कोदो स्वास्थ्य, पोषण, व्यवसाय, वातावरण र खाद्य सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिन्छ। यसलाई थोरै खाए पुग्ने, अडिलो, बिस्तारै पच्ने, छिटो पाक्ने, लगानी कम, मलजल कम चाहिने, सबै ठाउँ र रुखोपाखो जमिनमा पनि फल्ने, रोग/कीरा कम लाग्ने, विषादी र रासायनिक मल नचाहिने, दाना र पिठोबाट बन्ने सम्पूर्ण परिकार बनाउन मिल्ने पोसिलो र अडिलो खाद्यान्नका रूपमा लिन सकिन्छ। त्यसैले यसले खाद्य सुरक्षा र अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
खाद्य सुरक्षा र पोषणमा वरदान
चामलमा भन्दा क्याल्सियम ३५ गुणा र आइरन १५ गुणा बढी कोदोमा पाइन्छ। मानवलाई चाहिने सन्तुलित पोषण तत्व कार्बाेहाइड्रेट कम र अन्य लवण, आइरन, क्याल्सियम, फस्फोरस र अमिनो एसिडलगायतका तत्व पनि प्रशस्त हुन्छ। ग्युटेक र लेक्टिन नहुने र सबै उमेर समूहका रोगीले समेत उपयोग गर्न मिल्ने औषधीय गुण हुन्छ कोदोमा। पानी कम चाहिने अर्थात् सुक्खा र तातो सहन सक्ने भएकाले यो तराईदेखि उच्च पहाडसम्म उत्पादन हुन्छ। यही कारण यो खाद्य सुरक्षाका दृष्टिले पनि निकै महत्त्वपूर्ण छ।
विविधीकरण र परिकार
पुर्खाले कोदो खेती गरी त्यसको ढिँडो, रोटी, पुवा र खोले जस्ता परिकार बनाएर खाइ कडा परिश्रम गर्दै आए। हाल कोदोबाट बिस्कुट, चिया, कफी, सुप बनाइन्छ। साथै यसका परिकारलाई विविधीकरण गर्ने क्रममा केक, मोमो, पिज्जालगायतका परिकारसमेत बनाइँदै आएको छ।
कोदोलगायत कोदोजन्य बालीहरू चिनो, कागुनो, जुनेलो, बाजरा जस्ता गुणै गुणले भरिपूर्ण बालीहरू छायाँमा पर्दा देश खाद्य असुरक्षाको खाडलमा जाकिँदैछ। यस्तो अवस्थालाई आत्मसात नगर्दा ठूलो हानि पुगेकोतर्फ कमैको मात्र ध्यान पुगेको छ। विभिन्न बालीको उत्पादन बढाउने नाममा विभिन्न मिसनलगायत सुपरजोन, जोन, ब्लक र पकेट जस्ता कार्यक्रमका नाममा करोडौँ रूपैयाँ खर्चिएको छ तर कोदो चाहिँ प्राथमिकतामा नपर्नु विडम्बनाकै कुरा हुँदै आएको छ।
कुलोमुनिको जमिन र उत्पादनले महत्व पाउनुका कारण कुलोमाथि जमिन हुनेहरूलाई बेवास्ता गरिनु कुनै हालतमा सही हुन सक्दैन। कुलोमाथिको जमिनमा कोदो लगाउन प्रोत्साहित गर्ने हो भने यसले उक्त किसानको मात्र नभई सिंगो देशलाई फाइदा पुग्नेमा द्विविधा छैन। गत आर्थिक वर्षमा मात्र ७५ करोड ४४ लाख २२ हजार ६ सय ५९ रूपैयाँको कोदो आयात भएकोछ नेपालमा। एकातिर सहर/बजारका रेस्टुरेन्ट, मल, सुपर मार्केट आदिमा कोदो र यसका परिकारको माग बढ्ने अर्कोतर्फ सरकार भने कोदो बालीलाई ‘कुअन्न’ नै ठानिरहने पक्षपातपूर्ण व्यवहारका कारण बर्सेनि करोडौँ रुपैयाँ बिदेसिने गरेको छ।
कोदो दिवसको औचित्य
किसान अधिकारप्रति समर्पित साना सीमान्त किसानहरूको संगठन राष्ट्रिय कृषक समूह महासंघ नेपाल र कृषि पत्रकारहरूको संगठन अनाज नेपालले २०७७ साउन १५ का दिनलाई सीमान्त बाली कोदोको महत्वमा खर्चिदै आएका छन्। यस्तो बहस कार्यक्रमले कोदो र कोदोजन्य बालीलाई बहसका रूपमा मात्र नलिइ प्रचार प्रसारमा व्यापकता ल्याउन पनि सघाएको छ। जसअन्तर्गत निरन्तररूपमा साउन १५ लाई कोदो दिवसका रूपमा मनाउँदै आइएको छ।
अनुसन्धानमा पछाडि परेको तथा उत्पादन र उपभोग कम हुँदै गएकाले कोदो बालीका रैथाने जातहरू क्रमशः लोपोन्मुख अवस्थामा पुगेका छन्। उत्पादन घटेर गएको। आयात बढ्दो छ। यस्तो अवस्थाले पनि यसको संरक्षण र उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने देखिएको छ।
संयुक्त राष्ट्रसंघले समेत सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्यबाली वर्षका रूपमा मनाउने घोषणा गरेको थियो। यस्तो अवस्थामा हाम्रो सरकार मात्र कोदोको महत्वप्रति बेखबर हुनु साँच्चै लाजलाग्दो विषय बनेको छ।
बालीका जात र फाइदा
नेपालको कृषि प्रणालीमा कोदो, कागुनो, चिनो, जुनेलो, सामा, बाजरा, कुट्की सामार कोदी गरी आठ प्रजातिका कोदो पाइन्छन्। यी प्रजातिमध्ये अधिकांश कृषकले खेती गर्ने बालीमा कोदो पर्छ। नेपालमा कोदो बालीबारे अनुसन्धान कम भएको पाइन्छ। हालसम्म पाँचवटा जात मात्र सिफारिस र एउटा जुम्लाको रैथाने जात पञ्जीकृत अवस्थामा छ। स्थानीय जात पोषणका हिसाबले क्याल्सियम, फाइबर, आइरन र प्रोटिनको राम्रो स्रोत हो। यसमा पाइने विभिन्न पौष्टिक तत्वले रगत, हाडजोर्नी, पाचन प्रणाली र मांशपेसीलाई फाइदा पुर्याउँछ।
राज्यको दायित्व
यसर्थ कोदो तथा कोदोजन्य रैथाने बालीको विकास, विस्तार र प्रवर्धन गर्नु राज्यको दायित्व हो। राज्य आमनागरिकको स्वास्थ्य एवं पोषणप्रति संवेदनशील छ भन्ने सन्देश दिन पनि यो आवश्यक छ। स्वास्थ्य भनेको चक्की बाँड्नु होइन। खाद्य सुरक्षा भनेको ट्रकले आयात गरेको चामल बाँड्नु पनि होइन। यसका लागि त हाम्रो आफ्नै देशको माटो स्वस्थ राख्दै किसानी अभ्यास अवलम्बन गरी उत्पादनमा आधारित खाद्य सुरक्षामा जोड दिनुपर्छ। स्वच्छ उत्पादन उपभोक्ताको घरदैलोमा पुर्याउनुपर्छ। जसको मूल आधार भनेको कोदो एवं कोदोजन्य रैथाने बालीको विकास, विस्तार र प्रवर्धन नै एक मात्र उपाय हो।
-बस्नेत राष्ट्रिय कृषक समूह महासंघ नेपालका संरक्षक हुन्।
प्रकाशित: १५ श्रावण २०८१ ०६:०४ मंगलबार

