२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

पार्टी बन्न नसकेको रास्वपा

सामान्य नागरिकले बचत गरेका अर्बौँ रूपैयाँको अपचलन व्यक्तिगत इमानदारी, नैतिकता र अतिसय लालचको परिणाम मात्र होइन। राज्यमा मौलाएको दण्डहीनता र राज्यशक्ति दुरूपयोगको परिणाम पनि हो। राज्यमा क्रियाशील कानुनले नै यसको निरूपण हुनुपर्नेमा विधि निर्माण गर्ने संस्थाले छानविन गरी कार्यबाही गर्न निर्देशन दिनुपर्ने अवस्था सिर्जना हुनु भनेको कानुन कार्यान्वयन गर्न बनेका राज्यका अंगहरूको विफलता हो। 

राज्यका संस्थाहरूलाई निस्तेज गरी कानुनलाई स्वाभाविक तरिकाले कार्यान्वयन हुन नदिने परम्परा भएको देशमा अनिश्चितता नै नियमितता बन्दछ। सहकारीमा जम्मा भएको बचत ठगीको मुद्दामा रवि लामिछानेलगायतका व्यक्तिहरूको संगठित अपराधको अभियोगको न्यायिक निरूपण स्वाभाविक गतिमा प्रचलित कानुनी प्रक्रियाबाट होला कि दोहोरो पासपोर्टको अभियोग जस्तै राजनीतिक दाउपेच र सत्ता स्वार्थको विषय बन्ला ? त्यो भविष्यकै गर्भमा छ। अहिले यो लेख मन्थनको विषय सबैलाई अचम्भित बनाउँदै २०७९ मार्गमा एकाएक संसद्को चौथो शक्ति बन्न पुगेको रास्वपा अब राष्ट्रिय पार्टीका रूपमा विकसित होला कि लामिछाने एन्ड कम्पनी प्रालिकै हैसियतमा रहला भन्ने हो।

रास्वपा रवि लामिछानेको व्यक्तित्व र नेतृत्वमा स्थापित भएको हो भन्न संकोच मान्नु पर्दैन। हरेक पार्टीको सुरुवातको नेतृत्व कुनै व्यक्ति वा व्यक्तिहरूको समूहले गर्छन्। अरू पार्टीका नेताले त्यो पार्टीलाई सिद्धान्त, नीति, विचारका आधारमा संगठित गर्छन्। रास्वपाको सन्दर्भमा फरक के हो भने यो पार्टी कुनै नीति, सिद्धान्त र निष्ठाबाट प्रेरित होइन। रविको टिभी प्रस्तोता व्यक्तित्वको आधारमा केही महत्वाकांक्षी मानिसको जमघटले, पुराना पार्टीहरूको कुशासनबाट आजित जनताको असन्तोषलाई आफ्नो पक्षमा संगठित गरेर निर्माण भएको हो। यसको आफ्नो कुनै सिद्धान्त वा विचार छैन। कुनै राजनीतिक, सामाजिक दर्शनप्रति यो पार्टीको प्रतिबद्धता छैन। यो राजनीतिक विचारबिहीन मानिसहरूको भीड होभन्दा फरक नपर्ला। जे भए तापनि २०७९ को निर्वाचनले रास्वपालाई संसद्को चौथो शक्ति बनाउँदै राजनीतिक पार्टीको हैसियतमा पुर्‍यायो। तर अहिले रास्वपाका गतिविधि र यो पार्टीका नेताहरूका कथन हेर्दा लाग्छ, रवि लामिछानेको गिरफ्तारीले यो पार्टीको अस्तित्व नै संकटमा छ।

रवि लामिछानेको सहकारी ठगीमा संलग्नता रास्वपाले गठन गरेको मुकुल ढकाल नेतृत्वको समितिको प्रतिवेदनले  पुष्ट्याँइ गरेको थियो। 

अहिलेको अनुसन्धान रविले आफ्ना आर्थिक अपराध दबाउन गृह मन्त्रालयको दुरूपयोग गरेकाले रास्वपाकै सांसद शिशिर खनालसमेत सम्मिलित संसदीय समितिको प्रतिवेदनले कार्बाही गर्न सिफारिस गरेको कारण सम्भव भएको हो। निर्दोष भए वा प्रमाण नपुगे अदालतबाट सफाइ पाउने नै छन्। राम्रो गर्न आएका हौं भन्ने मानिसले अनुसन्धानलाई सघाउनुको बदला अनुसन्धान र अदालतलाई प्रभाव पार्न प्रदर्शन गर्नु हामी विशेष हौं, हाम्रो गलत काम दण्डनीय हुँदैन भन्नु हो। साथै रविको दोष सिद्धताले रास्वपा पार्टी नै धरापमा पर्छ भन्ने भयातुल मानसिकता हो। यो मानसिकताको प्रकटीकरण स्वयं रास्वपा केन्द्रीय समिति र यसका नेताहरूका वक्तव्यबाट भएको छ। भर्खरै तिहारपछिको केन्द्रीय समिति बैठकले गरेको निर्णय र यसका नेताहरूले प्रदर्शनकारीलाई उत्तेजित बनाउन गर्ने भाषणमा बारम्बार सरकार रास्वपालाई सिध्याउन चाहन्छ भन्ने अभिव्यक्तिले यिनीहरूको छटपटीलाई नै प्रकाशित गर्छ।  

भर्खर मात्र संगठित पार्टीको सर्वोच्च नेतृत्व आर्थिक अपराधमा मुछिनु एउटा ठूलो धक्का हो। राजनीतिक पार्टीका जीवनमा यस्ता धक्का आउँछन्। विगतमा पनि आउने गरेका थिए। तर अरू पार्टीका नेता कार्यकर्ताले संयम गुमाएनन्। अनुसन्धानलाई सघाए तर रास्वपा र यसका नेता विक्षिप्तावस्थामा पुगेका देखिन्छन्। आइरहन सक्ने यस्ता धक्कालाई सहने क्षमता कुनै पार्टीमा छैन भने मान्नुपर्छ त्यो पार्टी धोन्द्रो मात्र हो। हल्ला गर्दैमा र सामाजिक सञ्जालमा अश्लील टिप्पणी गरेर मात्र कुनै पार्टीले आफ्नो औचित्य सिद्ध गर्न सक्दैन। न त जनताको मन जित्न सक्छ। भ्रमात्मक कुराले केही समय जनतालाई अलमलमा राख्न सक्ला तर टिकाउ हुँदैन। सत्य प्रकाशित भइछाड्छ। रास्वपाले जति छिटो यो कुरा बुझ्न सक्छ त्यति नै त्यो पार्टीको स्वास्थ्यका लागि राम्रो होला।

यो पढ्दा रवि लामिछानेका समर्थकलाई दुःख लाग्ला तर सत्य यो हो कि रवि लामिछाने संगठित र अनुशासित मानिस होइनन्। उनमा आर्थिक, सामाजिक, राजनीतिक ज्ञान होला तर कुनै सिद्धान्तबाट वा राजनीतिक दर्शनबाट प्रेरित मानिस पनि होइनन्। आर्थिक अनुशासन र नैतिक मूल्यमा कति कमजोर छन् भन्ने त दोहोरो नागरिकता, दोहोरो पासपोर्ट र सहकारी प्रकरणले उदांग गराएको छ। टिभी प्रस्तोता हुँदाका उनका अमर्यादित वचनले पनि उनको व्यक्तित्वलाई उजागर गर्छ। क्षण क्षणमा उत्तेजित हुनु रविको स्वभाव बनेको छ। मर्यादा, अनुशासन र नैतिक कसौटीमा रविको यो स्वभाव अस्वीकार्य भए तापनि राजनीतिक मैदानमा भने लोकप्रीयता यही (अव) गुणका कारण सम्भव भएको हो।  

नेपालमा मात्र होइन, विश्वकै लोकतन्त्रमा अहिले घृणा, दुर्वचन जस्ता नकारात्मक र झुटा दाबी वा आलोचनाको व्यापक प्रभाव रहेको छ। केही अघि भारत वा हालैको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पको प्रचारमा झुट, घृणा र द्वेषपूर्ण अभिव्यक्तिको प्रचुरता र त्यसले प्राप्त गरेको बहुमतको समर्थन त्यहाँको राजनीति अध्ययन गर्ने सबैले अनुभूत गरेको कटु सत्य हो। त्यसैले रवि लामिछानेले यसको प्रयोग गरेकामा आश्चर्य मान्नुपर्दैन। राजनीतिक, सैद्धान्तिक, नैतिक मूल्यप्रति उदासीन तर लोकप्रियता चाहने राजनीतिक व्यक्तिले नेतृत्वमा स्थापित हुन जस्तोसुकै अवाञ्छित कार्यलाई पनि जायज मान्छन् र त्यसको प्रयोग गर्छन्। प्रचलित शब्दावलीमा उदार लोकतन्त्रको मन्दीको यो समयमा प्रियतावादी अराजक मण्डलेका लागि लोकतन्त्रका सञ्चालकहरूको विफलताले जुराएको उपयुक्त अवसर पनि हो। रवि लामिछानेले यस्तै अवसरको उपयोग गरेका हुन्।

प्रियतावादीहरूबाट संगठन वा संस्था बलियो हुँदैन। उनीहरूले संगठनको उपयोग मात्र गर्ने हुन। लोकप्रिय बनिरहनुमा मात्र यिनीहरू केन्द्रित रहन्छन्। यी आफैँ संस्था हुन, संगठन हुन्। विश्वको वर्तमान राजनीतिक रंगमञ्चमा वर्षौं पहिले संगठित भएर जनतामा स्थापित पार्टीहरूलाई पनि आफ्नो इच्छानुकूल डोर्‍याउन सफलता प्राप्त गरेका प्रियतावादी अराजकहरूको क्षमता देखिसकेको अवस्थामा भर्खरै आफँै निर्माण गरेको पार्टीलाई आफ्नो इशाराअनुसार चलाउनु सामान्य कुरा हो। तसर्थ रवि लामिछाने सहकारी रकम अपचलनमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहँदा रास्वपाका कार्यकर्ता विक्षिप्त बन्नुलाई स्वाभाविक मान्नुपर्छ। एउटा व्यक्तिको ब्रान्डमा बनेको र चलेको पार्टीका लागि यस्तो स्थिति त्यो पार्टीको राजनीतिक जीवनको अस्तित्वको प्रश्न हो।

प्रहरीले सशक्त ढंगले सबै प्रमाणसहित अदालतमा मुद्दा प्रस्तुत गर्‍यो र अदालतले फैसला ग¥यो भने रवि सहकारी रकम दुरूपयोग, संगठित अपराध, कीर्ते तथा ठगीमा दण्डित हुने सम्भावना धेरै देखिन्छ। यस्तो अवस्थामा रविको राजनीतिक जीवन के होला ? त्यो उनको र उनका समर्थकहरूको चासोको विषय भयो तर यसले रास्वपामा के प्रभाव पर्ला ? त्यो पार्टी अगाडि कसरी जाला ? वा रविको राजनीतिक जीवनमा लाग्न सक्ने विरामसँगै त्यो पार्टीको अस्तित्वमा पनि विराम लाग्ला कि नलाग्ला ? यो नेपालीकै चासोको विषय हो।

ग्यालेक्सी टिभीमा काम गरेको टिमबाहेकका अधिकांश रास्वपाका केन्द्रीय तहका नेतालाई रविको आर्थिक गतिविधि र कमजोर चरित्रसँग परिचित हुने अवसर थिएन। यथास्थितिको राजनीतिबाट विरक्त भएका देशभरका रास्वपाका कार्यकर्ता विकल्पको भ्रममा पर्नु स्वाभाविक थियो। त्यसैले रास्वपाका कार्यकर्ताको ठूलो पंक्ति अहिले निराशामा छ। अर्कोतर्फ रास्वपा एउटा विकल्प बन्न सक्छ कि भनी चासोका साथ हेरिरहेको अन्य पार्टीबाट असन्तुष्ट वर्ग पनि चिन्तित बनेको छ। निराशामा डुबेका कार्यकर्तामा आशा जगाउनु र चिन्तित वर्गलाई आश्वस्त पार्नु रास्वपाका केन्द्रीय नेताको कर्तव्य हो तर यसले अहिले गरिरहेका गतिविधि हेर्दा यो पार्टीका नेताहरू रवि लामिछानेको सम्मोहनबाट बाहिर निस्कन नसकेको देखिन्छ।

नेतृत्वको परीक्षण चुनौतीपूर्ण कठिन अवस्थामा हुन्छ। सहज अवस्थामा सामान्य क्षमता भएको मानिसले पनि नेतृत्व गर्न सक्छ। सक्षम नेतृत्व कठिन तर चुनौतीपूर्ण घडीमा स्थापित हुन्छ। रास्वपाका दोस्रो तहमा रहेका केही नेता, रास्वपामा प्रवेश गरेपछि भ्रष्टीकृत भएका छैनन् भने बौद्धिक र काबिल मानिस पनि छन्। रास्वपामा जानुभन्दा पहिले रहेको पार्टीमा राम्रो छवि रहेका व्यक्तिहरू हुन। उनीहरू रास्वपालाई नेतृत्व दिन र उपयुक्त सिद्धान्त, नीति र आचारले मण्डित गर्न अगाडि आउनुपर्ने हो। तर उनीहरूका हालैका गतिविधि हेर्दा उनीहरू पनि रवि लामिछानेले अराजक बनाएको भिडलाई नेतृत्व गरी ठीक बाटोमा ल्याउनुको बदला भिडमै विलिन हुन रमाएको देखिन्छ। भिडबाट अनुसन्धान र अदालतलाई प्रभाव पार्ने र भिडको आधारमा फैसला गर्ने माओकालीन जनअदालतको शैली अहिले सर्वत्र अस्वीकृत भैसकेको छ। यो कुरा बुझ्न नसक्नु रास्वपाका नेताकै नासमझदारी हो।

अपराधको भारीले थिचिएका व्यक्तिको नेतृत्वमा रास्वपालाई ठीक बाटोमा ल्याउन रविको उपस्थितिमा सम्भव थिएन। पूर्वमहामन्त्री मुकुल ढकालले प्रयत्न गरेका हुन। त्यो प्रयत्नको परिणाम, उनलाई नै रास्वपाबाट निस्काशित गरियो। अहिले रास्वपाका दोस्रो तहका नेतालाई अवसर मिलेको छ। उनीहरू रास्वपालाई जनताको पार्टी बनाउन चाहन्छन् भने रविको बचाउमा प्रदर्शन गरेर आफ्नो गरिमा घटाउनुको बदला कांग्रेस, एमाले, माओवादी जोडिएका सहकारी, मानव तस्करी, सुन तस्करीलगायतका काण्ड र घोटालाहरूको अनुसन्धान र छानबिनका लागि संसद् र सडकबाट दबाब दिन सक्छन्। एक दुई व्यापारीले ठूला भनिएका पार्टीलाई चन्दा दिएर आफ्नो कब्जामा राखेका छन्। त्यसका विरुद्ध जनतालाई जागरुक बनाउन सक्छन्।  

सुनिँदैछ, अबको केही समयमा नेपाल राष्ट्र बैङ्क, नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड एउटै व्यापारिक घरानाले कब्जा गर्ने प्रयत्न गर्दैछ। उनीहरू पनि यो षडयन्त्रका हिस्सा होइनन् भने यसका विरुद्ध आवाज उठाइ रोक्न सक्छन्। यो देशका महŒवपूर्ण सूचना तथा नेपालीका महत्वपूर्ण डेटाहरूमा एउटा छिमेकी देशको पहुंँच पुगिसकेको छ। यसलाई सुधार गर्न सक्छन्। देश हितका लागि गर्न सकिने लामै सूची हुन्छ, जसबाट जनविश्वास पनि आर्जन गर्न सकिन्छ। सूचस्ले मात्र हुँदैन, काम गर्ने चाहना र राजनीतिक शक्ति चाहिन्छ। रास्वपालाई देशको शासनमा सुधार ल्याउन सक्ने राजनीतिक शक्ति जनताले प्रदान गरिसकेका छन्। विगतका दुई वर्ष रवि लामिछानैकै आर्थिक विचलन र अन्य गैरकानुनी कामको बचाउमा रास्वपाको राजनीतिक शक्ति प्रयोग गरी जनताको विश्वासको दुरूपयोग गर्‍यो। अझै तीन वर्ष बाँकी छ। लामिछाने एन्ड प्रालिभन्दा बाहिर निस्केर आफ्नो राजनीतिक शक्तिको उपयोग देशको शासन सुधारमा लगाई नेपालको भरपर्दो राजनीतिक पार्टी बनाउन पर्याप्त समय उपलब्ध छ। पार्टी बन्ने कि कम्पनीमै रमाउने ? रास्वपा नेताहरूको रोजाइको विषय हो।

प्रकाशित: २८ कार्तिक २०८१ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App