रूपमा रहेका विभिन्न अध्ययनले देखाएका छन्।
एफएम रेडियोको विकासमा दक्षिण एसियामा नेपाल अग्रपंक्तिमा छ तर यी रेडियोलाई अबको बदलिँदो परिस्थितिमा कसरी जोगाउने भन्ने चुनौती थपिएको छ। शुल्क तिरेर लाइसेन्स लिएर रेडियो सेट राख्ने अवस्थाबाट आज हामी हात हातमा भएको मोबाइलबाट सजिलै रेडियो सुन्न सक्ने अवस्थामा आइपुगेका छौँ। आज देशभर खुलेका स्थानीय रेडियोले अडियो मात्रै प्रसारण गर्ने होइन, अनलाइन, युट्युब र सामाजिक सञ्जालबाट आफ्ना सामग्री प्रस्तुत गर्ने भएका छन्।
यसर्थ अब रेडियोको स्वरूप परिवर्तन भएको छ। रेडियो सेटबाट सुन्ने स्रोता मात्रै नभएर अनलाइन र सामाजिक सञ्जालबाट सुन्नेहरूको संख्या पनि बढ्दै गएको छ। स्थानीय रेडियोको प्रसारण अनलाइनबाट विश्वभरि पुगेका नेपालीले सुन्ने अवस्था छ। रेडियोको विषयवस्तुलाई स्रोताको चाहनाअनुसार अघि बढाउन सकियो भने अझै पनि रेडियोको धेरै सम्भावना रहेको पाइन्छ।
सूचनामा हुने चलखेल र मिथ्या सूचना जस्ता कुराले नागरिकको निर्णय प्रक्रियालाई असर पार्ने र यसले लोकतन्त्रलाई प्रभाव पार्ने निष्कर्ष निकाल्दै स्थानीय रेडियोले नै सामाजिक सञ्जालमा आउने मिथ्या सूचनालाई चिर्ने र सही तथ्य सूचना दिने काम गर्न सक्छन्। नेपालको परिप्रेक्ष्यमा पनि मिथ्या सूचनाको संख्या र प्रभाव बढ्दो रहेको अध्ययनहरू देखाउँछन्।
सिएमआर नेपालले सोसल मिडिया प्रयोगकर्ताबीच गरेको अध्ययनले ९० प्रतिशतभन्दा बढी व्यक्तिले सोसल मिडियामा मिथ्या सूचना देख्ने र यसले नेपाली समाज र राजनीतिलाई असर गर्न थालेको देखाएको छ। कृत्रिम बौद्धिकता पनि भनिने एआई यान्त्रिक सुझबुझमा आधारित प्रविधिले सूचनाको संसारलाई अझै धमिल्याउन सक्ने देखिएकाले स्थानीय रेडियोलाई भरपर्दो सूचनाको केन्द्रका रूपमा विकास गर्ने र रेडियोलाई बचाइरहने रणनीति स्थानीय सरकारले पनि लिनुपर्दछ।
राजनीतिक परिवर्तनका लागि भएको पछिल्ला जनआन्दोलनहरूमा रेडियोले खेलेको भूमिकालाई राजनीतिक दलले भुल्नु हुँदैन र एफएम रेडियोलाई बचाउन सहयोग गर्नुपर्छ। स्रोताहरू अर्कै सञ्चार माध्ययमा आकर्षित हुँदै जानु अर्कोतर्फ एफएम रेडियोले विज्ञापन बजार नपाउनु जस्ता कारण रेडियो आर्थिक संकटमा पर्न थाले। सरकारले रेडियोसम्बन्धी स्पष्ट नीति नियमको व्यवस्था नगरेकाले सामुदायिक रेडियोहरू निकै समस्यामा परेका छन्। आर्थिक अभावले ९० भन्दा बढी एफएम रेडियो बन्द भैसकेका छन् भने धेरै रेडियो बन्द हुने अवस्थामा पुगेका छन्।
सामाजिक र राजनीतिक परिवर्तनमा सघाउ पुर्याएका रेडियोको आवश्यकता ठूलो भएकाले यिनीहरूलाई जोगाउनु सबैको कर्तव्य हो। यस्ता सञ्चार माध्यम बन्द भए भने लोकतन्त्र र सुशासनमा असर पुग्छ। त्यसैले अहिले आर्थिक संकटमा रहेका रेडियोलाई सबैले सहयोग गरी बचाउनुपर्छ। यसका साथै विभिन्न विपद्का समयमा रेडियोको ठूलो भूमिका रहेको देखिन्छ।
२०७२ सालको भूकम्प, तराईको डुवानमा होस् वा कोरोनाले निम्त्याएको संकटमा, रेडियोले महत्त्वपूर्ण भूमिका खेलेका छन्। त्यस्तै गत कात्तिकमा आएको जाजरकोट भूकम्पमा पनि रेडियोले समुदायलाई जानकारी तथा आवश्यक सूचना प्रवाहमा राम्रो भूमिका खेल्यो। त्यसैले विपद्को साथीका रूपमा पहिचान बनाएका देशभरि फैलिएका एफएम रेडियोहरू बचाउनेखालको नीति तीनै तहका सरकारले अवलम्बन गर्नु आवश्यक छ।
–आचार्य सामुदायिक सूचना नेटवर्क, सिआइएनका प्रमुख हुन्।
प्रकाशित: १ फाल्गुन २०८१ ०८:५८ बिहीबार

