२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

क्यान्सरविरुद्ध कल्पनाशक्ति

हरेक सामान्य मानिसको मनमा कल्पना गर्न सक्ने अद्भुत क्षमता हुन्छ, जसलाई साधारण भाषामा कल्पना शक्ति (इमेजरी पावर) भनिन्छ। कल्पनाशक्तिलाई समुचितरूपमा प्रयोग गर्ने हो भने यसले मानिसको जीवनमा कमाल गर्ने कुरा विज्ञानले समेत पुष्टि गरेको छ। त्यसैले कल्पनाशक्तिलाई स्मरण शक्ति बढाउनदेखि लिएर अनेकौं रोगहरूको उपचारमा समेत सफलतापूर्वक सदुपयोग गरिँदै आएको छ। गाइडेड इमेजरी कल्पनाशक्तिसँग सम्बन्धित एक प्रभावशाली माइन्डबडी मेडिसिन हो।

कल्पनाशक्तिको चिकित्सकीय महŒवबारे अमेरिकी मनोवैज्ञानिक अनिस ए. शेखले निकै लामो र गहन अध्ययन-अनुसन्धान गरेका छन्। क्यान्सरको उपचारमा समेत कल्पनाचित्र (मेन्टल इमेजरी)ले ठुलो फाइदा गर्ने उनको दाबी छ। त्यसो त हिजोआज अमेरिका तथा युरोपमा कतिपय चिकित्सक, मनोचिकित्सक, क्लिनिक मनोवैज्ञानिक तथा स्वास्थ्यकर्मीहरूले समेत कुनै न कुनै रूपमा मेन्टल इमेजरीलाई सिफारिस गर्दै आएको पाइन्छ। वास्तवमा इमेजरी मेडिसिन (भिजुअलाइजेसन) मनोचिकित्साको एक अभिन्न अंग हो।

कल्पनाचित्र (इम्याजिनेसन)लाई कुनै पनि रोगीले आफैं पूरक चिकित्सा (कम्प्लिमेन्ट्री मेडिसिन)का रूपमा पनि उपयोगमा ल्याउन सक्छन्। त्यसैले औषधी सेवन गरेका रोगीहरूले इम्याजिनेसनलाई समेत उपयोगमा ल्याउने हो भने रोग छिटो निको पार्न सहयोग गर्छ। त्यसैले यस्ता रोगीले बिहान, दिउँसो र राति सुत्नुपूर्व, कम्तीमा तीनपटक इम्याजिनेसनको प्रयोग गर्नु निकै लाभदायक हुन्छ:

आरामसँग कुर्सीमा बस्ने वा उत्तानो सुत्ने। शरीरलाई एकदम शिथिल छोडेर विश्राम गर्ने। नाकबाट लामो र गहिरो सास लिने र शरीरका सम्पूर्ण तनाव तथा विकार बाहिर गएको कल्पना गर्दै मुखबाट लामो र गहिरो सास फ्याँक्ने। यो क्रिया पाँचपटक गर्ने। अनि १० देखि उल्टो गन्ती गर्दै आउने। जस्तै १०, ९, ८, ७, ६, ५, ४, ३, २, १, ०। शून्यमा आएपछि एकदम गहिरो विश्रामको अनुभव गर्ने।

कुनै दैविक शक्तिमाथि आस्था र विश्वास छ भने देवताको विराटरूप कल्पना गर्ने। अनि ती देवीदेवता तपार्इंका अगाडि उभिएर शक्ति दिएको र शरीर हिलिङ गरेको कल्पना गर्ने । देवीदेवतामाथि आस्था र विश्वास छैन भने तपाईंको चारैतिरबाट पहेंलो रंङको ब्रह्माण्डीय ऊर्जा आएर शरीर हिलिङ गरेको कल्पना गर्ने । अनि आफूले चाहेजस्तो स्वस्थ शरीरको कल्पना गर्दै मनमनै २१ पटक दोहोराउने। दिन प्रतिदिन म स्वस्थ हुँदै गएको छु, स्वस्थ हुँदै गएको छु। केही छिन आराम गर्ने र आफू स्वस्थ भएको भावानुभव गर्दै उठेर आफ्नो दैनिक कार्यमा लाग्ने।

शरीर हिलिङको यो एक सरल वैज्ञानिक विधि हो। यो विधि क्यान्सरका रोगीहरूले पनि उपयोगमा ल्याउन सक्छन्। मानसिक समस्यामा परेकाहरूका लागि त यो विधि निकै उपयोगी छ। त्यसो त इमेजरी मेडिसिन मोटोपनको उपचारका लागि पनि निकै उपयोगी मानिन्छ। इमेजरी मेडिसिनले कसरी काम गर्छ भन्ने बुझ्न एउटा घटना हेरौं।

मोटोपनको उपचारका लागि मनोचिकित्सककहाँ पुगेकी एक महिलाको भनाइ थियो कि उनी खानपिनको निकै सौखिन हुन्। उनलाई थरीथरीका परिकारहरू मन पर्छ। खानपिनमा नियन्त्रणको कल्पना पनि गर्न सक्दिनन्। तर उनी छरितो र सुन्दर हुन चाहन्छिन्। उनले अनेक उपाय अपनाउँदा पनि तौल कत्ति घटेको छैन। उल्टो बढेको छ। यस्तो कुरा सुनेपछि मनोचिकित्सकले सोधे, ‘तपाईं कस्तो देखिन चाहनुहुन्छ ?’ उनले भनिन्, ‘कैटरिना कैफजस्तो।’ अनि मनोचिकित्सकले कैफको फोटो दिँदै भने, ‘उसो भए यो फोटोको टाउको काटेर शरीरलाई तपाईंको फोटोको टाउकोमा  

जोड्नुहोस् र दिनदिनै देखिने ठाउँजस्तै ऐनामा टाँस्नुहोस्। जब तपाईं ऐना हेर्न जानुहुन्छ, त्यो तस्बिर देख्नुहुन्छ । अनि तपाईंले आफूलाई कैटरिना कैफजस्तै स्लिम र सुन्दर महसुस गर्न थाल्नुहुन्छ। 

मनोचिकित्सकको कुरा सुनेर उनी हाँसिन्, ‘डाक्टर साब, यस्तो उपायले पनि खै के काम गर्ला र ?’ मनोचिकित्सकले सोधे, ‘किन ?’ उनले भनिन्, ‘मैले कहिल्यै पनि आफूलाई स्लिम र सुन्दर महसुस गरिकी नै छैन।’ मनोचिकित्सकले जोड दिँदै भने, ‘त्यसैले त तपाईंलाई इम्याजिनेसनको जरुरत छ। मैले भनेको काम गर्नुहोस्।’

विचार र ऊर्जामा गहिरो सम्बन्ध छ। ती महिला यसर्थ मोटी छिन् कि उनी आफ्नो आत्मछवि अगाडि विवश छिन्। र, उनी अनेक उपायहरू अपनाउँदा पनि छरितो र सुन्दर हुन सकिनन् किनकि उनले कहिल्यै सोचिनन् कि उनी पातली हुन सक्छिन्। तर यहाँ मनन गर्नुपर्ने कुरा के भने वजन घटाउन होस् वा खेल वा फिल्ममा आफ्नो प्रदर्शनलाई अब्बल बनाउन होस्, अर्थात् क्यान्सरजस्तो कुनै रोगबाट छुटकारा पाउन होस्, यी सबै कुरा व्यक्तिको मानसिक शक्ति तथा इच्छा शक्तिमा निर्भर रहन्छ। शरीरले त्यही गर्छ, मस्तिष्कले शरीरलाई जस्तो निर्देशन दिन्छ।

वजन घटाउन इमेजरी विधि अपनाउन कुर्सीमा आरामसँग बसेर दुवै आँखा बन्द गर्ने। पाँचपटक लामो र गहिरो सास लिने र मुखबाट फ्याँक्ने। अनि गहन विश्रामको अनुभव गर्ने। अनि आफ्नो मनको पर्दामा आफ्नो चुस्त दुरुस्त छरितो र सुन्दर शरीरको कल्पना गर्ने। मानौं कि तपाईंलाई भोजभतेरमा धेरै खाने आदत छ भने कल्पना गर्ने कि कुनै पार्टीमा तपाईं निकै छरितो र सुन्दर देखिनुभएको छ। तपाईंको आकर्षक शरीर देखेर सबैले तपाईंको प्रशंसा गरेका छन्। तपाईंले उक्त पार्टीमा थोरै खाना, सलाद तथा अलिकति तरकारी खानुभएको छ, वजन बढाउने खाना खानुभएको छैन। यस किसिमको कल्पना जति धेरै गर्नुहुन्छ, त्यत्ति नै तपाईंलाई त्यो स्वाभाविक लाग्न थाल्छ। अनि तपाईंको स्वभाव त्यसैअनुरूप बन्छ। यो कुनै हावादारी कुरा होइन, एक मनोवैज्ञानिक तथ्य हो।

कल्पनाशक्तिलाई खेलाडीहरूले पनि प्रयोग गर्छन्। वर्षाैंदेखि नै अमेरिकी खेलाडीहरूले खेलकुदमा आफ्नो प्रदर्शन राम्रो बनाउन कल्पनाशक्तिलाई प्र्रयोग गर्दै आएका छन्। अमेरिकाकी महिला खेलाडी एवालिन एसफोर्ड कुनै बेलाकी प्रसिद्ध धाविका थिइन्। उनले दौडको सुरुवात बिस्तारै गर्थिन् र अचानक गति बढाएर प्रतिद्वन्द्वीलाई पछार्थिन्। अर्की धाविका जेन सधैं उनीद्वारा पराजित हुन्थिन्। पटक पटक पराजित भएपछि जेनले कल्पनाशक्ति प्रयोग गरेर आफ्नो खेललाई प्रभावकारी बनाउने निधो गरिन्। अनि उनले कल्पना गर्न थालिन् कि दौडको समयमा उनीसँग कुनै एक्सिलेटर (गाडीको गति बढाउने यन्त्र) छ। जब एवालिन अगाडि निक्लन थाल्थिन्, तब उनले एक्सिलेटरको प्रयोग गर्थिन् र उनको गति बढ्थ्यो। अनि उनले एवालिनलाई पछि पार्दै दौड जितेको कल्पना गर्थिन्। जेनले नियमित रूपमा यसरी इम्याजिनेसन प्रयोग गर्न थालिन्। एक दिन कल्पना शक्तिले कमाल गर्‍यो। उनले एवालिनलाई पछार्दै दौड जितिन्।

इम्याजिनेसन प्रायः आँखा बन्द गरेर गरिन्छ। तर कहिलेकाहीं इम्याजिनेसनका लागि आँखा बन्द गर्नुपर्ने आवश्यकता पनि पर्दैन। आँखा बन्द नगरीकन महसुस गरेर पनि कल्पनाशक्ति प्रयोग गर्न सकिन्छ। जस्तो कि हिँड्दा वा दौडिँदा खुट्टा दुख्यो भने कल्पना गर्ने कि जुत्ता हावाको नरम गद्दाजस्तो छ। तपाईं मजाले हावादार जुत्ता लगाएर हिँड्नुभएको छ।

अतः इमेजरी (कल्पना शक्ति)को क्षेत्र निकै व्यापक छ। त्यसैले कल्पना शक्तिलाई कुनै पनि व्यक्तिले आफ्नो रोग ठिक गर्न, शरीरलाई हृष्टपुष्ट बनाउन, खेलाडीले खेललाई प्रभावकारी बनाउन, कलाकारले आफ्नो कलामा निपूर्णता ल्याउन, नयाँ खोज गर्न, उत्कृष्ट कृति सिर्जना गर्न तथा आम मानिसले कुनै पनि दैनिक कार्य गर्नुपूर्व उपयोगमा ल्याउन सक्छन्।

ऐना हरेर पूर्वाभ्यास गर्ने कलाकारले आँखा बन्द गरेर मानसपटलमा अभिनय गर्ने हो भने सुनमा सुगन्ध थपेजस्तो हुन्छ। निर्देशकलगायतका चलचित्रकर्मीको कल्पना शक्तिकोे आधारमा नै चलचित्र लोकप्रिय तथा कालजयी बन्छ। त्यति मात्र होइन, हरेक महान् खोज तथा कालजयी कृति स्रष्टाको कल्पनाशक्तिबाट सिर्जित हुने गर्छ।

वास्तवमा कल्पनाशक्ति महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले समेत उपयोगमा ल्याएको वैज्ञानिक पद्दति हो। त्यसैले निःशुल्क प्राप्त हुने यो पद्दतिलाई हामीहरूले आफ्नो रोग–व्याधि हटाउन, व्यक्तित्व विकास गराउन, कार्य क्षमता बढाउन, कृति सिर्जना गर्न तथा लक्षित उद्देश्य प्राप्त गर्न किन सदुपयोग नगर्ने ?  

– बानियाँ मनोेविद् हुन्।

प्रकाशित: १० वैशाख २०८१ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App