१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

गठबन्धनको गोलचक्कर

मोही माग्ने ढुंग्रो लुकाउने!

पाकिस्तानका शहवाज शरिफले पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेपछि भनेका थिए–देशको कार्यकारी प्रमुख हुनु भनेको काँडै काँडा भएको ‘ताज’टाउकोमा लगाउनु रहेछ। यसो भन्ने शरिफ यसैसाता पुनः प्रधानमन्त्री चुनिएका छन्। ढलान छेड्ने तिखा किलाजस्ता सत्ता व्यवस्थापनका काँडाले नराम्ररी घोचिरहन्छ तर पनि किन नेताहरूयस्तो ताज पहिरिन मरिहत्ते गरिरहन्छन्?

कष्ट सहेर पनि प्रधानमन्त्रीको ताज पहिरिने प्रतिस्पर्धामा पुष्पकमल दाहालले पाकिस्तानका शरिफलाई पनि उछिनेका छन्। त्यसो त पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा शारीरिक अशक्तता र बुढ्यौलीले गाँजिदा पनि काँडाको ताज पहिरिने लालचमा थिए तर छैटौँ पटक प्रधानमन्त्री बन्ने घिडघिडोलाई प्रचण्डले चिसोपानी खन्याइदिएपछि रन्थनिएका छन्।

दाहालले ज्योतिषीको भविष्यवाणीलाई नै तुहाइदिएपछि प्रधानमन्त्रीको लहरमा पालो पर्खिएर बसेका माधवकुमार नेपाललाई आइतबार सिकिस्त नै पारिदियो। सान्त्वना दिन दाहाल दलबलसहित उनको निवास पुग्दा पनि केपी ओली आएर सान्त्वना नदिई उनको ज्वरो मत्थर नहुने भयो। प्रचण्ड मंगलबार एमाले अध्यक्षलाई नै लिएर बिरामी नेपालको निवासमा दोहोरिए।

माओवादी पार्टीका बाह्रैमासे अध्यक्ष दाहालको पछिल्लो कलाकारिताले उनी जस्तासुकै हर्कत गर्नसक्ने नेता ठहरिए।

नयाँ सत्ता समीकरणपछि उनले भनेका थिए–म नमर्दासम्म देशमा उथलपुथल भैरहन्छ!’ २०६२/६३को आन्दोलनको सफलतापछि शान्तिपूर्ण राजनीतिमा पदार्पण गरेका प्रचण्डले आधा दर्जन पटक कहिले एमाले र कहिले कांग्रेससँग गठबन्धन गरिसकेका छन्।

नेपालको पछिल्लो राजनीतिमा अनुमान गर्न नसक्ने नेताको छवि बनाएका छन्। भित्तामा पुर्‍याएर उठ्नै नसक्ने गरी गालीगलोज गरेर बहिष्कृत गर्नु र फेरि त्यसैसँग छुट्टिनै नसक्ने गरी माया सम्बन्ध कायम गर्नुलाई उनको बठ्याइँ, धुर्त्याइँ  र  चतुर्‍याइँ भन्दा पनि धोखाधडीको पराकाष्ठाभन्दा हुन्छ।

अब्राहम लिंकनको भनाइलाई नेपालमा गलत सावित गर्ने पात्रका रूपमा दाहाललाई अगाडि सार्‍यो भने त्यो गलत हुँदैन। लिंकनले भनेका थिए– केही मानिसलाई सधैँ ढाँट्न सकिन्छ र धेरैलाई पनि केही समय ढाँट्न सकिन्छ तर सबैलाई सधैँ ढाँटिरहन कदापि सम्भव हुँदैन। जुन काम दाहालको पछिल्लो कदमले झुटो सावित गरिदिएको छ।

दाहालले केपी ओलीभन्दा बढी देउवालाई छक्याएका छन्। तर ओलीलाई पनि को खाइ? को खाइ ? हाम्म...गरेको गर्‍यै छन्। अरू त अरू भैहाले, कुनै जमानाका उनकै गुरु मोहन वैद्य, सहकर्मी बाबुराम, विप्लवको त नामै काफी छ। थप व्याख्या गरिरहनै पर्दैन। सबैलाई सधैँ लतार्न, हकार्न र पछार्न माहिर दाहाल जत्तिको अर्को व्यक्ति देखिँदैन। तर के यस्तै छड्के दाउले उनको चतुर्‍याइँलाई सधैँ कायम राखिरहन सक्ला ? राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्–एक्काइसौँ शताब्दीमा मध्ययुगीन युरोपको म्याक्याभेलियन राजनीतिको के कुरा गर्नु? म्याक्याभेलीको धुर्‍र्याइँले उनको बौद्धिकपनमाथि नै खिया लगाइदियो। उनका अगाडि दाहाल पनि केही होइनन्।

दाहालले एकवर्षअघि केपी ओलीको बार्दलीमा सँगसंँगै हात हल्लाएर परमादेशबाट बनेको सत्ताको कित्ता बदलिएको जानकारी दिएका थिए। त्यसपछि उनी ओलीको समर्थनमा प्रधानमन्त्री बने। तर तीन महिना नबित्दै उनी फेरि कित्ता बदलेर शेरबहादुर गठबन्धनमा प्रधानमन्त्री बन्न पुगे। त्यसको एक वर्ष के बितेको थियो अहिले फेरि एमाले अध्यक्ष ओलीको समर्थनमा पुनः प्रधानमन्त्री बनेका छन् । शेरबहादुर र माधव नेपाल रोइलो मच्चाइरहेका छन्।

कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँगको गठबन्धनमा दाहाल प्रवेश गरेपछि संघीय सरकार मात्र होइन, प्रदेश र स्थानीय तहसम्मको स्वरूपमा हडकम्प मच्चिएको छ। सत्तासुख प्रेमीहरूको घोडदौड सुरु भएको छ। राजनीतिमा धोखाधडी, बेइमानी, अन्तर्घाती, लुच्याइँ, फट्याइँ र मुसा प्रवृत्ति फेरि एकचोटि जागेको छ।

देशको सबैभन्दा ठूलो पार्टी भएर पनि नेपाली कांग्रेसले तेस्रो पार्टीलाई बोकेर दाहाललाई प्रधानमन्त्री बनाइरहेको थियो। तर कांग्रेससँगको गठबन्धन भत्किएको छ र दोस्रो ठूलो दल एमालेको समर्थनमा नयाँ गठबन्धनमार्फत उनै दाहाल देशका प्रधानमन्त्री बनेका छन् अर्थात कांग्रेसको बुइ पनि दाहाल, एमालेको बुइमा पनि उनै दाहाल। यो देखेर चर्चित कवि श्यामलले एक्समा लेखे गरे, ‘नयाँ पार्टी गठन गरौँ–नेकपा (च) अर्थात् नेकपा चलखेल!’

धोखाधडीको गठबन्धन

प्रधानमन्त्री पुरानै, सरकार भने नयाँ बन्दैछ। चुनौती भने पुरानाको नयाँ थपिएका छन्। देश र जनताको अवस्था दिन/परदिन खस्किँंदैछ। महँगी बढेको बढ्यै छ। भ्रष्टाचारीहरूको बिगबिगी छ। बेरोजगारी चुलिएको छ।

कामको खोजीमा विदेश जाने युवाहरूको लस्कर थपिँदैछ। नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका पठाउनेहरूको हालिमुहाली छ। मिटर ब्याज पीडितहरू राजधानीमा लावारिस बनेका छन्। सहकारी, बैंक ठगीका एकपछि अर्को काण्डको पर्दाफास भैरहेछ। कर्मचारीतन्त्र युनियनबाजीले अस्तव्यस्त छ। अदालतको साख दिन/परदिन खस्किँदो छ।

अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको छ। आयात प्रतिस्थापन गर्ने उत्पादनमूलक उद्योग कलकारखाना स्वाहा पारिएका छन्। ताला लागेका उद्योगहरूमा खियामाथि खिया थपिँदैछ। खाद्यान्न आयातको डरलाग्दो अवस्थाले कृषि क्षेत्रको दयनीय अवस्थालाई उदांगो पारिरहेको छ।

विज्ञ भन्छन्–यतिखेर गाउँका पाँच लाख घर खाली भइसकेका छन्। त्यहाँका बासिन्दा कि वैदेशिक रोजगारी कि त सहर बजारमा कामको खोजीमा झ्यालढोका थुन्दै ढोकामा ताल्चा मारेर बाहिरिएका छन्। धान चामल निर्यात गर्ने कम्पनीको ठाउँमा म्यान पावर कम्पनीहरू बग्रेल्ती खुलेका छन्।

वामपन्थी नामको सरकार यसअघि पनि बनेका थिए र अहिले पनि बन्दैछ तर देश र जनताले सामना गर्नुपरिरहेका समस्यासँग जुध्ने के नीति, कार्यक्रम र योजना लिएर उनीहरू देखापरेका छन्? यसको न कतै उल्लेख छ न समाधानका उपाय नपहिल्याइएको देखिन्छ। सहमति भनिएका आठ बुँदामा त्यसको जवाफ छैन। सत्ता साझेदारी र पदको बाँडफाँट अर्थात् कसले के पाउने भन्ने मात्रै छ।

अमूर्त सहमतिले जल्दाबल्दा चुनौती सम्बोधन गर्न सक्दैन। यसका लागि प्रष्ट, सरल र आमजनतालाई झक्झक्याउने अग्रगामी समाधानको खाका चाहिन्छ। नयाँ गठबन्धन नयाँ रणनीतिसाथ अगाडि बढ्ने भने पनि उनीहरूमा रहेको कार्यनीतिको अलमलले परमादेशबाट बनेको गड्गडाहटको सरकारझैँ यसको खुट्टी देखिएको टिप्पणी सुरु हुन थालेको छ।

जनहितका लागि अगाडि बढ्ने कुरामा केको अलमल हो? तपसिलकै लोभलालच पद र भागबन्डाको अलमल?

मलाई यो मन्त्रालय हुनैपर्छ, तलाईँ यति मलाई कतिमै नयाँ गठबन्धनमा ढिलासुस्ती र मतभेद देखिएको हो भने नेपालले सामना गर्नु परिरहेका समस्यालाई परिवर्तित गठबन्धनले पनि सम्बोधन गर्न सक्दैन। गठबन्धनमा रहेका दलभित्र यही खिचडी पाकिरहेको हो भने यसलाई पहिलो गाँसमै झिंगाभन्दा फरक पर्दैन।

नयाँ गठबन्धनलाई बामपन्थी धु्रवीकरण भनिँदैछ। सत्ताबाट बाहिरिएको कांग्रेसका बुद्धिजीवीहरू यसलाई उत्तरी छिमेकीको अग्रसरतामा गरिएको आरोप लगाउन थालेका छन्। तर यो न वामपन्थी गठबन्धन हो न ध्रुवीकरण। यो गठबन्धन स्वाभाविक लोकतान्त्रिक र जनताको पक्षमा हो भने पारदर्शी, तर्क, नीति, सिद्धान्त र जनअपेक्षाअनुरूप हुन सकेन भने यो सत्तास्वार्थ र गैरलोकतान्त्रिक घोखाधडी, अस्वाभाविक र अप्राकृति नाटक मञ्चनको अर्को संस्करण मात्र हुनेछ।

नयाँ प्रमुख प्रतिपक्ष सत्ताबाहिर हुत्याइएको कांग्रेसलाई संसद्मा प्रमुख प्रतिपक्ष मान्ने हो भने पनि यो भाष्य सत्यको निकट हुने देखिँदैन। तलव भत्ता र सुविधा लिनु लाभको विषय हो तर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नु लोकतन्त्रमा अर्कै कुरा हो किनभने यहाँको सत्तापक्षको अभ्यास प्रतिपक्षलाई पनि भागबन्डा गरेर राज्यसत्ताका लाभका पदहरू विभाजन गर्ने गरिएको छ।

सदनभित्रको त कुरै छाडौँ, अदालतदेखि संवैधानिक निकाय, आयोगहरू हुँदै संस्थानको नियुक्तिसम्म सबैतिर भागबन्डाको संस्कृति मौलाएको छ। ती निकायमा कांग्रेसको बहुमत रहेको जगजाहेर छ। त्यसअर्थमा संसद्को प्रमुख प्रतिपक्ष सत्ताबाट बाहिरिएको कांग्रेस होइन, सत्तामा गएन भने वास्तविक प्रतिपक्ष राप्रपा पो ठहर हुने देखिन्छ।

नयाँ गठबन्धनको भविष्यबारे त्यतिबेला मात्र भविष्यवाणी गर्न सकिन्छ जतिखेर कस्तो योजना लिएर नयाँ क्याबिनेट देखापर्नेछ, मन्त्रिमण्डलमा कुन कुन दल समावेश हुनेछन्, तिनले कुन कुन मन्त्रालय पाउने छन्, नयाँ सरकार कति कारगर हुनसक्छ, राजनीतिशास्त्रका पण्डितहरूले तिनको ल्याकत, योग्यता, प्रभाव र क्षमताको आधारमा विवेचना गर्न थाल्नेछन्।

यही सेरोफेरोमा अप्ठेरो पर्‍यो भने दाहालले जुनसुकै बेला आफ्नो भाषा परिवर्तन गर्न सक्छन्। अहिलेको गठबन्धन तोडेर उनी कांग्रेससँगै साखुल्ले बने भने आश्चर्य नमाने हुन्छ किनभने दाहालले नयाँ गठबन्धन बन्दाबन्दै भनेका छन्–म नमर्दासम्म देशमा उथलपुथल जारी  रहन्छ। 

प्रकाशित: २४ फाल्गुन २०८० ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App