पहिलो मधेस आन्दोलनको गर्भबाट उदय भएका मधेसकेन्द्रित दलहरू पुनः एकपटक एकता, सहकार्य र मोर्चाबन्दीका लागि कम्मर कसेर लागिपरेका छन्। समान विचार, सिद्धान्त र अजेन्डा हुने दलबीच एकता, सहकार्य र मोर्चाबन्दी हुनु राजनीतिक रूपमा अलग अलग बसेर ससाना पसल चलाउनुभन्दा एकै ठाँउमा गोलबन्द भई सामूहिक लक्ष्य र अजेन्डाका लागि काम गर्नु देश र समाजकै लागि राम्रो हुने अपेक्षा गर्न सकिन्छ। तर, विगतमा पनि यस्तै मोर्चाबन्दी, सहकार्य र एकता गरेर टिकाउन नसकेको तीतो अनुभव बटुलीसकेका मधेसकेन्द्रित दलका नेताहरू पुनः एकता, सहकार्य र मोर्चाबन्दीका लागि अग्रसर हुँदा स्वयं उनीहरूका पार्टीका नेता, कार्यकर्ता सहमत हुन सकेका छैनन्।
अहिले चलिरहेको एकता, सहकार्य र मोर्चाबन्दीको विषयमा जसपा एकजना युवा नेतालाई सोधेँ– ‘दलबीच पुनः एकताको विषयमा छलफल सुरु भएको छ, कति सम्भव छ एकता दलबीच?’
उनले उत्तर दिए– ‘एकता हुनु नराम्रो होइन तर एकताको आधार र धरातल बलियो नभई पुनः दलबीच एकता गर्नुको तुक छैन।’ अर्थात केका लागि किन एकता गर्ने भन्ने अहम् सवालको सही उत्तर खोज्न सके मधेसकेन्द्रित दलबीच चलिरहेको एकता वा सहकार्यको विषय तार्किक हुने उनको आसय थियो।
लामो समयदेखि एक ठाउँमा बस्न, उभिन र एकअर्काको अनुहारसमेत मन नपराउने मधेसकेन्द्रित दलका नेताहरू अहिले विस्तारै सकारात्मक देखिन थालेका छन्। यसै क्रममा माघ १० गते गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिमा आयोजित एक कार्यक्रममा मधेसकेन्द्रित दलका शीर्ष नेताहरू एउटै मञ्चमा देखा परे।
गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, नेता राजेन्द्र महतो, हृदयदेश त्रिपाठी, रेणु यादवलगायतका नेताहरू एउटै मञ्चबाट देखापरेपछि अहिले यिनै विषयलाई लिएर देश र मधेस तरंगित बनेको छ।
हिजोसम्म पानी बाराबारको अवस्थामा रहेका मधेसी नेताबीच एक ठाउँमा बसेर छलफल, चिन्तन र वार्ताका लागि कसरी सकारात्मक भए ? यो अहं सवाल हो। नेताहरूलाई कुन ‘भय’ ले त्रसित बनायो कि अचानक एकता र सहकार्यको गीत गुन्गुनाउन थाले वा अचानक मधेसी नेताहरू सपनाबाट ब्युँझिएर त्रिनेत्र खुलेपछि स्वविवेकले विगतमा जान अन्जानमा गरेका गल्ती महसुस भएर व्यक्तिगत स्वार्थ त्याग गर्न तयार भई विवेकी निर्णय गरेका हुन्?
माथि उल्लिखित दुवै विषयमा तर्क÷वितर्क गर्न सकिन्छ। पहिले भयको कुरा गरौँ, अहिले निर्वाचन आयोगले संघमा पाँच प्रतिशत र प्रदेशमा तीन प्रतिशत थ्रेसहोल्ड लगाउने सल्लाह दिएपछि सत्तासीन दुई ठूला दलले संविधान संशोधनमार्फत अगाडि बढेको खण्डमा अगामी निर्वाचनमा कुनै पनि साना दल वा मधेसकेन्द्रित दलले थ्रेसहोल्ड कटाउन नसक्ने र राष्ट्रिय दलको मान्यता नपाउने, आफूले कमाएको राजनीतिक साख गुम्ने ‘भय’ बाट त्रसित भई एकता र सहकार्यका लागि अगाडि बढेका त होइनन्? यसमा केही हदसम्म सत्यता भने छ। यसलाई दलका नेताहरूले सोझै नकार्ने अवस्था छैन।
अर्काेतर्फ, मधेसका शीर्ष नेताहरूले पाउनुपर्ने जे/जति अवसर र सेवा प्राप्त गरिसकेको र अब योभन्दा बढी केही प्राप्त नहुने निष्कर्ष निकाली जे/जति अधिकार प्राप्त भएको छ, यसलाई संस्थागत र संरक्षण गर्दै नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गर्ने र खण्डित मधेसका भूभाग र जनताको फाटेको मनलाई मलमपट्टी लगाउने उद्देश्का साथ सबै शक्ति एकजुट भएर अन्तिम धक्का दिने विवेकी निर्णयका साथ अगाडि बढेका हुन, समयक्रमले अवश्य पनि पुष्टि गर्दै जानेछ। तर ख्याल के राख्नुपर्छ भने एकता, सहकार्य र मोर्चाका लागि बलियो धरातल, एकताको सही सूत्र, विचार आदर्श र फराकिलो दायरा निर्माण गरी छलकपट र निस्वार्थ भावनाका साथ अगाडि बढे यसले सार्थक परिणाम दिने कुरामा आममधेसी जनतालाई विश्वस्त तुल्याउन सकिन्छ, अन्यथा यस्ता प्रयासले बालुवामा पानी खन्याए बराबर हुने प्रायः निश्चित छ।
यसका लागि शीर्ष नेतृत्व तहमा पनि नेताहरूको मनभित्र रहेका कटुता कम गर्न, चियापान, नास्ता र खाना खाने गरी बारम्बार छलफल हुनु जरुरी छ। जसले नेताहरूको मनमा रहेको कटुता र तुष कम हुने खुलेर कुरा गर्न सहज वातावरण निर्माण हुने अपेक्षा गर्न सकिन्छ। मनमा कटुता र तुष राखेर एक्लै हिँडे कहीँ नपुगिने गम्भीरतापूर्वक मनन गर्नैपर्छ।
इतिहासको कालखण्डमा जबजब मधेसी शक्तिहरू एक ठाउँमा उभिएका छन् तब राज्य सत्तालाई घुँडा टेकाउन बाध्य पारेका छन्। पहिलो संविधान सभामा मधेसी जनअधिकार फोरम, तमलोपा, सद्भावना पार्टीको बलियो उपस्थिति थियो। तर सरकारमा जानका लागि बारम्बार मन्त्री, पद र पैसाका लागि यति टुक्रामा विभाजित भएर शक्ति हीन हुन पुगेका घटनालाई राजनीतिक पाठकका रूपमा ग्रहण गर्दै यस्ता गल्ती कमजोरी नदोहो¥याउने दिशामा अगाडि बढ्नुको विकल्प छैन। मधेसी दलको शक्तिको स्रोत अरू कुनै ठाउँ नभई मधेसी जनता नै हुन, अन्यत्र शक्तिको स्रोत खोजे बलियोभन्दा पनि दिनानुदिन कमजोर हुनेबाहेक अरू केही हात लाग्दैन।
तसर्थ, मधेसकेन्द्रित दलहरू आन्तरिकरूपमा पनि गहन छलफल र तार्किक निष्कर्षमा पुग्न ठोस आधार तयार गरी सबैको सहमतिमा अगाडि बढ्नुपर्छ। अब केवल राजनीतिक शक्ति केवल एक ठाउँमा उभिएर मात्रै हुँदैन, मधेसका नागरिक समाज, बौद्धिक वर्ग, पेसाकर्मी, युवा, विद्यार्थी, पत्रकार लगायतका जो मधेस आन्दोलनमा निस्वार्थ भावनाका साथ योगदान दिए, तिनीहरूको योगदानलाई कदर गरी एकताबद्ध गर्दै केवल आन्दोलनमा साथ लिने मात्रै होइन कि अवसरमा पनि सहभागी गराउने प्रतिबद्धता गरेर अगाडि बढ्नुपर्छ।
विगतमा नेताहरूद्वारा जानअन्जानमा भएका गल्ती, कमीकमजोरी र त्रुटिका लागि सामूहिक क्षमायाचना गरे मधेसी जनताले पुनः साथ दिनेछ। तसर्थ आमजनता सामुन्ने माफी माग्न ढिला गर्नु हुन्न। जजसको भागमा जति जति पर्छ, सबैले गल्ती स्वीकार गरी मधेसको नयाँ मार्ग निर्माणमा जुट्नुपर्छ।
प्रकाशित: २५ माघ २०८१ ०६:२१ शुक्रबार

