चिनी प्रायः हरघरमा उपयोग हुने चिज हो। चिनी चिया कफीमा मात्र होइन कि अनेक खाद्य पदार्थमा मिसाइने गरिन्छ। चिनी उखुको रसबाट बनेको ससाना सेता दानाको गुलियो खाद्य पदार्थ हो भन्ने पनि सबैलाई थाहा छ। तर उखु आदिबाट बन्ने यस चिनीमा प्रसोधन गर्दा के के हालिन्छ भन्ने धेरै कम मानिसलाई थाहा छ। के चिनी बनाउँदा जनावरको ही हालिन्छ ? के उखु जस्तो दिव्य वनस्पतिबाट बनाइने चिनी शाकाहारी होइन त ? के चिनी जहर जस्तै हो ? यस लेखमा बिनाआग्रह/पूर्वाग्रह यिनै प्रश्नको तथ्यपरक जवाफ खोेज्ने जमर्को गरिएको छ।
चिनी बनाउँदा सबैभन्दा पहिला उखुलाई साना साना टुक्रामा काटिन्छ। ती टुक्रालाई मेसिनमा हालेर रस निकालिन्छ। दोस्रो चरणमा रसलाई क्लारिफिकेसन अर्थात् सफाइ कार्य गरिन्छ। यसका लागि सबैभन्दा पहिला रसमा आवश्यक मात्रामा चुना (क्याल्सियम अक्साइड) मिलाइन्छ। रसमा चुना मिलाउँदा दूधमा कागतीको रस हाल्दा दूध फाटेझैँ रस फाट्छ। त्यसपछि फाटेको रसमा कार्बन डाइअक्साइड मिसाएर कार्बोनेसन गर्ने कार्य गरिन्छ।
कार्बोनेसन गरेपछि रस सफा हुन्छ तर पहेँलो हुन्छ। अब यसमा केमिकलहरू सल्फर डाइअक्साइड, फोस्फोरिक एसिड, जिंक फोर्मलाडेहाइड तथा सोडियम सल्फेट आदि हालिन्छ। तर यहाँ उल्लेखनिय कुरा के भने सल्फर मिश्रण जहर जस्तै हो। त्यो किन भने एक वयस्क व्यक्तिले सिर्फ एक चम्चा सल्फर मिश्रण सेवन गर्ने हो भने मृत्यु हुन सक्दछ।
नेपाल भारतलगायतका चिनी मिलमा यसरी चुनाका साथै सल्फर कपाउन्ड हालेर चिनी सफाइ गरिन्छ। तर अमेरिकालगायतका देशमा यस्तो चिनी प्रयोग गरिँदैन। उतातिरका चिनी मिलले क्लरिफिकेसन अर्थात सफाइका लागि बोन चारकोल अर्थात हीको अंगार पनि मिलाउने कार्य गर्छन्। जनावरको हीलाई पकाएर बोन चारकोल बनाइन्छ।
उखुको रसमो सफाइ गरेपछि बोइल हाउसमा विभिन्न चरणमा रसलाई ६० देखि ११० डिग्री सेल्सियस तापक्रममा पकाएर चिनीको पाउडर अनि दाना बनाइन्छ। दाना बनेपछि पुनः चुम्बकको सहयोगले फलामको टुक्राहरू तान्ने काम हुन्छ। अनि सेतो चिनीलाई प्याकिजिङ गरिन्छ।
चिनी उखुको रसबाट बनाइने भए तापनि यसको प्रोसेसिङ गर्दा उखुमा भएको सबै भिटामिन्स तथा मिनरल्स हटाइन्छ र चिनीमा सुक्रोज बाँकी रहन्छ। सय ग्राम चिनीमा ९९. ८ ग्राम सुक्रोज हुन्छ। विशेषज्ञका अनुसार नेपाल भारतमा उत्पादन हुने एक केजी चिनीमा ५० देखि ७० मिलीग्राम सल्फर पनि हुन्छ। तर अमेरिका तथा युरोपका देशहरूमा एक केजी चिनीमा १० देखि २० मिलीग्राम सल्फर हुन्छ। बढी सल्फर भएको चिनी अमेरिकालगायतका देशहरूमा उपयोग गरिँदैन। चिनी उखुको साथै चुकन्दरबाट पनि बनाइने गरिन्छ। चुकन्दरबाट चिनी बनाउने प्रक्रिया पनि उखुको जस्तै हो। चुकन्दरको चिनीमा पनि बोन चारकोल तथा सल्फर प्रयोग गरिन्छ। चुकुन्दरको चिनीमा पनि ९९.८ प्रतिशत सुक्रोज हुन्छ।
संक्षेपमा भन्नुपर्दा यसरी विभिन्न चरण पार गरेर चिनी बन्छ। चिनी बनाउँदा उखुको रसमा रहेको फोहोर सफा गर्न चुनालगायतका अन्य केमिकल्स, बोन चारकोल तथा फलामका टुक्रा झिक्न चुम्बकको प्रयोग गरिने प्रष्ट छ। तर चिनीलाई सेतो बनाउन प्रयोग गरिने यस्ता केमिकल्सलाई गोप्य राखिन्छ। बोन चारकोल हालिएको छ कि सल्फर कम्पाउन्ड ? कुनै पनि चिनी मिलले यसबारेसही जानकारी दिँदैनन्। तर नेपाल भारतका चिनी मिलहरूले सल्फर कपाउन्ड मात्र प्रयोग गर्ने जानकारहरू बताउँछन्। यहाँ उत्पादित चिनीमा बोन चारकोल नहालिने चिनीमिलहरूको दाबी छ।
हिजोआज बजारमा पाइने मिश्री, गुड र चिनीमा खासै अन्तर छैन। चिनीको घोलबाट मिश्री र गुड बनाइने गरिन्छ। चिनीको घोलमा धागो राखेर बनाइएको मिश्री कसरी धागोवाला मिश्री हुन्छ ? कुनै पनि रसायन नहाली उखुको रसमा उपलब्ध भिटामिन तथा मिनरल नष्ट नगरी धागोवाला मिश्री बनाउने कार्य निकै कठिन छ। त्यसरी बनाइएको मिश्री चिनीभन्दा उत्तम हुन्छ। तर कुन सक्कली कुन नक्कली सर्वसाधारणलाई चिन्न गाह्रो छ। अहिले त सुगर सिरपलाई मह र सेतो चिनीमा खैरो रंग हालेर ब्राउन सुगर भनेर बेच्नेहरू धेरै छन्।
अब प्रश्न उठ्छ, नेपाल भारतमा बनेको होस् वा ब्राजिल वा अमेरिका बनेको चिनी सेतो हुन्छ। त्यसमाथि नेपाल भारतका बजारमा चिनी बिना लेबल खुलारूपमा बिक्री हुन्छ। नेपालमा विदेशबाट पनि चिनी आयात हुन्छ। अब फसाद परेन ? ही हालेको चिनी हो कि सल्फर कम्पाउनड हालेको ? पहिचान कसरी गर्ने ? मैले त चिनी खान छाडेको १० वर्ष भयो।
प्रकाशित: ५ कार्तिक २०८१ ०८:११ सोमबार