२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
विचार

ह्यारिस कि फेरि ट्रम्प ?

मुस्किलले लगभग तीन हप्तामै हुन लागेको संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनाव अनेक अर्थमा ऐतिहासिक हुने देखिएको छ। पंक्तिकारले बुझेसम्म विगत दुई तीन दशकभित्रको रोनाल्ड रेगनको चुनाव यसअघि निकै नै चर्चित थियो–एउटा सिद्धहस्त कलाकार राजनीतिक क्षेत्रमा उक्लेर राजनीतिमा उत्रेकोमा। अहिले झण्डै झण्डै त्यस्तै त्यस्तै पृष्ठभूमिका टिभी ‘कलाकार’ रहिसकेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः दोस्रो पटक ‘आक्रामकरूपमा’ राष्ट्रपति हुन उम्मेदवार बनेका छन्। त्यति मात्र होइन, उनका दैनन्दिन अभिव्यक्ति, मुद्दा मामिलाका बाबजुद अमेरिकाका दुई प्रमुख राजनीतिक दलमध्ये ‘निश्चित’ जनमत साथको रिपब्लिकन दलको उम्मेदवारका रूपमा प्रस्तुत हुन पाएर पनि।

अर्काे रमाइलो, पूर्वराष्ट्रपतिकी पत्नी, वकालत पेसामा ख्याति कमाइसकेकी र विदेश मन्त्रीको पदसमेत सम्हालिसकेकी, २०औं लाख लोकमत (जनमत भोट) बढी पाएकी हिलरी क्लिन्टनलाई निर्वाचन मण्डल (इलेक्ट्रोरल भोट) बाट उछिनी ट्रम्प सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएका थिए। २०२० को चुनावमा आफूलाई हराउने वर्तमान राष्ट्रपति जो वाइडेनलाई २०२४ को चुनावमा ‘हराउँछन्/हराउँछन्’ जस्तो स्थिति बनाइसकेका ट्रम्पको प्रतिद्वन्द्वी हुन आइपुगिन्–जो वाइडेनकी उपराष्ट्रपति कमला ह्यारिस (पुनः उम्मेदवार बनेका डेमोक्र्याटिक राष्ट्रपति जो वाइडेन चुनावी मैदानबाट वाहिरिएपछि )।

दक्षिण एशियाली (केरला–भारत) की आमा र काला जातिका बाबुकी सन्तान– सरकारी वकिलमा प्रसिद्धि कमाएकी र राजनीतिमा प्रवेश गरेकी ५९ वर्षिया कमला ह्यारिससँग ट्रम्प पछिल्लो जनमत सर्वेक्षणहरूबाट पनि पछि नै छन् । डोनाल्ड ट्रम्प आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसलाई ‘अयोग्य’ भएको आरोप लगाउँदै आएका थिए सुरु सुरुमा त, उनको भाषा (अंग्रेजी) र उच्चारणहरूप्रति पनि हाँसो गर्दै थिए तर पहिलो टेलिभिजन छलफलदेखि उनी आफैँ कमलाको तुलनामा ‘कम सामथ्र्यवान’ देखिए।

एउटा प्रश्न उठ्ला, यतिका पत्रपत्रिकाले झण्डै झण्डै प्रतिष्ठित र यसैमा भिजेका/विज्ञ विदेशी लेखकका अनुवादहरू नियमित छाप्दाछाप्दै पंक्तिकारले यो लेखको जमर्काे किन गरेको होला ? एउटा त हाम्रा नेताहरूका दैनन्दिन आरोप/प्रत्यारोपका समाचार मात्र पढ्न बाध्य पाठकलाई ‘त्यस्तो हामीकहाँ मात्र होइन, धनी र विकसित भनिएको अमेरिका जस्तो राष्ट्रमा पनि कहिलेकाहीँ त्यस्तै त्यस्तै हुँदोरहेछ’’ भन्ने बताउँन् ।

रिपब्लिकन धुरन्धरहरू नै यस पटकको निर्वाचन जनताले नै बुझ्न कठिन भएको बताउँछन् भने हालसालैको द न्युयोर्क टाइम्स र फिलाडेल्फिया इन्क्वायरर पत्रिका तथा सियना कलेजले गरेको अलग अलग मत सर्वेक्षणमा ९० प्रतिशत मतदाताले अब उनीहरूलाई डोनाल्ड ट्रम्पबारे बुझ्न केही बाँकी नरहेको बताएका छन् (अब उनीहरू ट्रम्पबाट वाक्क भएका भनेका हुन् कि) ? त्यस्तै, डेमोक्र्याटिक पार्टीका एक रणनीतिकार तथा अमेरिकी प्रगति प्रवद्र्धन कार्य कोषका सभापति नवीन नायक ‘किन २०२० को निर्वाचनमा ट्रम्प हारे’ भन्ने कुराको जनतामा अब वोध भएको भनिरहेका छन्।

हुन पनि हो, ट्रम्प अहिले निर्वाचन हारेमा, राज्य राज्यका भोट गन्ती दोहोर्‍याउन लाउने जस्ता ‘जुक्ति’ मार्फत ‘घोषणा कार्य–सके उल्टाउने, नसके बिलखबन्दमा पार्ने’ मुद्दामा छन्। यस्ता मामिला र कार्यमा डेमोक्र्याटिक पार्टीभन्दा रिपब्लिकन पार्टी धेरै अगाडि रहेकामा अमेरिकी जनमत पनि अभ्यस्त भइसकेको सञ्चार माध्यमहरू बताइरहेका छन्।

अमेरिकामा अहिले ‘वकिल’ हरूका लागि पनि ‘धनवर्षा’ को अवसर छ। उम्मेदवार ट्रम्पले चुनाव हारेमा ‘के के गर्नुपर्ला’ भन्ने लख काटी धेरै जनाको निर्वाचक मण्डल रहेको पेन्सिल्भेनिया, न्युयोर्क, टेक्सस, नर्थ क्यारोलिना, जर्जिया, मिसिगन जस्ता राज्यहरूमा दर्जनौं मुद्दा अहिले नै दर्ता गरिसकिएको छ। भोट बाकसको सुरक्षा, गन्ती, सिलबन्दी, मत स्थानान्तरणको सुरक्षा जस्ता संभाव्य त्रुटि औल्याइ साधारणतः निर्वाचनको भोलिपल्ट हुने घोषणाको ‘तत्काल’ रोकथाम गर्न सकियोस्, याने कि डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस राष्ट्रपति घोषित नहोउन् (!?)। विभिन्न राज्यमा कानुनी पेसामा कार्यरत नेपाली व्यवसायीहरू पनि बग्रेल्ती भएको सुनिएको छ तर निर्वाचन कानुनका बुँदा बुँदा केलाइ ‘खेल्न सक्ने’ र अंग्रेजीमा पनि उत्तिकै दक्षता भएका कोही÷केही छन् भने तिनका लागि पनि यो एउटा सुवर्ण अवसर हो भन्ने यो पंक्तिकारलाई लाग्छ (पंक्तिकारलाई १९७८ को ‘आइभिपी’ मा अमेरिका जाँदा एकजना लब्ध प्रतिष्ठ÷धनी वकिल÷लेखक आल्डो इकार्डीले फ्लोरिडामा आतिथ्यका क्रममा पंक्तिकारलाई त्यहाँ उनीसँगै वकालत पेसामा संलग्न हुन ‘हत्ते’ गरेका थिए।)

पूर्वराष्ट्रपति ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएमा गर्भ पतनको अधिकार गैरकानुनी÷सीमित हुने, कैयन् अन्तर्राष्ट्रिय मामिलामा अमेरिकी नीतिमा उथलपुथल हुने र अर्थतन्त्र नै इलन मस्क र जेफ बेजोस जस्ता धनीहरूको हितमा मात्र हुने कतिको चिन्ता छ भने यसै वर्षको अर्थशास्त्रतर्फका नोबेल पुरस्कार विजेता डारोन एसमोग्लु र जेम्स रविन्सन जस्ता हस्तीहरू पनि डोनाल्ड ट्रम्पले अघिल्लो निर्वाचनमा जनताको अधिकारलाई कुन्ठित गर्न खोजेको उल्लेख गर्दै आफूहरू चिन्तित रहेको बताएका छन्।

हुन पनि हो, रिपब्लिकन उम्मेदवार ट्रम्पले ‘कुन कुरामा कहिले के गर्लान्!’ भन्ने लख काट्नै मुस्किल छ। पूर्वराष्ट्रपति रिचर्ड निक्सन (३७औँ) को ‘वाटरगेट काण्ड’ का पहिलो घोषक बब उडवार्ड लिखित दुई हप्ताअघि प्रकाशित एक पुस्तकमा ‘ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच विगत केही वर्षदेखि निरन्तर सम्पर्क रहेको’ कुरा हिजोअस्ति प्रकाशमा आएपछि अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा ठूलो ‘भैँचालो’ नै गएको छ। पुटिनले युक्रेनमा दुई वर्षअघि ‘हमला’ गरेपछि उनलाई ट्रम्पले ‘प्रतिभावान व्यक्ति’ को संज्ञा नै दिएका थिए। धेरै दिग्गज/विद्वान्हरू राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएमा ‘के हुने हो !’ भन्न सक्ने अवस्थामै नरहेको अहिले विश्वको शक्तिशालीमध्ये राष्ट्रको राजधानी वासिङ्गटन डिसीमा मुख्य चर्चाको विषय भएको छ। साधारणतः पूर्व राष्ट्रपतिहरूले पनि विदेशका हस्तीहरूसँग सम्पर्क गर्दा अमेरिकी विदेश मन्त्रालयलाई जानकारी दिन्छन् भने ‘प्रतिद्वन्द्वी’ राष्ट्रहरू रुस र चीन जस्ता मुलुकबारेमा त केही भन्नु नै परेन।

अहिले अमेरिकामा निर्वाचनको मुख्य मुद्दा भनेको ट्रम्प राष्ट्रपति निर्वाचित भए ‘धनीको कर कटौती हुन्छ र मध्यम वर्गमाथि त्यसको भार लादिन्छ’ भन्ने, ६० वर्षअघि एउटा मुद्दाबाट महिलालाई प्राप्त गर्भ पतनको अधिकार राज्य राज्यमा नै पु¥याइ त्यसको हरण गर्ने र मुलुकमा ‘एकता र सद्भावभन्दा विग्रह रोपिनेछ’ भन्नेमा छ। टेस्ला (अमेरिकी) विद्युतीय गाडी, रकेट विज्ञान र सञ्चारमार्फत विशेष धनाढ्य इलन मस्कलगायतको ट्रम्पलाई देखादेखी ठूलो समर्थन छ, नेपालमा मीनबहादुर गुरुङले केपी ओलीलाई गरे जस्तै भन्न पनि मिल्छ कि ?

अमेरिकी निर्वाचनबारे यो पंक्तिकारको चासो पनि यसैसँग जोडिएको छ। युरोपलगायत विश्वभरबाट गएका मान्छेको बौद्धिक, तकनिकी र बाहुबलले अमेरिका अहिले विश्वको ‘अग्रणी’ मुलुक बन्न पुगेको हो । त्यसको इतिहासको ग्रन्थ एक दुई हजार पृष्ठ बन्न सक्छ। तर ट्रम्प भने आप्रवासीको खोइरो खनिरहेका छन् र ‘सबैलाई निषेध’ को नारा दिइरहेछन्। ट्रम्पबाट बारम्बार व्यक्त भएका यस्तै उग्र विचार र कार्यशैलीबाट ‘उनी निरंकुश शासक हुन किंचित बेर लाग्ने छैन’ भन्ने उदार बुद्धिजीवीहरूमा पलाएको चेत अहिले निर्वाचनको थप मुख्य मुद्दा हुन गएको छ।

अतिशयवादीहरू भने अब अमेरिकाले आफू पद्धतिमा चलेको मुलुक, अरूलाई नैतिकता सिकाउने मुलुकका रूपमा दावी नगरे हुन्छ भन्न थालेका छन्। वास्तवमै यो निर्वाचन अभूतपूर्वरूपमा मुलुक छ्याङ्ग देखिने तहमा पुगेको छ। राष्ट्रपतीय निर्वाचनका सिलसिलामा उद्घाटित ट्रम्पसम्बन्धी दुईवटा टेपका बेहोरा शिष्टताका कारण पंक्तिकारले उद्धरण गर्न साहस गरेन।

अब अलिकति आफ्नै नेपाली स्वार्थका कुरा। अहिले अमेरिकामा कुनाकाप्चासम्म करिव पाँच लाख नेपाली मूलका बसोबासी रहेको बताइन्छ। धेरैले भोलि नेपाललाई दिन सक्ने ज्ञान र सीप संगालिरहेको पनि सहज बुझ्न सकिन्छ। पंक्तिकारभन्दा धेरै नियमितरूपमा नयाँ नयाँ विषय समाहित लेखहरू लेखी नागरिक दैनिकमार्फत मुलुकमा ज्ञान÷चेतना वृद्धि गर्न सघाइरहेका डा. सुभाष पोखरेल जस्ता व्यक्ति पनि अमेरिकामा कार्यरत छन्। अन्य धेरै त्यस्तै व्यक्ति अवश्य कार्यरत छन्। उहाँहरूले कतै आफ्नै निहित स्वार्थले रिपब्लिकन झण्डा त समात्नुभएको छैन ? त्यसो गर्नु भनेको त आफू मात्र होईन, हजारौँहजारको खुट्टामा  बन्चरो हान्नुसरह हुनेछ। अर्काे, भोलिका लागि, अझ टड्कारो सत्य कुरा के हो भने–अलिकति सम्पन्न भएपछि विश्वमै जहाँसुकै बच्चा कम जन्माउनु प्रकृतिको नियमसरह भएको छ। १९७० को दशकको जनसंख्या नियन्त्रणको नारा अहिले कहाँ छ ? ‘परिवार नियोजन’ कहाँ छ ? चीन जस्तो घना जनसंख्याको मुलुक अहिले तीनवटा बच्चाको ‘आदर्श परिवार’ को नारा घन्काउँदैछ। आजको दु्र्रत संसारमा आप्रवासन रोकेर रोकिने कुरा हो ? सम्भव छ ?

रमाइलो हेर्नाेस् न, अहिले अदालतमा रिपब्लिकन राष्ट्रपति उम्मेदवार (!) डोनाल्ड ट्रम्पविरुद्ध हाम्रो भाषामा भए ‘नैतिक पतन’ हुने र जेल जाने मुद्दाहरू बग्रेल्ती थाँती राखेर उनलाई चुनाव लड्ने अवसर दिइएको छ। अचम्म छ, विश्वको प्रजातान्त्रिक मुलुकको ‘नेता’ अमेरिकामा ती मुद्दाको तल्लो अदालतबाट निर्णय हुनुअघि नै सर्वाेच्च संघीय अदालतले एउटा मुद्दाको निहुँ बनाइ झण्डै झण्डै ‘जे/जस्तो अपराधकार्य’ गरे पनि राष्ट्रपतिले ‘पदको उन्मुक्ति’ पाउने घोषणा गरेको छ। खासगरी प्रजातान्त्रिक युरोपी मुलुकहरूमा कानुनी क्षेत्रमा र विश्वमै यसको ठूलो बहस भइरहेको छ।

अमेरिका विश्वलाई प्रजातन्त्रको पाठ पढाउँदै, उसले भने जस्तो नगरे जुनसुकै महाद्वीप र मुलुकमा दण्ड दिँदै हिँडेको मुलुक हो। आफ्नो मुलुकभित्रै भने व्यापक शोषण छ। सैन्य उद्योग र चिकित्सा क्षेत्र त्यसको ज्वलन्त उदाहरण हुन्। त्यसैले त्यहाँ पनि हामीकहाँभन्दा ठूला ठूला आन्दोलन हुन्छन् तर ती सबै सेलाएर जान्छन्। थुप्रै खनिज र स्रोतसाधन भएको, ठूलो भूभाग ओगटेको मुलुक भएर मात्र हो– त्यहाँ साह्रै ठूलो विरोध/क्रान्ति हुन सकेको छैन (त्यहाँ पुग्ने जनशक्तिको लर्काे अनवरत छ) तर पर्याप्त विभेद भने एक्काइसौँ शताब्दीसम्म आइपुग्दा पनि छ। विज्ञापनमा काला जातिले प्रवेश पाएको भर्खरै हो। जनसंख्याको एक प्रतिशतले मात्र मुलुकको ९० प्रतिशत सम्पत्तिमा कब्जा जमाएको छ। डोनाल्ड ट्रम्पहरू त्यो पर्खाल नभत्कियोस् भन्नेमा लागिपरेका छन्।

जे होस्, अब नोभेम्बर ५  (कात्तिक २०) गतेलाई कुर्ने काम मात्र हो हामी ‘बबुरा’ राष्ट्रहरूबाट हुने ! बाँकी काम त अमेरिकी जनताले नै गर्ने हो ।

kpsnepal@hotmail.com

प्रकाशित: ४ कार्तिक २०८१ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App