६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

पारिवारिक मूल्यप्रति चिन्तित चीन

आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्दै गर्दा चिनियाँ समाजले नयाँनयाँ चुनौती झेलिरहेको छ। पेचिलो प्रतिस्पर्धा, आर्थिक आत्मनिर्भरता, साँघुरिँदो लैंगिक विभेद, उक्लिँदो प्राविधिक विकासका कारण चिनियाँ नयाँ पुस्ताको सोच समयसँगै बदलिँदो छ। पढाइ, वृत्ति विकास र भविष्य बनाउने दौडमा धेरै चिनियाँ युवा उपयुक्त उमेरमा विवाह गर्दैनन्। कतिपय युवासँग विवाह गर्ने कुनै उत्साह छैन। धेरै युवायुवती औपचारिक रूपमा विवाह नगरी सँगै बस्छन्। विवाह गर्नेहरू पनि बच्चा जन्माउन चाहँदैनन्। बच्चा हुर्काउन लाग्ने समयले आफ्नो वृत्ति विकास र रोजगारी चौपट हुने डरले विवाह गरेर पनि बच्चा नजन्माउने जोडी धेरै भेटिन्छन्। फलतः आज चीनको शिशु जन्म दर घटेको छ। संसारको सबभन्दा बढी जनसंख्या भएको देश चीनलाई भारतले जनसंख्यामा पछि पारेको छ।

उमेर छँदै विवाह नगर्दा वरले वधू नपाउने र वधूले वर नपाउने समस्या बढ्दो छ। त्यस कारण हिजोआज प्रमुख चिनियाँ सहरी पार्कमा वर र वधूको विज्ञापन गर्ने निश्चित ठाउँ भेटिन्छन्। त्यस्ता पार्कमा रातो र निलो अलग अलग कागजमा वर र वधूको विज्ञापन गरिएको हुन्छ।

लेमिनेसन गरिएका राता र निला कागतका तोरणमा वर र वधूले आफ्नो परिचय र आफूले खोजेको जोडीको बेहोरा खुलाएर सम्पर्क नम्बर लेखिएको हुन्छ। रमाइलो कुरा त त्यस्ता विज्ञापन बोकेर कतिपय वर र वधूका आमाबुबा सुहाउँदो ज्वाइँ र बुहारीको प्रतिक्षा गरिरहेका हुन्छन्। यस्ता तोरण हेर्न ठूलै संख्यामा मानिस भेला हुने गरेका छन्।

विवाहप्रति विकर्षण हरेक विकसित सहरमा देखिने समस्या हो। त्यसलाई कतिपयले स्वतन्त्रताको चाहना पनि भन्छन्। कतिले आर्थिक असुरक्षाको द्योतक पनि। कुनैबेला बढ्दो जनसंख्या वृद्धि रोकथाम गर्न चीनले एक मात्र बच्चा जन्माउने नीति ल्याएको थियो भने अहिले नदीको धार ठीक उल्टो बगिरहेको छ।

चीन सरकारलाई अब चीनको घट्दो जनसंख्या दरले चिन्तित बनाएको छ। एउटा राज्यको लागि विवाह र सन्तान प्राप्तिप्रति युवाहरूको वैराग ठूलो समस्या हो। किनभने जनसंख्याबिनाको राज्य हुन सक्दैन। तथापि आजको चिनियाँ समाज भने बदलिइसकेको छ। राज्यले अब दुईभन्दा बढी सन्तान जन्माउन सक्ने कानुनी व्यवस्था गर्दा पनि अहिले चिनियाँ युवाहरू त्यसप्रति उति चासो दिइरहेका छैनन्।

चीनका विद्वान् कन्फुसियस परिवार बलियो भए मात्र राज्य बलियो हुने बताउँछन्। कान्सु प्रान्तको मुख्यालय लानचौबाट झन्डै ४० मिनेट हिँडेपछि सानो गाउँ पुग्दा प्रत्येक घरको ढोकामा चिनियाँ अक्षरमा लेखिएको थियो– परिवार सुखी भए सबै काममा सफल भइन्छ । यद्यपि चिनियाँ सहरहरूमा भने विवाह नामको सामाजिक संस्था कमजोर बन्दै गएको देखिन्छ। विवाहप्रति नै युवाहरू उदासीन भएपछि परिवार नामको संस्थामा खतरा आइपरेको छ।

युवाको आत्मकेन्द्रित सोचले बुबाआमा, बाजेबज्यै, आफन्त र समाजप्रतिको जिम्मेवारी बोध क्रमशः कमजोर बन्नेप्रति चिनियाँ नेताहरू चिन्तित देखिन्छन्। त्यसकारण राष्ट्रपति सी चिनफिंग बारम्बार आफ्ना भाषणमा परिवारप्रति चिनियाँ मूल्यमान्यताको चर्चा गर्छन्। उनी आफैँ पनि चिनियाँ परिवारका घर भान्छामा पुगेर भलाकुसारी गरिरहेका दृश्य सञ्चार माध्यमले प्रसारण गर्छन्। आफ्नो परिवारप्रति सिको जिम्मेवारी बोध झल्काउने आलेख र तस्बिरहरू पनि छापिन्छन्। बेलाबेला सीले आफ्ना मातापिताको सेवा गरेका दृश्य र तस्बिर सामाजिक सञ्जालमा व्यापक प्रचारमा हुन्छन्।

परिवारसँग बस्नु, परिवारका सबै सदस्यको हेरविचार गर्नु, आफन्तजनको हेरचाह गर्नु चिनियाँहरूको पुरानो पारिवारिक परम्परा हो। आर्थिक समृद्धिको दौडमा चिनियाँ सभ्यताका ती परम्परा सहरीकरणको झिलिमिलीमा विलीन भए पश्चिमा व्यक्तिवादले चिनियाँ समाज र संस्कृतिलाई पनि निल्न सक्छ। त्यसले चीनको विशिष्ट सभ्यताको बेग्लै अस्तित्व समाप्त हुनेछ। त्यस कारण हिजोआज चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टी युवालाई परिवारप्रति आफ्ना मूल्य मान्यता बोध गराउन लागिपरेका छन्।

यही सिलसिलामा चीनको विदेशी भाषा छापाखानाले माओ त्से तुंगको ‘पारिवारिक मूल्य÷मान्यता’ पुस्तक सन् २०२० मा प्रकाशित गर्‍यो। माओको निधनको आधा शताब्दीभन्दा बढी समय भइसकेको छ। उनले छोडेको चीनभन्दा आजको चीन धेरै कोणबाट फरक छ। तर चीनको आजको समृद्धिको जग माओले राखेकोमा चिनियाँ जनताबीच दुई मत छैन।

आजका चिनियाँ जनताले पनि माओको यो गुण बिर्सेका छैनन्। माओको जन्मदिनमा माओको जन्मथलो, माओको पार्थिव शरीर राखिएको पेचिंगको भवन, हरेक सहरमा बनाइएका माओका सालिकअघि उनीप्रति सम्मान दर्शाउन आउने चिनियाँहरूको जमघटले उनीप्रति चिनियाँ जनताको श्रद्धा झल्किन्छ। माओप्रति जनताको यही श्रद्धालाई विचार गरेर चीन सरकारले आजको नयाँ पुस्तालाई परिवारको महत्त्वबोध गराउन माओको परिवारबारे यो पुस्तक प्रकाशन गरेको देखिन्छ।

संसारभर सयौँ लेखकले लेखेका सयौँ भाषामा माओको जीवनी छापिएको हुनुपर्छ। अमेरिकी पत्रकार एड्गर स्नोले लेखेको ‘चीनको आकाशमा चम्किलो रातो तारा’बाट सुरु भएको माओको जीवनी लेख्ने सिलसिला आजसम्म पनि रोकिएको छैन। माओको पारिवारिक मूल्य मान्यता पुस्तकलाई पनि माओको जीवनी भन्न सकिन्छ। तर फरक के हो भने यसअघि उनका जीवनी प्रमुखतः राजनीतिक जीवनी थिए। तिनमा उनको परिवारबारे निकै थोरै मात्र चर्चा हुन्थ्यो। यो जीवनी भने पूर्णतः माओको परिवारमा नै केन्द्रित छ। यो एकप्रकारले माओको वंशावली हो।

हुनान प्रान्तको स्यांगथान काउन्टीमा पर्ने साओसानमा सन् १८९३ मा जन्मेका माओका आमाबुबादेखि मामाघर, दाजुभाइ हुँदै उनको जीवनमा परिवारका रूपमा आएका सबै व्यक्तिको यो पुस्तकमा विस्तृत चर्चा गरिएको छ। उनको बाल्यकाल, विद्यार्थी जीवनी, युवावस्था, क्रान्तिमा होमिँदाको समय, क्रान्तिमा विजयी भएपछि राजनेताहरूका रूपमा स्थापित भइसकेपछिको लामो कालखण्डमा माओको परिवारबारे व्यवस्थित अध्ययन अनुसन्धानपछि यो पुस्तक प्रकाशन गरिएको देखिन्छ।

परिवारप्रति माओको जिम्मेवारी बोधको अर्थ उनले राज्यसंयन्त्रको प्रयोग गरी आफ्ना परिवारका सदस्यलाई मात्र सुविधा र प्राथमिकता दिएको भन्ने होइन। बरु परिवारका सबै सदस्यले देश बनाउने माओको बाटोमा कसरी सहयोग गरे भन्ने कुराको चर्चा छ।

परिवारप्रति माओको जिम्मेवारीबोधबारे यस्तो पुस्तक प्रकाशन गर्नुको प्रमुख मनसाय भने परिवारप्रति चिनियाँ युवाहरूको सोचाइमा परिवर्तन ल्याउने प्रयास हो। राजनीतिक उथलपुथल, लडाइँ, बस्ने÷खाने ठेगान नभएको दैनिकी, रातोदिनको व्यस्तताबीच चिनियाँ नेताको आफ्नो परिवारका सबै सदस्यप्रतिको जिम्मेवारी बोधको उदाहरणबाट नयाँ पुस्तालाई परिवारको महत्त्व र जिम्मेवारी बोध गराउने चिनियाँ नेतृत्वको प्रयासले यो मसिनो समस्याप्रति उनीहरूको संवेदनशीलता झल्काएको छ।

चीनमा चिनियाँ भाषा पढेर हाल पेइचिंगमा बस्दै आएका नेपाली युवा शान्ति (चिनियाँ नाम)ले चिनियाँ सामाजिक सञ्जाल विच्याटमार्फत देखाउने नेपालमा आफ्नो परिवारप्रतिको जिम्मेवारी बोधका दृश्यलाई धेरै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले मन पराए।

विशेषतः चिनियाँ अधवैँसे र ज्येष्ठ नागरिकबीच उनी निकै चर्चित छन् र उनका श्रव्यदृश्य हेर्नेको संख्या उल्लेख्य संख्यामा बढी छ। परिवारप्रति शान्तिको जिम्मेवारीबाट चिनियाँहरू प्रभावित देखिन्छन् र उनलाई कतै भेट्दा पनि आमाबुबाबारे सोधिरहेका हुन्छन्।

चिनियाँ नेतृत्व पश्चिमा विज्ञान र प्रविधिबाट सिक्न जति आतुर छ, चिनियाँ पारिवारिक परम्परा र मूल्य जोगाउनमा पनि संवेदनशील छ। पश्चिमा व्यक्तिवादी परम्पराबाट चिनियाँ समाज पनि संक्रमित हुन सक्नेमा उनीहरू सचेत छन्।

पारिवारिक सम्मिलनमा आधारित चिनियाँ सभ्यता पश्चिमा व्यक्तिवादी सोचबाट प्रभावित हुँदै जाँदा चिनियाँ सभ्यताको मूल मर्ममा क्षयीकरण हुनेछ। सहरीकरणले जन्माउने व्यक्तिवाद र चिनियाँ समाजको पारिवारिक भावनालाई कसरी सन्तुलन मिलाउने भन्ने चुनौती चिनियाँ समाजले सामना गरिरहेको छ।

चीनका सबैजसो चाडपर्वमा पारिवारिक भेटघाटको विशेष महत्त्व हुन्छ। हरेक चाडपर्वमा त्यस्ता केही प्रतीकात्मक खाद्य पदार्थ हुन्छन् जसले परिवारको मिलन र एकतालाई झल्काउन खोजिएको हुन्छ। जस्तै वसन्त पर्वमा खाने थांगयुआन, मध्य शरदको चन्द्र रोटी, पितृ पूजा गर्ने छिंग मिंगपर्वको चोंग च आदिले पारिवारिक भावना र मिलनलाई झल्काइरहेको हुन्छ। चिनियाँ युवाहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा यस्ता प्रतीक र पर्वको चर्चामार्फत पनि परिवारको महत्तालाई चिनियाँहरूले जोड दिइरहेका छन्।

आर्थिक परिवर्तनसँग समाजमा पनि अनेकन परिवर्तन आउनु स्वाभाविक कुरा हो। तर त्यस्ता कतिपय परिवर्तन सकारात्मक हुन्छन् भने कतिपय नकारात्मक पनि। आर्थिक प्रगतिले चिनियाँ जीवन सहज बनाएको छ। साथै, त्यसले समाजको भित्री तहमा केही चुनौती पनि देखिँदैछ। तर चिनियाँ नेतृत्व त्यस्ता चुनौतीप्रति समयमै सहज भएर तिनको उपचारमा लागेका छन्। त्यस्ता सामाजिक चुनौतीले कालान्तरमा चिनियाँ समाजका उपलब्धि र सम्पूर्णतः चिनियाँ सभ्यतामा पार्न सक्ने प्रभावबारे उनीहरू सचेत छन्।

–लेखक चिनियाँ विश्वविद्यालयमा अध्ययनरत छन्।

प्रकाशित: १४ आश्विन २०८१ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App