१० चैत्र २०८२ मंगलबार
image/svg+xml
विचार

मानसिक तनावबाट यसरी बच्ने

एउटी कामकाजी महिला छिन्। घरको काम र जगिरका साथै उनी अन्य सामाजिक क्रियाकलापमा पनि सरिक हुन्छिन्। उनलाई लाग्छ, उनले हेरिनन् भने सबै कुरा लथालिङ्ग हुन्छ, सबै ठाउँमा उनले नै भ्याउनुपर्छ। त्यसैले भ्याउँछिन् पनि। जीवनका यी तमाम क्रियाकलाप र तिनबाट हुने शारीरिक र मानसिक थकानबारे उनी कसैसँग पनि कुरा गर्दिनन्। किनभने उनलाई मानिसले ‘जागिर खाएकी महिलाको बढी किचकिच गर्ने बानी हुन्छ, अन्य सबै महिलाले पनि त काम गरेकै छन् नि’ भन्छन् भन्ने लाग्छ। यस्ता वाक्य सुन्नुपर्ने डरले उनी आफूले नै सबै गर्न सक्ने देखाउँछिन्। तर थाहै नपाइकन ४० वर्ष नपुग्दै उनलाई टाउको दुख्ने, रिँगटा लाग्ने, भोक कम हुने समस्या देखा पर्छ।

उनी डाक्टरकहाँ जान्छिन्। रक्तचाप निकै माथि पुगेको हुन्छ। एक हप्तापछि जाँदा पनि उनको उच्च रक्तचापमा कुनै कमी आएको देखिँंदैन। त्यसपछि औषधि नै खानुपर्छ भन्छन्। औषधिले रक्तचाप कम हुन्छ, टाउको दुख्न पनि कम हुन्छ तर ससानो कुरामा रिस उठ्ने, कसैसँग बोल्न मन नलाग्ने, कतै जान मन नलाग्ने, सबै काम बोझ लाग्ने तर पनि गरिरहनुपर्ने जस्ता समस्याचाहिँ यथावत रहन्छन्। उनी उच्च रक्तचापको बिरामी भएको सबैलाई थाहा हुन्छ तर उनका अन्य समस्या भने उनीभित्रै सीमित रहन्छ।

सहरीकरणसँगै मानिसको बानी–व्यवहार बदलिँंदै जान्छ। परिवार र व्यक्ति एक्लिने प्रक्रिया बढ्दै जान्छ र समस्या पनि एक्लैले समाधान गर्नुपर्ने हुन जान्छ। त्यसपछि दैनिक जीवनका तनावलाई अलिअलि गर्दै झेल्दै जानुपर्छ र ससाना तनाव जम्मा हुँदै गएर यसले थाहा नपाइकन ठूलो रूप लिन्छ। परिणाम, अनेक किसिमका शारीरिक समस्या देखा पर्छन्। लामो समयसम्म तनाव भइरहेमा पछि मानसिक रोग, जस्तै– अवसादमा परिणत पनि हुन सक्छ।

त्यसैले उच्च रक्तचाप, मुटुको रोगले ‘आधुनिकताको रोग’ को संज्ञा पाएका छन्। पश्चिमा जगत्मा भौतिक सुख सुविधासँगसँगै विशेषगरी सहरी क्षेत्रमा यिनको प्रकोप बढ्दो छ।

कल्पना गर्नुहोस्, कुनै कुरामा चित्त नबुझेर वा कसैसित वादविवाद भएर तपाईँ घरबाट बाहिर निस्कनुभएको छ। बाटोमा हिँड्दा थाहा नपाइकनै तपाईँलाई साइकलले छुन्छ वा हतारमा कुनै मानिसको कुइनाले ठक्कर लाग्छ। अन्य अवस्थामा यस्ता कुरा वास्तै गर्नुहुन्नथ्यो होला तर आज तपाईँ आवेगमा हुनुहुन्छ। त्यसैले त्यस साइकलवालालाई गाली गर्नुहुन्छ। त्यहाँ जम्मा हुनेले अनेक सोध्न थाल्छन्। तपाईँको आवेग झन् बढ्दै जान्छ। दिनदिनै हुने यस्ता ससाना काण्डले तपाईभित्र लगातार रिस, आवेग र  चिड्चिडाहट पैदा भएपछि यसले तपाईको सम्पूर्ण दिनलाई मात्र होइन, बिस्तारै मुटुमा पनि नकारात्मक प्रभाव पार्छ।

अमेरिकाको ओहियो विश्वविद्यालयका मनोवैज्ञानिकले पत्ता लगाएअनुसार लगातारको रिस, आवेग र आक्रोशले मुटुका कोषहरू बिगार्छ। शरीरमा नराम्रोखालको बोसो बढाउँछन्। रिस उठ्दा वा आवेगमा आउँदा मुटुको धड्कन बढ्न जान्छ, शरीरको एड्रेनालिन नामक तनावजन्य आन्तरिक रस बढ्छ। एड्रेनालिनले रक्तचाप बढाउँछ र जसबाट शरीरका कोषिकामा भएको कोलेस्टेरोल रगत प्रभावित हुन्छ। ‘रिसाएको, तनाव वा दबाबमा भएको मानिसको र लगातार नकारात्मक सोचाइ राख्ने मानिसको रगतमा हामीले एडे«नालिनको मात्रा बढी पाएका छौं,’  डा. विलियम भन्छन्। जसले एङ्गर किल्स (रिसले मार्छ) भन्ने किताबै लेखेका छन्।

ढाड दुख्ने रोग आजकाल हरेक तेस्रो व्यक्तिलाई छ। तिनीमध्ये कतिपयलाई ढाड वा हीमा कुनै ठाउँमा खराबी पाइँदैन। तर त्यसका लागि अनेकथरीका औषधि प्रयोग पनि गरिन्छ। दुखाइ कहिले कम हुन्छ, कहिले बढी हुन्छ, तर त्यसले छोड्नचाहिँ कहिल्यै छाड्दैन। ढाड दुख्ने रोग जस्तै छालाका विभिन्न समस्या पनि मानसिक तनावसँग सम्बन्धित छन्। लगातार तनावमा भइरहने मानिसको अनुहार अँध्यारो र कालो हुन्छ। हामी कुनै मानिसलाई देखेर भन्ने पनि गर्छाैं– ‘कस्तो, जहिले पनि रिसाइरहने अनुहार !’

शारीरिक व्यथाले तनाव

जाँचका बेलामा विद्यार्थीलाई पखाला लाग्ने, वाक्वाकी हुने, बिरामी हुने जस्ता समस्याले सताउँछ। प्रायः यसको कारण बढी पढ्नुलाई ठानिन्छ। खासमा त्यो बढी पढेर होइन, मानसिक चिन्ता र तनावले गर्दा भएको हो। लगातार चिन्ता र तनावले गर्दा मुख सुक्खा हुने र पेटका विभिन्न रसले राम्रोसँग काम गर्दैन। अनि खाएको राम्रोसँग नपच्ने, सौच लागिरहने, पेट दुख्ने, पेटमा घाउ हुने आदि पनि हुन्छ।

वास्तवमा पश्चिमा वैज्ञानिकले सिद्ध गरिसकेका छन् मानिसका चिन्ता, पीर, खुसी, सकारात्मक र नकारात्मक भावना सबैले शरीरका कोषिकामा असर पार्छन्। त्यही कारणले गर्दा मानवीय भावनासँग शरीरभित्रको हर्मोन (आन्तरिक रस) पनि बढ्ने वा घट्ने प्रक्रिया हुन्छ। ‘मानसिक चिन्ताले ग्रस्त व्यक्तिहरूमा रोग प्रतिरोधात्मक शक्ति पनि कम हुन्छ’, चिकित्सा विज्ञानमा नोबेल पुरस्कार प्राप्त गर्ने न्युरोबायोलोजिस्ट रिता भी मान्टालसिनी बताउँछिन्– ‘यसबारे हामीलाई पहिलादेखि नै थाहा भए तापनि कोषिकाहरूको अनुसन्धान गर्न सकेका थिएनौँ तर हाल आएर विभिन्न अनुसन्धानबाट के देखिएको छ भने मानसिक तनावले विभिन्न कोषिका, ग्रन्थी र अङ्गहरूमा ठूलो  प्रभाव पार्छन्।

यसैले चिन्ता र पीरले ग्रस्त मानिसलाई घरीघरी रुघाखोकी लाग्छ। विभिन्न अनुसन्धानले मानव शरीरमा क्यान्सर रोगको पनि मानवीय संवेदना, आवेग र विशेषगरी नकारात्मक भावनासँग ठूलो सम्बन्ध रहेको स्पष्ट पारेका छन्। भावनात्मक असर प्रत्येक मानिसको जीवनमा परिरहेकै हुन्छ। तर कुनै मानिस तनाव र समस्याले होइन, त्यसप्रति प्रतिक्रिया गर्ने हाम्रो दृष्टिकोण कस्तो छ त्यसले हाम्रो शरीरमा असर पारिरहेको हुन्छ। त्यस्तै प्रकारले घरमा बिरामी मान्छेको हेरचाह गर्ने गृहिणी, सामान्य ठाकठुक परेर बोलचाल बन्द गरेका श्रीमान्–श्रीमती, स्कुलमा बच्चाले जाँचमा कम नम्बर ल्याउँदा बच्चालाई पिट्ने, झपार्ने, कराउने मातापिता आदिमा मानसिक तनाव परिरहन्छ।

तनाव हटाउने उपाय

आधुनिक मानसिक तनाव हटाउन सकिँदैन तर कुनै समस्यालाई तपाईं कसरी हेर्नुहुन्छ भन्ने दृष्टिकोण फरक पारेर पनि चिन्ता र तनावबाट केही हदसम्म बच्न सक्नुहुन्छ। जस्तै, कुनै दिन घर फोहोर भएको बेलामा पाहुना आए भने तपाईं भित्रभित्रै मुर्मुरिनुहुन्छ। यसलाई तपाईले कुचो लगाउन पाउनुभएन भन्ने सोचेर श्रीमान्सँग रिसाउँदै बच्चालाई झापड हिर्काउनुभन्दा अर्कै दृष्टिकोणले हेर्न सकिन्छ। ‘पाहुना आउँदा घर केही फोहोर त भयो तर आफ्नै घर हो सफा भइहाल्छ। पाहुनाहरू कुनै अर्कै लोकका मानिस होइनन्। चिनेजानेका मान्छे त हुन् नि’– सोचाइमा यसरी साधारण परिवर्तन हुने बित्तिकै तपाईंको मनमा विषालु तŒव  पस्न पाउँदैन।

मानसिक तनाव कम गर्ने अर्को उपाय हो– शारीरिक व्यायाम। बिहान–बेलुका हिँड्ने, कसरत गर्ने र केही नभए साथीहरूकहाँ गएर गफ गर्ने गरेर तनाव घटाउन सकिन्छ। हिँडाइले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्छ भन्ने विभिन्न अनुसन्धानले बताएका छन्। हिँड्दा, दौडँदा, खेल्दा, हाँस्दा शरीरमा सकारात्मक रसहरू पैदा हुन्छन्। तिनले शारीरिक तनावबाट पैदा हुने विषालु तत्त्वका असर हटाउनमा मद्दत गर्छन्। त्यस्तै योग साधना पनि सहायक हुन सक्छ।

धर्ममा आस्था छ भने मन्दिरमा गएर भजन सुन्ने, आफैँ भजन गर्ने आदिले पनि तनाव घटाउने काममा सहयोग गर्छन्। आर्थिक समस्यालाई आजको भोलि नै सुल्झाउन सकिन्न। तर आफ्ना जरुरतहरू कम गरेर केही हदसम्म बच्न सकिन्छ। कसैले विवाह भोजमा बोलाउँदा हरेकचोटि नयाँ लुगा र नयाँ गहना किन्नैपर्ने बाध्यताबाट आफूलाई मुक्त गर्न सकेमा आर्थिक समस्या र मानसिक तनावबाट बच्न सकिन्छ।  

प्रकाशित: २३ माघ २०८१ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %