५ कार्तिक २०८१ सोमबार
image/svg+xml
विचार

छलछाम राजनीति

म मेरो बाल्यकाल सम्झँदा रोमाञ्चित हुन्छु। यद्यपि मेरी जननीको म पाँच वर्ष नपुग्दै स्वर्गारोहण भएको थियो। म उहाँको अनुहार पनि सम्झन सक्दिन। आमाको दिव्य मुहार सम्झन नसक्ने हतभागीलाई पनि आफ्नो बाल्यकालले रोमाञ्चित गराउँछ भने माता पिता दुवैको स्नेह लामो समय पाएका मानिस आफ्नो बाल्यकाल सम्झेर कति पुलकित हुन्छन् होला ? मानिसमा अतीत मोहको उदाहरण दिनको निमित्त मात्र मैले मेरो बाल्यकालको उल्लेख गरेको हुँ।

मलाई अतीतप्रति केही पश्चाताप पनि छ। बाल्यकाल त भैगयो। युवा अवस्था जुन उमेर मेरो ज्ञान आर्जन गर्ने स्वर्णिम अवसर थियो र मेरो पिताले मलाई अध्ययन गराउन आर्थिक संसाधनलगायत कुनै कुराको अभाव हुन दिनुभएन तथापि मैले केवल परीक्षामा उत्तीर्ण हुनका लागि मात्र अध्ययन गरेँ। ज्ञानका लागि अध्ययन गर्नुपर्छ भन्ने सामान्य चेतना पनि त्यो अवस्थामा मलाई आएन। जीवनमा मलाई अहिलेसम्म माता पिता बाहेक अरू कुनै वस्तुको अभाव वा अपूर्णता महसुस भएको छैन। तर ज्ञान अपूर्णताको सम्बन्धमा खेर गएका विगत दिन सम्झँदा मलाई अहिलेसम्म पनि थकथकी छ। सबै अतीत प्रीतिकर हुँदैनन् भन्नका निमित्त मात्र यहाँ यो प्रसंग उल्लेख गरिएको हो।

कतिपय मानिस अतीतप्रति अति दयालु हुन्छन्। विगत व्यवस्थाबाट लाभान्वित तथा सुविधा उपभोग गरेको वर्गले अतीतको स्तुति गान गर्नु बुझ्न सकिने कुरा हो। तर जसले विगत व्यवस्थाको अनुभव नै गरेन वा अनुभव गरे पनि आफू न त लाभान्वित भयो न प्रताडित हुनुपर्‍यो त्यो पनि अतीतप्रति समालोचनात्मक दृष्टि नराखी गुणगान गर्नुलाई उसको अज्ञानता भनेर सामान्यीकरण गर्न मिल्दैन। यसभित्र लुकेको मनोविज्ञानले विशाल रूप लियो भने देशका लागि घातक हुन सक्छ।

सन् २०१२ को अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका बराक ओबामा र रिपब्लिकन पार्टीका मिट रोम्नी प्रतिस्पर्धामा थिए। त्यो निर्वाचन सन्दर्भलाई लिएर सिएनएनका राजनीतिक विवेचक रोनल्ड ब्राउन स्टेनको विश्लेषण थियो–यो चुनावमा उत्साहजनक कुरा केही पनि छैन। भिन्नता यो मात्र छ कि मिट रोम्नीले पुनरुत्थानवादी समूहको प्रतिनिधित्व गर्छन् भने ओबामाले रूपान्तरण पक्षधर समूहको। यो यिनै दुई समूहबीचको चुनाव हो।

अमेरिकी राजनीतिमा सन् २०१२को तुलनामा उग्ररूपमा पुनरुत्थानवादी समूह आक्रामक भएको छ। सन् २०१६, २०२० र अहिले २०२४ को निर्वाचन पनि स्पष्टतः पुनरुत्थानवादी समूहविरुद्ध रूपान्तरण पक्षधर प्रगतिशीलहरूबीचको निर्वाचन हो। दुःखद पक्ष के थपिएको छ भने मिट रोम्नीले प्रजातान्त्रिक निर्वाचन पद्धति र मूल्यहरूमा क्षति पुर्‍याउने काम गरेनन्। तर २०१६ र २०२० मा पुनरुत्थानवादीका नेतृत्वकर्ता ट्रम्पले अमेरिकी निर्वाचनप्रतिको विश्वास र प्रजातान्त्रिक मूल्यहरूलाई ध्वंश गर्ने प्रयत्न गरे। अहिले अमेरिकी न्याय प्रणालीप्रतिको विश्वासलाई पनि ध्वंस गर्ने प्रयत्न गरिरहेका छन्। आफ्नो पक्षमा निर्वाचन परिणाम वा न्यायिक फैसला नआएको स्थितिलाई स्वीकार नगर्ने र आक्षेप लगाउने विद्वेषी मानसिकता अप्रजातान्त्रिक मात्र होइन, अनैतिक पनि हो।

संविधान तथा कानुनले निषेध नगरेको भए तापनि अमेरिकी व्यवहारमा दुई दलीय प्रभुत्व छ। अन्य पार्टीको प्रभाव न्यून छ। त्यसैले प्रत्यक्ष देख्दा पुनरुत्थानवादी र परिवर्तनवादीहरूको प्रतिनिधित्व क्रमशः रिपब्लिकन र डेमोक्रेट पार्टीले गर्छन्। रिपब्लिकन पार्टीमा प्रगतिशील पक्ष हुँदै नभएका होइनन् तर ती हाल अल्पमत र ट्रम्पवादी रिपब्लिकनहरूको दबाबमा रहेकाले तिनको आवाज सुनिँदैन। त्यसैले अमेरिकी राजनीति स्पष्टतः दुई विचारधारात्मक धुरीमा विभाजित भएको देख्न सकिन्छ तर यो अमेरिकाको मात्र समस्या होइन।

संसारका सबै देशमा प्रगतिवादी र पश्चगामी रहेका हुन्छन्। यी दुवैबीचको विचारको संघर्ष निरन्तर चलिरहेको छ। विचारको रूपमा चल्ने संघर्षले नयाँ विचारधारा सिर्जना गर्न सहयोग गर्छ। यस दृष्टिकोणले यो सकारात्मक पनि हुन सक्छ। तर जब यो विचारको संघर्षलाई धूर्त राजनीतिज्ञले राजनीतिक लाभका लागि प्रयोग गर्छन् तब यसको दुष्प्रभाव प्रकट हुन्छ।

हामीलाई अहिले देखिएका छट्टु रातनीतिकर्मी अनौठा लाग्न सक्छन्, मानौँ यसभन्दा अगाडि यस्तो अवस्था थिएन। तर इतिहास खोतल्ने हो भने यसभन्दा पहिले पनि यस्तै डेमागगहरू थिए। पहिलो र दोस्रो विश्व युद्ध यस्तै महत्वाकांक्षी तथा सत्ता र शक्तिका भोका राजनीतिकर्मीका कारण मानवतामाथि थोपरिएको थियो। जतिसुकै राष्ट्रवादीको नकाव लगाएका भए पनि उनीहरूको असीमित महत्वाकांक्षाको मूल्य मानव जातिले अनेक पीडा सहेर तिर्नुपर्‍यो। दोस्रो विश्वयुद्धपछि केही काल प्रगतिशील परिवर्तनवादी लहर चल्यो। तर साम्यवादको रुसी र चिनियाँ मोडेलको असफलतापछि आएको नवउदारवादी लहरमा क्रमिकरूपमा पुनरुत्थानवादीहरूले शासनमा प्रभाव बढाएका छन्।

कट्टर पुनरुत्थानवादीहरू र उग्रवादीहरूको चरित्रमा लगभग समानता हुन्छ। यिनीहरूमा कट्टरता, क्रूरता तथा अहंकारको मिश्रण हुन्छ। देश, जनता, राष्ट्रियताको अलंकृत शब्दावलीभित्र छोपिएको यिनीहरूको कुरूप व्यक्तित्व, व्यक्तिगत लाभ, महत्वाकांक्षा तथा दुराचारले भरिएको हुन्छ। जतिसुकै अनैतिक र अलोकतान्त्रिक कार्य भए पनि आफ्नो उद्देश्यमा अवरोध आउन सक्ने अवस्थालाई दमन गर्न हिच्किचाउँदैनन्। आफ्नो अलोकतान्त्रिक तथा अनैतिक चरित्रलाई तथ्यहीन मिथ्या कथनको प्रसारद्वारा ढाकछोप गर्ने प्रयत्न गर्छन्। आफ्नो व्यक्तिगत हित रक्षार्थ राष्ट्रलाई नै संकटमा पार्छन्। यसको ताजा उदाहरण अहिले इजरायलका प्रधानमन्त्री नेतान्याहु हुन। आतंकवादी समूह हमासको अन्त्य गर्ने भन्दै ४० हजार बढी प्यालेस्टिनी साधारण जनता र बालबालिकाको संहार गरेर पनि उनको रक्त प्यास अझै मेटिएको छैन। हमासको कब्जामा रहेका आफ्नै देशका नागरिकप्रति देखाएको उपेक्षा र मित्रराष्ट्रहरूको युद्ध बिरामको सुझावको अवज्ञा इजरायलको सुरक्षा र हितका लागि होइन। युद्धविरामपछिको निर्वाचनमा पराजय हुने जनमत सर्वेक्षण देखिएकाले भ्रष्टाचारको अभियोगमा दण्डित भइ जेल जानुपर्ने भयका कारण हो।

मानिस किन प्रतिगामी धूर्त नेताको पछि लाग्छ ? धूर्तहरूलाई थाहा छ–मानिसको कमजोरी उसको ऐतिहासिक पहिचान हो। यो जातीय, धार्मिक, सांस्कृतिक, भाषिक, भौगोलिक जस्तो पनि हुन सक्छ। यो सबैको समष्टीगत र उच्चतम रूप राष्ट्रियता हो। यसको स्थुल रूप देश र त्यो देशमा रहेका वा नरहे पनि त्यस देशका जन्म, धर्म, जात, भाषा, संस्कृति वा स्थानसँग जोडिएका मानिस हुन। राष्ट्रियता ठोस र दृष्य नभएर भावनात्मक विषय हो। भावनात्मक विषय मानिसको सबैभन्दा संवेदनशील पक्ष हो। पुनरुत्थानवादी तथाकथित राष्ट्रवादी धूर्तहरूले यो कमजोरी बुझेका हुन्छन्। मानिसको यही भावनात्मक, संवेदनशीलता तथा उनीहरूका तत्कालका समस्याको अलंकारिकताका साथ उग्र शैलीमा बजारीकरण गर्दै शोषण गर्छन्। राष्ट्रवादी छल र आर्थिक कठिनाइको बजारीकरणको जालमा जनता सजिलै फस्ने गर्छन्। शायद यस्तै अवस्थाको विश्लेषण गरेर होला, अल्वर्ट आइन्सटाइनले भनेका छन्–राष्ट्रवाद बच्चाहरूको रोग रुगा हो, जो बार बार आइरहन्छ। राष्ट्रवाद मानव जातिको लुतो हो।

हरेक मानिसको अन्तरमनमा अतीत मोह लुकेको हुन्छ। हामी सबैलाई हाम्रा पुर्खा गौरवशाली थिए भनेको सुन्दा आनन्द लाग्छ। अमरसिंह, बलभद्र, अरनिको र भृकुटीको प्रशंसामा हामी रमाउँछौँ। अतीतबाट लाभान्वित व्यक्ति वा समाजमा नेतृत्व गर्न चाहने व्यक्तिले यसैलाई शोषण गर्ने गरेका छन्। म किशोरावस्थामा हँुदा मलाई माया ममताका साथ पालन पोषण गर्ने आमाले कहिलेकाहीँ भन्नुहुन्थ्यो–अहिलेभन्दा राणा शासन ठीक थियो। सबै कुराको रीतिथिति थियो। अहिले सब मासियो। उहाँ राणा शासनमा पाल्पाका बडाहाकिम रुद्रशमशेरको दरबारमा उच्च पदमा काम गर्ने मेरो हजुरबुबाकी पुत्र वधू हुनुहुन्थ्यो। उहाँलाई राणाको अत्याचार र दमनको अनुभव थिएन। उहाँ शिक्षित हुनुहुन्नथ्यो। यो उहाँको अज्ञानताको कारण निर्दोष अभिव्यक्ति मात्र थियो।

आजभोलि राजनीतिक लाभका लागि भनिन्छ, राणाहरूले सिंहदरबारलगायतका ठूला महल बनाइदिएका थिए र अहिलेकालाई त्यहीँ बसेर शासन गर्न सजिलो भएको छ। राजाले पूर्व–पश्चिम राजमार्ग बनाइदिए। अहिलेकाले राजाले बनाइदिएका उद्योग पनि चलाउन सकेनन्, बेचे। जनताले शोषण र अत्याचारको कति मूल्य चुकाएर त्यो वा त्यस्तै महलहरू राणाहरूका निजी भोगविलासका लागि खडा गराइदिएका थिए भन्ने दर्दनाक वेदनाले तिनीहरूको हृदयलाई पोल्दैन। उनीहरू प्रजातन्त्रकालमा आएको विकास पनि देख्दैनन्, उल्लेख गर्दैनन्। राणा र राजाको अत्याचारको विषय उच्चारण पनि गर्दैनन्। सामान्य मानिस जो अहिले पश्चिमले गरेको वैज्ञानिक विकास त हामीले महाभारतकालमा नै गरिसकेका थियौँ, टाउको काटिएका मानिसको शरीरमा हात्तीको टाउको प्रत्यारोपणसम्म हाम्रा पुर्खाले गर्न सक्थे भन्ने मिथकमा विश्वास गरेर बस्छन्। उनीहरूलाई अहिले छट्टु राजनीतिज्ञले सजिलै भ्रममा पारिदिन्छन्।

जे/जस्ता भ्रमको प्रचार गरेर मत प्राप्त गरे पनि लोकतन्त्रमा जनताको मतको सम्मान हुन्छ। स्वस्थ लोकतन्त्रमा जनमतमाथि कसैले खेलबाड गर्दैन। तर यी पुनरुत्थानवादी नेताहरू एकपटक जनतालाई भ्रममा पारी बहुमत प्राप्त गरेपछि क्रमसः लोकतान्त्रिक अधिकारहरू संकुचित पार्दछन्। लोकतन्त्रका संस्थाहरूलाई कब्जा गर्दछन्। अनियन्त्रित शासनको अभ्यास तथा यिनीहरूको दम्भमा ठेस लगाउनेलाई दमन गर्ने प्रवृत्तिले लोकतन्त्र नाम मात्रको हुन्छ। रुसका पुटिन हुन् वा इजरायलका नेतान्याहु, हंगेरीका भिक्टर अर्वान हुन् वा भारतका मोदी सबैको चरित्र र कार्यशैली करिब करिब समान छ। यी सबैको नजर अहिले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा छ। यही नोभेम्बरमा अमेरिकाको राष्ट्रपति निर्वाचनमा नैतिक मूल्य च्युत तथा चरित्रहीन, लोकतन्त्रप्रति वितरागी ट्रम्प विजय भए भने उग्र दक्षिणपन्थ झन उत्साहित हुनेछ।

लोकतन्त्रले असल परिणाम दिन यसका सञ्चालक गुणवान हुनुपर्छ। मानिसलाई गुणवत्ता हुन लोकतन्त्रले नै प्रेरित गर्छ। तर कथम निकृष्टको हातमा शासन गयो भने लोकतन्त्रले अपेक्षित परिणाम दिन सक्दैन। धूर्त पुनरुत्थानवादीहरूले यस्तै अवस्थाको फाइदा उठाउने हुन। उग्र दक्षिणपन्थी प्रतिगामी धूर्तहरूबाट लोकतन्त्रलाई जोगाउने कर्तव्य समाजका सचेत वर्ग, लोकतान्त्रिक संस्था, सार्वजनिक सञ्चार माध्यम र जागरुक नागरिक अगुवाहरूको हो तर अन्तिम जिम्मेवारी जनताकै हुन्छ।

प्रकाशित: ५ कार्तिक २०८१ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App