१७ माघ २०८१ बिहीबार
image/svg+xml
विचार

रङ्गीविरङ्गी राजनीतिक नेतृत्व

राजनीतिक नेतृत्वले सर्वाधिक अर्थ राख्ने हुनाले रातोदिन यसै विषयमा चर्चा–परिचर्चा र तात्तातो बहसको अन्त्यहीन शृंखला जनमानसमा चलिरहनु खासै अतिशयोक्ति लाग्दैन। मूलभूत रूपमा प्रजातान्त्रिक, अहस्तक्षेपी र निरंकुश नेतृत्व शैली सबैभन्दा बढी उच्चारण भइरहन्छ। अझ पेचिलो सवाल त, कुन राजनीतिक नेतृत्व आदर्श/असल हो? भन्ने नै हो, जो सदैव जटिल, विवादास्पद र पक्षपातपूर्ण नै रहिआएको छ।

मूलतः जनतालाई सेवा प्रवाह अझ भनौँ सरोकारवालाहरूका आशा–अपेक्षा समयसापेक्ष ढङ्गले परिपूर्ति भए कि भएनन्, त्यसैले परख/मूल्याङ्कन गर्ला अनि राजनीतिक नेतृत्वलाई दीर्घजीवी/युगोचित दिशामा लैजाला। खासगरीकन गुणात्मक र  सङ्ख्यात्मक विधि अपनाई विभिन्न चरहरूको सिर्जना र सूत्रीकरणमार्फत राजनीतिक नेतृत्वको खुबी मापन गर्न केही हदसम्म सकिन्छ। यसलाई एकाधिक परिप्रेक्ष्यबाट विद्वत्गणले के कसरी मूल्याङ्कन/परख गर्न सुझाउँछन् त? आऔँ थोरै चिरफार गरौँ।

नेतृत्वका धेरै ढाँचा र सिद्धान्तहरूमध्ये अलिक पुरानो तर सर्वाधिक स्वीकारिएको ‘विशेषतामा आधारित ढाँचा’ हो। यसलाई मुख्यतः पाँच भागमा श्रेणीकृत गरिएको छ– आपसी सम्बन्ध (अरूसँग कति राम्रोसँग अन्तरक्रिया गर्न सक्छन्), प्रेरणादायक (अरूलाई कति राम्रोसँग प्रेरित गर्न सक्छन्), निर्देशात्मक (परिस्थितिहरूलाई कति राम्रोसँग नेतृत्व गर्न सक्छन्), समर्थनात्मक (अरूसँग कति समानुभूति देखाउँछन्) र आत्मविश्वास(आफैँसँग कत्तिको विश्वस्त छन्)।

लार्स टमर्स र इभा नाइसले सार्वजनिक नेतृत्वको भूमिका निर्वाहलाई मध्यनजर गर्दै चारवटा मापदण्ड विकास गरी विश्लेषण गरेका छन्– सरकारी नीतिनियमको परिपालना, राजनीतिक वफादारिता (राजनीतिज्ञको स्वार्थअनुरूप कार्य गर्न आफ्ना कर्मचारीलाई उत्प्रेरित गर्ने) र सञ्जाल सुशासन (आफ्ना कर्मचारीलाई सरोकारवालाहरूसँग सक्रिय सम्पर्क राख्न प्रोत्साहित गर्ने)। साथै यसमा मनोवैज्ञानिक मापनका बलिया मापदण्ड तथा शोध उपकरणहरू विकसित हुँदै गरेकाले सार्वजनिक सेवा उत्प्रेरणामै बढी भर परिन्छ। यसका अन्य धेरै महत्त्वपूर्ण भूमिकाहरू हुने लेखकद्वय जिकिर गर्छन्।

अर्कोतिर नेदरल्यान्ड्सका शोधकर्ताद्वय लोइस आल्डेरिङर रेन्स भ्लिइजेनथार्टले राजनीतिक नेतृत्वसम्बन्धी विस्तृत परिभाषा र धारणाहरूको अध्ययनपश्चात् नेतृत्व विशेषता/खुबीका मूलभूत  ६ आयाम (राजनीतिक कलाकौशल, उत्साह, इमानदारी, सञ्चारात्मक प्रदर्शन, स्थिरता र प्रतिक्रियाशीलता) पहिल्याए र तिबिचमा सहसम्बन्ध रहेको विषयवस्तु विश्लेषण विधिको प्रयोगद्वारा  उजागर गरे।

मेकियाभेलीदेखि यता सिद्धहस्त नेतृत्व कस्तो देखिनुपर्छ? केले उनीहरूलाई सफल र असफल बनाउँछ भन्ने कुरा वैचारिक छलफल तथा द्वन्द्वकै विषय रहँदै आएको छ तर यसमा ‘राजनीतिक  

पुँजी’ को पोको कति वजनदार छ र त्यसलाई कसरी सन्तुलित ढङ्गले खर्च गरिएको छ भन्नेमा धेरैको मतैक्य छ। सामान्यभाषामा राजनीतिक पुँजी भन्नाले नेतृत्वको उतारचढावको भोगाइ, राजनीतिक वृत्तभित्रको लोकप्रियता, विश्वसनीयता, इमान्दारिता, अजेन्डाको उठान र समाधान, कानुन पारित गराउन खेलेको भूमिका, अधिकारको भण्डार सीमित रहेकामा सचेत, अनुयायीहरूको बफादारिता, सम्बन्ध सञ्जाल, नैतिक/मानवीय आचार, दूरदर्शीपन, व्याख्यान शैली, वाक्शक्ति आदि जस्ता अनेकानेक तत्त्वहरूको एकमुष्ट सङ्ग्रहलाई जनाउँछ।

दृष्टिकोण, सञ्चार संवाद, व्यवस्थापकीय कला, सज्ञानात्मक क्षमता, पार्टीका साथीभाइ, अनुनायी तथा जनतालाई वैचारिकरूपमा चलायमान गराइराख्ने खुबी आदि जस्ता विविध विशेषताको समष्टिगत योगले राजनीतिक नेतृत्वको लोकप्रियता सिर्जित हुने अझ भनौँ चुलिने वा झर्ने क्रम देखापर्छ।

उदाहरणार्थ, बेलायतका विख्यात नेता विन्स्टन चर्चिल सार्वजनिक भाषणका धुरन्धर जो वाकपटुताले जति पूर्वार्धमा चर्चित र सफल भए, कालान्तर/उत्तरार्धमा प्रचलित सामाजिक मूल्य मान्यता विपरीत निर्णय लिने/विकृत बनाएर आनन्द लिने, निकटतम सहयोगीलाई अपमानित गर्ने, आलोचक/मन नपरेकालाई तिखो शब्दवाणले हायलकायल पार्ने, खिल्ली उडाउने/मजाक गर्ने जस्ता आचरणको फलस्वरूप चुलिएको लोकप्रियता ओरालो लागेको पढ्न–सुन्न पाइन्छ। गलतमा अत्यन्तै धेरै गलत तथा सहीमा अत्यन्तै धेरै सही निर्णय गर्ने÷लिने उनको बानी रहेको एक विश्लेषक बताउँछन्।

जटिल सही, राजनीतिक नेतृत्वको प्रभावकारितालाई मापन गर्न निम्न केही विधि र मापदण्ड/तत्त्वहरूले सघाउ पु¥याउन सक्छन्- 

– सार्वजनिक मत सर्वेक्षण (नेतृत्वको कार्यसम्पादनमा जनताको असन्तुष्टि तथा सही÷गलत निर्णयबारे जनस्तरमा विश्वासको मापन)

– नीतिगत परिणामहरू (नेतृत्व पदासीन हुँदा कानुन पास गराउन खेलेको भूमिका तथा कार्यान्वयनको पहलकदमी, आर्थिक तथा सामाजिक सूचकहरूमा आएका परिवर्तनहरूको मापन)

– संकट व्यवस्थापन (प्राकृतिक प्रकोप, आर्थिक मन्दी, महामारी आदि आउँदा गरेको मोचन प्रयास र सार्वजनिक स्वास्थ्यका मुद्दाहरूको सम्बोधन जस्तै खोप तथा स्वास्थ्य सेवा पहुँच)

– अन्तर्राष्ट्रिय सम्बन्ध (सन्धि, सम्झौता, गठबन्धन र द्वन्द्व समाधानमा खेलेको विदेश नीतिको मूल्याङ्कन साथै वैश्विक जगत्मा नेतृत्वको कार्यले देशको ख्याति बढाउन पु¥याएको योगदानको समीक्षा)

– सञ्चार माध्यमको विश्लेषण (नेतृत्वका नीति तथा कार्यहरूबारे प्रेस जगत्मा छाएका कुराहरू र सार्वजनिक मञ्च, सामाजिक सञ्जाल तथा परम्परागत मिडियामा उठेका बहस, छलफल र विचारधाराहरूको अनुगमन र सुनुवाइ)

– जवाफदेहिता र पारदर्शिता (काण्ड, दोषारोपण तथा भ्रष्टाचारको जाँचबुझ र छानबिनमा नैतिक, इमानदार र जिम्मेवारतवरले लागेको छ कि छैन हेर्ने साथै सरोकारवालाहरूसँग खुला छलफलमा कत्तिको सहभागी भए/नभएको परीक्षण गर्ने)

– ऐतिहासिक सन्दर्भ हेर्दै आफूअघिकाको कार्यसम्पादनसँग तुलना गर्ने साथै अन्य देश वा क्षेत्रका नेतृत्वको प्रदर्शित मापदण्ड तथा प्रभावकारिताबारे संज्ञान लिने।

– दीर्घकालीन प्रभाव (नीतिहरूको दिगोपनाको मूल्याङ्कन, आफ्नो कार्यकालमा गरेका कामको छापले जनगणलाई दीर्घकालसम्म सम्झना दिलाइरहने)

– उपल्लो स्तरको औपचारिक शिक्षा (दीक्षा, विषयगत खोज अनुसन्धान, चिन्तनमनन, राष्ट्रिय/अन्तर्राष्ट्रिय घटनाहरूप्रति चनाखो, दैनन्दिनका पत्रपत्रिका तथा अनलाइनका राजनीतिक, सामाजिक, आर्थिक घटना÷परिघटनालाई पटाक्षेप गर्न सक्ने साथै तथ्याङ्क विश्लेषणको आधारमा सत्य–तथ्य पस्किने न कि बटार्ने/तोडमरोड गर्ने व्यक्तित्व)

– जातजाति, वर्ण, लिङ्ग, धर्म आदि जस्तामा भेदभावलाई व्यवहारतः प्रश्रय नदिने।

– आमजनको मनोग्रन्थीलाई बुझ्न/पर्गेल्न सक्ने क्षमता, हाँस्यरस र बुद्धि तत्परता जस्ता गुणले  लेसयुक्त।

–  सार्वजनिक मञ्च÷मिटिङमा अभिव्यक्त प्रतिबद्धताहरू पूरा गर्ने।

– पदीय हैसियतलाई भन्दा देश हितलाई सर्वोपरि प्राथमिकता दिएर आसेपासे/बिचौलियाहरूको समूहलाई ढिम्किन नदिने।

– खोक्रो प्रदर्शन, आडम्बर, शानशौकत, विलासीयुक्त जीवनशैली आदिको अवलोकन गर्ने।

– राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमान रक्षार्थ तथा लोकतन्त्रखातिरको सङ्घर्ष र संवर्धनमा भुइँतहबाट उठेर जनस्तरमा नेतृत्वदायी भूमिका खेल्ने।

यस्तै यस्तैखाले बहु तथा बृहत् मूल्याङ्कन पद्धतिले मात्र नेतृत्वमा निखार ल्याउन प्रभावकारी पहलकदमी सहयोगी साबित हुन सक्छ। अनि मात्र देश र जनताले हरिबिजोग तालबाट त्राण पाउलान्। होइन भने के भुल्न सकिन्न भने रङ्गीविरङ्गी पखेटा फिँजाइ मयुर नाँच्दा जति सुन्दर र आकर्षक देखिन्छ, भेट्टायो भने यसले जस्तोसुकै बिखालु सर्प पनि खान्छ/निल्छ। के राजनीतिक नेतृत्व कम्मल ओडेर घिउ खानेखालका त हुँदैनन् ? के सर्पले झैँ काँचुलीमात्रै फेरिरहेका त छैनन् ?

प्रकाशित: १५ माघ २०८१ ०८:२४ मंगलबार

# Nagarik # political leadership