१ माघ २०८१ मंगलबार
image/svg+xml
विचार

संस्कृति र स्वास्थ्यको संगम माघे संक्रान्ति

भौगोलिक, जातीय र सांस्कृतिक विविधताको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि विभिन्न भेग र समुदायमा विभिन्न ढङ्गले मनाउने चलन छ। यो माघे संक्रान्ति पर्व हो। मकर संक्रान्तिको अर्को नाम माघे संक्रान्ति हो। माघ १ थारू समुदायका लागि भने माघी हो। यो तिनको नयाँ वर्ष पनि हो। मगर जातिले मुख्यरूपमा धूमधामको साथ मनाउने यो पर्व माघ्या/सेल्र्हेस पनि हो। हिमाल, पहाड र तराईका क्षत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, विभिन्न विशेषता र प्रकृतिअनुसार मनाउने गरेका छन्।

सूर्य धनुबाट मकर राशिमा संक्रमण गरेको दिन भएकाले यो मकर संक्रान्ति भएको हो। सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ। उत्तरायण अवधिमा तुलनात्मकरूपमा दिन लम्बिने र तापक्रममा वृद्धि भई गर्मी मौसम प्रारम्भ हुन्छ। त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्व छ। माघे संक्रान्तिका दिन विशेषगरी वनतरुल, सखरखन्ना (सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकार तयार पारेर खाने गरिन्छ। माघे संक्रान्ति आउनुभन्दा एक दुई दिनअगाडि संक्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबिज बोकेर नजिकको वनतर्फ लाग्ने मानिसको भिड देख्न पाइन्छ।

यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ। उक्त दिन नदी दोभानमा गई शुद्ध भई सिदा दान गर्नाले पुण्य प्राप्त भई रोगव्याधिबाट मुक्त भइने विश्वास छ। धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक तवरबाट पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ। 

धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउनु पर्ने मान्यता छ। त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक हुन्छ। माघे संक्रान्तिलाई हाम्रो देशमा थरीथरीका जनजातिले किसिम किसिमले मनाउने चलन छ। यो दिन तीलको लड्डु पनि खाइन्छ। सनातन संस्कारमा तिलको विशेष महत्व छ। चाहे होमजप गर्नलाई चरुका रूपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य गर्दा तिल अपरिहार्य छ। आजको दिन तिलको पकवानका लागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सखरमा मुछेर बनाइएका लड्डु आजको विशेष परिकार हो। त्यसैकारणले पनि माघे संक्रान्तीलाई तिलुवा सक्रान्ति पनि भनिन्छ। 

अर्कोतर्फ उत्तरी र दक्षिणी ध्रुवका बारेमा हामीले भूगोलमा पढेका छौँ। सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितिका आधारमा गणना र मापन गरिन्छ। यो दिनबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र हिँउद घट्दै जाने अनि वसन्तका साथै ग्रिष्म बढ्दै जाने मान्यता छ। त्यसैले पनि माघे संक्रान्तिको महत्व व्यापक छ र त सबैजसोले रमाइलोसँग मनाउने गर्छन्। यस दिनको धार्मिक र पौराणिक मान्यताका बारेमा चर्चा गरौँ।

महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो। रणभूमिमा अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ। आजको दिन विभिन्न घाट, नदी अनि पवित्रस्थलमा स्नान गर्ने तीर्थालुहरूको भीड हुन्छ। नवलपरासीको देवघाट, सुनसरीको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँको शंखमूलको वाग्मती किनार आदि ठाँउमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो रहन्छ।

यसरी माघी नुहाइसकेपछि तिलको सुकेको वुट्यानलाई बालेर आगो ताप्ने चलन छ। यसरी माघी नुहाएमा पाप मोचन हुने जनविश्वास छ। यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्य पुराणमा उल्लेख गरिएको छ। जे होस्, नेपाल सांस्कृतिक, धार्मिक सम्पदामा धनी भएकामा विवाद छैन। त्यसैले यस्तो सम्पदालाई जीवितै राख्न आआफ्नो संस्कार र चलनअनुसार मनाउन उपयुक्त हुन्छ। यस्तो पर्वले हर्षोल्लास मात्र ल्याउँदैन, स्वास्थ्यलाई आवश्यक पर्ने खानेकुरा र कतिपय अवस्थामा व्यायामसमेत गराउँछ। सरसफाइ र दानदक्षिणा त हाम्रो पूर्वीय संस्कृतिको अभिन्न अंग नै भइहाल्यो। 

प्रकाशित: १ माघ २०८१ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App