राजनीतिक कौशलको खडेरी परिरहेका बेला राजनीतिक बुद्धिमत्ताको बहस यतिबेला सान्दर्भिक देखिन्छ। राजनीतिक बुद्धिमत्ता के हो त ? विषय प्रवेश गर्नुअघि नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दल तथा दलीय नेतृत्वको प्रमुख भूमिका र बहन गर्नुपर्ने जिम्मेवारीलाई प्रस्तुत गर्न सान्दर्भिक देखिन्छ।
अहिले राजनीतिक दलको मुख्य कार्य संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मान्यताहरू संघीयता, राज्य पुनर्संरचना, धर्म निरपेक्षता, समावेशिता, समानुपातिक प्रणाली र देशमा पछाडि परेको तथा पारिएका क्षेत्र, जात, लिंग, भाषा, धर्मको प्रतिनिधित्व संविधानमा सुनिश्चित गरिएबमोजिम व्यवहारमा पनि लागु गर्ने प्रतिबद्धताबाट विचलित नहुनु हो। त्यसैगरी स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानव अधिकार, विधिको शासनको पूर्ण ग्यारेन्टीलाई व्यवहारमा उतार्नु अर्को जिम्मेवारी हो। राष्ट्रियता, जनताको सम्पूर्ण स्रोत साधनमा पहुँच, बालिग मताधिकार, बहुदलीय व्यवस्था, स्वतन्त्रता, खण्डताप्रतिको प्रतिबद्धताबाट विचलित नहुनु हो।
के हो त राजनीतिक बुद्धिमत्ता ?
‘संविधानको परिवर्तनचक्रको प्रमुख तत्त्व नै राजनीतिक बुद्धिमता हो,’ दार्शनिक एरिस्टोटलको भनाइ यतिबेला नेपाली राजनीतिक वृत्तमा सान्दर्भिक देखिन्छ । राजनीतिमा व्यापारीकरण हाबी बन्दै गएको सन्दर्भमा राजनीतिक बुद्धिमत्ताको आवश्यकता यतिबेला खड्किएको छ।
राजनीतिमा प्रवेश गर्ने व्यक्तिसँग यदि पैसा छैन, भाषण गर्ने कला छैन, जनतामाँझ लोकप्रियता पनि छैन तर राजनीतिक सुझबुझ र बुद्धिमता छ भने राजनीतिमा लामो समयसम्म टिकिरहन र आकाङ्क्षाअनुसार राजनीतिज्ञको उचाइ प्राप्त गर्न सम्भव हुन्छ। वर्तमान विश्व राजनीतिमा राजनीतिक बुद्धिमता भएका व्यक्तिहरू नै लामो समय राजनीतिमा अवसर प्राप्त गरिरहेका छन्। यस्ता राजनीतिक व्यक्तिहरू मन्त्री तथा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका उदाहरण हाम्रै देशमा छन्। राजनीतिक बुद्धिमता भएका व्यक्ति यदि राजनीतिक क्षेत्रमा १०–१५ वर्ष अटुट रूपमा कार्य गर्दा राजनीतिको उचाइमा पुग्न सम्भव छ।
यद्यपि राजनीतिक दलभित्र गाँजिएको नातावाद र कृपावादले राजनीतिक बुद्धिमत्तायुक्त नेतृत्व पंक्तिलाई ओझेलमा पारेन। सुझबुझ, कूटनीतिज्ञता, व्यावहारिक सभ्यता र समयसापेक्षताजस्ता गुणले व्यक्तिको राजनीतिक बुद्धिमत्तालाई दर्साउँछ। राजनीतिक बुद्धिमत्तायुक्त नेतृत्वको राजनीतिक कौशलताले उसप्रतिको आकर्षण बढाउँछ । राजनीतिक कौशलताभित्रका गुणहरू विनम्रता, सभ्यता, संयमता, प्रसन्नता आदि हुन् भन्ने मान्यता राखिन्छ। राजनीतिक बुद्धिमता भएको व्यक्तिको पहिलो प्राथमिकतामा जनता पर्छ, न कि परिवार तथा कार्यकर्ता। जनताको नजरमा सभ्यता कायम राख्न सक्नु पनि राजनीतिक बुद्धिमत्ता हो।
आजभोलि संसद्, मन्त्रालय, सभा सम्मेलन तथा विभिन्न छलफल तथा अन्तरक्रिया चलिरहँदा नेतृत्व पंक्ति नै मोबाइलमा लट्ठिने प्रवृत्ति छ। यो प्रवृत्तिले व्यङ्ग्य गरेजस्तो लाग्छ। कूटनीति एक राजनीतिक बुद्धिमत्ता हो। राजनीतिक बुद्धिमत्ता भएको व्यक्ति राजनीतिक रूपबाट आफूलाई सन्तुलित बनाउनका लागि कैयन् कुटनीतिको सहारा लिने गरेको पाइन्छ, ती यसप्रकार छन्:
समानताको नियमबाट टाढा रहने कूटनीति
यो संसारमा राजनीति मात्र एउटा यस्तो क्षेत्र हो जहाँ सबै व्यक्तिमा समानताको व्यवहार असम्भव हुन्छ। यस्तो प्रयत्नले समस्या पैदा गर्छ। मित्र, विरोधी र मूर्ख आदिसँगको सौहार्द सम्बन्धले नै सफलताको उचाइमा पुर्याउँछ। तसर्थ राजनीतिमा शक्ति आर्जन तब मात्र सम्भव हुन्छ जब मानिसको वास्तविक चरित्र पहिचान गरेर सोहीअनुसार व्यवहार गरिन्छ। समान व्यवहारले राजनीतिक जीवनमा संघर्ष कसरी गर्नेभन्दा संघर्ष कहिले गर्ने भन्ने विषयले महŒव राख्छ। राजनीतिक बुद्धिमत्तायुक्त नेतृत्वले प्रत्येक व्यक्तिसँग बोल्ने कला सिकेको हुन्छ र आफ्नो विद्यमान शैलीलाई बदल्ने कोसिस पनि गरेकै हुन्छ। यसलाई राजनीतिभित्र झुट बोल्नु नभनेर अभिनय गर्नु पनि भनिन्छ। तसर्थ अभिनय कलालाई पनि राजनीतिक बुद्धिमता नै भनिन्छ।
राजनीतिमा अघि बढ्न नेतृत्वपंक्तिसँग कुनै पनि प्रतिशोधको भावना साँध्नुहुदैन। पाका नेताहरूको अनुभवले सिकाइलाई प्रोत्साहन गरिरहेको हुन्छ तर कतिपय नेतृत्व पंक्तिको अराजनीतिक प्रवृत्तिले मान सम्मान र प्रतिष्ठामा ठेस पुर्याइरहेको यथार्थ जगजाहेर छ। यदि राजनीतिक बुद्धिमता छैन भने राजनीतिमा प्रवेश गरिरहेको नयाँ पुस्ताहरूले पाका नेताअघि साना साना मामिलामा पनि आफूलाई अब्बल देखाउन आफ्नो ज्ञानको प्रदर्शन गर्न चुक्दैनन्। जसमार्फत उनीहरूको बुद्धिमत्ताको कारण पाका नेताहरूको उद्देश्य प्राप्ति भएको ठान्छन्। तर राजनीतिक बुद्धिमत्ता भएको राजनीतिक व्यक्तिले पाका नेताका अघि आफू सधैं विद्यार्थीका रूपमा उपस्थित हुनुपर्छ र पटक पटक उनीहरूसँग भेटेर उनीहरूको मार्ग दर्शनको खाँचो महसुस गर्नुपर्छ।
जसले पाका नेतालाई यो मेरो प्रतियोगी होइन भन्ने ढुक्क हुन्छ र उनीहरूले खुट्टा तान्ने प्रयास गर्दैनन्। यसले गर्दा कुनै पनि व्यक्तिलाई राजनीतिमा लामो समयसम्म टिकाउन मद्दत गर्छ। हुन सक्छ नयाँ नेताको विचार पाका नेताभन्दा रचनात्मक र सुझबुझसहितको होस् तापनि सुरुमा आफ्नो गुणहरूलाई सार्वजनिक नगरी पाकाको मार्गदर्शनलाई आत्मसाथ गर्न सकेमा नयाँ पुस्तालाई राजनीतिक शक्ति प्राप्त हुनसक्छ। राजनीतिक जीवनमा मानिसले तीनवटा समयलाई पार गर्नुपर्छ।
संघर्षको समय
यो समय दुःख गर्ने समय हो, जहाँ अधिकांश नकारात्मक अनुभूतिहरूले थिचिरहेको हुन्छ। राजनीतिमा प्रवेश गरेको नयाँ पुस्ताले संघर्षको मार्गलाई झेल्न सक्दैनन्, जसका कारण उनीहरूले राजनीति नै छोडिदिन्छन् कि राजनीतिमा अगाडि बढ्ने महत्वाकांक्षालाई छोडिदिन्छन्। जुन व्यक्तिमा राजनीतिक बुद्धिमता हुन्छ, उसले यो समयलाई धैर्यसाथ भोगेको हुन्छ। जसका कारण उनीहरू निश्चित रूपमा दोस्रो समयमा प्रवेश गर्ने मौका पाउँछन्।
समय अवसर
अवसरको समयमा आफूलाई राजनीतिको योग्य साबित गर्ने मौकाहरू धेरै पाइन्छ। राजनीतिक बुद्धिमत्ता भएको नेतृत्वले आफ्नो बुद्धिमत्तामार्फत राजनीतिमा क्षमता प्रदर्शन गर्छन् र पद प्रतिष्ठा आर्जन गर्न सफल हुन्छन्।
समापन समय
समापन समय राजनीतिको सबैभन्दा महत्त्वपूर्ण क्षण हो। यो एउटा महत्त्वपूर्ण कडी पनि हो। प्रायः यो समयमै नेतृत्वपंक्तिमा राजनीतिक बुद्धिमत्ताको खाँचो देखिन्छ। यो समयले नै नेतृत्वलाई जनप्रिय कामतर्फ आकर्षित गरेर राजनीतिमा आफ्नो अवस्था मजबुत बनाउने मौका दिन्छ। समयमा आफ्नो पदीय जिम्मेवारी र गरिमालाई कायम राख्दै जनसेवालाई पहिलो प्राथमिकतामा राख्नु नै राजनीतिक बुद्धिमता हो।
पछिल्लो समय राजनीतिक दलहरू र नेतृत्वप्रतिको बढ्दो वितृष्णाको प्रमुख कारण राजनीतिक नेतृत्वपंक्तिमा खड्किँदो राजनीतिक बुद्धिमत्ता नै हो। नयाँपुस्तालाई राजनीतिमा आकर्षित गर्दै दलहरूप्रतिको भरोसा र विश्वास जोगाउने प्रमुख चुनौती ठुला राजनीतिक दलसामु छ।
दार्शनिक प्लेटोले भनेका छन्, ‘जबसम्म राज्य सञ्चालन दार्शनिक शासकले गर्दैनन् अर्थात् शासकहरूमा दर्शनशास्त्रको ज्ञान, भावना र शक्तिबाट राजनीतिक बुद्धिमता पलाउँदैन, तबसम्म राज्यले उनीहरूले गरेका नराम्रा कामबाट मुक्ति पाउन सक्दैन।’ प्लेटोको दर्शनले भनेझै मुलुकमा राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि नेपालको नयाँ पुराना सबै राजनीतिक नेतृत्वमा राजनीतिक बुद्धिमताको चेत खुलोस् र देश संमृद्धिको बाटोमा अघि बढोस्।
प्रकाशित: ९ श्रावण २०८१ ०९:१४ बुधबार