coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सबै तनाव खराब हुँदैनन्

बदलिँदो भौतिक परिस्थिति तथा मानसिक चुनौतीका कारण पैदा हुने संवेदनशीलतालाई तनाव (स्ट्रेस) भनिन्छ। मेडिकल साइन्सले तनावलाई नकारात्मक मान्छ। दिमागी थकानले वहुआयामिक समस्या ल्याउने भएपछि तनाव व्यवस्थापनको वकालत हुन्छ नै। स्वास्थ्यका लागि घातक देखिँदा चिकित्सकले तनाव नलिन सल्लाह दिनु स्वाभाविक हो।

के तनाव सदैव खराब हुन्छ रु तनाव निकृष्ट हो भने मानवीय विकासका क्रममा प्रकृतिले किन मानिसलाई तनाव अनुभूति नहुने जीवका रूपमा विकास गरेन भन्ने प्रश्न विज्ञानले खोज्नुपर्छ। कोर्टिसोल, एड्रिनालिन र नोर्पिनेफ्रिन जस्ता स्ट्रेस हर्मोन शरीरमा पैदा हुँदा व्यक्तिले तनाव महसुस गर्छ। जीव परिमार्जनका क्रममा प्रकृतिले तनावमुक्त मानवको कल्पना किन गरेन भनी उत्खनन गर्दा दबाबबिहीन मान्छेको अस्तित्व संकटमा देखिएको छ। अझ मानव सभ्यता अहिलेको अवस्थामा पुग्नुमा तनावको भूमिका रहेको ठान्छन् धेरै विज्ञ।

दिमागी दबाब र व्यक्तिको स्वास्थ्य, समृद्धि तथा बहुआयामिक विकासको पारस्परिक सम्बन्धको अध्ययन गर्दा सबै किसिमका तनाव खराब हुँदैनन् भन्ने देखियो। अल्पकालीन दिमागी थकान हाम्रो लागि आवश्यक रहेको अनि यसले मानिसलाई परिष्कृत बनाउने गरेको पाइयो। 

अर्कोतिर लामो समय कायम रहने दिमागी थकान भने स्वास्थ्यका लागि हानिकारक ठहरियो। अल्पकालीन तनावलाई कसरी लाभप्रद् बनाउने अनि दीर्घकालीन थकानलाई कसरी न्यूनीकरण गर्ने त भन्ने प्रश्नको जवाफ समाजोपयोगी हुन्छ नै।

लामो समयदेखि दिमागी थकानका आयामहरूको अध्ययन गरिरहेकी संयुक्त राज्य अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीको साइकोलोजीको प्राध्यापक एलिया क्रमको विचारमा भोक, निन्द्राझैँ तनाव प्रकृतिको वरदान हो। अन्य पक्षझैँ दिमागी थकानलाई सकारात्मक र नकारात्मक दुवै ठान्छिन् डा. क्रम। 

जन्म उप्रान्त दिमागी थकान नभोगेको व्यक्ति युवा अवस्थामा पुग्दा तनाव थपिँदै गई समस्याबाट पार पाउनै नसक्ने चरणमा पुग्ने अनि अन्ततः असफल हुने ठान्छिन् क्रम। न्युयोर्क युनिभर्सिटीमा न्युरोलोजीकी प्राध्यापक एवम् ‘गुड एन्जाइटी’ पुस्तककी लेखक डा। विन्डी सुजुकीको धारणा पनि डा। क्रमको भन्दा कुनै फरक छैन। बेलाबखतको चिन्ता, तनाव, थकान जस्ता मानसिक दबाबले हाम्रो स्वास्थ्य, क्षमता र उत्पादकत्वका लागि ऊर्जा दिन्छ भन्छिन् अनुसन्धानकर्ता सुजुकी।

जीवनको विभिन्न चरणमा सामना गर्नुपर्ने आवधिक परीक्षा, जागिरको हण्डर, पारिवारिक रडाको, व्यापारको उतारचढावलाई तनावका रूपमा ग्रहण गरी सामना नगर्ने व्यक्तिले पछिल्ला दिनमा कुनै पनि चरित्रको पेसागत चुनौती सामना गर्न नसक्ने अनि नागरिकका रूपमा असफल हुने ठान्छिन् युनिभर्सिटी अफ् क्यालिफोर्निया वर्कलेको प्राध्यापक डेनियला कौफर। 

सन् २०१३ मा कौफर समूहले प्रकाशित गरेको अनुसन्धानले तनावलाई नूनसँग तुलनायोग्य देख्यो। जसरी खाना स्वादिष्ट हुन नूनको मात्रा ठीक हुनुपर्छ   स्वस्थ जीवन बिताउन व्यक्तिमा सन्तुलित तनाव आवश्यक रहेको ठान्छिन् कौफर।

थकान पटक्कै नभएको खण्डमा दिमागी सुस्तता आउने अनि अत्यधिक तनावले मानिसमा मानसिक रोग ल्याउने ठान्छन् कौफर। जनावरमा गरिएको एक अध्ययनले स्ट्रेसले दिमागी कोष ९सेल० को संख्या आकासिएको मात्र देखेन बरु न्युरोनको जालो पनि जटिल बन्यो। परिणामस्वरूप दिमागको प्रशोधन क्षमतासमेत उकासिएको पाइयो। यसरी तनावमार्फत मानसिक शक्ति सबल भएपछि व्यक्तिले ठूलो समस्यालाई समेत सहजै झेल्न सक्ने भयो। बुबाआमाको काखमा हुर्किएको भन्दा चुनौतीबीच बढेको व्यक्ति जीवनको उत्तरार्धमा सफल देखिनुले विभिन्न किसिमको समस्यासँगको लडाइँले व्यक्तिलाई परिष्कृत बनाएको हो। तसर्थ हुर्कँदो बच्चालाई सानैदेखि समस्यासँग जुध्न सिकाउनुपर्ने देखिन्छ।

अल्पकालीन स्ट्रेस स्वस्थ र सफल जीवन व्यतितका लागि आवश्यक पर्छ भन्ने धेरै अध्ययनले देखाए भने लामो समयसम्म कायम रहने क्रोनिक थकानले व्यक्तिलाई शारीरिक तथा मानसिक दुुवै हिसाबले नाजुक बनाउँछ अनि व्यक्तिले सम्मानको जीवन व्यतीत गर्न असफल हुन्छ भन्यो। कुनै पनि परिदृश्य दिमागमा बारम्बार आउँछ अनि आफ्नो दैनिकीलाई उक्त समस्याले लामो समयदेखि सताइरहेको छ भने आफू क्रोनिक स्ट्रेसको मारमा परेको बुझ्नुपर्छ। दीर्घकालीन तनावले शरीरलाई खोक्रो पार्ने भएकाले अविलम्ब व्यवस्थापनको जरुरी पर्छ।

दीर्घ थकान व्यवस्थापनमा समस्याको पहिचान पहिलो कडी हो। आफ्नो तनावलाई नकार्नेभन्दा कुन समस्याले आफूलाई सतायो भन्ने कुराको निक्र्योेल अनि स्वःपहिचानले समस्या हल गर्न मद्दत गर्ने ठान्छन् विज्ञहरू। उदाहरणका लागि सन्ततिले लाइन पक्रिएनन् भन्ने कुराको तनाव हो भने उक्त कुरा नकार्नुभन्दा यथार्थको स्वीकृति मात्रले पनि समस्याको न्यायोचित हल गर्न मद्दत गर्ने ठान्छन् न्युरोसाइन्टिस्ट म्याट लिवरम्यान।

मनको कुरा अरूलाई सुनाउँदा किन मानिसले हल्का महसुस गर्छ भन्ने कुरालाई सूक्ष्म अध्ययनका लागि ब्रेन स्क्यानको सहारा लिए वैज्ञानिकहरूले। आफ्नो कुरा मनमा मात्र राख्ने मानिसको मस्तिष्कको स्क्यान गर्दा दिमागको एमिग्डेला खण्ड चलायमान देखियो भने जब व्यक्तिले आफ्नो आन्तरिक आवाजलाई मुखमा ल्यायो तब कोरटेक्स क्रियाशील भयो।

एमिग्डेलाले भावनालाई नियन्त्रण गर्ने भएको व्यक्तिले न्यायोचित उत्तरको बदला आवेशप्रेरित जवाफ खोज्छ। आफ्नो समस्या अर्कोलाई कहँदा सचेतपूर्ण समाधान खोज्ने कोरटेक्स भाग सक्रिय हुने भएकाले व्यक्तिले समस्याको यथार्थपरक उत्तर पाउँछ। मनको कुरा बोलीमा व्यक्त गर्दा मात्र पनि स्ट्रेस कम हुने तथ्यसहितको लेख सन् २००७ मा प्रकाशित भयो।

त्यस्तै स्वामित्व ग्रहणले तनाव व्यवस्थापनमा उल्लेख्य योगदान गर्छ। व्यापार चुर्लुम डुब्दा मानसिक दबाब पर्नु अन्यथा होइन। त्यस्तो अवस्थामा व्यापार गर्दा घाटा लाग्ने सम्भावनाको जोखिम प्रारम्भमै रहेको यथार्थको स्मरणले नासिएको पैसा फिर्ता नआए पनि साहूको पीडा भने पक्का कम हुन्छ। सगरमाथा चढ्नु पार्कमा टहल्नु जस्तो सरल नभएको बरु ज्यान जान सक्ने समेतको जोखिम रहेको स्मरणले मात्र पनि आधार शिविरमा भएको धनजनको क्षतिको तनावको महसुस कम हुन्छ। समस्याको जड केन्द्रित भएर घोत्लिँदा फाइदा हुने देखिन्छ। यसरी तनावको पहिचान र स्वामित्व ग्रहणले व्यक्तिलाई पुरानो दिमागी थकान कम गर्न मद्दत गर्छ भन्ने कुरा जैविक तथ्य र वैज्ञानिक आकडाले देखाएको छ। तर आखिरमा प्रकृतिले मानिसलाई तनावमुक्त बनाउनुको बदला किन दिमागी थकानबीच बाँच्न बाध्य पार्‍यो त रु त्यता हेरौँ:

स्ट्रेस हर्मोनले व्यक्ति मृत्युशैयामा पुग्दैन। तसर्थ जीव विकासको सिद्धान्तले तनाव व्यवस्थापनलाई शरीर र दिमागलाई अर्को चरणको चुनौती सामना गर्न सामथ्र्य भएको अझ सशक्त मानिस बनाउनु मात्र हो भन्छ।

जब शरीरले तनाव महसुस गर्छ एड्रिनालिन जस्ता हर्मोनहरू निस्कन्छन् अनि ती हर्मोनले मस्तिष्क र शरीरमा अझ बढी अक्सिजन र रक्त सञ्चार गर्छ। अक्सिजनयुक्त रगतको बढ्दो सञ्चारले मानवलाई थप सजग र चनाखो बनाउने भएकाले व्यक्ति अझ परिष्कृत बन्छ। स्ट्रेस हर्मोनले विभिन्न रासायनिक पदार्थ उत्पादन गर्छ अनि ती तत्त्वहरूले नयाँ कोषहरू बनाउन र प्रतिरोधात्मक पद्धतिको सबलीकरणमा समेत बल पुर्‍याउने गरेको पाइएको छ। तसर्थ, अहिलेको बुद्धि, विवेक र क्षमता भएको मानवको उत्पत्तिमा दिमागी थकानको भूमिका छैन भन्न सकिन्न।

सामान्यतः तनावलाई नकारात्मक आवेगका रूपमा लिइने भए पनि थकानले व्यक्तिलाई शारीरिक र मानसिक दुवै रूपले सबल बनाएको देखियो। ससाना तनावलाई प्रकृतिको वरदानका रूपमा ग्रहण गर्नुपर्ने अनि पुरानो तनावलाई पहिचान गरी स्वामित्व ग्रहण गर्दा फाइदा हुने देखियो। यद्यपि दिमागी थकान लामो समयसम्म कायम रहेको खण्डमा विशेषज्ञको सल्लाह अपरिहार्य रहेको यथार्थ भने बिर्सनुहुँदैन।

–पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक  हुन्।

प्रकाशित: २० चैत्र २०८० ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App