१४ पुस २०८२ सोमबार
image/svg+xml
विचार

स्वस्थानी, प्रणय दिवस र प्रेम

नेपालमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिन अवधिमा सतीदेवीको अंग पतन भएका विभिन्न शक्तिपीठको पूजा आराधना गरेर र स्वस्थानी वाचन गरी देवीको आराधना गर्ने परम्परा छ। सतीदेवीको अंग पतन भएका स्थानमा देवी देवताको वास रहेको विश्वासका आधारमा शक्तिपीठ दर्शन गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्वीहरूले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना गर्दै महिना दिनमा यसको सांगेता गर्ने चलन छ।

यसैबिच पर्ने प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स् डे’ फेब्रुअरी १४ लाई पनि नेपाली युवाले उत्साहपूर्वक मनाउने गरेका छन्। संयोग मान्न सकिन्छ, स्वस्थानी र भ्यालेन्टाइन डेबीचको सेतु प्रेमको सार हुन सक्छ। यसो भन्दै गर्दा हाम्रो पुरातन सोचले कहाँ पाश्चात्य परम्परामा आधारित भ्यालेन्टाइन डे कहाँ वैदिक सनातन धर्म परम्पराको स्वस्थानी देवीको परम्परा भन्ने कुरा पनि आउने गर्छ। तर, सार यही हो कि प्रेम कुनै धर्म र परम्परामा सीमित हुँदैन। स्वस्थानमा रहनुलाई स्वस्थानी भनिन्छ भने प्रेम जस्तो अरू कुन चिज होला जो प्रेमकै स्थानमा रहन्छ। कुनै लेनदेन र स्वार्थमा सीमित हुँदैन।

प्रेम आफैँमा भक्ति, समर्पण र बलिदानको रूप हो। त्यसैले जुन भूगोल, जुन धर्म र परम्परामा यसलाई व्याख्या गर्ने प्रयास गरे पनि प्रेम त शब्दभन्दा परको अनुभूति हो। एकातिर स्वस्थानी देवीको व्रत र पूजाआजा महिलाले नै गर्ने प्रचलन र अर्कोतिर भ्यालेन्टाइनको कथाअनुसार हजारौँ वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन् भन्ने उर्दी जारी गरेका थिए। सैनिकहरू विवाह बन्धनमा बाँधिएको खण्डमा युद्ध सफल नहुने धारणा राख्ने राजाको आदेशविरुद्ध भ्यालेन्टाइन नामका पादरीले धेरैको विवाह गराएका थिए। आफ्नो आदेशविरुद्ध सैनिकहरूको विवाह गराएको भन्दै १४ फेब्रुअरीमा पादरीलाई फाँसी दिएको र सोही दिन पादरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाउन थालिएको उल्लेख पाइन्छ।

प्रेम एउटा कालातीत शक्ति हो जसले संस्कृति, परम्परा र युगलाई पार गर्छ। चाहे स्वस्थानी व्रतकथाका पवित्र कथाहरूमा होस् वा भ्यालेन्टाइन्स डेको रोमाञ्चक भावनाहरूमा, प्रेम मानव जीवनलाई शान्ति दिने एक मार्गदर्शक भावना हो। स्वस्थानी व्रत कथाले भक्ति, त्याग र विश्वासको माध्यमबाट प्रेमको चित्रण गर्छ भने भ्यालेन्टाइन्स डेले प्रेमलाई समर्पण, आत्मगत र हार्दिक सम्बन्धका रूपमा चित्रण गर्छ। मूलतः दुवै पर्व या परम्पराले एउटा विश्वव्यापी सत्यलाई समानरूपमा हेरेको बुझ्न सकिन्छ जुन भावनाहरूको बारेमा मात्र होइन समर्पण, समझ र सहनशीलता।

स्वस्थानी व्रत कथामा सती र भगवान शिवको कथा ईश्वरीय प्रेमको सबैभन्दा शक्तिशाली चित्रण मान्न सकिन्छ। सती, शिवको गहिरो प्रेममा रहन सामाजिक मान्यताहरूको अवहेलनालाई पनि पर्वाह गर्दिनन्। जब उनका पिताले शिवको अनादर गर्छन्, उनी आफ्नो भक्ति कायम राख्न आफ्नो जीवन बलिदान गर्छिन्। यस कथाले प्रेम शारीरिक उपस्थितिभन्दा बाहिर छ भनेर सिकाउँछ, अनि बफादारी, भरोसा र आध्यात्मिक सम्बन्ध महसुस गराउँछ।

अर्को कथामा पार्वतीले शिवजीसँग पुनर्मिलन गर्न गहन ध्यान गर्छिन् र साँचो प्रेममा धैर्य, त्याग र अटुट विश्वासको खाँचो छ भन्ने प्रमाणित गर्छिन्। पाश्चात्य परम्परामा आधारित भ्यालेन्टाइन्स डेले प्रेमलाई फरक तरिकाले मनाउँछ। जहाँ प्रेम व्यक्त गर्ने, प्रेमी/प्रेमिकाबीचको बन्धनको कदर गर्ने र हार्दिकता व्यक्त गर्ने परम्परा छ। चकलेट र फूलहरूका साथ मानिने यो प्रेम पर्व प्रियजनहरूको प्रशंसा र सम्बन्धको पोषणमा निहित देखिन्छ। प्रणय दिवसले हामीलाई सम्झाउँछ कि प्रेम भनेको सही व्यक्ति फेला पार्नु मात्र होइन, हरेक दिन तिनीहरूको मूल्यांकन र सम्मान गर्नु पनि हो।

सांस्कृतिक भिन्नताका बाबजुद, स्वस्थानी व्रत कथा र भ्यालेन्टाइन्स डे दुवैको गहिरो सत्य हो– भक्ति, प्रेम र प्रतिबद्धता। पार्वतीले शिवजीको तपस्या गरेर होस् वा भ्यालेन्टाइन्स डेमा सामान्य हार्दिक भावले होस्, एकअर्काबीच हेरचाह र इमानदारीका साथ पोषण भए मात्र प्रेम फस्टाउँछ भन्ने सन्देश दिन्छ। साँचो प्रेम केवल महान् व्यक्तिहरूमा र कथामा मात्र होइन, प्रत्येक व्यक्तिमा, हरेक दिनको बलिदान, धैर्य र विश्वासबाट विकसित हुन्छ किनकि प्रेमको शुद्धतम रूप अनुष्ठान र परम्पराभन्दा माथि छ। 

प्रेम एक शक्ति हो जसले आत्माहरूलाई जोड्छ। ईश्वरीय होस् वा सांसारिक, प्रेमको सबैभन्दा ठूलो शक्ति मानसिक रूपान्तरण गर्ने, चिन्तालाई दूर गर्ने र जीवनलाई अर्थपूर्ण बनाउने क्षमतामा निहित छ। प्रेम मानव अस्तित्वको सबैभन्दा गहन र अवर्णनीय शक्ति हो। यो केवल एक भावना, एक आकर्षण वा दुई व्यक्तिबीचको बन्धन होइन। यसको गहिरो अर्थमा, प्रेम अस्तित्वको अवस्था हो, एक शक्ति जुन समय, स्थान र भौतिक संसारलाई पार गर्छ। साँचो प्रेम निसर्त हुन्छ, यो बदलामा प्राप्त हुने कुरामा निर्भर हुँदैन तर स्वतन्त्रतापूर्वक प्रवाहित हुन्छ र केवल दोस्रोलाई दिन र पालनपोषण गर्न खोज्छ।

प्रकाशित: २९ माघ २०८१ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App