२ वैशाख २०८१ आइतबार
विचार

पाठेघर: सृष्टिको मुहान कि पीडाको खानी ?

सिद्धान्ततः पाठेघर सृष्टिको मुहान हो। हरेक मानवको पहिलो घर पाठेघर नै हो। पाठेघर नहुँदो हो त यो सृष्टि नै हुँदैनथ्यो होला। तर दुर्भाग्य अहिले धेरै महिला यो पाठेघरकै कारण पीडा भोग्न बाध्य छन्। यसो हेर्दा महिलाका लागि यो पाठेघर पीडाको खानी जस्तै बनिरहेको छ। यस्तो हुनुको पछि के पाठेघर नै दोषी हो त? होइन भने पाठेघरलाई दुःख र पीडाको रूपमा रूपान्तरण गर्ने शक्तिलाई पहिचान गरेर तह लगाउनुपर्ने होइन र?

भर्खरै मैले एक १८ वर्षीय नवआमालाई भेटेँ। मैले भेट्दा उनी १८ दिनकी सुत्केरी थिइन्। ११ दिन अस्पतालको बसाइपछि भर्खरै सुरक्षा आवास/सेफ हाउसमा बस्न आएकी। खासमा उनलाई जेलबाट पठाइएको रहेछ। उनी कान्छी भएर आएकी भन्दै उनी र उनको श्रीमान्लाई बहुविवाहको आरोपमा जेल चलान गरिएको रहेछ। उनको श्रीमान् झापाको, उनी लमजुङकी। उनको श्रीमान् काम गर्ने सिलसिलामा लमजुङ पुगेका रहेछन्। त्यहाँ उनीसँग भेट भयो। भेट भएपछि उक्त पुरुषले उनको परिवारलाई ‘तपाईँकी छोरी मलाई मन पर्‍यो, मसँग विवाह गराइदिनू’ भनी मागेछ। गरिब घरका आमा बुवा, छोरीको विवाह गर्नैपर्ने, राम्रो केटा माग्न आयो भनेर विश्वास गरे र विवाह पनि गरिदिए।

किशोरी गर्भवती भइन्। ‘घर लैजानूस्’ भनी अनेक जोडबल गरेपछि बल्ल श्रीमान्ले घर ल्यााउन राजी भए तर झापा घर नलगी मोरङमा डेरा गरी राखे। केही समयपछि आफूमाथि सौता ल्याएको कुरा जेठी श्रीमतीले थाहा पाइन् र उनले र बहुविवाहको मुद्दा हालिन्। त्यसपछि उनीहरूलाई जेल चलान गरियो। जेलबाट उनलाई गैरसरकारी संस्थाद्वारा सञ्चालित सुरक्षा आवासमा पठाइयो। उनीहरूकै सहयोगमा उनले अस्पतालमा बच्चा जन्माइन्। 

बच्चा जन्माउँदा धेरै जटिलता आए। जटिलता र समस्याका बाबजुद बच्चा र आमा दुवै सुरक्षित रहे। अदालतबाट पनि उनले सफाइ पाइन्। तर अब के गर्ने र कहाँ जाने भन्ने उनलाई पत्तो छैन। १८ वर्षीय किशोरी साथमा सानो बच्चा। जीवनलाई कसरी अगाडि बढाउने भन्ने चिन्तामा छिन उनी।

दोस्रो महिला जो, आफ्नो जीवनको पहिलो कालखण्डमा विभिन्न दुःखकष्ट सहेर हुर्किन्। पछि आफ्नै पौरखले पैसा कमाइन्। जीवनलाई बाँच्न सक्ने बाटोमा ल्याइन्। जीवन जिउन साथी चाहिन्छ भनेर विवाह गरिन्। अहिले साँच्चै भन्नुपर्दा श्रीमान् उनकै कमाइमा बाँचेका छन्। उनी आफू ४५ वर्ष बढी भइसकिन्। श्रीमान्ले जसरी भए पनि बच्चा जन्माउनुपर्छ भनी दबाब दिन्छ। जँचाउन जाँदा पाठेघरमा खराबी छ, उनले बच्चा जन्माउन सक्दिनन् भनेर डाक्टरले भनेको छ। डाक्टरको प्रतिक्रियापछि नै हो, उनलाई श्रीमान्ले कुटपिट गर्न थालेको। अब के गर्ने भन्ने अन्योलमा छिन् उनी। तर उनको श्रीमान्ले जुनसुकै उपाय लगाएर भए पनि बच्चा जन्माउनुपर्छ भन्छन्। यस्तो परिस्थितिमा उनी कुनै महिलाको सहयोग लिएर बच्चा जन्माउन चाहन्छिन्। तर सरकारले यस्तो कामलाई गैरकानुनी मान्छ। यस्ता किसिमका जटिलताले गर्दा उनी नैराश्यपूर्ण जीवन बाँच्न बाध्य छिन्। ‘खै ! यसरी कति दिन चल्ला र ?’– भन्छिन् उनी।

तेस्रो महिला जो १६ वर्षीया किशोरी हुन्, उनी सुरक्षा आवासमा छिन्। उनलाई आफ्नैै विद्यालयका शिक्षकले निरन्तर यौन शोषण गरिरहे। उक्त कुरा कसैलाई भन्यो भने बेइज्जत गरिदिने र मारिदिनेसमेत धम्की शिक्षकले दिएको हुँदा आफू यौन शोषणमा परेको कुरा उनले कसैलाई भन्न सकिनन्। गर्भवती भएको थाहा पाएपछि उक्त शिक्षकले उनलाई गर्भ पतन गराउन दबाब दिएर डाक्टरकहाँ लिएर गएपछि उक्त किशोरीकी साथीको माध्यमबाट यो कुरा बाहिर आयो। मुद्दा दर्ता भयो। किशोरीको गर्भ पतन पनि गराइएछ। उक्त शिक्षक हाल जेलमा छ तर ती निर्दोष किशोरी विभिन्न किसिमका लाञ्छना सुन्न बाध्य छिन्। केही महिना त सुरक्षा आवासमा बस्छिन् तर त्यसपछि कहाँ जाने भन्ने अन्योल छ उनमा। उनी गाउँघरमा गएर बस्नसक्ने स्थितिमा छैनन्।

चोथो मुद्दाकी पात्र आफ्नै बुबाद्वारा सानैदेखि यौन शोषणमा परेकी १४ वर्षीया किशोरी हुन्। गर्भवती भएको सात महिनापछि उनकी आमालाई थाहा भयो। आमाले मुद्दा दर्ता गराइन्। अहिले बाबु जेलमा छन्। उनकी आमा पनि गर्भवती रहिछन्, त्यो बेला। आमा छोरी दुवैले लगभग एकै समयमा बच्चा जन्माए। 

छोरीले सुरक्षा आवासमा बच्चा जन्माइन् भने आमाले घरमा। किशोरीले बच्चा त जन्माइन् तर आफूले जन्माएको बच्चा हेर्न पनि चाहँदिनन्। आमा छोरी घरमा आओस् भन्ने चाहन्छिन्। तर घरमा खाने कुरा केही छैन। कमाएर ल्याउने पनि कोही छैन। अब प्रश्न् उठ्छ–ती बालिका केही समय सुरक्षा आवासमा बस्लिन्। त्यसपछि उनी कहाँ जन्छिन्? उनको अर्को विकल्प के?

यी चारवटा घटनामा उल्लेख गरिएका पात्र प्रतिनिधिमूलक मात्रै हुन्। अहिले धेरै महिला/किशोरी यस्तै पीडाबाट गुज्रिरहेका छन्। यी सबै घटनामा हेर्ने हाम्रा नजर फरक–फरक होलान् तर एउटा कुरा भने एकै छ। त्यो भनेको यी सबै महिलाको शरीरमाथिको नियन्त्रण यिनको आफ्नो नभएका कारण यिनीहरूलाई पीडित/प्रभावित बनाइएको छ। यिनको पीडा यिनीहरूसँग मात्रै सीमित छैन। यिनीबाट जन्मिएका बच्चासँग पनि जोडिएको छ। यिनको परिवार पनि प्रभावित भएका छन्। यी सबै महिला मानसिकरूपले विचलित भएका छन्।

हिंसाको जोखिममा छन्। यिनीहरूले कुनै पनि प्रकारको अवाञ्छित निर्णय लिन सक्छन्। यी सबै घटनाको दूरगामी प्रभाव पर्छ। तर यो सम्बन्धनमा हाम्रो समाजमा गहिरो चिन्तन हुन सकेको छैन। यिनलाई केही समयको सुरक्षा आवास/सेफ हाउसको सहयोग वा केही हजार रूपैयाँ दिएर गरिखाने बाटो देखाएर मात्रै यस्ता समस्या समाधान हुन सक्दैन। यसका लागि गहिरो निदान एवं उपचार आवश्यक हुन्छ।

यी सबै घटना हुनुको पछि मुख्य कारण भनेको हाम्रो जस्तो पितृसत्तात्मक संरचनामा महिलाको शरीरमा महिला स्वयम्को नियन्त्रण हुन्छ भन्ने नभई पुरुषको नियन्त्रण हुन्छ भन्ने सोच हो। ‘महिला विवाह गरेर जाने जात हो’ भन्ने मान्यता हो। महिलाले बच्चा जन्माउनैपर्छ भन्ने धारणा हो। यी सोच र धारणा संरचनागत हुन्। यो महिला र पुरुष दुवैमा हुन्छ। त्यतिले मात्रै नपुगेर राज्यले पनि यही धारणा अवलम्बन गर्दै नीति बनाउँछ या त भएका असल नीति पनि सही तरिकाले कार्यान्वयन गर्न सक्दैन। यस्ता मान्यता समाजमा रहुन्जेलसम्म धेरै निर्मला पन्त, शालीन पोखरेल बनाइन्छन्। 

धेरै महिला धर्मगुरु, बाबु, शिक्षक, कानुन कार्यान्वयन गर्ने व्यक्ति जस्ता रक्षकबाटै पीडित/प्रभावित बनिरहन्छन्। न्याय पाउन कठिन मात्रै हैन, असम्भव नै हुन्छ। यी सबै घटनामा महिलाहरू महिला भएकै कारण र उनीहरूभित्र पाठेघर भएकै कारण पीडित बनाइएका छन्।

हामी भन्छौँ, पाठेघर सृष्टिको मुहान हो। तर यी सबै महिलाका लागि त्यही पाठेघर पीडाको खानीका रूपमा रूपान्तरित भएका छन्। यो अवस्था आउनमा महिलाको के दोष?

हो, झट्ट हेर्दा हामीले यी सबै घटनामा जोडिएका पुरुषलाई नै दोषी देख्छौँ। उनीहरू पनि दोषी हुन् तर एकपटक गम्भीररूपले हेर्ने हो भने किन यस्ता समस्या देशको सबै कुनामा देखिन्छन् ? सबै जात, वर्ग र समुदायमा भेटिन्छन्? किन यस्ता समस्याले एक सरुवा रोगझैँ सबै ठाउँमा महामारीको रूप लिइरहेका छन् त ?

जनस्वास्थ्यका दृष्टिकोणबाट हेर्ने हो भने कुनै पनि सरुवा रोगका लागि तीनवटा तत्त्व आवश्यक हुन्छन्। १. मानव शरीर २. वातावरण र ३. एजेन्ट अर्थात् एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रोग सार्ने तत्त्व। अवश्य नै रोगको कीटाणु त चाहिन्छ नै। यी सबै मुद्दालाई यहाँ ढाँचामा राखेर हेर्ने हो भने हाम्रो देशमा रोगको कीटाणुका रूपमा महिलाको शरीर विशेषतः महिलाको यौनिकतालाई नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यतालाई लिन सकिन्छ। 

त्यसैगरी वातावरणका रूपमा यत्र, तत्र, सर्वत्र, नेतादेखि कार्यकर्तासम्म, परिवारका मूलीदेखि कान्छा सदस्यसम्म, राज्यका सबै निकायसम्म महिलालाई हेर्ने दृष्टिकोण र गहिरो गरी रहेको विभेदलाई लिन सकिन्छ भने एजेन्टका रूपमा पितृसत्तात्मक सोचबाट निर्देशित हानिकारक मूल्य/मान्यता, रीतिरिवाज, महिलाको प्रजनन् तथा यौन अधिकारसँग जोडिएका विभेदपूर्ण कानुनहरू, कानुन कार्यान्वनयन गर्ने निकायहरूमा रहेका धारणालाई लिन सकिन्छन। यिनकै समिश्रणबाट महिलाको शरीरमा यस्ता घटना देशका हरेक ठाउँमा एउटा सरुवा रोगका रूपमा देखिन्छन्।

त्यसैले यिनको निवारणमा केही सतही काम गरेर, केही व्यक्तिलाई जेलमा राखेर मात्रै पुग्दैन। समाजकै सोचको रूपान्तरण गर्ने अभियान चलाउनुपर्छ। यसो भन्नुको मतलब, अपराधीलाई जेल नराख्नु वा पीडित/प्रभावितलाई सहयोग नगर्नु भनेको हैन। त्यो पनि आवश्यक हुन्छ। तर त्यस्ता कार्य व्यावहारिक आवश्यकता पूरा गर्ने काम मात्रै हुन्छन्।

देशमा आवश्यक समानताको अधिकार, हिंसामुक्त जीवन पाउने अधिकार जस्ता मौलिक अधिकारहरू पूरा हुने रणनीतिक आधारहरू तयार हुन सक्दैनन्। त्यो नहुँदासम्म सृष्टिको आधार मानिने पाठेघर धेरैजनाका लागि पीडाको खानीमा रूपान्तरित भइरहनेछ। 

प्रकाशित: १६ चैत्र २०८० ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App