प्रधानमन्त्री आमजनताका अभिभावक हुन्। उनी देशको मूली हुन्। घर सपार्ने, बिगार्ने मूली पिता भए जस्तै देश सपार्ने बिगार्ने जिम्मा पनि देशका मूली प्रधानमन्त्रीलाई हुन्छ। देश सपारेको जस र बिगारेको दोषको अपजस प्रधानमन्त्रीलाई हुन्छ। त्यो जिम्मा प्रधानमन्त्रीले लिनैपर्छ। नलिई सुख पाइन्न। कतै राष्ट्रका मूली राष्ट्रपति होलान्, त्यो बेग्लै कुरा हो।
मैले मेरै देशको कुरा गरिरहेको छु। हाम्रो देश धेरै दुःखकष्ट, हण्डर खाएर यहाँसम्म आइपुगेको छ। म २००९ सालमा जन्मिएको मान्छे। १०/१२ वर्षको हुँदादेखि गाउँका गन्यमान्यदेखि सबैजसो मानिस देश खत्तम भयो, केही हुन सकेन, यस्ता क्रियाकलापले कसरी देश बन्ला, विकास होला खै भन्थे। गाउँका डिठ्ठा विचारी, लप्टन भएका मान्छे पनि यसै भन्ने गर्थे। अहिले पनि गाउँ सहर जता जानोस्, यस्तै असन्तुष्टिका स्वर यत्रतत्र सुनिन्छ।
तर त्यो बेला र अहिलेको समयमा धेरै फरक भइसकेको छ। अहिले आएर घरघरमा मोटर बाटो पुगिसक्यो। बत्ती, धारा, बिजुली पुगिसके। त्यो बेलाको अनुपातमा अहिले आएर धेरै विकास भएको मान्न सकिन्छ तर पनि मानिसमा यसरी असन्तुष्टि किन चुलिएर गयो? यो कुरा सबैले मनन गर्न योग्य छ किनभने यतिबेला हामीले यतिले मात्र सन्तुष्टि मानेर बस्ने बेला छैन। त्यतिबेलाको हामी सँगैको भारतले आज फड्को मारेर कहाँ पुगिसक्यो, दक्षिण ध्रुवमा अन्तरिक्ष यान बसाल्यौँ भनिरहेको छ। चीन हेरौँ त, त्यत्रो जनसङ्ख्या भएको देश, तिनले के गरेर खालान् भनेको त त्यतिबेला हाम्रा कानले सुनेको कुरा हो। त्यस्ता देशले औद्योगिक क्रान्ति गरेर देखाइरहेको छ। कुनै नेपाली त्यहाँ पुग्दा तिनको विकास देखेर तीन छक्क खाएर फर्केका छन्।
हाम्रो यहाँ के भएको छ खै? केवल नेता मात्र मोटाए भन्छन् सबै। यो कुरा नेताले पनि मनन गर्नैपर्छ। के जनताले यसै भनेका हुन त? हैन नि। हामी सबैले देखिरहेका छौँ। कुनै कुनैले ज्यादती बोलेका होलान् मानौँ ल! तर सबै जनताले झुट बोलेका छैनन्। यो कुरा मान्नुपर्छ। कति जनता अध्ययन मनन नगरिकन यसै बोल्दैनन्, तिनले त झुट बोलेका छैनन् त्यो बेलाका र अहिलेका सर्वसाधारण जनता जहाँको तहीँ छन्। सर्वसाधारण जनताले त्यो बेलामा पनि केही पाएन। अहिले पनि केही पाएका छैनन्।
सारा बेरोजगारी जनता बाहिर खाडी मुलुकलगायत गएर अनेकौँ दुःखकष्ट हण्डर खाएर अर्काको भनाइ खाएर दुःखजिलो गरेर कमाएको पैसाबाट पनि देशलाई कर तिरेर खान बाध्य छन्। कति साहूको ऋण लिएर जान्छन्, रातो बाकसमा आएका हुन्छन्। ऋण तिर्न नसकेर बाबुआमा सुकुमबासी बनेका छन्, कति यहाँ बसेका जनता पनि सानोतिनो बन्द व्यापार गर्दा पनि करको मारले उठ्नै नसक्ने भएका छन्। महँगीले चरम सिमाना नाघेको छ। साना ठूला कर्मचारी सबै महँगीले उठ्नै नसक्ने भएका छन्।
ज्यालादारी मजदुरी गर्नेहरूले त बिहान बेलुका हातमुख जोर्नै सकेका छैनन्। नपढाऊँ भएन, छोराछोरीहरूलाई पढाउँदा डेराभाडा तिर, खानपिनको व्यवस्था गर, शुल्क तिर गर्दा समस्यै समस्यामा जेलिएका छन्। तिनको दिनचर्या कसरी बित्ने होला? विचारणीय कुरा छ। सम्झेर ल्याउँदा पनि आँसु आउँछ। देशमा उद्योगधन्दा केही छैन। सारा जनता अन्य मुलुक गएर आफ्नो गुजारा चलाउनु परेको छ। अब यसरी हुँदैन। देशमा अब एउटा नयाँ आर्थिक क्रान्ति ल्याउन पर्छ। तल बेसी फाँटमा मोटर कुदायौँ, अब माथि डाँडाका टाकुरा टाकुरामा रेल कुदाउनुपर्छ। सारा डाँडाका भञ्ज्याङ चुचुरामा रेल पुर्याउन सक्यौँ भने हाम्रा अग्ला अग्ला चुचुराबाट दृश्यावलोकन गर्न विश्व आउनेछ।
कसैलाई हाम्रो देशमा नआओभन्दा पनि हामीले थेग्न सकिने छैन। जस्तै हाम्रो बन्दीपुरको डाँडो, छिम्काको लेक, पाल्पाको माथि चुचुरो, तनहुँको मिर्लुङको चुचुरो, लमजुङको एउटा ऐतिहासिक डाँडा पुरानुकोटको थुम्को जस्ता यहाँ कैयौँ हाम्रा यस्ता ठाउँ छन्, जहाँ माथि गएर हेर्दा हामीलाई एउटा स्वर्गमा आइपुग्यौँ कि क्या हो जस्तो अनुभूति हुन्छ।
मानिस जे गर्दा पनि सुरुमा विरोध गर्छन्, जब कार्यान्वयनमा आउँछ, त्यो काम हुन्छ। काम देखेपछि तिनै गोडा ढोग्न आइपुग्छन्। यो निश्चित कुरा हो। जस्तै, साहित्यमा लक्ष्मीप्रसाद देवकोटा जिउँदो छउञ्जेल सबले लखेटे, बसिटिकिसक्नु नै गरेनन्। कतिले ल खा! भनेर घाँस पनि हाले अरे भनेको सुनेको हो। अहिले तिनैको पाउ पर्न आउँछन् सबै। त्यसकारण गरेर देखाउन सक्नुपर्छ। जसका लागि देशमा एउटा गतिलो नीति हुनुपर्दछ। देशका योग्य मान्छेले अवसर पाउनुपर्छ।
प्रकाशित: २२ माघ २०८१ ०८:३५ मंगलबार