६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

उद्यमशील महिला सशक्तीकरणको सोपान

जिउँदै मर्‍याको भनी नाम कसको ?  

उद्यमबिना बित्दछ काल जसको

दुई सय वर्षअघि नै भानुभक्तले प्रश्नोत्तर कवितामार्फत भनेका थिए। जुन सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ। अझ विकास मार्गमा वामे सर्दै गरेको नेपालको सन्दर्भमा त झनै महत्त्वपूर्ण छ यो सन्देश।

पहिलो कुरा त नेपालमा उद्यमको गति निकै सुस्त छ। यही कारण हामी आयातमै निर्भर छौँ। मुलुकले ठूलो परिमाणमा व्यापार घाटा भोग्दै आएको छ। कृषिप्रधान देश भएर पनि बर्सेनि अर्बौं रुपैयाँको खाद्यान्न बाह्य मुलुकबाट भित्र्याइरहेका छौँ। चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा मात्र एक खर्ब १६ अर्ब १५ करोड रुपियाँ व्यापार घाटा हुनुले हामी कस्तो चरम अवस्था भोगिरहेका छौँ भन्ने बुझ्न सघाउँछ। 

खासमा यो अवस्थाको जननी एकातर्फ उद्यमप्रतिको अनाकर्षण हो भने अर्कोतर्फ कृषिलाई उद्यमको आधारमा लिनुभन्दा निर्वाहमुखी पारामै रमाउनु हो। यस्तो अवस्थामा महिला उद्यममा संलग्न हुनु धेरै टाढाको विषय हो। पितृसत्ताका कारण हरेक कुरामा पछि पारिएका महिला उद्यम क्षेत्रमा पनि अपवाद छैनन्। महिलामैत्री कानुनको अभाव, महिलालाई उद्यम गर्न हौस्याउने नीतिहरू नबन्नु तथा घरायसी र बाह्य कारणहरूको बन्धनले महिलालाई अझै पनि उद्यमी बन्न बाधा खडा गरिरहेका छन्। त्यसैले पनि उद्यम र महिला एकअर्काका परिचित र सहयात्री बन्न नसकेका हुन्।

घर/परिवारले उद्यम पुरुषको मात्र जिम्मेवारी ठान्ने भएकाले महिलालाई अगाडि बढाउन चाहँदैनन्। फलस्वरूप उनीहरू चाहेका उद्यम गर्नबाट वञ्चित हुँदै आएका छन्। त्यसैगरी महिलाले गर्ने उद्यमका लागि कच्चा पदार्थ अभाव छ।

नेपालमा महिला पुरुषभन्दा बढी अर्थात् ५१.०४ प्रतिशत छन्। त्यसैले देशको विकास गर्ने हो भने हरक्षेत्रमा महिलाको उत्तिकै सक्रियता जरुरी हुन्छ। सोझैभन्दा जसरी रथ एउटा मात्र पाङ्ग्राको भरमा गुड्न सक्दैन, त्यसैगरी पुरुषको मात्र संलग्नताले उद्यम क्षेत्र कदापि अघि बढ्न सक्दैन। १० वर्षअघि गरिएको अध्ययनअनुसार नेपालमा साना, मझौला र ठूला गरी करिब १४ हजार तीन सय महिला उद्यमी छन्। त्यसैगरी राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७५ सालमा गरेको राष्ट्रिय आर्थिक गणनाअनुसार देशभर दुई लाख ४७ हजार आठ सय ८९ महिलाले आफ्नै स्वामित्वमा उद्यम/व्यवसाय सञ्चालन गरेका छन्। जसमा करिब पाँच लाख जनाले रोजगारी पाएका छन्। त्यसैगरी राष्ट्रिय जनगणना २०७८ ले नेपालमा करिब ६१.३ प्रतिशत महिला आर्थिक क्रियाकलापमा संलग्न भएका उल्लेख गरेको छ। यसरी हेर्दा नेपालको काँचुली फेर्ने हैसियत राख्ने उद्यम क्षेत्र उभो लगाउने हो भने यसमा महिलाको सक्रिय सहभागिता अत्यावश्यक भएकामा शङ्का नै छैन।

यति हुँदाहुँदै पनि पछिल्लो समय उद्यममा देखिएको महिला आकर्षण आशाप्रद् छ। विगत केही वर्षयता घरेलु, साना तथा मझौला उद्योगमा देखिएको महिलाको अग्रणी भूमिका प्रशंसालायक छ। एकातिर नेपाली महिला आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता चौतर्फी समस्या भोगिरहेका छन् अर्कोतर्फ यी चुनौती सामना गर्दै उद्यमतर्फ अघि बढ्नु ससानो क्रान्ति नै हो भन्न सकिन्छ।

मुख्य कुरा महिलालाई रुचि हुँदाहुँदै पनि उद्यम गर्न आर्थिक स्रोत अभाव छ। घर/परिवारले उद्यम पुरुषको मात्र जिम्मेवारी ठान्ने भएकाले महिलालाई अगाडि बढाउन चाहँदैनन्। फलस्वरूप उनीहरू चाहेका उद्यम गर्नबाट वञ्चित हुँदै आएका छन्। 

नेपालको रोजगार क्षेत्रको करिव ६० प्रतिशतभन्दा बढी साना तथा मझौला व्यवसायले ओगटेको छ। रोजगारी उपलब्ध गराउने यति ठूलो क्षेत्रमा करिब २९ प्रतिशत महिला आबद्ध हुनु चानचुने कुरा हैन। माथि उल्लिखित महिला नेतृत्वका उद्योगमा करिब एक लाख श्रमिकले रोजगारी पाएका छन्। यो तथ्याङ्कले पुष्टि गर्छ कि नेपाली महिला पछिल्लो समय उद्यममार्फत आफू मात्र आत्मनिर्भर हुँदै छैनन्, अरूलाई समेत समुन्नत बनाउने महाअभियानमा क्रियाशील छन्।

हामी महिला सशक्तीकरणका कुरा गरेरै भ्याउँदैनौँ तर यस्तो कुरा गर्नेले यो विषय आर्थिक पाटोसँग जोडिएको छ भन्ने कमैले मात्र बुझेका छन्। यस अर्थमा उद्यम आर्थिक उपार्जनसँग जोडिएको छ। र, आर्थिक उपार्जन सशक्तीकरणको मुख्य पाटो हो। आर्थिक सबलताले घरेलु हिंसादेखि आफ्नो परिवारको शिक्षा, पालनपोषण, स्वास्थ्य जस्ता क्षेत्रमा सुधार गर्न सघाउँछ। न्यायका लागि आवाज दरिलो बनाउँछ। त्यसैले उद्यम र महिला सशक्तीकरण एकअर्काका परिपूरक हुन् भन्न हिच्किचाउनु पर्दैन।

अवसर र चुनौती

उद्यम शब्द सुन्दा जति आकर्षक र मुख मिठ्याउनेखालको छ, यसलाई व्यवहारको कसीमा राखेर जाँच्दा उत्तिकै कठिन पनि छ। एकातिर यसले आर्थिक उपार्जनमार्फत महिलालाई सशक्त तुल्याउँछ भने अर्कोतर्फ शक्तिसमेत आर्जन गर्छ। आत्मनिर्भर बनाएर कसैसँग शिर झुकाउनुपर्ने अवस्था अन्त्य गराउँछ। यस अर्थमा उद्यम अवसर हो भन्न कठिन छैन। तर पनि यसका चुनौती नभएका हैनन्। मुख्य कुरा महिलालाई रुचि हुँदाहुँदै पनि उद्यम गर्न आर्थिक स्रोत अभाव छ। घर/परिवारले उद्यम पुरुषको मात्र जिम्मेवारी ठान्ने भएकाले महिलालाई अगाडि बढाउन चाहँदैनन्। फलस्वरूप उनीहरू चाहेका उद्यम गर्नबाट वञ्चित हुँदै आएका छन्। त्यसैगरी महिलाले गर्ने उद्यमका लागि कच्चा पदार्थ अभाव छ। पुँजी कम हुने भएकाले ठूलो परिमाणमा विदेशबाट आयात गर्न सक्दैनन् भने स्वदेशमा उपलब्ध हुन कठिन छन्।

वर्तमान सरकारले देशको आन्तरिक उत्पादन बढाउनुका लागि साथै युवा जनशक्तिलाई सिंगै देशकै आर्थिक सशक्तीकरणका लागि परिचालन गर्ने उद्देश्यअनुरूप स्टार्टअपको सुरुवात गरेको छ। 

त्यसैगरी व्यावसायिक दक्ष जनशक्तिको कमी अर्को चुनौती हो। पर्याप्त तालिम र यससम्बन्धी पढाइको कमीले गर्दा महिलाले लगानी गरेर चलाएका उद्यमहरू अहिले पनि दक्ष जनशक्तिको अभाव भोगिरहेका छन्। जसले उनीहरूलाई अघि बढ्न बाधा पुर्‍याइरहेको छ। महिलामैत्री कानुन अर्को चुनौती हो महिला उद्यमीका लागि। पुस्तौँदेखि हेपिएका, चेपिएका र पछाडि पारिएका कारण महिलालाई उद्यममा विशेष छूट दिनुपर्ने हो तर एकातिर भएका सुविधाजनक व्यवस्था उपयोग गर्न पनि जटिल प्रावधानहरू राखिएका छन् भने अर्कोतिर महिला उद्यमीमैत्री कानुन अभावमा पनि महिलाले आफ्नो रुचि र क्षमताअनुसारको उद्यम सञ्चालन गर्न सकिरहेका छैनन्।

छोरालाई पढाउने र छोरीलाई नपढाउने पढाए पनि छोरालाई बोर्डिङमा र छोरीलाई सरकारीमा पढाउने समाज हो हाम्रो। यस्तो अवस्थामा पछिल्लो पुस्ताका छोरीहरू धेरै शिक्षित भए पनि यसअघिको पुस्ताका धेरै महिला पढ्नबाटै वञ्चित भएका छन्। पढेकाले पनि थोरै मात्र पढ्न पाएका छन्। जसको सोझो असर उद्योग सञ्चालनमा परिरहेको देख्न सकिन्छ। यसबाहेक महिला भएकै कारण हरक्षेत्रमा भोग्नुपर्ने विभेद (लैंगिक विभेद) उद्यम गर्न चाहने महिलाले पनि भोग्नुपर्ने बाध्यता कायमै छ। यी यस्ता चुनौती हुन् जसले महिलालाई उद्यमी बन्नबाट चारैतिर घेराबन्दी गरेका छन्।

विशेष गरेर कृषि, हस्तकला, होमस्टे, ट्राभल्स, रेशाजन्य उत्पादन अचारलगायत परम्परागत खाना, टेक्सटाइल जस्ता व्यवसायमा महिलाले धेरै राम्रा गर्न सक्छन् भन्ने पुष्टि नै भइसकेको छ। त्यसैले सरकारले कानुन, नीति र झन्झटिला प्रशासनिक व्यवस्थालाई महिला उद्यमीमैत्री बनाइदिनुपर्छ।

सकारात्मक पक्ष

तर पनि प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्दै अघि बढिरहेका छन् महिला। विशेषगरी महिला उद्यमी महासङ्घको सक्रियता यसका लागि सबैभन्दा ऊर्वर कारण बनेको छ भने विभिन्न दातृ निकायको सहयोगले पनि उत्तोलकको भूमिका निर्वाह गरेका छन्। सरकारीतवरबाट पनि महिलालाई उद्यमी बनाउन केही नीति, व्यवस्था अवश्य जारी भएका छन् तर ती पर्याप्त छैनन्। सरकारले उद्यम गर्न चाहने महिलालाई कर्जामा छूटको व्यवस्था गरेको छ भने निर्यात तथा आयातमा पनि छुटको व्यवस्था मिलाएको छ। 

त्यसैगरी प्रशिक्षण, वकालत जस्ता विषयमा महिला उद्यमी महासङ्घको हातेमालोका कारण पनि अहिले उद्यमी महिलाको सङ्ख्या बढ्न सकेकामा शङ्का छैन। वर्तमान सरकारले देशको आन्तरिक उत्पादन बढाउनुका लागि साथै युवा जनशक्तिलाई सिंगै देशकै आर्थिक सशक्तीकरणका लागि परिचालन गर्ने उद्देश्यअनुरूप स्टार्टअपको सुरुवात गरेको छ। जुन अवसर उद्यम गर्न चाहने महिलाले पनि भरपुर उपयोग गर्ने सम्भावना उत्तिकै छ। यो महिलालाई उद्यम क्षेत्रमा आकर्षित तुल्याउन निकै प्रभावकारी कदम हुन सक्छ।

आर्थिक वर्ष २०८०/८१ साउनदेखि जेठसम्म ११ महिनामा मात्र ६ लाख ८२ हजार पाँच सय ६६ जना नेपाली वैदेशिक रोजगारीमा जानुबाट पनि हाम्रो बेरोजगारीको भयाबह पुष्टि हुन्छ। अर्कोतिर ठूलो सङ्ख्यामा रोजगार दिन सक्ने महिला नेतृत्वका उद्योगलाई प्रोत्साहन गर्न सकिएको छैन।

निष्कर्ष

समग्रमा भन्ने हो भने पहिले जे भयो, भयो, अबचाहिँ नेपालमा उद्यम गर्न चाहने महिलाको भविष्य उज्ज्वल छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ। विशेष गरेर कृषि, हस्तकला, होमस्टे, ट्राभल्स, रेशाजन्य उत्पादन अचारलगायत परम्परागत खाना, टेक्सटाइल जस्ता व्यवसायमा महिलाले धेरै राम्रा गर्न सक्छन् भन्ने पुष्टि नै भइसकेको छ। त्यसैले सरकारले कानुन, नीति र झन्झटिला प्रशासनिक व्यवस्थालाई महिला उद्यमीमैत्री बनाइदिनुपर्छ। महिला उद्यमी महासङ्घ जस्ता निकायले यसका लागि निरन्तर दबाब दिनुपर्छ। त्यसो भएमा महिला उद्यमी बन्न उत्साहित हुनेछन्।

एकातिर वैदेशिक रोजगारमा युवाहरू गएका गयै छन्। आर्थिक वर्ष २०८०/८१ साउनदेखि जेठसम्म ११ महिनामा मात्र ६ लाख ८२ हजार पाँच सय ६६ जना नेपाली वैदेशिक रोजगारीमा जानुबाट पनि हाम्रो बेरोजगारीको भयाबह पुष्टि हुन्छ। अर्कोतिर ठूलो सङ्ख्यामा रोजगार दिन सक्ने महिला नेतृत्वका उद्योगलाई प्रोत्साहन गर्न सकिएको छैन। यो पक्षमा विचार पुर्‍याउने हो भने पनि धेरै युवाको विदेश पलायन स्वतः रोकिन्थ्यो। 

त्यति मात्र हैन, स्वदेशमा उपलब्ध कच्चा स्रोत/साधन उपयोग गरेर आर्थिक वृद्धि दर उकास्न सकियो भने नेपाल हरितन्नम राष्ट्रका रूपमा मात्र अवश्य गनिने छैन। तर यसका लागि महिला उद्यमशीलतामैत्री वातावरण निर्माण भने अत्यावश्यक छ। हैन भने भानुभक्तले दुई वर्षअघि भनेझैँ उद्यम गर्न नपाएर हामी नेपाली त जिउँदै मरेतुल्य हुन्छौँ नै, साथै महिलालाई उद्यम गर्नबाट वञ्चित तुल्याउने सरकारको हालत पनि योभन्दा पृथक् हुने छैन।

प्रकाशित: १२ कार्तिक २०८१ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App